पोखरा ।    गण्डकी प्रदेश सरकारमा आज (बुधबार) मन्त्रिपरिषद् हेरफेर भएसँगै नेकपा एमाले र नेपाली कांग्रेस दुवै दलबाट नियुक्त भए ८ मन्त्रीले सपथ लिएका छन् ।   गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टल...

काठमाण्डौँ :     लामो समय राजनीति गर्नुभएका पूर्वमन्त्री लोकेन्द्र विष्ट अहिले कृषि खेतीमा रमाइरहनुभएको छ । उहाँले लगाउनुभएको ‘ड्रागन फ्रुट’ अहिले राम्रोसँग फस्टाउँदै गएको छ ।   ‘सूर्यमुखी’ झै सूर्यतिर फर्किएका ड्रागन फूल हेरेर अहिले उहाँ खुशी हुनुहुन्छ । “राति फूलको कोपिला लाग्दा बिहान फूल आउँछ भन्ने थाहा पाएँ”,उहाँले भन्नुभयो“यही भएर बिहान खुसीका साथ सबेरै  उठ्दा फूलेका ड्रागनका फूल देखेर निकै खुसी भएँ ।” ड्रागन फ्रुटलाई रातको रानी भनेर पनि चिनिन्छ । किनकी राति नै ड्रागन फ्रुट फुल्ने गर्छ । त्यो फूल लामो समय रहदैन । सोमबार बिहान फुलेको त्यो फूल मङ्गलबार बिहानसम्म ओइलिसक्छ ।    यो वर्ष विगतका वर्ष भन्दा बढी नै फूलेको छ । जहाँ फल लागेको हुन्छ्, त्यहाँ फूल फुल्ने गर्छ । विष्टले दुई प्रकारका ड्रागन फ्रुट रोप्नु भएको छ । उहाँले सबै भन्दा धेरै ‘रातोमा सेतो’ वाला रोप्नु भएको छ भने त्यही फार्ममा ‘रातोमा रातो’ ड्रागन फ्रुट पनि रोप्नु भएको छ । रातोमा सेतो जातले फल दिन थालेको यो तेस्रो वर्ष हो । तेस्रो वर्षको यो दोस्रो लट हो ।    साथै ‘रातोमा रातो’ जातले फल दिन थालेको यो दोस्रो वर्ष हो । प्रत्येक वर्ष जेठदेखि कात्तिकसम्म फल दिने गर्छ । यो बीचमा ६ लटसम्म वर्षमा फल प्राप्त हुने विष्टको भनाइ छ ।    विष्टले वर्सेनि फल दिनेक्रम बढिरहेको बताउनुभयो । विगतमा ३० क्वीन्टलसम्म फल भित्र्याउन सफल भएकोमा यसवर्ष ४० क्वीन्टलभन्दा बढी ड्रागन फ्रुट भित्र्याउने    अपेक्षा लिनुभएको छ । “यस वर्ष प्रत्येक बोटमा १० देखि २० वटासम्म फल फलेका छन्”,उहाँले भन्नुभयो“त्यसले गर्दा यसवर्ष विगतभन्दा उत्पादन बढ्ने अपेक्षा छ ।” प्रत्येक लटमा फूल फुलेका २० दिनसम्ममा फल पाकिसक्छ ।  एउटा सेतो फल ५०० ग्रामसम्म हुने गर्छ भने रातो फल ३०० ग्रामम्म हुने गरेको उहाँ बताउनुहुन्छ । विष्टले तुलसीपुर उपमहानगरपालिका–१८ विजौरीस्थित खाली जग्गालाई भाडामा लिएर ड्रागन फ्रुट खेती गरिरहनुभएको छ ।   त्यही खेतीबाट उहाँले वार्षिक २० लाखसम्म आम्दानी गर्दै आउनुभएको छ । फल मात्रै नभए बिरुवाबाट पनि वार्षिक ५ लाखसम्म आम्दानी हुने गरेको उहाँ बताउनुहुन्छ । अहिले उहाँले उत्पादन गरेका बिरुवा दाङ मात्रै होइन्, बाहिरी जिल्लामा पनि उत्तिकै बिक्री हुन्छ । करिब एक करोड लगानी गरेर विष्टसहित तीन जनाले व्यावसायिक ड्रागन खेती गर्नुभएको छ । यसअघि पनि उहाँ कालो धानको  खेती गरेर चर्चामा हुनुहुन्थ्यो । उहाँले तीन बिघा ६ कठ्ठा जग्गामा उक्त खेती गर्नुभएको छ ।

पोखरा उद्योग वाणिज्य संघको ३४ औं महाधिवेशन भदौंको २४ र २५ गते हुने भएको छ ।    संघका अध्यक्ष नारायण कोइरालाको मातहतमा हालै बसेको बैठकले उक्त निर्णय गरेको हो । महाधिवेशनले आउँदो २ वर्षको लागि अध्यक्ष र पदाधिकारीसहित नयाँ कार्यसमिति चयन गर्नेछ ।    संघका महासचिव सुरेन्द्रमान विजुक्छेका अनुसार महाधिवेशनअन्तर्गतको निर्वाचन कार्यक्रम सम्पन्न गर्नको लागि संघका पूर्वअध्यक्ष तथा सल्लाहकार दिपक श्रेष्ठको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको छ ।    चुनावले अध्यक्ष,वरिष्ठ उपाध्यक्ष, उद्योग र वाणिज्यतर्फका २ उपाध्यक्ष,महासचिव,कोषाध्यक्ष,उपमहासचिवसहित २९ सदस्यीय कार्यसमिति चयन गर्नेछ । निवर्तमान अध्यक्ष कार्यसमितिको पदेन सदस्य हुने व्यवस्था रहेको छ ।   संघको कार्यसमिति सदस्यमा खुलातर्फ १०, कर्पोरेट २ जना,औद्योगिकबाट १ जना तथा बस्तुगतबाट  ४ सदस्य हुने व्यवस्था छ । ४ जना सदस्य अध्यक्षले मनोनित गर्ने विधानमा उल्लेख छ ।    असार मसान्तसम्म सदस्यता नवीकरण गरेका सदस्यहरुले मतदान प्रक्रियामा सहभागी हुन पाउने छन् ।

काठमाण्डौँ :     सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजार ८०० ले घटेर रु ९७ हजार १०० मा आएको छ ।    पहेंलो धातु अघिल्लो दिन प्रतितोला रु ९८ हजार ९००मा कारोबार भएको थियो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ६०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९८ हजार ४०० थियो ।       त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २० ले घटेर रु एक हजार २४५ कायम रहेको महासङ्घले जनाएको छ ।

काठमाण्डौँ :       साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले यस वर्षका लागि जिम्मेवारी पाएको रासायनिक मल भित्र्याउन सुरुआत गरेको छ ।  तीमध्ये १७  हजार मेट्रिक टन डिएपी मल स्वदेश भित्रिई धमाधम आफ्ना डिपो/बिक्रीकक्षमार्फत वितरण भइराखेको र २२ हजार मेट्रिक टन युरिया मल आगामी असारको पहिलो सातादेखि स्वदेश भित्रिन थाल्ने कर्पोरेशनले जनाएको छ ।   कर्पोरेशनले २० हजार मेट्रिक टन डिएपी र २२ हजार मेट्रिक टन मलसहित एक लाख मेट्रिक टन ल्याउन सरकारबाट स्वीकृति पाएको थियो । डिएपीमध्ये बाँकी तीन हजार मेट्रिक टन भारतको कोलकाता बन्दरगाहमा आइसकेको उसले जनाएको छ ।     कर्पोरेशनका विभागीय प्रबन्धक बज्रेश झाले भन्नुभयो, “१७ हजार मेट्रिक टन अर्थात् चार लाख बोरा डिएपी आफ्ना डिपो÷बिक्री कक्षमार्फत वितरण गरिराखेका छौँ । बाँकी तीन हजार मेट्रिक टन पनि भारतको कोलकाता बन्दरगाहमा आइसकेको छ ।” मल प्रतिबोरा ५० केजीको हुन्छ ।   उहाँका अनुसार २२ हजार मेट्रिक टन अर्थात् चार लाख ४० बोरा युरिया मल  कोलकाता आइसकेको र एक हप्ताभित्र स्वदेश भित्रिन थाल्ने छ ।  विभागीय प्रबन्धक झाले भन्नुभयो, “२२ हजार मेट्रिक टन युरिया कोलकाता आइसकेको र एक हप्ताभित्र स्वदेश भित्रिन थाल्नेछ । स्वेदेश आउनेबित्तिकै डिपो÷बिक्रीकक्षमार्फत बिक्री वितरण सुरु हुन्छ ।”   रोपाइँका समयमा देशभर रासायनिक मलको चरम अभाव भइरहँदा ती मलले किसानलाई केही भए पनि राहत मिल्ने अपेक्षा कर्पोरेशनले लिएको छ । कर्पोरेशनले इण्डोनेसियाबाट युरिया मल झिकाएको हो ।    विश्व कृषि बजारमा इण्डोनेसियाको मल सर्वोत्कृष्ट मानिन्छ । सरकारले यसपटक कर्पोरेशनलाई कूल एक लाख मेट्रिक टन मल आयात गर्न अनुदान दिएको थियो । यो कूल अनुदान आयातको ३० प्रतिशत हिस्सा मात्र हो । बाँकी अर्को सरकारी स्वामित्वको कृषि सामग्री कम्पनीलाई जिम्मेवारी प्रदान गरिएको छ । कृषि मन्त्रालयले यसपटक मलमा मात्र करिब रु ११ अर्बभन्दा बढीको अनुदान प्रदान गरेको जनाइएको छ ।   माटोको उर्वरा शक्ति बढाउन डिएपीको प्रयोग गरिन्छ । रोपाइँपूर्व अर्थात् खेतमा धान रोप्नुअगाडि सो मल हालिन्छ भने रोपिएका बिरुवालाई सपार्न र हलक्क बनाउन युरियाको प्रयोग गरिन्छ । ती दुवै मल अन्न बालीका उत्पादकत्व बढाउन अति आवश्यक मानिन्छ ।    विभागीय प्रबन्धक झाले भन्नुभयो, “कर्पोरेशन सरकारले सुम्पिएको दायित्वलाई पूरा गर्न अग्रणी छ । आयातित मलबाट थोरै भए पनि किसान लाभान्वित हुनेछन् । आगामी दिनमा सरकारले अनुदानको मलको कोटा थपिदिएमा यसको जिम्मेवारी बहन गर्न कर्पोरेशन सक्षम छ ।”   कृषि मन्त्रालयका अनुसार विशेषगरी यस मौसम (सिजन)का धान र मकै बालीका लागि मात्र दुई लाख  मेट्रिक टन रासायनिक मल (डिएपी र युरिया)को आवश्यक पर्दछ  भने वार्षिकरूपमा पाँच लाख मेट्रिक टन मल खपत हुने गर्दछ  । नेपालका ७० प्रतिशत बढी नागरिक कृषि पेशामा संलग्न छन् । नेपालको कूल ग्रार्हस्थ उत्पादन (जिडीपी)मा कृषि क्षेत्रको २७ प्रतिशत योगदान छ । कृषि उत्पादनको मुख्य बाली धानबाली हो र जिडीपीमा धानको योगदान सात प्रतिशत छ । धानबालीलगायत अन्य बालीको उत्पादन वृद्धिका लागि रासायनिक मल नभइ हुँदैन ।   किसानलाई मल प्रदान गर्न खडा भएका सरकारी डिपो सबै मलविहीन छन् । मनसुन सक्रिय सरकार निष्क्रिय बन्दा किसान मारमा परेको जनाउँदै सदनले आइतबार  सरकारलाई तत्काल किसानलाई रासायनिक मल उपलब्ध गराउन निर्देशसमेत गरेको थियो ।  

गल्छी, मैलुङ, स्याफ्रुबेँसी सडक खण्डका विभिन्न स्थानमा ३२ पक्की पुल निर्माणाधीन रहेका छन्  । विस्तृत अध्यायन प्रतिवेदन (डिपिआर)ले औँल्याएका साना–ठूला ती पुलमध्ये  १३ वटाको निर्माण सम्पन्न भइसकेको  पुल निर्माणमा हालसम्म रु ५७ करोड ९५ लाख खर्च भइसकेको सडक सुधार आयोजनाका प्रमुख नीरज शाक्यले जानकारी दिनुभयो ।    उहाँका अनुसार सबै पुलको भारवहन क्षमता ४० टनसम्म हुने र निर्माण भइसकेका अधिकांश पुलबाटै सवारीसाधन ओहोरदोहोर भइसकेको जनाइएको छ ।    गल्छीबाट मैलुङसम्मको ४६ किलोमिटरमध्ये हालसम्म २६ किमी सडकको निर्माण सम्पन्न भइसकेको छ । मैलुङ, गल्छी खण्ड सडक सुधारको जिम्मा पाएको कोभेट÷तुन्दी जेभी कन्ट्रक्शनको काम निरन्तर अगाडि बढिहेका कारण सो कम्पनीले हालसम्म ७४ प्रतिशत प्रगति हासिल गरिसकेको छ । मैलुङदबाट स्याफ्रुबेँसीसम्मको १९ किमी राजमार्ग सडक विस्तार जिम्मा लिएको भारत–सिद्विसाई कन्ट्रक्शन जेभीले भने आफूले जिम्मा लिएको कार्य पूरा नगरी गत फागुनदेखि निर्माणको काम छाडेको छ ।   राष्ट्रिय गौरवको राजमार्गमा काम अलपत्र पारि छाडेकाले सिद्विसाई जेभीको ठेक्का रद्द गरी नयाँ प्रक्रियामा जाने गृहकार्य भइरहेको सडक सुधार आयोजनाले जनाएको छ । भारत सिद्विसाईले रु ३५ करोड भुक्तानी लिएर निर्माणको काम छाडेपछि पटक–पटक कार्यक्षेत्रमा फर्कन आग्रह गरिएता पनि सम्पर्कमा नआएपछि नियमानुसार ठेक्का रद्दको प्रक्रिया अगाडि बढिसकेको छ  । आर्थिक वर्ष २०७२÷७३ देखि सुरू भएको सडक सुधार आयोजनामा रु छ अर्ब ५६ करोड खर्च भएको बताइएको छ ।

पाल्पा :    सासू–ससुराको राम्रो हेरचाह, पालनपोषण गर्ने असल बुहारीलाई सम्मान गरिएको छ । पाल्पाको निस्दी गाउँपालिका–४ मित्यालको आयोजनामा परिवारका ज्येष्ठ नागरिक तथा सासू–ससुरालाई राम्रोसँग हेरचाह गर्ने बुहारीलाई सम्मान गरिएको हो ।     मित्यालका २७ बुहारीलाई लत्ताकपडा र सम्मानपत्रले सम्मान गरिएको छ । वडाले पहिलोपटक ल्याएको यस कार्यक्रम उदाहरणीय रहेको र सासू–ससुरालाई अपहेलना गर्ने बुहारीलाई थप जिम्मेवारी बन्न सिकाउने स्थानीयवासी धनबहादुर ठाडाले बताउनुभयो ।   वडा कार्यसमिति र सरोकारवालाले टोल–टोलमा पुगेर सासू–ससुरालाई राम्रोसँग लालनपालन, माया–ममता, स्याहारसुसार गर्ने बुहारी छनोट गरी सम्मान गरिएको वडाध्यक्ष सन्तवीर सुनारीले जानकारी दिनुभयो ।    समाजमा हिजोआज छोराबुहारी विभिन्न पेशा, व्यवसायमा व्यस्त रहने हुँदा घरमा एक्लै बस्नुपर्ने बाध्यता छ । पेशा, व्यवसायको व्यस्तता कतिपयले बुढ्यौली टेकेका सासू– ससुरालाई राम्रो स्याहारसुसार गर्न भ्याउँदैनन् भने कतिपयले ज्येष्ठ नागरिक भनेपछि अपहेलना गर्ने प्रवृत्ति छ ।   धनमाया ठाडाले घरका सासू–ससुरालाई राम्रो स्याहारसुसार गरेको भन्दै आफूलाई असल बुहारीका रूपमा सम्मान गरेकामा खुसी लागेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “घरका सासू–ससुरा भनेको हाम्रो अभिभावक हो, जन्मदिने बुवाआमासरह नै हामीले मायाममता, स्याहार संरक्षण गर्नुपर्दछ, उहाँहरूलाई खुसी बनाउन सकियो भने परिवार खुसी हुन्छ, हामीलाई आत्मसन्तुष्ट मिल्नेछ ।”    कतिपय परिवारमा सासू–ससुरा उमेर ढल्कँदै गर्दा घरबाट निकाला गरिदिने, वृद्धाश्रममा लगेर राखिदिने पनि बुहारी हाम्रै समाजमा छन् । ज्येष्ठ नागरिक समाजको अभिभावक, मार्गदर्शक भएकाले उनीहरुको सदैव मायाममता, पालनपोषण गरियो भने परिवार, समाजमा खुसी मिल्नेछ ।

दोलखा :       दोलखाको शैलुङ गाउँपालिकाको एक घरमा आगलागी हुँदा निसासिएर एक जनाको मृत्युभएको छ । शैलुङ गाउँपालिका–१ को एक घरमा विद्युत् सर्ट भएर आगलागी हुँदा घरमा रहनुभएको ८५ वर्षीया निदकुमारी मगरको निसासिएर मृत्यु भएको प्रहरीले जनाएको छ । घरमा विद्युत् सर्ट भएर आगलागी भएको र झ्यालढोका सबै बन्द रहेका कारण घरमा रहनुभएकी वृद्धाको आज मृत्यु भएको प्रहरीले जनाएको छ ।   घरको छुट्टै कोठामा वृद्धा एक्लै सुत्ने गरेको र घरमा आगलागी भएपछि स्थानीयवासीले उद्धारको प्रयास गरे पनि निसासिएर उनको घरभित्रै मृत्यु भइसकेको स्थानीयवासीले बताएका छन् । बिहानीको समयमा घरमा विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीमा परी घर पूर्ण रुपमा नष्ट भएको छ भने घरमा रहेको बाख्रा तथा कुखुरासमेत जलेर मरेका छन् । आगलागीबाट के कति क्षति भयो भन्ने बारेमा विवरण सङ्कलन भइरहेको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

पोखरा:  पोखरा महानगरपालिका १ बगरमा भिमकाली क्लबको व्यवस्थापनमा लागुपदार्थ नियन्त्रणमा युवाहरुको भूमिका विषयक सचेतना कार्यक्रम सम्पन्न भएको छ ।   लागुऔषध नियन्त्रण व्युरो गण्डकी  प्रदेशको सहयोगमा भिमकाली क्लबको व्यवस्थापन तथा लागुपदार्थ नियन्त्रण तथा सुधार आमा समुहको आयोजनामा आइतबार सचेतनामुलक कार्यक्रम सम्पन्न भएको हो ।   उक्त कार्यक्रमको उद्घाटन पोखरा महानगरपालिका १ का नवनिर्वाचित अध्यक्ष साहरा प्रधानले गरे । सो अवसरमा बोल्दै वडाध्यक्ष प्रधानले युवाहरु कुलतमा फस्न नहुने धारणा राखे । युवाशक्ति विकासको मेरुडण्ड भएको उल्लेख गर्दै उनले रचनात्मक र सकरात्मक काममा लाग्नुपर्नेमा जोड दिए ।   उनले युवाहरु भविष्यको कर्णधार मात्रै नभई वर्तमानको साझेदारी समेत भएको भन्दै युवालाई समाज रुपान्तरणमा अभिप्रेरित गर्नेगरि क्लब लागेको वडाले काम गर्ने बताए । ‘समाज परिवर्तन गर्न युवाको भूमिका ज्यादै ठुलो हुन्छ, उनले भने, ‘यो कार्यक्रमले पनि लागुऔषधबाट टाढै रहनपर्छ भन्ने सन्देश दिएको छ र समाज विकासमा ठुलो सघाउ पुग्ने विश्वास लिएको छु ।’   अध्यक्ष प्रधानले युवाहरुलाई अग्रसर गराउनका लागि वडाले सधैं पहल गर्ने समेत बताएका थिए ।    यसैगरी मुख्य प्रशिक्षकका रुपमा रहेका लागुऔषध नियन्त्रण व्युरो गण्डकी  प्रदेश प्रहरीका प्रहरी नायव निरिक्षक विद्याधर त्रिपाठीले युवाहरु लागुऔषधमा फस्नु पछाडिका कारण र लागुऔषधको बेफाइदा र  यसको नियन्त्रणमा युवाको भूमिकाबारे प्रशिक्षण दिएका थिए ।    लागुपदार्थ नियन्त्रण तथा सुधार आमा समुहका अध्यक्ष विष्णु गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा भिमकाली क्लबका सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो । 

  पोखरा:   गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सोमबार पारित भएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले निर्णयार्थ प्रस्तुत गरेको नीति तथा कार्यक्रम प्रदेश सभाबाट बहुमतले पारित भएको हो ।   प्रदेश प्रमुख पृथ्वीमान गुरुङले जेठ २४ गते प्रदेश सभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । २६ गतेबाट नीति तथा कार्यक्रममा माथि छलफल सुरु भएको हो । छलफलका क्रममा उठेका प्रश्नमाथि सोमबार मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले जवाफ दिएलगत्तै नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत भएको थियो ।   गण्डकी प्रदेश सभामा अहिले सभामुखलाई नगन्दा सत्ता पक्षमा ३१ सदस्य छन् । कांग्रेसका १५, माओवादी केन्द्रका १२ (सभामुख सहित), जनमोर्चाका २, जनता समाजवादीका २ र स्वतन्त्र १ सदस्य सत्ता पक्षमा छन् । प्रतिपक्षमा एमालेका २६ सांसद छन् । ६० सदस्यीय प्रदेश सभामा अहिले ५८ सदस्य कायम छन् । जनमोर्चाका कृष्ण थापाको पद पार्टीले कारवाही गरेपछि पोहोर नै गएको हो । एमालेका कृष्ण थापा पोखरा महानगरको मेयरमा चुनाव लड्न राजीनामा दिएका हुन् ।   संसदमा जवाफ दिँदै मुख्यमन्त्री पोखरेलले प्रदेशका सोच तथा दृष्टिकोणहरू मूलतः नेपालको संविधान, पन्ध्रौं आवधिक योजना, प्रदेशको प्रथम पञ्चवर्षीय योजना, दिगो विकास लक्ष्य र प्रदेशवासीको विकास चाहना तथा राजनीतिक दलहरूको विकास प्रतिबद्धता र प्रदेश सभाको मार्गदर्शन बमोजिम तय भएको बताए । कोभिड महामारीले थला पारेको आर्थिक र सामाजिक जीवनलाई सहज बनाउने तर्फ यस नीति तथा कार्यक्रमले जोड दिएको उनको भनाइ थियो ।   दशकौं लामो बलिदानीपूर्ण संघर्षबाट प्राप्त संघीयताको मूल आधार प्रदेश सरकार रहेको भन्दै उनले यसले आफ्नो स्थापनाको छोटो समयमा नै संघीयताको सबलीकरण, लोकतन्त्रको सुदृढीकरण र जनताको विकास आवश्यकताको सम्बोधन र संविधान प्रदत्त जिम्मेवारी निर्वाह गर्ने सवालमा उल्लेख्य उपलब्धि हासिल गरेको दाबी गरे । उनले भने, ‘नेपाल सरकार र स्थानीय तहका बीचमा रहेर प्रदेश सरकारले समन्वयकारी भूमिका निर्वाह गर्ने र जनतालाई सेवा प्रवाह गर्ने सवालमा प्रदेश सरकारले महत्वपूर्ण फड्को मारेको विषय तपाईं हामीबाट छिपेको छैन ।’   विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ महामारीका कारण जनस्वास्थ्यका साथै सामाजिक जनजीवन र आर्थिक क्रियाकलाप पूरै संकुचित भएको थियो ।   उत्पादन, वितरण तथा उपभोग प्रणालीमा असन्तुलनलाई सही अवस्थामा ल्याउनका लागि प्रदेश सरकारले क्षमता अनुसार प्रयास गरेकै छ । नागरिक जनजीवनले पुनः गति समात्नुका साथै आर्थिक क्रियाकलाप क्रमशः लयमा फर्कदैँ गरेको मुख्यमन्त्री पोखरेलको भनाइ थियो । उनले भने, ‘सेवा उद्योगले विस्तारै पुनर्जीवन पाउँदै छ । सरकारले निरन्तरको मेहनत र उत्कृष्ट व्यवस्थापनबाट कोभिड–१९ महामारीबाट नागरिकलाई सुरक्षित राखेको र आर्थिक तथा सामाजिक सूचकलाई पनि सामान्य अवस्थामा फर्काएको छ ।’   नेपालको संविधानले निर्दिष्ट गरेको प्रदेशको एकल र साझा अधिकारको उपयोग गर्दै प्रदेशवासीप्रतिको जिम्मेवारी पूरा गर्नका लागि प्रदेश सरकार आफ्नो स्रोतसाधन र क्षमताले भ्याएसम्म क्रियाशील रहँदै मुख्यमन्त्री पोखरेलले बताए । जनताको विकासप्रतिको चाहना पूरा गर्नका लागि गण्डकी प्रदेश सरकार प्रतिबद्ध रहेको उनले उल्लेख गरे ।   सहकारिता सहअस्तित्व र समन्वयको भावनालाई आत्मसात गर्दै ३ तहका सरबारबीचको अन्तरसम्वन्धलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम तयार गरेको उनले प्रस्ट्याए । जवाफमा उनले भने, ‘माननीय ज्यूहरुले नेपाल सरकार र स्थानीय तहका अधिकार क्षेत्रमा रहेका विषय वस्तुलाई नीति तथा कार्यक्रममा समेटिएको विषयवस्तु उठाउनुभएको छ ।   हो, हामी एकल र साझा अधिकारका सूचीमा  सचेत छौं । यसका लागि आवश्यकता हो, सहकार्य र समन्वय । साझा उद्धेश्य प्राप्तिका लागि नेपाल सरकार र स्थानीय तहबीचको समन्वयकारी भूमिकाका लागि सहजीकरण गर्ने जिम्मेवारी प्रदेश सरकारको भएकाले नीति तथा कार्यक्रममा पनि यी विषयहरु समेटिएका हुन् ।’ जवाफको पूर्णपाठमा संलग्न छ ।