पोखराः   पोखरामा जारी २१ औं फेवा नव बर्ष महोत्सव २०८३ को दोश्रो दिन सोमबार लेकसाइडमा आयोजित पर्यटक दौड प्रतियोगितामा क्यानडाका दिरेक मिलरोइ प्रथम भएका छन् । यसैगरी स्पेनका अड्रिया फेरर द्वितीय भए भने अष्ट्...

पोखरा:   मणिपाल अस्पतालमा जारी आन्दोलनको विषयमा बसको त्रिपक्षीय वार्ता आज पनि  (मंगलबार) निष्कर्ष विहिन टुङ्गिएको छ ।    अस्पतालका कर्मचारीले प्रशासनसँग विभिन्न माग राख्दै सुरु गरेको आन्दोलन आज २६ दिन बितिसक्दा पनि अस्पताल व्यवस्थापन समिति, कर्मचारी र बतास समूहका प्रतिनिधिबीच भएको त्रिपक्षीय वार्ता निष्कर्ष विहिन टुङ्गिएको नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी यूनियन मनिपाल इकाईका अध्यक्ष अमृत पौडेलले सुनगाभा न्यूजलाई जानकारी दिए ।    उनका अनुसार बतास समूहका प्रतिनिधि नारायण पौडेल, रमेश पराजुली, अस्पताल व्यवस्थापन समिति र कर्मचारीबीच वार्ता भएको थियो । तर वार्ता त्रिपक्षीय वार्ता निष्कर्ष विहिन भएपछि पुन: भोली (बुधबार) वार्ता बस्ने गरि स्थगित भएको हो ।   आन्दोलन किन ? सन् २०१० मा कर्मचारी संगठनहरुसँग गरेको सहमति कार्यान्वयन नगरेको, अस्पतालले कर्मचारीहरुलाई किरिया बिदा नदिएको, सुत्केरी र स्याहार बिदा नदिएको, सञ्चित बिदा र अत्रिरिक्त ड्युटीबापतको रकम नदिएको, उपदान नदिएको र समय अनुसार कर्मचारीको तलब वृद्धि नगरेको उनीहरुले जनाएका छन् ।   यसको विपरीत अस्पताल प्रशासनले नेपाल सरकारको श्रम ऐन अनसार सबै सेवा दिएको भन्दै अडिग रहेको छ । 

पोखरा:  ‘छैटौं पोखरा स्पोर्टस् अवार्ड २०७८’ यहीं असार १८ गते पोखरा सभागृह हलमा हुने निश्चित भएपछि अवार्डको रौनक बढ्न थालेको छ ।   खेल क्षेत्रमा अगाडि बढेका खेलाडी, प्रशिक्षक, खेलसंघ र खेल पत्रकारलाई अवार्ड प्रदान गरेर खेल क्षेत्रमा थप क्रियाशिल बन्न हौसला प्रदान गर्ने उद्धेश्यले आयोजना हुने कार्यक्रमप्रति खेलप्रेमीको साथ रहने गरेको छ ।   अवार्ड अन्तर्गत वर्ष उत्कृष्ट उदीयमान खेलाडी विधाको उत्कृष्ट तीन मनोनयनमा टेनिसका दर्शिल श्रेष्ठ, क्रिकेटकी श्रृष्टि जैशी र बक्सिङका शाहिल लिम्बु परेका छन् । उनीहरुमध्ये अवार्ड कसको पोल्टामा पर्छ शनिबारसम्म कुर्नुपर्ने भएको छ । यो अवार्ड विजेताले नगद पैतिस हजार रुँपैयाको साथमा ट्रफी हात पार्नेछन् ।    शाहिल लिम्बु: लाहुरे बन्ने हुटहुटीले बक्सर पोखरा १२ सितलादेवी स्कुलमा कक्षा १० पढ्ने शाहिल लिम्बुको सानैदेखि लाहुरे बन्ने हुटहुटी थियो । तर उनको शरिरको बनावट देखेर आकर्षित भएका घर छेउका अंकलहरुले लोक गुरुङको भूपू बक्सिङ सेन्टरमा लगेर भर्ना गरिदिए । विस्तारै उनी बक्सिङ प्रति आकर्षित हुन थाले । लोक गुरुङकै प्रशिक्षणमा उनी पोख्त हुँदै गए ।    उमेरले १५ लागेका उनी पढाईसँगै बक्सिङलाई अघि बढाइरहेका छन् । प्रशिक्षण सुरु गरेका उनले एक वर्षपछि नै प्रतियोगितामा खेल्ने अवसर जुर्‍यो । २०७७ मा पोखरा रंगशालामा भएको हिरोज कप इन्डोर नेपाल इन्भिटेशनल बक्सिङ टुर्नामेन्टमा उनले सहभागिता जनाए । त्यसमा उनी भारत कै खेलाडीसँग पराजित भए । त्यो हारले उनलाई आगामी खेलमा दरो भएर उत्रने प्रेरणा जगायो । उनी झनै प्रशिक्षण व्यस्त हुने थाले ।    २०७८ सालमा काठमाडौंमा स्कुल नेशनल बक्सिङ प्रतियोगिता भयो । त्यहाँ पनि उनको सहभागिता रह्यो । उनी त्यहाँ सहभागितामा मात्रै भएनन् नेपालभरबाट जम्मा भएका बक्सरहरुसँग खेल्दा उनी सफल भए । उनले गोल्ड मेडल नै हात पारे । अहिलेसम्मको बक्सिङ करियरमा उनको यो नै सबैभन्दा ठूलो सफलता हो ।   त्यसलगत्तै पोखरामा फेरी हिरोज कप इन्डोर नेपाल इन्भिटेशनल बक्सिङ टुर्नामेन्ट आयोजना भयो । पहिलो वर्ष व्यहोरेको हारको बदला लिनु थियो, उनलाई । उनी त्यसका लागि तयारी गर्न थाले । भर्खर मात्र गोल्ड मेडल जितेको खुसी र उत्साह त थियो तर भारतबाट खेलाडी आउने भएपछि तयारीलाई अझ निखारे र होमिए प्रतियोगितामा । उनले त्यसमा गोल्ड मेडल जितेर पहिलेको हारको बदला लिए ।    अहिले उनी नवौं खेलकुदको तयारीमा छन् । नवौंमा सहभागी भएर कास्की जिल्लासँगै गण्डकी प्रदेशकै नतिजामा सुधार ल्याउने उनको ध्याउन्न छ । उनको खेल जीवनमा बाबा रुकमान र आमा मञ्जु लिम्बुको राम्रो साथ छ । अहिलेलाई पढाईसँगै बक्सिङमा ध्यान दिने र पछि लाहुेर देखाउने पनि उनको धोको छ ।    नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको छैटौं पोखरा स्पोर्टस् अवार्डमा उदियमान खेलाडीतर्फ मनोनयनमा परेकोमा आफूलाई निकै खुसी लागेको प्रतिक्रिया दिए ।      श्रृष्टि जैसी: अलराउण्डर  क्रिकेटमा अलराउण्डर प्रदर्शन क्षमता कमै खेलाडीमा हुन्छ । व्याटिङ, बलिङ र फिल्डिङमा जम्ने कमै खेलाडी मध्ये एक हुन्, महिला क्रिकेट खेलाडी श्रृष्टि जैसी । उमेरले १९ लागेकी श्रृष्टि यू–१९ नेपाली महिला क्रिकेटमा नाम चलेकी खेलाडी हुन् ।   कक्षा ७ मा पढ्दा होस्टेलमा बस्ने दाइहरुले खेलेको देखेर क्रिकेटमा होमिएकी उनलाई सोही समयमा प्रतिभा देखाउने राम्रो मौका आयो । राष्ट्रिय खेलाडी करण केसीले पोखरा नदीपुरमा सञ्चालन गरेको राइजिङ क्रिकेट एकेडेमीमा प्रतियोगिता चलिरहेको समयमा टिम नपुगेपछि उनलाई होस्टेलबाट लगेर खेलाइएको थियो ।   उक्त प्रतियोगितामा उनले सबैको मन जितिन् । त्यसपछि उनलाई एकेडेमीकै सदस्यहरुले नियमित क्रिकेट अभ्यास गर्न सुझाए । त्यसका लागि कास्कीको अन्नपूर्ण गाउँपालिका ११ घान्द्रुकमा रहेका बाबा मितप्रसाद जैसी र आमा माया जैसीलाई उनीहरुले नै सम्झाइदिए ।    त्यसपछि उनको क्रिकेटको करियर सुरु भयो । नियमित प्रशिक्षणमा जान थालिन् उनको खेल निखारिदै गयो । ट्रेनिङकै दौरानमा उनको टिम धनगढी र महेन्द्रनगरमा पिएम कप खेल्न गइन् । त्यस लगत्तै उनी आठौं राष्ट्रिय प्रतियोगिता खेल्न दाङमा पुगिन् । ती प्रतियोगिताहरुमा उनी सहभागी मात्र भइन् । त्यो समयसम्म उनको खेलमा निखारता आईसकेको थियो ।   उनी ९ कक्षामा पढ्ने बेलामा देशकै प्रतिनिधित्व गर्दै यू–१९ खेल्न चिन गईन् । चिनमा उनको टिम तेस्रो स्थानमा पुग्यो । उनले आफ्नो जीवनमा अहिलेसम्म कै राम्रो एचिभ्मेण्ट त्यही प्रतियोगितालाई ठान्छिन् । त्यो समयमा उनले एकेडेमी पनि परिवर्तन गरिसकेकी थिईन् ।   करण केसीको एकेडेमी बन्द भएपनि उनी रिजन प्रजुको एकेडेमीमा जोडिएकी थिईन् । १० मा पढ्ने समयमा उनी टियू ग्राउण्मा भएको वमन च्याम्पियन लिग खेल्न पुगिन् । त्यस लगत्तै उनी मलेसियामा यू–१९ खेल्न पुगिन् । टिमले भनेजस्तो गर्न नसकेपनि उनले यू–१९ प्रतियोगितामा वमन अफ दी म्याच हुन सफल भएकी थिईन् ।    नवौं राष्ट्रिय खेलकुदका लागि तयारी गरिरहेकी श्रृष्टिको लक्ष्य भनेको अब क्रिकेटमा सिनियर महिला टिमका लागि छनोट हुने रहेको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको छैटौं पोखरा स्पोर्टस् अवार्डमा उदियमान खेलाडीतर्फ मनोनयनमा परेकोमा आफूलाई निकै खुसी लागेको प्रतिक्रिया दिइन् ।      दर्शिल श्रेष्ठ: बाबुको पछि लाग्दा खेलाडी बनेका  उमेरले १३ मा टेकेका दर्शिल श्रेष्ठ सानैदेखि बाबुको पछि लागेर टेनिस कोर्टसम्म पुग्थे । बाबु नबिन श्रेष्ठ र आमा प्रिया श्रेष्ठको साथबाटै टेनिसमा होमिएका उनी पछिल्लो समय प्रतियोगिता खेल्दै नेपालका धेरै स्थानहरुमा पुगिरहेका हुन्छन् ।    ५/६ वर्षदेखि टेनिसको ¥याकेट समाउन सुर गरेका दर्शिलले ९ वर्षको हुँदा प्रतियोगिता खेलेको हुन् । पोखरामा भएको लिटिल एन्जल कपमा सहभागीता जनाएका उनले उपाधि जित्न त सकेनन् तर अनुभव भने राम्रै बटुले ।   सन् २०२१ मा फेब्रुअरी १४ देखि १८ सम्म ललितपुरमा धएको टिम टेनिस नेपाल इनरेगुलर जुनियर प्रिमियर टेनिस टुर्नामेण्टमा उनी च्याम्पियन बनेका थिए । त्यसपछि सन् २०२१ अप्रिलमा भएको जेटिआई ग्राण्ड जुनियर ओपन टेनिसमा विजेता बनेका थिए ।    २०७८ साल अर्थात २०२१ भने उनका लागि निकै फलदायी बन्यो । सबैभन्दा बढि उपाधी र उपलब्धी उनले २०७८ मा पाएका छन् । सोही वर्ष उनी टेनिसमा यू–१२ मा नेपाल नम्बर एक खेलाडी बने । यो नै उनको अहिलेसम्मको खेल जीवनको सबैभन्दा ठूलो उपलब्धी हो । उनी आइटिएफ एसियन यू १२ मा तेस्रो बने । यस्तै मिडकोर्ट एसियन फेडेरेसन च्याम्पियनसिपमा छैटौं स्थानमा रहे । यस्तै एसियन टेनिस फेडेरेसनको २ सय ५१ र्‍याकिङमा परे । भुपु खेलाडी मञ्चले राईजिङ प्लेयरका रुपमा सम्मान गर्‍यो ।   विभिन्न प्रतियोगितामा आफूलाई अब्बल बनाउँदै एसियन टेनिस फेडेरेसनको २ सय ५१ ¥याकिङबाट ६५ औं स्थानमा पुगे । यस्तै बिर गणेशमान सिंह नेशनल टुर्नामेन्ट पुरुष तर्फ सिंगलमा विजयी र डबलमा उपविजेता बने । एसियन यू–१४ टेनिसमा सिंगलतर्फ तृतिय र डबलमा द्वितिय बने । आगामी दिनमा टेनिससँगै बढाईलाई अगाढि बढाउने सोंचमा छन्, उनी ।    नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको छैटौं पोखरा स्पोर्टस् अवार्डमा उदियमान खेलाडीतर्फ मनोनयनमा परेकोमा आफूलाई निकै खुसी लागेको प्रतिक्रिया दिए ।   विश्व खेलकुद पत्रकार दिवसको अवसर पारेर मञ्चले वर्ष उत्कृष्ट उदियमान खेलाडी सहित लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ र उत्कृष्ट खेल पत्रकारलाई अवार्ड वितरण गर्ने मञ्चका महासचिव राजाराम पौडेलले बताए ।   पोखरा सभागृह हलमा आयोजना हुने पोखरा स्पोर्टस् अवार्ड कार्यक्रमलाई गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका,  एम ए कस्ट्रक्सन प्रालि, सहारा क्लब पोखरा, नेपाल भूतपुर्व खेलाडी मञ्च, तमु धिं युके, आव्या क्लब, होटल पौवा लेकसाइड, जु जु वेर्यस, सिटीवान टेलिभिजन, चिल्लिबार एण्ड रेष्टुरेन्ट, साइमन पार्टी प्यालेस, वल्डलिंक, फिस्टेल हस्पिटल, युनाइटेड क्लब, अमेरिकाबाट सरीता गुरुङ, जापानबाट मोहन घले, मनकामना पेट्रोलपम्प, सिटीजन फर्निचर लगायतले सहयोग गरेका छन्  ।    अवार्ड कार्यक्रमलाई भव्य बनाउन विभिन्न समिति तथा उपसमिति मार्फत कामलाई तिव्रता दिएको छ । मञ्चले २०७२ सालदेखि पोखरामा निरन्तर स्पोट्र्स अवार्ड कार्यक्रम गर्दै आएको छ । मञ्चले अवार्ड कार्यक्रमको तयारीलाई तिव्रता दिएको अध्यक्ष दीननाथ बरालले बताए ।   

  पोखरा :    आगामी आर्थिक वर्षदेखि सवारी कर बढाउने निर्णयमा नेकपा एमालेका दुई भातृ संगठन राष्ट्रिय युवा संघ र अनेरास्ववियुले गण्डकी प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबार मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई भेटेर युवा संघ गण्डकी र अनेरास्ववियु गण्डकीले सवारी करसहित अन्य सात विषयमा ध्यानाकर्षण गराएका हुन् ।    सवारी करमा गरिएको भारी वृद्धि तत्काल फिर्ता गर्न, ६/६ महिनामा सवारी नवीकरण गर्नुपर्ने बाध्यकारी व्यवस्था खारेज गर्न, यातायात कार्यालयमा भएको व्यापक बेथिति नियन्त्रण र छानबिन गर्न, प्रदेश सरकार मातहतको संक्रामक तथा सरुवा रोग अस्पताल र ११ वटै जिल्ला अस्पतालहरुमा तत्कालै आवश्यक जनशक्ति पूर्ति गरी जनतालाई सहज पहुँचको व्यवस्था गर्न, विद्यार्थीलाई सवारी साधन र स्वास्थ्य सेवामा प्रदेशमा पूर्ण सहुलियत व्यवस्था गर्न, विद्यार्थीलाई तत्काल पाठ्यपुस्तक उपलब्ध गराउन, ट्याक्सी व्यवसायीबाट मिटर तथा भाडादरमा भएको लापबरबाहीको छानबिन गर्न दुई संगठनले प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।      संघ सरकारले महँगीको उपहार दिइरहँदा प्रदेशमा सवारी कर र जाँचपासको बाध्यकारी व्यवस्था गरेर जनताको जीवनस्तर कष्टकर नबनाउन दुई संगठनले माग गरेका छन् । ‘संघ सरकारले जनताको ढाड भाँचिने गरी महँगीको उपहार दिइरहेको बेलामा प्रदेश सरकार अझै एक कदम अगाडि बढेर करका दरहरु वृद्धि गर्दै सवारी करमा ६/६ महिनामा रिन्यु गर्नुपर्ने बाध्यकारी व्यवस्थाले गण्डकी प्रदेश सरकारलाई नै गिज्याइरहेको छ,’ ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘जनताको जीवन कष्टकर बनेको छ । सत्ताभन्दा बाहिर जनता छन् भन्ने प्रदेश सरकारलाई जानकारी गराउन चाहन्छौँ ।’   सरकारको ध्यानाकर्षण गराउन युवा संघका प्रदेश अध्यक्ष शिवबहादुर गुरुङ (महेन्द्र), अनेरास्ववियुका प्रदेश अध्यक्ष प्रकाश पौडेल, प्रदेश सचिव आरके पोख्रेरललगायत पुगेका थिए । भेटमा मुख्यमन्त्री पोखरेलले सवारी साधनको अवस्था पहिचान गर्न ६/६ महिनामा सवारी जाँचपासको व्यवस्था ल्याएको बताए । कर भने साना गाडीलाई नभई ठूला गाडीलाई राजस्व लिनका लागि बढाइएको उनले दाबी गरे ।    प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि ६/६ महिनामा सवारी जाँचपास गर्नुपर्ने व्यवस्था गरेको छ । ६ समूहमा वर्गीकरण गरेर सवारी कर १० हजार रुपैयाँसम्म बढाएको छ । दुई पांग्रे सवारी साधनदेखि हेभी इकुपमेन्टसम्म सरकारले नवीकरण तथा वार्षिक सवारी कर बढाएको हो ।       

  पोखरा :     पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको चौंथो वार्षिकोत्सव अवसरमा सोमबार खुला रक्तदान कार्यक्रम भएको छ । कार्यक्रममा ३१ जनाले रक्तदान गरे ।   प्रमुख अतिथि पोखरा महानगरपालिका वडा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले पाल्पाली समाज पोखराले लामो समयदेखि गर्दै आएको सामाजिक क्रियाकलापलाई आपूmले नजिकबाट हेरेको बताए । उनले पाल्पासँग पारिवारिक सम्बन्ध समेत रहेको उल्लेख गर्दै वडा कार्यालयले आगामी दिनमा सक्दो सहयोग गर्ने बताए । उनले पोखराको नयाँबजार र न्युरोड क्षेत्रमा स्ट्रिट नम्बर राख्ने तयारी गरिएको पनि जानकारी दिए ।   नेपाल स्वयंसेवी रक्तदाता समाजका कास्की अध्यक्ष वीरेन्द्र पराजुलीले रक्तअभाव खड्किएको माग पूरा गर्दै आफ्नो संजाल ३५ जिल्लामा बिस्तार भएको जनाए ।   जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले अन्य चिजबस्तु जस्तो रगत बनाउन नसकिने र यसको मद्दतले मानवको जीवन बाँच्न सक्ने भएकोले रक्तदान जीवनदान र जीवनदान महादान भएको उल्लेख गरे ।   सहकारी अध्यक्ष चिरञ्जीवी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार समिति संयोजक लोकनाथ काफ्ले, सल्लाहकार जनपुकार मुनकर्मीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सहकारी लेखा सुपरीवेक्षण समितिका संयोजक नारायणप्रसाद पौडेलले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको संचालन कार्यक्रम संयोजक एवं संस्थाका सचिव रेशम रचकले गरेका थिए । कार्यक्रममा प्राविधिक सहयोग रक्तसञ्चार केन्द्र पोखराले गरेको हो ।   पहिलो रक्तदाता सेयर सदस्य इन्दिरा पौडेललाई ब्लडब्याग हस्तान्तरण गरी उद्घाटन गरिएको कार्यक्रम सहकारीको कार्यालय पोखरा ९, नयाँबजार परिसरमा भएको हो । संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत नियमित रुपमा रक्तदान कार्यक्रम गर्दै आएको पाल्पाली समाज पोखराका अध्यक्ष समेत रहेका सहकारी सचिव रचकले बताए । सहकारी वार्षिकोत्सव अवसरमा केही दिनअघि आनन्दित गृहमा युरोगार्ड सहयोग गरिएको थियो । 

  पोखरा :     नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीले अग्रज खेलाडी गणेशबहादुर भट्टराईलाई ‘लाईफ टाईम अचिभमेन्ट अवार्ड’बाट सम्मान गर्ने भएको छ । यहीं असार १८ गते शनिबार दिउँसो ३ बजे पोखरा सभागृह हलमा मञ्चले आयोजना गर्ने छैटौं पोखरा स्पोटर्स अवार्ड २०७८ को अवसरमा भट्टराईलाई उक्त अवार्ड प्रदान गरिने भएको हो । भट्टराईलाई लाइफटाइम अचिभमेन्ट अवार्डका साथमा चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरिने मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए ।   पूर्व अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी भट्टराई सन् १९९० मा पाकिस्तानमा भएको चौथो दक्षिण एशियाली खेलकुदमा सिल्भर मेडलिस्ट हुन् । उनलाई पराजित गरेका पाकिस्तानी बक्सर पछिल्लो वर्ष एसियन गेम्सकै गोल्ड मेडलिस्ट हुन् ।   भट्टराई १९८९, १९९० र १९९१ मा लगातारा बक्सिङमा राष्ट्रिय च्याम्पियन भए । सन् १९८७ मा पहिलो पटक जुनियर राष्ट्रिय प्रतियोगितामा सहभागी भएका भट्टराईले पहिलो सहभागितामै जुनियर च्याम्पियन बने । १९८८ मा पनि जुनियर राष्ट्रिय च्याम्पियनशीपमा गोल्ड मेडल जिते । सोहि वर्ष सिनियरतर्फ चौथो भए । त्यसको एक वर्षपछि राष्ट्रिय च्याम्पियन बने । १९९० मा बैंकक र १९९१ मा पाकिस्तानमा ६–६ महिना प्रशिक्षणका लागि भट्टराई पुगेका थिए ।   राष्ट्रिय अन्तराष्ट्रिय खेलहरुमा सहभागिता जनाउँदै गर्दा उनको दाहिने हात भाँच्चियो । त्यसपछि खेलाडीको रुपमा उनको करिअरले विश्राम लिएपनि व्यवस्थापकीय पक्ष सम्हाल्न थाले । १९९८ मा नेपालमै भएको सागमा २ स्वर्ण, ५ रजत र २ कास्य पदक देशले जित्दा उनी टीम मेनेजर थिए ।   फुटबल खेलसँग समेत संलग्न भट्टराई एन्फाको केन्द्रीय सदस्य हुँदै उपमहासचिव बने । भट्टराईले भूतपूर्व खेलाडी मञ्चका उपाध्यक्ष, नेपाल बक्सिङ संघका उपाध्यक्ष, जोय फाउन्डेशनका संस्थापक सदस्य, रेबान पोखराको अध्यक्ष, पोखरा उपमहानगरपालिकाको ८ महिनासम्म उपमेयरको जिम्मेवारीसमेत सम्हालिसकेका छन् ।   यसअघि, मञ्चले यहाँका अग्रज खेलाडीहरु प्रा.डा. वीरेन्द्रसिंह गुरुङ, कृष्णबहादुर थापा, खड्गबहादुर रानाभाट, चित्र बहादुर गुरुङ र आनन्द रञ्जितलाई लाईफ टाईम अचिभमेन्ट अवार्डबाट सम्मान गरिसकेको छ ।   नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालले छैटौं पोखरा स्पोटर्स अवार्ड २०७८ को तयारी अन्तिम चरणमा पुगिसकेको जनाएका छन् ।   पोखरा स्पोर्टस् अर्वाड अन्र्तगत वर्ष खेलाडी पुरुष र महिलाले इलेक्ट्रिक स्कुटर र ट्रफी पुरस्कार स्वरुप प्राप्त गर्नेछन् ।  वर्ष उत्कृष्ट उदियमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद संघ, उत्कृष्ट खेल पत्रकारलाई नगद पैतिस हजार रुँपैयाको साथमा ट्रफी प्रदान गरिनेछ ।   पोखरा सभागृह हलमा आयोजना हुने अवार्ड कार्यक्रमलाई गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका,  एम ए कस्ट्रक्सन प्रालि, सहारा क्लब पोखरा, नेपाल भूतपुर्व खेलाडी मञ्च, तमु धिं युके, आव्या क्लब, होटल पौवा लेकसाइड, जु जु वेर्यस, सिटीवान टेलिभिजन, चिल्लिबार एण्ड रेष्टुरेन्ट, साइमन पार्टी प्यालेस, वल्डलिंक, फिस्टेल हस्पिटल, युनाइटेड क्लब, मनकामना पेट्रोलपम्प, सिटीजन फर्निचर लगायतले सहयोग गरेका छन्  ।   अवार्ड कार्यक्रमलाई भव्य बनाउन विभिन्न समिति तथा उपसमिति मार्फत कामलाई तिव्रता दिएको छ । मञ्चले २०७२ सालदेखि पोखरामा निरन्तर स्पोट्र्स अवार्ड कार्यक्रम गर्दै आएको छ । 

  पोखरा :        गण्डकी प्रदेशका भुमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्रबहादुर बुढाले प्रदेश सरकार कृषिमार्फत जनतालाई सम्बृद्ध बनाउन प्रतिबद्ध रहेको बताउनुभएको छ । कृषिको विविधिकरणमा गण्डकी प्रदेश एक नम्बर रहेको बताउँदै बुढाले मन्त्रालय कृषि उत्पादनमा प्रदेशलाई आत्मनिर्भर बनाउन लागि परेको बताउनुभो ।   पोखराको हेम्जा स्थित मानव सेवा आश्रममा आयोजित कृषि सामग्री वितरण कार्यक्रममा उहाले सो बताउनुभएको हो । सो अवसरमा उहाँले सरकार कृषिमा आत्मनिर्भर बनाउन लागि परेको भएता पनि जग्गा बाँझो राख्ने प्रबृत्ति बढेकोमा चिन्ता व्यक्त गर्नुभयो । मानिसहरु सुखको खोजीमा लाग्ने प्रबृत्तिमा लागेको भन्दै उहाँले जग्गा बाँझो राखेर विदेशबाट आयात गरेर सम्बृद्धि नआउने तर्क गर्नुभयो ।   भूमी व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालय गण्डकी प्रदेशको समन्वयमा कृषि ज्ञान केन्द्र, कास्कीबाट मानव सेवा आश्रमलाई कृषि सामग्री वितरण गरिएको हो ।   सो अवसरमा मन्त्री बुढाले ३ थान टनेल जाली, फलफूलका बिरूवा र तरकारीको बिउबिजन लगायतका सामाग्री आश्रमलाई हस्तान्तरण गर्नुभएको थियो ।   

पोखरा :     पोखरा महानगरपालिका ३ पालिखेचोक स्थित निर्माणाधिन फल्चाको सवाललाई मध्यनजर गर्दै नागरिक समाज कास्कीले पोखरा महानगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ ।   जाति विशेष तथा धार्मिक सम्पदा निर्माण गर्दा उपयुक्त  स्थान छनौट गरि मापडण्ड अनुसार सम्पदाहरु निर्माण गर्नुपर्ने भन्दै आइतबार पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङलाई नागरिक समाज कास्कीका अध्यक्ष गोकुल बहादुुर कार्की नेतृत्वको टोलीले ध्यानाकर्षण पत्र बुझाएका हुन् ।     बढ्दो सवारी चापलाई मध्यनजर गर्दै सडकको स्तरोन्नती गरिएको पाखिलेचोकमा फल्चा निर्माण भइरहेकोले उचित स्थान छनौट गर्नुपर्नै ध्यानाकर्षण पत्रमा उल्लेख छ ।  ‘पालिखेचोकमा सडक चौडा गर्ने  उद्देश्यले त्यहाँ रहेका केही पुराना घरहरुको मुआब्जा बुझाई हटाइएको स्थानमा यो वा त्यो बहानामा संरचना निर्माण गरिनु तत्कालिन समयमा त्यहाँ रहेका घरधनिहरुको अपमान हो भने नालामुख र ज्ञानमार्ग तर्फको बजार विस्तारमाथी अवरोध पुर्याउनुको साथै सडक चौडा गर्दाको भावना, मर्म र उद्देश्य विपरित कार्य हो भन्ने हाम्रो ठहर छ । पत्रमा लेखिएको छ,  त्यस्ता सम्पदा निर्माण गर्दा उपयुक्त स्थान छनोट गर्दा राम्रो हुने कुराप्रति महानगरपालिकाको ध्यानाकर्षण गराउन चाहान्छौं ।’    

कास्की :     हेम्जा युनाइटेडको आयोजनामा समपन्न छैटौं नेपाल आइस अन्र्तराष्ट्रिय हेमजा गोल्डकपमा पाहुना टोली क्यामरुनको एभिनियर क्लब च्याम्पियन बनेको छ ।   पोखरा २५ स्थित गौरीशंकर खेलमैदानमा आइतबार भएको फाइनल खेलमा आयोजक हेम्जा युनाइटेडलाई ३–१ गोल अन्तरले पराजित गर्दै एभिनियर च्याम्पियन बनेको हो ।   च्याम्पियन बनेसँगै उक्त क्लबले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद ६ लाख रुपैयाँ प्राप्त गर्याे । एभिनियरको जीतमा आनिसेले खेलको छैटौं मिनेटमा साङले ९८ औं मिनेटमा र अतिरिक्त समयको १०६ औं मिनेटमा विल्लेले समान १/१ गोलको योगदान दिए । भने हेमजाको तर्फबाट ३५ औं मिनेटमा शुशिल राईले सान्त्वना गोल फर्काएका थिए । उपविजेता बनेको हेमजाले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित ३ लाख रुपैयाँ प्राप्त ग¥यो ।    उक्त प्रतियोगिताबाट हेम्जा युनाइटेडका गोलरक्षक दिप कार्की सर्वोत्कृष्ट खेलाडी घोषित हुदै नगद ५० हजार रुपैयाँको साथमा ट्रफिबाट पुरस्कृत भए । यसैगरि हेम्जा युनाइटेडकै आसिक गुरुङ उत्कृष्ट डिफेन्डर घोषित भए भने सुशिल राई उत्कृष्ट फरवार्डका रुपमा पुरस्कृत भए ।   एभिनियरका गोलरक्षक कोभास्सि उत्कृष्ट गोलरक्षक, सोही क्लबकै नेल्सन उत्कृष्ट मिडफिल्डर र आसिक थापा मगर उत्कृष्ट प्रशिक्षक घोषित हुदैं पुरस्कृत भए । भने प्रतियोगिताको उदीयमान खेलाडीका रुपमा हेम्जाका मनिश थापा घोषित भए । उनीहरु सबैले जनही २०/२० हजार रुपैयाँको साथमा ट्रफि प्राप्त गरे । प्रतियोगिताको अनुशासित टिम कालिका फुटबल क्लब घोषित हुँदै २५ हजार प्राप्त ग¥यो ।    घोषित हुँदा सर्वाधिक गोलकर्ता भने एभिनियरका विल्ले र हेम्जाका कमल थापा मगर रहे उनीहरुले समान ३÷३ गोल गरे । उनीहरुले २५ हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको पुरस्कार गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए ।    गत असार ४ गतेदेखि संचालनमा रहेको प्रतियोगितामा विभागीय क्लब एपिएफ, चर्च व्याइज, विदेशी अफ्रिकनी टिम क्यामरुन, कमलटार, कालिका स्पोट्र्स चितवन, बागमती युवा क्लब सर्लाही, वीरगंज युनाइटेड र आयोजक हेम्जा युनाइटेड गरि कुल ८ टिमले प्रतिस्पर्धा गरेको थियो ।

पोखरा :     कास्की जिल्ला व्याडमिन्टन संघले आयोजना गरेको प्रथम गण्डकी प्रदेशस्तरीय व्याडमिन्टन प्रतियोगितामा एकलतर्फ क्षितिज खनाल र दिलाशा राना च्याम्पियन बनेकी छिन् ।   पोखरा रंगशालामा भएको फाइनल खेलमा पुरुषतर्फको एकल विधामा विधान अधिकारीलाई हराउँदै खनाल च्याम्पियन बनेका हुन् । १–१ सेट जितेको अवस्थामा अन्तिम अर्थात तेस्रो सेट चलिरहँदा विधानले बिचमै खेल छाडेपछि खनाल च्याम्पियन बने ।    विधानले पहिलो सेट २१–१९ र खनालले दोस्रो सेट २१–१५ ले आफनो पक्षमा पारेका थिए । उनले २० हजार रुपैयाँ प्राप्त गरे भने विधानले १० हजार रुपैयाँ प्राप्त गरे । कास्कीका विशाल खड्का र लमजुङका सुजन थापाले तेस्रो हुँदै १०/१० हजार रुपैयाँ प्राप्त गरे ।   यसैगरि महिलातर्फ दिलाशाले कास्कीकै अनु रानालाई सोझो सेटमा पराजित गर्दै उपाधि जितिन् । उनले २१–१५,२१–११ को सेटमा रानालाई हराउँदै नगद १५ हजार रुपैयाँ प्राप्त गरिन् । अनुले १० हजार रुपैयाँ प्राप्त गरिन् । आकृति केसी र आयुस्मा नेपालले तेस्रो हुँदै १० हजार प्राप्त गरिन् ।    महिला डबल्सतर्फको प्रतिस्पर्धामा कास्कीका यामकुमारी गुरुङ र दिलाशा रानाको जोडीले कास्कीकी माया पुन र तनहुँकी रुबी श्रेष्ठको जोडीलाई निर्णायक सेटमा पराजित गर्दै उपाधि उचाले ।  उनीहरुले २१–१५, २४–२६ र २१–१५को सेटमा हराउँदै उपाधि जिते । मेनुका गुरुङ र आयुष्मा नेपाल तथा कास्कीकै आकृति केसी र अनु रानाको जोडी तेस्रो स्थानमा रहे ।   पुरुष तर्फको डबल्सको उपाधि कास्कीका विधान अधिकारी र पर्वतका विधान गुरुङको जोडीले उचाल्यो । उक्त जोडीले लमजुङका सुजन थापा र स्याङजाका दीपक रानाको जोडीलाई २१–१४, १८–२१ र २१–१८ को सेटमा हराए । कास्कीका विशाल बस्नेत र बिशाल गुरुङको जोडी तथा विशाल खड्का र कृष्ण बस्नेतको जोडी तेस्रो भए । पुरुष डबल्सतर्फको विजेता, उपविजेता र तेस्रो हुनेले क्रमश नगद ४०, २५ र २० हजार रुपैयाँ प्राप्त गरे ।    महिला डबल्स तर्फको विजेताले नगद ३० हजार,२० हजार र १० हजार रुपैयाँ प्राप्त गरेको प्रतियोगिताका संयोजक अमृत पोखरेलले जानकारी दिए । प्रतियोगितामा विजेताहरुलाई गण्डकी प्रदेश युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ, संघका अध्यक्ष शुशिलकुमार श्रेष्ठ लगायतले नगदसहित ट्रफी, पदक तथा प्रमाणपत्र प्रदान गरेका थिए ।