पोखरा ।    गण्डकी प्रदेश सरकारमा आज (बुधबार) मन्त्रिपरिषद् हेरफेर भएसँगै नेकपा एमाले र नेपाली कांग्रेस दुवै दलबाट नियुक्त भए ८ मन्त्रीले सपथ लिएका छन् ।   गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टल...

हेटौँडा :     पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा  उपमहानगरपालिका– १५स्थित सडकखण्डमा यात्रुबाहक बसको ठक्करबाट एक अटो चालकको मृत्यु भएको छ ।आज बिहान २ बजे हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख ०२४२ नं को बसले विपरीत दिशाबाट आउँदै गरेको ना २ अ ६४ नं को अटोलाई ठक्कर दिँदा बाराको रतनपुर घर भएका २६ वर्षीय मिलन सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो ।   ठक्करबाट सख्त घाइते हुनुभएका सुनारको हेटौँडाको चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । उक्त अटोमा सवार हेटौँडा–१२ का ३५ वर्षीय सुवास सुनार घाइते हुनुभएको र उहाँको उपचार भइरहेको छ । अटोलाई ठक्कर दिने बस चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

काठमाण्डौँ :     मुलुकमा मलको अभावले किसानको पीडा छचल्किरहेका अवस्थामा आज प्रतिनिधिसभामा खेतमा हाल्ने मलकै विषयमा केन्द्रित रहेर सांसदहरुले आवाज उठाउनुभएको छ ।      प्रमुख प्रतिपक्षल दलका सांसदहरुले मलको आपूर्ति गर्न नसकेको भनी सरकारको आलोचना गर्नुभएको छ भने सत्ता गठबन्धन दलले मल आपूर्ति गर्नुपर्ने सवाल महत्वपूर्ण भएको तर विनियोजन विधेयकमाथि छलफल भइरहेका बेला त्यसलाई रोकेर उक्त प्रस्ताव ल्याउनु सान्दर्भिक नरहेको बताउनुभएको छ ।      मल जस्तो अत्यावश्यक वस्तु आपूर्तिमा ख्याल ठट्टा गर्न नहुनेमा सांसदहरुको जोड छ । प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको विषयको प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद खगराज अधिकारीले मुलुकलाई चाहिने चार लाख मेट्रिकटन मल कहिले ल्याउने हो भनी सरकारसँग प्रश्न गर्नुभयो ।      मलको हाहाकार भएकाले सार्वजनिक महत्वको प्रस्ताव ल्याउनुपरेको उल्लेख गर्दै सांसद अधिकारीले भन्नुभयो, “हमीलाई मल आजै चाहियो किसानलाई खेतमा हाल्न अहिल्यै चाहियो ।”      उहाँले मुलुकमा १० लाख मेट्रिकटन धान अभाव रहेको, विश्वका कतिपय मुलुकले निर्यातमा रोक लगाइसकेका बेला अब नेपालले किन्नसमेत पाउने अवस्था नरहेपछि धान, चामल किन्न कहाँ जाने भन्दै प्रश्न गर्नुभयो । उहाँले समयमै मलखाद दिन सकेनौँ भने उत्पादकत्व घट्ने र मुलुक ठूलो खाद्यान्न अभावमा पर्ने देखिएको बताउनुभयो ।     प्रतिनिधिसभा सदस्य मीन विश्वकर्माले मल समयमा किसानले पाउनुपर्नेमा जोड दिँदै विगतमा अनियमितताको आशङ्कामा अख्तियारले पत्र काटेकाले कृषि सामग्री संस्थानले टेण्डर रद्द गरेको बताउनुभयो ।        अर्का सदस्य पार्वती डिसी चौधरीले किसानले समयमा मल पाएन भने उनका परिवार समस्यामा पर्ने हुँदा उनीहरुलाई मल दिनुपर्नेमा जोड दिनुभयो ।       अर्का सदस्य डिला सङ्ग्रौलाले सरकारले भारत सरकारसँग सम्झौता (जिटुजी) गरी मल ल्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले आत्मनिर्भर अर्थतन्त्र बनाउन कृषि क्षेत्रको महत्व रहेको र जनताले मल पाउनुपर्ने कुरा महत्वपूर्ण रहेको बताउनुभयो ।      अर्का सदस्य गोपालबहादुर बमले किसानले मल नपाउने समस्या सबै दलको साझा समस्या भएकाले एकजुट हुनुपर्ने विचार व्यक्त गर्नुभयो । सांसद लक्ष्मी परियारले प्रत्येक वर्ष मलको अभाव हुने गरेको सन्दर्भ जोड्दै समस्या समाधान गर्न संवेदनशील हुनुपर्ने बताउनुभयो ।       सांसद गणेशकुमार पहाडीले जनताले रोपेको धान नफल्ने र रोप्न नपाइने भन्दै चिन्ता गरेकाले दीर्घकाल समाधानका लागि मल उद्योगको विकल्प नै नभएको बताउनुभयो ।       सांसद नरबहादुर धामीले ६० प्रतिशत किसान भएको मुलुकमा कूल गार्हस्थ्य उत्पादन २५ प्रतिशत रहेको भन्दै दुःख व्यक्त गर्नुभयो । उहाँले गत वर्ष धानखेती नष्ट भएका किसानले क्षतिपूर्ति नपाएको जानकारी दिँदै मलको अभाव हुनु दुःखदायी भएको बताउनुभयो ।     सांसद सूर्यप्रसाद पाठकले सरकारले मल खरिद गर्ने प्रक्रिया पूरा गर्न २२६ दिन लाग्ने हुँदा दीर्घकालीन समाधान भनेको जैविक तथा प्राङ्गरिक मलको विकास गर्नुपर्नेमा जोड दिनुभयो । 

पाेखरा:  पाँच जिल्ला जोडिएको अन्नपूर्ण पदमार्गमा पछिल्ला दिन घुम्न आउने पर्यटकको सङ्ख्या घट्न थालेको छ ।   हप्ता दश दिन अघिसम्म दैनिक दुईसय जना सम्मका हाराहारीमा आउने गरेको पर्यटक यतिबेला मुस्किलले ८/१० मात्र आउने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङले बताउनुभयो ।   उहाँका अनुसार वर्षायाम सुरु हुन लागेको र बाटोहरुमा समस्या हुने, बेसिजन समय भएकाले पर्यटक घट्न थालेको हो । विश्व पर्यटन बजारका महत्वपूर्णमध्ये एक यस अन्नपूर्ण पदमार्ग मानिन्छ । यहाँ विगतमा ५००÷६०० भन्दा बढी दैनिक पर्यटक आउने गरेको थियो ।   यही पर्यटकका कारण पर्यटन व्यवसायमा रमाउँदै आम्दानी गरेका पर्यटन व्यवसायी भने पर्यटक घट्न थालेसँगै आम्दानीमा कमी हुँदा चिन्तित हुन थालेका छन् ।   कोरोनाको पहिलो, दोस्रोबाट प्रभावित भएपछि दोस्रो कोरोना सङ्क्रमण जोखिम कम भएसँगै विस्तारै चहलपहल हुन थालेको पनि पुनः कोरोनाको तेस्रो लहरले पदमार्ग सुनसान भएको थियो । सोपश्चात् उक्त जोखिम कम भएपछि बढ्दै गरेको पर्यटक केही हप्ताबाट घट्दै यतिबेला न्यून आउँदा पर्यटन व्यवसायी थप मर्कामा परेको उनीहरुको गुनासो छ ।   अन्नपूर्ण पदमार्गका पर्यटन व्यवसयी लमजुङ मस्र्याङ्दी गाउँपालिका–४ जगतका पच्चबहादुर गुरुङले भन्नुभयो, “पर्यटकको चाप हुँदा दैनिक रु ५०/६० हजार आम्दानी हुन्थ्यो, तर अहिले पर्यटक नआउँदा आम्दानी शून्यजस्तै भएको छ । घर खर्चदेखि अन्य खर्चमा पनि यस व्यवसायबाट आम्दानी रकमबाट उपयोग गर्दै आएपनि पर्यटक नआउँदा पैसाको मुख देख्न पनि रहरजस्तै हुन थालेकोले चिन्ता बढेको उहाँको भनाइ छ ।   अर्का पर्यटन व्यवसायी खुसबहादुर तामाङले पनि केही हप्ताअघिसम्म दैनिक रु ४०/५० हजार आम्दानी गर्नुभएको थियो तर यतिबेला यस पदमार्गमा पर्यटक ह्वात्तै घट्दा रु चार÷पाँच हजार पनि दिनमा हुन छाडेको उहाँले भन्नुभयो । उहाँहरुको मात्र होइन उहाँहरु जस्ता यस पदमार्ग आसपासका करिब तीन हजार ५०० भन्दा बढी पर्यटन व्यवसायीको समस्या पनि उस्तै छ । कोरोनाले थला पारेरमाथि उठ्दै गरेको यस क्षेत्र अब फेरि थला पर्न थालेको छ, बर्खायाम सुरु हुन लागेसँगै पर्यटक घट्दा अझै केही महिनासम्म पदमार्ग सुनसान हुने देखिन्छ ।   यस पदमार्गमा सबैभन्दा बढी फ्रान्स, जर्मनी, इटलीलगायतका देशका नागरिक आउने गरेको उक्त केन्द्रले जनाएको छ । केन्द्रका अनुसार अब बर्खायाम सकिएपछि आगामी भदौ १५ गतेदेखि पर्यटक बढ्न थाल्नेछन् । यस पदमार्गमा सन् २०२२ को हालसम्म चार हजार ९०० हाराहारीमा पर्यटक आएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीका पर्यटन सहायक गुरुङले बताउनुभयो ।   पर्यटक हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्नलाई साथै मनाङबाट थुम्रापास गरी मुस्ताङ कोही पोखरा जानका लागि अन्नपूर्ण पदमार्गमा पर्यटक आउने गर्छन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङ्गे चौतारमा रहेको छ ।   अन्नपूर्ण पदमार्गमा लमजुङसहित कास्की, मनाङ, मुस्ताङ र म्याग्दी गरी पाँच वटा जिल्ला जोडिएको छ । काठमाडौँदेखि बेँसीसहरसम्म सवारी साधनमा पर्यटक आउने गर्दछन् ।

तनहुँ:  माछा मार्ने क्रममा दुईजनाको मृत्यु भएपछि तनहुँको भानु नगरपालिका–२ मोहरिया गाउँ यतिबेला शोकमग्न बनेको छ ।   आइतबार साँझ तनहुँमा एकै गाउँका ३५ वर्षीय धनबहादुर गुरुङ र सोही वडा निवासी २२ वर्षीय सागर गुरुङ ( मामा र फुपूको छोरा) मिलेर माछा मार्ने क्रममा पौडी खेल्दा डुबेर मृत्यु भएपछि यतिबेला गाउँ नै शोकमग्न बनेको स्थानीयवासी राजेश कार्कीले जानकारी दिनुभयो ।   उहाँले भन्नुभयो, “अझै पनि उनीहरुको तस्बीर आँखा अगाडि झलझली घुमिरहेको छ ।” मृतकका आफन्तजनलाई सम्झाइबुझाइ गर्ने पनि भावविह्ल हुँदा सम्माल्न कठिनाइ भएको छ ।   भानु नगरपालिका–२ र ५ को सिमानामा पर्ने चुदीखोलामा पौडी खेल्ने क्रममा उनीहरुको डुबेर मृत्यु भएको भानु इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिनुभयो ।

पोखरा :    पोखराको वाटुलेचौरमा रहेको विन्ध्यवासिनी क्यामपसले पोखरा महानगरपालिका वडा नं. १६ का नवनिर्वाचित जनप्रतिनिधिहरुको स्वागत तथा पूर्व जनप्रतिनिधिको बिदाइ गरेको छ ।    विन्ध्यवासिनी क्याम्पस संचालक समितिका अध्यक्ष दानबहादुर बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष चित्रबहादुर थापाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । नवनिर्वाचित जनप्रतिनिधिहरुलाई खादा, अविर र मायाको चिनोद्धारा स्वागत तथा सम्मान गरिएको थियो ।  उक्त कार्यक्रममा आफ्नो मन्तव्य व्यक्त गर्दै क्याम्पस संचालक समितिका सल्लाहकार रामबहादुर बानियाँले क्याम्पसको आर्थिक अवस्था कमजोर रहेकोले यसलाई सहयोग गर्ने तर्फ नवनिर्वाचित जनप्रतिनिधिहरुको ध्यानाकर्षण गराउनु भएको थियो । नवनिर्वाचित जनप्रतिनिधिहरुको तर्फबाट आफ्नो मन्तव्य राख्दै वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले आफु पनि क्याम्पस संचालक समितिको सदस्यको रुपमा रही आएकोले क्याम्पसको विकासमा लागी पर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।  सभाध्यक्षको तर्फबाट आफ्नो मन्तव्य व्यक्त गर्दै क्याम्पस संचालक समितिका अध्यक्ष दानबहादुर बानियाँले आगामी असार १८ गते शनिबार बिहान १० बजे विन्ध्यवासिनी मा.वि.को सभाहलमा गण्डकी प्रदेशका भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात मन्त्री कुमार खड्काको प्रमुख आतिथ्यतामा अधिवेशन कार्यक्रम गर्ने जानकारी गराउँदै अधिवेशनलाई भव्य एवं सभ्य रुपमा सफल पार्न सबैलाई आव्हान गर्नु भयो ।    उक्त कार्यक्रममा क्याम्पस प्रमुख विजय शर्माले क्याम्पसको गतिविधिका बारेमा प्रकाश पार्नु भएको थियो र क्याम्पसका लेखापाल भीमबहादुर गायकले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।   

म्याग्दी :      म्याग्दीको रघुगङ्गा गाउँपालिकाले सूचना प्रविधिको प्रयोग गरेर सेवा प्रवाहमा सुधारको प्रयास गरेको छ ।       सफ्टवेयरबाट राजस्वको बिल काट्ने, अभिलेखलाई सर्भर बनाएर भण्डारण गर्ने, विद्युतीय माध्यमबाट व्यक्तिगत घटना दर्ता, कार्यालयमा उपस्थित भएर औँठाछाप लगाउनुपर्ने बाहेकका सेवाका लागि इमेलबाट निवेदन लिने र सेवा दिने गरेको हो । सूचना प्रविधिको प्रयोगबाट सेवा प्रवाहलाई छिटो, छरितो, व्यवस्थित, सरलीकृत र पारदर्शी बनाउने प्रयास गरिएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताउनुभयो ।       “गाउँपालिका र वडा कार्यालयले सेवा शुल्कको रसिद सफ्टवेयरबाट काट्ने गरिएको छ”, उहाँले भन्नुभयो, “वडा कार्यालयले हरेक १०/१० दिन र गाउँपालिकामा सङ्कलित राजस्व भोलिपल्ट बैंकमा दाखिला गरेर रसिद सफ्टवेयरमा अपलोड गर्छन् । तोकिएका समयमा राजस्व जम्मा नगरेसम्म रसिद काट्न सफ्टवेयरले नै दिदैन ।”     गत आर्थिक वर्षमा रु छ लाख ७१ हजार ५०० सङ्कलन भएको सिफारिस दस्तुरबाट चालू आर्थिक वर्षमा रु १६ लाख आम्दानी हुने अनुमान गरिएकामा जेठ २० गतेसम्म रु ३१ लाख ८६ हजार ८५४ सङ्कलन भएको लेखा अधिकृत खगराज सुवेदीले बताउनुभयो ।       रघुगङ्गाले बनाएको सर्भरमा सार्वजनिक गर्न मिल्ने कार्यपालिका, गाउँसभाका निर्णय र भुक्तानीको बिलकोसमेत भण्डारण गर्ने काम सकिएपछि आम नागरिकको पहुँच हुनेछ ।  औँठाछाप आवश्यक नपर्नेबाहेकको सिफारिसका लागि इमेलमा निवेदन पठाउने र सेवाग्राहीलाई इमेलबाटै सिफारिस उपलब्ध गराउन थालेको छ ।       सिफारिस, उपभोक्ता समितिलगायत विभिन्न काम लिएर आउने सेवाग्राहीले गाउँपालिकामा दिनुपर्ने निवेदनको नमूना विकास गरिएको छ । आफ्नै भवनबाट सञ्चालन भएको रघुगङ्गामा सेवाग्राहीले भर्ने सन्तुष्टि फाराममा दिने सुझाव विश्लेषण गर्ने संयन्त्र बनाइएको छ ।       कार्यालयको सुरक्षा र निगरानीका लागि सिसीटिभी जडान, म्यानुअलका अतिरिक्त विद्युतीय हाजिरी मेसिन प्रयोगमा ल्याएका छन् । आठवटै वडा कार्यालयमा पूर्वाधार, कृषि र पशु सेवाका प्राविधिक वडा कार्यालयमै बसेर सेवा दिन थालेका छन् ।       वडा सचिव नहुँदा ४, ६ र ७ नम्बर वडामा स्वास्थ्यकर्मीले पञ्जाधिकारीका रुपमा काम गरेका छन् । कर्मचारीको सेवासुविधाको विषय समेटेर कार्यक्रम सञ्चालन निर्देशिका बनाएको रघुगङ्गाले बेरुजु असुल उपर गर्न घरदैलो अभियान चलाउने तयारी गरेको छ ।      असुल गर्नुपर्ने बेरुजु भएकाको घरमै गएर भेट्ने र फछ्र्योट गर्नेलाई सम्बन्धित ठाउँमै प्रमाणपत्र दिने गरी कार्यक्रम बनाएको प्रशासकीय अधिकृत सुवेदीले बताउनुभयो । कूल रु ९३ लाख ७१ हजार २४५ बेरुजु रहेको छ । रु २६ लाख १३ हजार ८७२ असुल गर्नुपर्ने, रु ६० लाख १९ हजार ८८३ प्रमाण पेश गर्ने र रु सात लाख ३७ हजार ४९० पेस्की बेरुजु छ ।       उपभोक्ता समितिमार्फत भएका केही योजनामा तोकिएको दररेटभन्दा कम दरमा काम हुँदा पनि बेरुजु औल्याइएको छ । चालू आर्थिक वर्ष २०७८/७९ मा १६० वटा योजनामध्ये १४० सम्झौता र ८७ वटा सम्पन्न तथा २० वटा सम्झौता हुन बाँकी छन् । 

जुम्ला :       जुम्लाको तिला गाउँपालिका–  ५ मा राडीपाखी उद्योग स्थापना भएपछि भेडापालक किसानहरु उत्साहित छन् ।  भेडाको ऊनलाई सदुपयोग गरी स्थानीयस्तरमा आम्दानी बढाउने उद्देश्यले आधुनिक प्रविधियुक्त राडीपाखी उद्योग स्थापना गरिएको हो । उक्त गाउँपालिकाको ढिम्कोट चुलाकोट, डुङ्ग्री गाउँका भेडापालक किसानको मुख्य आम्दानीको स्रोत भेडापालन भएको वडाध्यक्ष ललितबहादुर शाहीले बताउनुभयो ।      यहाँका भेडापालक किसानको ऊनलाई बजारीकरण गर्नका लागि उद्योग स्थापना गरिएको जानकारी दिँदै उहाँले भन्नुभयो, “राडीपाखी उद्योगमा केही बेरोजगार युवाले रोजगारी पाउने छन् । ऊन उत्पादन जिल्लाको एक गतिलो पहिचान बन्नेछ । यसको बजारीकरणका लागि वडा सरकारले आवश्यक सहयोग पुर्याउनुपर्ने छ ।”      पछिल्लो समयमा नेपालमा भेडाको उत्पादन घट्दो क्रममा रहेका अवस्थामा जिल्लामा भेडाको उत्पादन बढ्दै गएको पशु अस्पताल तथा पशुसेवा कार्यालयका प्रमुख गोविन्दबहादुर महतले बताउनुभयो ।            पशु अस्पताल तथा पशुसेवा कार्यालयको एक पालिका एक पशु सेवाअन्तर्गतको कार्यक्रम हो । नौ लाख ५० हजारमा पशु अस्पताल तथा राडीपाखी उद्योग स्थापना गरिएको पशुसेवा कार्यालयले जनाएको छ । ऊनको उत्पादनबाट राडीपाखी, सुइटर, लिउ, पाखीजस्ता सामग्रीको उत्पादन हुने गरेको वडा पालिकाले जनाएको छ । 

काठमाण्डौँ :      स्थानीय तह निर्वाचनको समीक्षा र भावी रणनीति तय गर्न नेकपा (एमाले) को सचिवालय बैठक आज दिउँसो बस्दैछ ।      च्यासलस्थित पार्टीको कार्यालयमा आज दिउँसो १ बजे बस्ने सचिवालय बैठकमा गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टीको अवस्थाको समीक्षा, निर्वाचित जनप्रतिधिलाई प्रशिक्षण, केन्द्रीय विभागमा पूर्णता, भावी रणनीतिलगायत विषयमा छलफल हुने जनाइएको छ । आजको बैठकले पोलिटब्युरो र केन्द्रीय कमिटीका बैठक पनि तय गर्नेछ । एमालेको सचिवालयमा अध्यक्षसहित १७ पदाधिकारी रहनेछन् ।

काठमाण्डौँ :      देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन/चटयाङसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ ।देशको प्रदेश नं एक, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भू–भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको जल तथा मौसम विज्ञानले जनाएको छ ।      विभागका अनुसार सो प्रणालीको प्रभावले प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली तथा बाँकी भू–भागमा सामान्यदेखि आंशिक बदली रही प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा मधेस प्रदेश र कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।      हाल नेपालको प्रदेश नं १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा भई प्रदेश नं १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।     रातिको समयमा देशको अधिकाश भूभागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश नं एक, मधेस प्रदेश र बागमती प्रदेशका केही स्थानमा र गण्डकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ ।       मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव ६ डिग्री र अधिकतम तापक्रम २८ दशमलव तीन डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १५ दशमलव पाँच डिग्री र सबैभन्दा धेरै धनगढीको ३९ अधिकतम तापक्रम दशमलव ९ डिग्री सेल्सियस रहेको छ ।