पोखरा : नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने छैटौं संस्करणको पोखरा स्पोर्टस् अवार्ड २०७८ को तयारी पुरा भएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले बिहिबार पोखरामा पत्रकार सम्मेलन गरेर अवार्डको तयारी पुरा भएको जनाएको हो । पत्रकार सम्मेलन मार्फत अवार्ड कार्यक्रममा वितरण गरिने ट्रफी समेत सार्वजनिक गरिएको छ । मञ्चका अध्यक्ष दीननाथ बराल, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सरिता तिम्सिना पंगेनी, मञ्चका पूर्व अध्यक्ष विनोद लामिछाने, निवर्तमान अध्यक्ष एकराज गिरी, नेपाल पत्रकार महासंघ गण्डकीका सचिव यदुनाथ बञ्जरा लगायतले ट्रफी सार्वजनिक गरेका थिए । अवार्ड समारोह यहीं असार १८ गते दिउँसो ठिक ३ बजेदेखि पोखरा सभागृह हलमा हुँदैछ । स्पोर्टस् अवार्डमा कुल ७ वटा अवार्ड वितरण गरिने मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए । यसरी वितरण गरिने अवार्डको विधामा लाइफ टाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदियमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ र वर्ष उत्कृष्ट खेल पत्रकार विधा रहेको पौडेलको भनाई छ । वर्ष खेलाडी पुरुष विधामा ब्याडमिन्टनका विधान अधिकारी, करातेका बुद्ध लामा र टेनिसका प्रदिप खड्का, वर्ष खेलाडी महिलामा भलिवलकी अरुणा शाही, क्रिकेटकी मनिषा उपाध्याय र करातेकी सरगम कुमाल, उदियमान खेलाडी विधामा टेनिसका दर्शिल श्रेष्ठ, क्रिकेटका श्रृष्टि जैशी र बक्सिङका शाहिल लिम्बु, उत्कृष्ट प्रशिक्षक विधामा क्रिकेटका रिजन प्रजु, तेक्वान्दोकी रेकमाया गुरुङ र टेनिसका निरज थापा मनोनयन सूचिमा परेका छन् । तीमध्ये छनोट समितिले गरेको निर्णयको आधारमा उत्कृष्ट १ जनालाई अवार्ड वितरण हुनेछ । लाइफ टाइम अचिभमेन्ट अवार्ड अग्रज खेलाडी गणेश बहादुर भट्टराईलाई प्रदान गरिनेछ । उत्कृष्ट खेल संघ र वर्ष उत्कृष्ट खेल पत्रकार विधाको भने घोषणा हुन बाँकी रहेको मञ्चले जनाएको छ । पोखरा स्पोर्टस् अर्वाड अन्र्तगत वर्ष खेलाडी पुरुष र महिलाले टेल जी ब्राण्डको टाइगर मोडलको इलेक्ट्रिक स्कुटर र ट्रफी पुरस्कार स्वरुप प्राप्त गर्नेछन् । वर्ष उत्कृष्ट उदियमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद संघ, उत्कृष्ट खेल पत्रकारलाई नगद पैतिस हजार रुँपैयाको साथमा ट्रफी प्रदान गरिने मञ्च अध्यक्ष दीननाथ बरालले बताए । यसैगरी लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गर्ने व्यक्तिलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरिनेछ । उत्कृष्ट ३ को मनोनयन सूचीमा परेकाहरुलाई मनोनयन ट्रफी प्रमाणपत्र प्रदान गरिनेछ । अवार्ड कार्यक्रममा गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, एम ए कस्ट्रक्सन प्रालि, सहारा क्लब पोखरा, नेपाल भूतपुर्व खेलाडी मञ्च, तमु धिं युके, आभ्या क्लब, युनाइटेड नेसनको वातावरण पार्टनर टेल जी ब्राण्डको टाइगर मोडलको इलेक्ट्रिक स्कुटर, होटल पौवा लेकसाइड, जु जु वेर्यस, सिटीवान टेलिभिजन, पोखरेली मञ्च युके, परिचय एड्भर्टाइजिङ, चिल्लिबार एण्ड रेष्टुरेन्ट, टाइगर गुप्र अफ पोखरा, साइमन पार्टी प्यालेस, वल्डलिंक, फिस्टेल हस्पिटल, युनाइटेड क्लब, अमेरिकाबाट सरिता गुरुङ, जापानबाट पूर्व अध्यक्ष मोहन घले, पूर्व अध्यक्ष प्रेमनारायण न्यौपाने, मनकामना पेट्रोलपम्प, शितलज्योती युवा क्लब, लाइफकेयर डाईग्नोस्टिक्स एण्ड रिर्सच सेन्टर, सुनगाभा न्युज, स्टेशन गैह्रापाटन, सिटीजन फर्निचर, जिल्ला खेलकुद विकास समिति कास्की लगायत सहयोगीको रुपमा जोडिएको मञ्चले जनाएको छ । अवार्ड कार्यक्रमको थप आर्कषणको रुपमा गायक विनोद वाँनिया, हाँस्यकलाकार युवराज भण्डारी, गायक सन्तोष बस्याल, गायिका प्राप्ति तुलाचन, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकीको लाइभ दोहोरी, गण्डकी प्रज्ञा प्रतिष्ठानको कल्चरल नृत्य, गण्डकी बिव्वाइजको बिबोइङ नृत्य, गजल वाचन र डेमोस्ट्रेशन रहनेछ । मञ्चका अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा पोखरा १७ घारिपाटनमा रहेको आभ्या क्लबमा भएको पत्रकार सम्मेलन तथा ट्रफी सार्वजनिक कार्यक्रममा उपाध्यक्ष सुरज श्रेष्ठले स्वागत र महासचिव राजाराम पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।
पोखरा : पोखरा १७ घारीपाटनमा रहेको एसओएस हर्मन माइनर स्कुलमा विद्यार्थी परिषद्को एक कार्यक्रबीच पुनर्गठनसँगै पदस्थापन भएको छ । हरेक वर्ष विद्यार्थीको शैक्षिक गतिविधिलाई चुस्त, दुरुस्त र प्रभावकारी राख्न परिषद्को गठन गरिएको विद्यालयका प्राचार्य फूर्वू ठिन्लेले जानकारी दिनुभयो । विद्यार्थीमैत्री वातावरणमा अध्ययन अध्यापन हुँदै आएको विद्यालयमा विद्यार्थीको चौतर्फी विकास गर्न विद्यार्थीलाई नै क्रियाशील हुने गरी हरेक वर्ष परिषद्को गठन गरिएको उहाँले जानकारी दिनुभयो । काउन्सिलमा विद्यालय नायकमा ढुन्डुप छिरिड. र तेन्जिन छेतेन चयन भएका छन् । मतदानबाट भएको चयनमा प्रक्रियामा विद्यार्थी प्रिफेक्टहरु छात्रतर्फ कर्म टासी, टासी फुन्चोक, छिरिड. शेर्पा र रिन्जिन ढुन्डुप चयन भएका छन् ।छात्रातर्फ छिरिड युडोन, डोल्मा तामाङ, पासाङ डोल्मा र अनिता गुरुङ चयन भएको चपरिषद्ले शैक्षिक वर्ष सन् २०२२ र २०२३ का लागि काम गर्ने छ । सिनियरतर्फ दीपेन गुरुङ र पेमा डोल्मा चयन भएका छन् । पदस्थापनसँगै विद्यार्थी नेतृत्वहरुलाई खादा र व्याच प्रदान गरिएको थियो । सो अवसरमा उर्गेन दावा, गोविन केसी लगायतका शिक्षकहरुले आफ्नो मन्तव्य राख्नुभएको थियो । सो अवसरमा बोल्दै विद्यार्थी नायक ढुन्डुप छिरिड.ले विद्यार्थीहरुको अनुशासनलाई कायम राख्दै सिर्जनशील बन्न प्रेरित गर्ने बताए । छात्रा नायक तेन्जिन छेतेनले विद्यार्थीहरुलाई कर्तव्यनिष्ठ र अनुशासित बनाउन आफ्नो नेतृत्व क्रियकाशील रहनेमा जोड दिइन् । सो अवसरमा प्रिफेक्ट र छात्रछात्रा नायकहरुले सपथ खाएर शैक्षिक गुस्तर कायम राख्न नवगठित परिषद् सदैव लागि पर्ने प्रतिबद्धता जनाएको शिक्षक अमृत घिमिरेले जानकारी दिनुभयो ।
पोखरा : जग्गा अधिग्रहण भएको झण्डै ४७ वर्ष पछि पोखरा बसपार्कको रुप फेरिँदैछ । नाला निर्माण र ग्राबेल भरेर सम्याउने काम अगाडि बढेसंगै बसपार्कको रुप फेरिएको हो । अहिले बसपार्कको आधा भागमा ग्रावेल हालेर सम्माउने काम भएको छ भने पश्चिम भागमा नाला निर्माण भएको छ । पोखरा ९का वडाध्यक्ष दीपेन्द्र मर्सानीले बसपार्क अब हिलो र धुलो मुक्त बन्न लागेको जानकारी दिए । ‘नाला निर्माण र ग्रावेल भरेर सम्याउने काम भएसंगै बसपार्क अब हिलो र धुलो मुक्त हुँदैछ ।’ उनले भने, ‘पोखरा महानगरपालिका र प्रदेश सरकारको समेत सहयोगमा बसपार्कले अब रुप फेर्दैछ ।’ आधा भाग ग्राबेल हालेर पुर्ने काम भएको र बाँकी आधा भागमा पनि निरन्तर काम गरेर पुर्न मेयर धनराज आचार्यले सहजिकरण गरिरहेको उनले बताए । यसैबीच पोखरा बसपार्कको बुधबार मेयर आचार्यले निरीक्षण गरेका छन् । पार्किङ गर्ने सबै भागमा ग्रावेल भरेर सम्याउने कामलाई सक्न र तत्कालका लागि धुलो र हिलो मुक्त बनाउन उनले निर्देशन दिए । त्यसपछि छिट्टै समस्या सल्ट्याएर डिपिआर तयार पार्दै सिटी बसपार्कको रुपमा निर्माण गर्न महानगर लाग्ने उनले बताए । बसपार्क निरीक्षणका क्रममा बसपार्क टोल सुधार समितिका अध्यक्ष केशवबहादुर थापा र पोखरा बसपार्क सुधार उपभोक्ता समितिका अध्यक्ष कमलबहादुर श्रेष्ठ लगायतको उपस्थिति थियो । गत २५ जेठमा एक कार्यक्रमका बीच बसपार्कको नाला निर्माण कार्यको गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्का र पोखरा महानगरका मेयर धनराज आचार्यले शिलान्यास गरेका थिए । पोखरा बसपार्कको जग्गा पोखरा उपत्यका नगरविकास समितिको स्वामित्वमा छ । फरक अस्थित्वको उपत्यका नगरविकास समिति अहिले मेयरकै नेतृत्वमा छ । झण्डै ४७ बर्ष अगाडि अर्थात १८ फागुन २०३२ सालमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरेर बसपार्कका लागि अधिग्रहण गरिएको उक्त जग्गामा अहिलेसम्म पूर्वाधार बनाइएको छैन । पूर्वमा सेती नदी, पश्चिम ढिकैढिक भएर बैरागी बन जानेबाटो, दक्षिण एयरपोर्टको तारबार र उत्तरमा पृथ्वी राजमार्ग भित्रको अधिग्रहण गरिएको २०५ रोपनी जग्गा अहिले जम्मा ८१ रोपनीमा खुम्चिएको छ ।
पोखरा : स्याङ्जाको गल्याङ–१० डुबिन्डाँडामा आज बिहान धन्सार भत्किएर पुरिँदा एक बालिकाको मृत्यु भएको छ । वर्षाका कारण डुबिन्डाँडाका ढाकाराम भट्टराईको घर नजिकै रहेको कच्ची धन्सार भत्किँदा सोही धन्सारमा सुतिरहेकी १२ वर्षीया रेखा भट्टराईको मृत्यु भएको हो । गम्भीर घाइते उनको गल्याङ नगर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवीन्द्र खनालले जानकारी दिनुभयो । सोही धन्सारमा सुतेका मृतकका दाजु १६ वर्षीय लक्ष्मणको चोट लागेको छ । उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
पोखरा : छैटौं संस्करणको पोखरा स्पोर्टस् अवार्ड २०७८ को वर्ष उत्कृष्ट प्रशिक्षक विधाको मनोनयनमा टेनिसका निरज थापा, क्रिकेटका रिजन प्रजु र तेक्वान्दो तथा फेन्सिङकी रेकमाया गुरुङ परेका छन् । उनीहरुमध्ये अवार्ड कसको पोल्टामा पर्छ शनिबारसम्म कुर्नुपर्ने भएको छ । यो अवार्ड विजेताले नगद पैतिस हजार रुँपैयाको साथमा ट्रफी हात पार्नेछन् । अवार्ड कार्यक्रम नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले खेल क्षेत्रमा अगाडि बढेका खेलाडी, प्रशिक्षक, खेलसंघ र खेल पत्रकारलाई थप क्रियाशिल बन्न हौसला प्रदान गर्ने उद्धेश्यले गर्ने गरेको हो । पोखरा सभागृह हलमा यहीं असार १८ गते शनिबार आयोजना हुने अवार्ड वितरण कार्यक्रममा कुल ७ विधामा अवार्ड वितरण गरिने मञ्चका महासचिव राजाराम पौडेलले जनाए । निरज थापा (टेनिस) निरज थापा २३ वर्ष अघि काठमाण्डौबाट पोखरा आउँदा यहाँ टेनिस खेल्नेको संख्या औलामा गन्न मिल्ने थियो । २०५९ सालमा रत्नश्री जिमहलमा उनले टेनिस सिकाउँदा पोखरामा मात्र १०÷१५ जनाले टेनिस खेल्थे । त्यो पनि भेट्रान्स मात्रै । एक दशक अघि नेपालको शिर्ष वरियतामा रहेका कुमार अधिकारीले निरजसंगबाट टेनिस र्याकेट समात्न सिकेका हुन् । त्यसपछि पोखरा च्याम्पियन खेलाडीहरु महेश्वर तिवारी, अनिल शाही, शक्ति सर्मा लगायतले पनि निरजसंगै टेनिस सिके । महेश्वर अहिले दुवईमा व्यवसायिक रुपमा टेनिस खेल्ने खेलाउने गर्दछन् । अनिल, शक्ति लगायत अहिले पोखरामा प्रशिक्षकका रुपमा टेनिस खेलाउने गर्दछन् । निरज थापाले अहिले सम्म सयौ चेलाहरु बनाइसकेका छन् । ति मध्ये अहिले नेपालका शिर्ष वरियता खेलाडी प्रदिप खड्का उनकै चेला हुन् । पोखरालाई टेनिस शरहका रुपमा चिनाउन निरजको ठूलो योगदान छ । अहिले उनी ‘सबैका गुरु निरज गुरु’ भनेर चिनिन्छन् । टेनिसलाईनै व्यवसाय बनाएका निरजले अहिले श्रीमति र दुई छोरा सहित पोखरामै घरजम जमाएका छन् । रिजन प्रजु ( क्रिकेट) क्रिकेट खेलाडी हुँदै प्रशिक्षक बनेका रिजन प्रजुले वर्ष २०७८ मा गण्डकी प्रदेशको महिला क्रिकेट टिम हेरिरहेका छन् । उनकै प्रशिक्षणमा गण्डकीको महिला टोलिले धनगढीमा वाई वाई महिला क्रिकेट प्रतियोगितामा प्रथम स्थान हाँसिल गर्दै ऐतिहाँसिक सफलता हाँसिल ग¥यो । गण्डकी प्रदेश सरकारले पनि विजयी टोलीका खेलाडीहरुलाई जनही पचास पचास हजार रुपैयाँले सम्मानित गर्याे । वर्ष २०७८ मा मलेशियामा भएको एसिया वल्र्ड कप क्वालिफिकेसनमा महिला टोलीले तेश्रो, गैंडाकोटमा भएको मेयरकपमा प्रथम स्थान हाँसिल गरेको थियो । त्यस्तै, पिएम कपमा पनि सहभागिता जनायो । सन् २००६ मा पोखरा आएका रिजन शुरुमा पोखरा टिमबाट क्रिकेट खेल्थे । सन् २००८ देखि उनले गण्डकीको टिमको क्याप्टेनसी गरे । सन् २०१३ बाट उनले महिला टिम सम्हालेका हुन् । उनी दृष्टीविहिन महिला क्रिकेट टिमको पनि प्रशिक्षक हुन् । उनको प्रशिक्षणमा टोलीले सन् २०१९ मा पाकिस्तान र सन् २०१७ मा भारतमा भएको वल्र्डकप क्रिकेटमा सहभागिता जनाएको थियो । नेपालले पाकिस्तानमा साउथ अफ्रिका र न्यूजिल्याण्डलाई तथा पाकिस्तानमा अष्टे«लियालाई पराजित गरेको थियो । रेकमाया गुरुङ्ग (तेक्वान्दो, फेन्सिङ) रेकमाया गुरुङ अहिले भारतको पटियालामा फेन्सिङको प्रशिक्षणमा छिन् । फेन्सिङ संघ नेपालकी केन्द्रिय सदस्य समेत रहेकी रेकमायाले नेताजी सुभाष नेशनल इन्स्टीच्युट अफ स्पोटर््समा ६ हप्ता लामो सर्टिफिकेट कोर्स अफ स्पोर्टस कोचिङमा फेन्सीङ खेलको प्रशिक्षण लिएकी हुन् । पोखरा नयाँगाउँकी रेकमायाले तेक्वान्दोका राष्ट्रिय तथा अन्र्तराष्ट्रिय विभिन्न प्रतियोगितामा पदक जितिसकेकी छन् । त्यस्तै उनी राष्ट्रिय तेक्वान्दो प्रतियोगिताका रजत पदक धारी खेलाडी पनि हुन् । पाँच डान प्राप्त उनले पोखरामा आफ्नै ‘एप्सुलुट डोजाङ्ग’ सञ्चालन गरिरहेकी छन् । पछिल्लो समय उनले फेन्सिङ प्रशिक्षणलाई समेत अघि बढाएकी हुन् । फेन्सिङमा प्रथम बीर गणेशमान सिंह फेन्सिङ च्याम्पियन्सिपमा गण्डकी प्रदेशले टिम ईभेन्ट तर्फ ३ कास्य पदक जितेको थियो । उनकै प्रशिक्षणमा रहेका पोखराका सुबान गुरुङ र मनमायाँ गुरुङले २०७८ सालमा कोरियन एम्वासडर वर्ल्ड तेक्वान्दो च्याम्पियनसिप २०२१ मा पदक जितेका छन् । प्रतियोगितामा सुबानले स्वर्ण तथा मनमायाँले कास्य जितेकी हुन् । विश्व खेलकुद पत्रकार दिवसको अवसर पारेर मञ्च गण्डकीले आयोजनागर्ने अवार्ड कार्यक्रममा उत्कृष्ट प्रशिक्षक सहित लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उत्कृष्ट खेल संघ, उत्कृष्ट उदियमान खेलाडी र उत्कृष्ट खेल पत्रकारलाई अवार्ड वितरण गर्ने महासचिव पौडेलले प्रष्टाए । अवार्ड कार्यक्रमलाई गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, एम ए कस्ट्रक्सन प्रालि, सहारा क्लब पोखरा, नेपाल भूतपुर्व खेलाडी मञ्च, तमु धिं युके, आव्या क्लब, होटल पौवा लेकसाइड, जु जु वेर्यस, सिटीवान टेलिभिजन, पोखरेली मञ्च युके, चिल्लिबार एण्ड रेष्टुरेन्ट, टाइगर गुप्र अफ पोखरा, साइमन पार्टी प्यालेस, वल्डलिंक, फिस्टेल हस्पिटल, युनाइटेड क्लब, अमेरिकाबाट सरिता गुरुङ, जापानबाट पूर्व अध्यक्ष मोहन घले, पूर्व अध्यक्ष प्रेमनारायण न्यौपाने, मनकामना पेट्रोलपम्प, सिटीजन फर्निचर, जिल्ला खेलकुद विकास समिति कास्की लगायतले सहयोग गरेका छन् । अवार्ड कार्यक्रमको थप आर्कषणको रुपमा गायक विनोद वानिया, हाँस्यकलाकार युवराज भण्डारी, गायक सन्तोष बस्याल, गायिका प्राप्ति तुलाचन, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकीको लाइभ दोहोरी, गण्डकी प्रज्ञा प्रतिष्ठानको कल्चरल नृत्य, गण्डकी बिव्वाइजको बिबोइङ नृत्य, मन क्षेत्रीको गजल वाचन तथा दीपक गोदारको संयोजकत्वमा डेमोस्ट्रेशन रहनेछ । दिउँसो ३ बजे सुरु हुने कार्यक्रममा प्रवेश निःशुल्क हुनेछ । अवार्ड कार्यक्रमलाई भव्य बनाउन विभिन्न समिति तथा उपसमिति मार्फत कामलाई तिव्रता दिएको छ । मञ्चले २०७२ सालदेखि पोखरामा निरन्तर स्पोट्र्स अवार्ड कार्यक्रम गर्दै आएको छ । गर्यो
पोखरा : पोखरामा आयोजना हुने छैटौं सस्करणको पोखरा स्पोर्टस अवार्डलाई अमेरिकाबाट समाजसेवी तथा अभियान्ता सरिता गुरुङले साथ दिएकी छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा यहीं असार १८ गते शनिबार हुने अवार्डलाई उनले नगद सहयोग गर्ने भएकी हुन् । अवार्डका लागि गठित अन्तर्राष्ट्रिय समन्वय समितिका सह–संयोजक एवम अग्रज फोटो पत्रकार सुदर्शन रञ्जितका अनुसार सरिताले अवार्ड सफल बनाउन नगद १५ हजार रुपैयाँ सहयोग गरेकी छन् । पोखरा घर भई हाल अमेरिका बस्दै आएकी सरिता विभिन्न सामाजिक क्रियाकलापमा संलग्न छन् । यसैगरी हाल जापानमा रहनुभएका मञ्चका पूर्व अध्यक्षद्धय मोहन घले र प्रेम नारायण न्यौपानले समेत अवार्डलाई साथ दिएका छन् । उनीहरु दुवै जनाले जनही १५ हजार रुपैयाँ सहयोग गरेको अन्तर्राष्ट्रिय समन्वय समितिका सह–संयोजक रञ्जितले बताए । पूर्व अध्यक्ष घले नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष समेत हुन् । विश्व खेलकुद पत्रकार दिवसको अवसर पारेर मञ्च गण्डकीले लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ, उत्कृष्ट उदियमान खेलाडी र उत्कृष्ट खेल पत्रकारलाई अवार्ड वितरण गर्ने मञ्च गण्डकीका महासचिव राजाराम पौडेलको भनाई छ । कार्यक्रमको थप आर्कषर्णको रुपमा साँस्कृतिक कार्यक्रम समेत रहने छ । अवार्ड कार्यक्रमलाई गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, एम ए कस्ट्रक्सन प्रालि, सहारा क्लब पोखरा, नेपाल भूतपुर्व खेलाडी मञ्च, तमु धिं युके, आव्या क्लब, होटल पौवा लेकसाइड, जु जु वेर्यस, सिटीवान टेलिभिजन, पोखरेली मञ्च युके, चिल्लिबार एण्ड रेष्टुरेन्ट, साइमन पार्टी प्यालेस, वल्डलिंक, फिस्टेल हस्पिटल, युनाइटेड क्लब, मनकामना पेट्रोलपम्प, सिटीजन फर्निचर लगायतले समेत सहयोग गरेका छन् । अवार्ड कार्यक्रमलाई भव्य बनाउन विभिन्न समिति तथा उपसमिति मार्फत कामलाई तिव्रता दिएको छ । मञ्चले २०७२ सालदेखि पोखरामा निरन्तर स्पोट्र्स अवार्ड कार्यक्रम गर्दै आएको छ ।
पोखरा : गायक विनोद वानियाको प्रस्तुतीमा दर्शक रम्न पाउने भएका छन् । असार १८ गते शनिबार पोखरा सभागृहमा हुने पोखरा स्पोर्टस् अवार्ड २०७८ मा हुने सांगीतिक तथा सांस्कृतिक प्रस्तुतीमा गायक वानियाले आफ्नो प्रस्तुती मार्फत दर्शकलाई झुमाउने छन् । उनका चर्चित गीत सुन्दै संगीतको मज्जा लिने मौका त्यहा मिल्नेछ । सोही कार्यक्रममा गायक सन्तोष बस्याल र गायिका प्राप्ति तुलाचनको सांगीतिक प्रस्तुती संगीतप्रेमीको लागि आर्कषण बन्ने कार्यक्रम आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका महासचिव राजाराम पौडेलले जानकारी दिए । यसैगरी हाँस्यव्यङ्गतर्फ युवराज भण्डारीको प्रस्तुतीमा दर्शकले पेट मिचिमिचि हाँस्न पाउनेछन् । पोखरेली माग्ने बुढाको रुपमा समेत परिचय बनाएका भण्डारीले स्टान्डअप कमेडी मार्फत दर्शकलाई मनोरञ्जन दिने तयारी गरेका छन् । लोकदोहोरी प्रेमी दर्शकको लागि लाइभ दोहोरीमा रमाउने अवसर सिर्जना गरिनेछ । यसको लागि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकीका कलाकारले माहोल गर्माउनेछन् । बिबोइङ प्रस्तुती मार्फत नयाँ पुस्ताका दर्शकको ध्यान खिच्न गण्डकी बिब्वाइजको टिमले प्रस्तुती राख्नेछ । गजलकार मन क्षेत्रीका चोपिला गजल सुन्दै मनलाई प्रफूल्लित पार्न मात्र हैन गण्डकी प्रज्ञा प्रतिष्ठानको राष्ट्रियता झल्कने तथा गण्डकी प्रदेशको भेषभुषा झल्कने नृत्य हेर्दै रमाउन पाइनेछ । सोही कार्यक्रममा डेमोस्ट्रेसन समेत हेर्न पाइनेछ । दिउँसो ३ बजे सुरु हुने कार्यक्रममा प्रवेश निःशुल्क हुनेछ । यो कार्यक्रमको मुख्य आर्कषण भने स्पोर्टस् अवार्ड हो । विश्व खेलकुद पत्रकार दिवसको अवसर पारेर मञ्च गण्डकीले लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ, उत्कृष्ट उदियमान खेलाडी र उत्कृष्ट खेल पत्रकारलाई अवार्ड वितरण गर्ने महासचिव पौडेलको भनाई छ । अवार्ड कार्यक्रमलाई गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, एम ए कस्ट्रक्सन प्रालि, सहारा क्लब पोखरा, नेपाल भूतपुर्व खेलाडी मञ्च, तमु धिं युके, आव्या क्लब, होटल पौवा लेकसाइड, जु जु वेर्यस, सिटीवान टेलिभिजन, पोखरेली मञ्च युके, चिल्लिबार एण्ड रेष्टुरेन्ट, साइमन पार्टी प्यालेस, टाइगर गुप्र अफ पोखरा, वल्डलिंक, फिस्टेल हस्पिटल, युनाइटेड क्लब, अमेरिकाबाट सरिता गुरुङ, जापानबाट पूर्व अध्यक्ष मोहन घले, पूर्व अध्यक्ष प्रेमनारायण न्यौपाने, मनकामना पेट्रोलपम्प, सिटीजन फर्निचर लगायतले सहयोग गरेका छन् । अवार्ड कार्यक्रमलाई भव्य बनाउन विभिन्न समिति तथा उपसमिति मार्फत कामलाई तिव्रता दिएको छ । मञ्चले २०७२ सालदेखि पोखरामा निरन्तर स्पोट्र्स अवार्ड कार्यक्रम गर्दै आएको छ ।
पोखरा : नेपालमा गणतन्त्र स्थापना र अभिव्यक्ति स्वतन्त्रतामा जननेता मदनकुमार भण्डारीको योगदान महत्वपूर्ण र अतूल्य रहेको स्मरण गरिएको छ । पञ्चायती व्यवस्था, शाही शासनकालमा राजालाई खुलेआम चुनौती दिएर जनताको आवाज बुलन्द गर्ने र जनताको अधिकार प्राप्तिमा अग्रणी भूमिका खेल्ने नेता नै भण्डारी रहेको एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । नेकपा (एमाले) ले अङ्गिकार गरेको सिद्धान्त ‘जनताको बहुदलीय जनवाद (जबज)’ का प्रणेता जननेता भण्डारीको ७१ औं जन्मजयन्तिका अवसरमा प्रेस चौतारी कास्कीले पोखरामा मंगलबार आयोजना गरेको ‘जनताको बहुदलीय जनवाद र अभिव्यक्ति स्वतन्त्रता’ विषयक अन्तरसंवाद कार्यक्रममा वक्ताहरुले भण्डारीले प्रतिपादन गरेको जबजमा उल्लेखित अभिव्यक्ति स्वतन्त्रताका सवालमा चर्चा गरेका हुन् । जबजले नेपालका अन्य दललाई पनि नेतृत्व गरिरहेको भन्दै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र पनि जबजको लाइनमा रहेको वक्ताहरुको जिकिर छ । माओवादी केन्द्रको शान्तिपूर्ण राजनीति, बहुपदीय नेतृत्व प्रणाली साथै नेपाली कांग्रेसले आन्तरिक निर्वाचन गर्ने प्रणाली पनि जबजबाटै प्रभावित रहेको वक्ताहरुको भनाई छ । प्रमुख वक्ता एमाले स्थायी कमिटि सदस्य एवं संगठन विभाग प्रमुख खगराज अधिकारीले नेपाली कम्युनिष्ट आन्दोलनलाई सही मार्गमा अघि बढाउने सिद्धान्त नै जबज रहेको भन्दै नेता भण्डारीले सहयोद्धाहरुकै असहयोगका बीच यसलाई स्थापित गराएको बताए । ‘हामीले ल्याएको लोकतन्त्र, गणतन्त्रमा अभिव्यक्ति स्वतन्त्रता छ । यसको जरो जबज नै हो । पार्टी, नेता नरहेपनि देश र लोकतन्त्र रहनुपर्छ ।’– अधिकारीले भने । अभिव्यक्ति स्वतन्त्रताको दुरुपयोग गर्न नहुनेमा जोड दिँदै उनले सञ्चारजगत झनै सचेत हुनुपर्नेमा ध्यानाकर्षण गराए । उनले आफू पनि पीडित भएको स्मरण गर्दै भने– ‘कुनैबेला मलाई रातो पासपोर्ट बेच्यो भनेर कूप्रचार गराइयो, चुनावमा हराइयो । तर, त्यसबेला पासपोर्ट फिर्ता गर्ने ३ जनामा नरहरि आचार्य, सुवास नेम्वाङ र म नै थिएँ । म हारेँ, तारानाथ रानाभाट जिते, प्रतिगमनको मतियार बने, म त बन्थिनँ नि । त्यसरी स्वतन्त्रताको दुरुपयोग हुँदा व्यक्ति मात्र होइन, सबैलाई असर पर्छ ।’ अभिव्यक्ति स्वतन्त्रतामा केन्द्रित रहँदै अर्का वक्ता वरिष्ठ एवं स्वतन्त्र पत्रकार नारायण कार्कीले राजनीतिक दलीय प्रतिष्पर्धामा होमिने, जनताको अभिव्यक्ति कुण्ठित नहुने गरी सिद्धान्त नै आफै बनाएर अघि बढेको कम्युनिष्ट पार्टी नेकपा एमाले आज राष्ट्र हाँक्ने पार्टी बन्नुको श्रेय मदन भण्डारीलाई नै जाने बताए । उनले भण्डारीको अस्वभाविक मृत्यु प्रकरणबारे छानविनमा एमालेको उदासिनताका बारेमा पनि प्रश्न उठाए । उनले अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको सुन्दर पक्ष रहेको बताउँदै यसको पनि सीमारेखा हुने बताए । अहिले पत्रकारहरुले राजनीतिक पद प्राप्तिको माध्यम पत्रकारिता बनाउनु दुःखद विषय भन्दै पत्रकारिता राजनीतिक दल र नेताबाट प्रभावित बनेको गुनासो गरे । एमालेका केन्द्रीय सदस्य एवं कास्की ईञ्चार्ज भीम कार्कीले नेपाली बाम आन्दोलनलाई नयाँ शिराबाट अघि बढाउने दुरदर्शी राजनेता भण्डारी रहेको बताउँदै जसले सयौं वर्षका लागि विचार निर्माण गरी जबज प्रतिपादन गरेको बताए । ‘२०४७ सालको संविधान विश्वकै उत्कृष्ट भनियो । तर, नेता भण्डारीले २७ बुँदे असहमति उहीबेलै प्रकट गर्नुभयो । त्यसको १९ वर्षपछि जनआन्दोलनको बलमा लेखिएको अन्तरिम संविधानमा ती सबै बुँदा समेटिएको छ ।’ – कार्कीले भने– ‘ नेता भण्डारीको दुरदर्शिताकै कारण मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति नभएपनि आज सर्वोच्च नेताका रुपमा स्मरणमा रहनुभएको छ ।’ एमाले गण्डकी उपसचिव तथा प्रचार विभाग प्रमुख रश्मी आचार्यले नेपाली कम्युनिष्टको मूल विचारधारा नै जबज रहेको बताए । ‘प्रचण्डहरु अन्ततः यही लाइनमा आउने चरणमा हुनुहुन्छ । पार्टी एकतासम्म गरेका हौँ । उहाँहरु अझै सच्चिन जरुरी रहेको मलाई लाग्छ ।’ – आचार्यले भने ‘समाज र पार्टी लोकतान्त्रिकरणको एजेण्डा उठाउने मदन भण्डारी नै हो । एमाले गण्डकी सदस्य एवं प्रेस चौतारी फाँट ईञ्चार्ज रामकृष्ण ज्ञवालीले विश्वमा कम्युनिष्टहरू कमजोर भैरहेका बेला, पूँजीवादीहरुले कम्युनिष्टलाई निरंकुश र क्रुर भनेर चिनाइरहँदा नेपालबाट शान्तिपूर्ण कम्युनिष्ट आन्दोलनको उज्यालो छरेर विश्वसामु कम्युनिष्टको नयाँ सिद्धान्त जबज प्रतिपादन गर्ने नेता मदन भण्डारी भएको बताए । जबजबका १४ विशेषतामा दोस्रो बुँदा नै अभिव्यक्ति स्वतन्त्रता रहेको उनको भनाई छ । प्रेस चौतारी कास्कीका अध्यक्ष अर्जुन गिरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस चौतारी गण्डकीका अध्यक्ष ईन्द्रप्रसाद पौडेलले कार्यक्रममाथि प्रकाश पार्दै स्वागत गरे भने सचिव रञ्जन अधिकारीले कार्यक्रमको सञ्चालन गरेका थिए । प्रेस चौतारी गण्डकीले प्रकाशन गरेको भित्तपात्रो समेत कार्यक्रमा अतिथिहरुबाट सार्वजनिक गरिएको थियो ।
पोखराः गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेश सरकार कृषिलाई आधुनिक एवम् व्यावसायिक बनाउन प्रतिबद्ध रहेको बताएका छन् । राष्ट्रिय धान दिवस एवं असार १५ का अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेश र समग्र मुलुकको जिविकाको मुख्य आधार खेतीपाती नै रहेको भन्दै जग्गा चक्लाबन्दीका आधारमा व्यावसायिक कृषि फार्म सञ्चालनलाई प्राथमिकतामा राखिएको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘कृषि क्षेत्रको आधुनिकीकरण, यान्त्रिकीकरण र व्यावसायीकरण मार्फत् उत्पादन र उत्पादकत्व वृद्धि गरी स्वरोजगारका अवसरहरु सिर्जना तथा खाद्य सुरक्षा र नागरिकको स्वास्थ्यको प्रत्याभूति गर्ने नीति प्रदेश सरकारको छ ।’ यो वर्ष ‘धान रोपौं, खाद्यान्नमा आत्मनिर्भर बनौं’ नाराका साथ दिवस मनाइएको छ । विसं २०६१ मा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गरेपछि नेपालमा विसं २०६१ मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार विसं २०६२ असार १५ गतेदेखि धान दिवस मनाउन सुरु गरिएको हो । असार १५ नेपाली समाजमा दहीच्यूरा खाने पर्वका रुपमा पनि परिचित छ । खेतीपातीबाहेक अन्य पेसा तथा व्यवसायमा लागेका नेपालीहरुले आज दहीच्यूरा खाई असार १५ मनाउँछन् । मुख्यमन्त्री पोखरेलले यस अवसरमा सम्पूर्ण नेपाली नागरिक तथा कृषक दाजुभाइ दिदीबहिनीमा सुख, समृद्धि, उन्नति र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘असार १५ लाई सभ्य, भव्य र उल्लासपूर्वक मनाई नेपालमा धान संस्कृतिको जगेर्ना गर्दै खाद्यान्नमा आत्मनिर्भर बन्ने अभियानमा हातेमालो गर्न सम्पूर्णमा अनुरोध गर्दछु ।’

