पोखरामा ११ औं संस्करणको ‘मिस टिन इन्टरनेसनल २०२६’ आयोजना हुने भएको छ ।    लिटिल स्टेप सेकेन्डरी स्कुलको प्रायोजन तथा इभेन्ट्स फर यू प्रालिको आयोजनामा हुने ‘मिस टिन इन्टरनेसन...

काठमाण्डौँ :     अर्थमन्त्री जनार्दन शर्मा र  पूर्वका उद्योगी, व्यवसायीबीच आगामी आर्थिक आर्थिक वर्षको बजेटले पारेको प्रभावका बारेमा छलफल भएको छ ।    सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आज भएको भेटमा उद्योग सङ्गठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघको प्रदेश नम्बर १ का प्रतिनिधिले आर्थिक वर्ष २०७९/८० को बजेटले वायर, घिउतेल र स्यानीटरी उद्योगमा पारेको प्रभावका बारेमा अर्थमन्त्री शर्मा समक्ष गुनासो राख्नुभएको थियो ।   त्यसक्रममा अर्थमन्त्री शर्माले बजेटले स्वदेशी उद्योगलाई उच्च प्राथमिकता दिएर मुलुक भित्रै औद्योगिकीकरण बिस्तार गरी आर्थिक गतिविधि अघि बढाउन खोजिएको बताउनुभयो ।   “बजेटमार्फत हाम्रो उदेश्य व्यवसायीलाई कतै पनि अप्ठ्यारो पार्न खोजिएको होइन”, उहाँले भन्नुभयो, “हाम्रो नीति त्यस्तो पनि छैन । सबैसँग छलफल गरेर बजेट ल्याएकाले सबै पक्षलाई समेट्ने प्रयास भएको छ ।”   महिलालाई राहत हुने  गरी स्यानिटरी प्याड आयातमा ठूलो भन्सार छुट उपलब्ध गराएको र यस्तो छुटले स्वदेशी उद्योगलाई केही समस्या भएको भए समाधान निकाल्न तयार रहेको अर्थमन्त्रीले जानकारी गराउनुभयो ।   कच्चा तेल आयात गरी स्वदेशमा उद्योग चलाउने र रोजगारी सृजना गर्नेलाई बजेटले सम्बोधन गरेको उहाँले बताउनुभयो । बजेटमार्फत स्वदेशी उद्योगलाई संरक्षण गरेर लैजाने नीति लिएको उहाँले प्रष्ट पार्नुभयो । “ बजेट तपाईहरु (व्यवसायी) का लागि हो । देशका लागि हो”, अर्थमन्त्री शर्माले भन्नुभयो, “हामीले स्वदेशी उद्योगलाई राम्रो गर्ने भनेर बजेटमा विभिन्न व्यवस्था गरेका हौँ ।”   छलफलमा उद्योग संगठन मोरङका अध्यक्ष नबिन रिजालले वायर, घिउतेल तथा स्यानीटरी उद्योगमा बजेटले पारेको प्रभावका बिषयमा छोटो प्रस्तुति दिनुभएको थियो ।   उहाँले सरकारी नीति आउँदा आत्मसाथ गर्ने वातावरण बनाइदिन आग्रह गर्नुभएको थियो । “हामी (व्यवसायी) लाई पनि नीतिले साथ दिनुस् । हामीले पनि बजेट आउँदा मुक्तकण्ठले प्रशंसा गर्ने स्थिति आओस्”, उहाँले भन्नुभयो । सो अवसरमा आगामी आवको बजेटको सकारात्मक पक्षका बारेमा पनि छलफल भएको थियो  ।    व्यवसायीसँगको छलफलपछि अर्थमन्त्रीले समस्या भएका केही क्षेत्र र विषयका बारेमा सम्बोधन गर्न तयार रहेको बताउनुभएको उहाँको सचिवालयले जनाएको छ । 

काठमाण्डौँः      चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म विप्रेषण आप्रवाहमा सामान्य सुधार भएको छ । पछिल्ला दिनमा विदेशीको मुद्राको सञ्चितिमा दबाव परिरहेको बेला विप्रेषण आप्रवाहमा भएको वृद्धिले सकारात्मक सन्देश प्रवाह भएको छ ।   नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको १० महिनाको आर्थिक विवरणअनुसार विप्रेषण आप्रवाहमा ०.२ प्रतिशतले वृद्धि भएको छ । बैंकका अनुसार वैशाख मसान्तसम्म रु आठ खर्ब ११ अर्ब ७९ करोड बराबरको विप्रेषण आप्रवाह भएको छ ।   सरकारले विप्रेषण पठाउनेलाई विशेष सुविधाका कार्यक्रम सार्वजनिक गरेपछि सकारात्मक प्रभाव पर्न थालेको हो । सरकारले विप्रेषण पठाउनेलाई साधारण शेयरमा कोटा लागू गर्नेलगायतका केही नीतिगत निर्णय गरेको छ ।   अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १९.२ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको सङ्ख्या उल्लेख्यरूपमा वृद्धि भई दुई लाख ७८ हजार २९८ पुगेको छ ।   अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ६८.४ प्रतिशतले घटेको थियो । त्यसैगरी वैदेशिक रोजगारीका लागि पुनःश्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा १८५.५ प्रतिशतले वृद्धि भई दुई लाख ३० हजार ४६६ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ५४ प्रतिशतले घटेको थियो ।   सो अवधिमा खुद ट्रान्सफर ०.०१ प्रतिशतले वृद्धि भई रु नौ खर्ब तीन अर्ब ६२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १७.१ प्रतिशतले बढेको थियो ।   

काठमाण्डौँ :      धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि एक दिनमात्रै उकालो लागेको नेप्से परिसूचक पुनः लगातार ओरालो लागिरहेको छ ।   सोही क्रममा शेयर कारोबार हुने साताको अन्तिम दिन शुक्रबार नेप्से परिसूचक १४ दशमलव ६४ अङ्कले ओरालो लागेर दुई हजार ४८ दशमलव १६ अङ्कमा झरेको छ । त्यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४ दशमलव ११ अङ्कले ओरालो लागेर ३९२ दशमलव २५ मा सीमित भएको छ । आजको कारोबार रकम हेर्दा त अर्ब पनि पुग्न सकेको छैन ।   बजार पूर्णरूपमा ‘वियरिङ टे«ण्ड’मा गएको देखिन्छ । सरकारले धितोपत्र बजारको समस्या समाधानका लागि लगातार प्रयास गरे पनि बजारले भने त्यसलाई आत्मसात् गर्न नसकेको कारोबारको विवरणले देखाउँछ ।   शुक्रबार कूल २२९ कम्पनीको ३० लाख ४५ हजार ८३८ कित्ता शेयर रु ८९ करोड ४१ लाख २४ हजार ११४ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका कूल १३ उपसमूहकै शेयर मूल्यमा गिरावट आएको छ । नेप्सेका अनुसार बैंकिङ ४ दशमलव ४३, व्यापार २१ दशमलव ९१, होटल तथा पर्यटन ३४ दशमलव ३२, विकास बैंक ३९ दशमलव १२, जलविद्युत् ७ दशमलव ३७, वित्त १८ दशमलव २८, निर्जीवन बीमा ७९ दशमलव ५७, उत्पादन १०० दशमलव ८७, अन्य २७ दशमलव ९, लघुवित्त २४ दशमलव ७७, जीवन बीमा ७८ दशमलव ९४, सामूहिक लगानी कोष ० दशमलव ०५ र लगानी ० दशमलव ५७ अङ्कले ओरालो लागेको छ ।   कारोबारका आधारमा कुमारी बैंक शीर्षस्थानमा छ । सो बैंकको रु पाँच करोड पाँच लाख ४५ हजार १६८ बराबरको कारोबार भयो । नेपाल इन्भेस्टमेन्ट बैंक रु चार करोड २४ लाख १४ हजार ५९३, मेगा बैंक रु तीन करोड १८ लाख ४४ हजार २७८, शिवम् सिमेन्ट रु तीन करोड १२ लाख ४७ हजार ८९२, एनआइसी एशिया बैंक रु तीन करोड दुई लाख ४१ हजार ७७३  बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।   नेप्सेका अनुसार उपकार लघुवित्त र ग्रीन भेञ्चर्सको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । बलेफी हाइड्रोपावर ९ दशमलव ९८, लक्ष्मी लघुवित्त वित्तीय संस्था ३ दशमलव ६२ र सनराइज फस्ट म्युचुअल फण्डका लगानीकर्ताले ३ दशमलव १० प्रतिशतले कमाए । त्यस्तै सामुदायिक लघुवित्त ५ दशमलव ७५, युनिलिभर नेपाल ५ दशमलव २५, युनाइटेड इदी मर्दी हाइड्रोपावर ४ दशमलव ९४, नारायणी डेभलपमेन्ट बैंक ४ दशमलव ३४ र मानुषी लघुवित्तका लगानीकर्ताले ३ दशमलव ९५ प्रतिशतले गुमाएका छन् ।

पोखरा:  पोखरामा ढल र नाला सफाई अभियान सुरु भएको छ । शुक्रबार बिहान पोखराको पृथ्वीचोकबाट सेती तर्फ लगिएको नाला सफा गरेर यो अभियानको सुरुवात गरिएको हो ।   महानगरका मेयर धनराज आचार्य, उपमेयर मञ्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत बलाराम रिज्याल, कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाही, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक रमेश थापा, महानगरका विभिन्न वडाका अध्यक्ष एवं जनप्रतिनिधिहरुको सहभागीतामा सफाई अभियानमा सहभागिता थियोे ।   अभियानको आरम्भ गर्दै महानगरका मेयर आचार्यले सरसफाईको काम महानगरको आफ्नै नियमित काम भएपनि यसपाली सडक किनाराका नाला र ढलहरु सबै भित्रै पसेर सफा गर्न सुरु गरिएको जानकारी दिए । ‘सरसफाई महानगरको नियमित काम हो । यसपाली अबको तीन दिन पोखराको टुंडिखेल देखि बिरौटा हुँदै छोरेपानका साथै सबै नाला र ढल बग्ने स्थलमा भित्रै पसेर सफाई गर्दैछौं’ उनले भने ।    मेयर आचार्यले पोखराको पुरानो ढल निकासले थेग्ने अवस्था नरहेपनि अहिले वर्षादको सुरुवातमा सफा गर्दा केही सहज हुने अपेक्षा राखे । आगामी दिनमा थेग्ने खालको र व्यवस्थित ढल निकास गर्न महानगर लाग्ने उनले प्रतिवचता जाहेर गरे । पोखरामा फोहोरमैलाको दिगो रुपमा व्यवस्थापनका लागि नयाँ ल्याण्डफिलसाईड ३३ नम्बर वडामा बनाउने विहीबार बसेको कार्यपालिकाको बैठकले निर्णय गरेको जानकारी उनले दिए । उनले उक्त ल्याण्डफिलसाइडका लागि तत्काल काम थाल्ने प्रतिवद्धता समेत जनाएका छन् ।    महानगरको अभियानमा स्थानीयवासी, स्थानीय प्रशासन, प्रहरीसहित टोलविकास संस्था र अन्य सामाजिक संघसंस्थाहरुले समेत साथ दिने उनले बताए । ‘हाम्रो अभियान साच्चै सुन्दर, सफा र हरियाली पोखरा सहर, त्यो पोखरा जस्तै बनाउने हो । गफले नभई व्यवहारमै त्यसलाई परिणत गर्नेगरी हामी कामको सुरुवात गर्दै छौं । यसमा सबै टोलवासी आफै सक्रिय हुने वातावरण हामी बनाउँछौं । महानगरको वातावरण तथा सरसफाई शाखाले यस विषयमा सहकार्य र हातेमालो गर्छ । अब फोहोर स्रोत मै बर्गिकरण गरेर व्यवस्थापन गर्ने तर्फ हामी अगाडि बढ्नुपर्छ भनेर हामी लागेका छौं । यो सुरुवात हो । यसमा हामी सबैसंग हातेमालो गछौं’ उनले भने ।    उपमेयर मञ्जुदेवी गुरुङले हाम्रो पोखरालाई सफा र सुन्दर राख्न महानगरले चाल्ने हरेक अभियानमा सबै सहभागी बन्नुपर्ने बताइन् । उनले आफ्नो सहर सफा र सुन्दर राख्न नागरिक पनि आफै खटिने र महानगरलाई पनि रचनात्मक सुझाव दिँदै सहभागी हुनुपर्ने बताइन् ।    पोखरा महानगरपालिका सरसफाई शाखाका प्रमुख कल्पना बरालका अनुसार शुक्रबार १६ टन भन्दा बढी फोहोर संकलन भएको छ । नाला भित्रको सफाई सडक विभागले गर्नेछ भने त्यसको व्यवस्थापन महानगरले गर्ने उनले जानकारी दिइन् । 

काठमाण्डौँ :      प्रतिनिधिसभामा विनियोजन विधेयक–२०७९ अन्तर्गत आज तीन मन्त्रालयका विविध शीर्षकमाथिको छलफल भइरहेको छ ।   बैठकमा परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ र गृह मन्त्रालयका विभिन्न विषयमा छलफलमा सांसद शेरबहादुर तामाङले नेपालको समृद्धिको आधार नै ऊर्जा भएको बताउनुभयो ।         उहाँले कूल जनसङ्ख्यालाई दुई हजार ८०० मेगावाट विद्युत् भए पुग्ने र बाँकी विद्युत् उत्पादन गरेर बेच्न सकिने उल्लेख गर्दै भन्नुभयो, “अर्बौं पैसाको भारतबाट विद्युत् किनियो र लोडसेडिङ कसले हटायो भन्ने जस लिनेमा होडबाजी गर्यौं, हामी अहिले दुई खर्बको ग्यास पेट्रोल, डिजेल खर्च भएको छ, त्यो पनि रोकिन्छ ।”        सांसद तामाङले ऊर्जाका विषयलाई लिएर छिमेकी राष्ट्रसँग खटपट हुने गरेको उल्लेख गर्दैै मित्रराष्ट्र भारत, चीन वा अन्य राष्ट्र विकासका लागि आउँछन् भन्ने पनि सबैले मिलेर वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।        उहाँले जनतालाई शतप्रतिशत विद्युत् निःशुल्क दिन सकिने र  त्यसका लागि अध्ययन जरुरी भएको तथा विद्युत् विकासका लागि राष्ट्रिय हितलाई ध्यानमा राखेर काम गर्नुपर्ने सुझाव दिनुभयो ।   सांसद देवेन्द्रराज कँडेलले नेपालीको गौरव र मुलुकलाई बलियो बनाउने ऊर्जा भएको र आपसी सहमतिमा भएको पानीको स्रोतको संरक्षण गर्नुपर्ने सुझाव दिनुभयो ।    उहाँले ‘नेपालको पानी, जनताको लगानी’ भन्ने नारालाई कार्यान्वयन गर्नुपर्ने सुझावसमेत दिनुभयो । उहाँले राष्ट्रको समृद्धिका लागि जलस्रोतको उपयोग गर्न सक्नुपर्ने र विद्युत्बाट सवारी साधन, खाना पकाउने काम पनि गर्न सकिने तथा विद्युत्बाटै सबै प्रकारका काम गर्न सकिनुका साथै पेट्रोलियम पद्धार्थ र ग्यास पनि खरिद गर्न नपर्ने बताउनुभयो ।        सांसद यशोदा गुरुङले गृह मन्त्रालयले शान्ति–सुरक्षा र स्थिरता कायम गरी मुलुकमा नागरिकलाई सुरक्षा प्रदान गर्न, शान्ति र अमनचयन कामय गर्न जरुरी भएको बताउनुभयो ।    उहाँले नेपालका ऊर्जा बजार भारतमुखी बन्दै गएको र परराष्ट्र मन्त्रालयले आफ्ना मित्रराष्ट्रसँग राम्रो कूटनीति सम्बन्ध कायम गर्न सक्नुपर्ने सुझाव दिनुभयो ।   सांसद पार्वतीकुमारी विसुङ्खेले गृह मन्त्रालयले कारागार सुधार गर्ने योजना राम्रो भएको र महिलामैत्री सुधारका कार्यक्रमलाई पनि विशेष प्राथमिकता दिनुपर्ने सुझाव दिनुभयो ।    उहाँले सुरक्षाकर्मी पनि सुरक्षित रुपमा बस्न नपाएको हुँदा सुरक्षा पोष्टसमेत सुरक्षित बनाउनुपर्नेमा गृह मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।        सांसद लीलादेवी सिटौलाले नेपाल स्वतन्त्र, अखण्ड, सार्वभौम राष्ट्र भनिए तापनि सुरक्षाका विषयमा धेरै प्रश्न उठ्ने गरेको र अहिले पनि मुलुकमा विकृति र विसङ्गतिको अन्त्य हुन नसकेको हुँदा सरकारले ध्यान दिनुपर्नेमा सुझाव दिनुभयो ।  

काठमाडौँ :      चालू आर्थिक वर्ष २०७८ ७९ को १० महिनाको अवधिमा नेपालको कूल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३०.५ प्रतिशतले बढेको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार चालू आवको वैशाखसम्मको अवधिमा नेपालको कूल वैदेशिक व्यापार रु १७ खर्ब ७८ अर्ब पुगेको छ ।        कूल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः ९.७ र ९०.३ प्रतिशत छ । समीक्षा अवधिमा नेपालको कूल निकासी ५९.८ प्रतिशतले वृद्धि भई रु एक खर्ब ७३ अर्ब ३५ करोड तथा कूल पैठारी २८ प्रतिशतले वृद्धि भई रु १६ खर्ब चार अर्ब ६५ करोड पुगेको छ ।       अघिल्लो आवको प्रथम १० महिनाको अवधिमा निकासी–पैठारी व्यापारको अनुपात १ः११.६ रहेकामा चालू आवको सोही अवधिमा निकासी–पैठारी व्यापारको अनुपात १ः९.३ रहन आएको छ ।       उक्त अवधिमा नेपालबाट भटमासको तेल, पाम आयल, पोलिष्टर तथा अन्य धागो, ऊनी गलैँचा, जुट तथा जुटका सामान, तयारी पोशाक, जुस, सूर्यमुखी तेल, अलैँची, ऊनी फेल्टका उत्पादन, कपडा, चिया, पश्मिना शल, कुकुर र बिरालोको आहार (डग च्यू), फलाम तथा फलामका उत्पादन, चाउचाउ, नेपाली हाते कागज, रोजिन र रेजिन एसिड तथा जडीबुटी निकासी भएका छन् ।        भटमासको तेलको निर्यातमा २६.८५ प्रतिशतले वृद्धि भएको छ । रु ४५ अर्ब ३५ करोडको भटमासको तेल निर्यात हुँदा समीक्षा अवधिमा रु ३७ अर्ब ९५ करोडको पाम आयल निर्यात भएको केन्द्रले जनाएको छ ।      समीक्षा अवधिमा यार्न (पोलिष्टर, सूर्ती तथा अन्य) को निर्यातमा ५९.१२ प्रतिशतले वृद्धि भएको छ । समीक्षा अवधिमा ऊनी गलैँचा निर्यातमा २८.५६, जुट तथा जुटका उत्पादन निर्यातमा १६.२१ प्रतिशतले वृद्धि भएको छ ।      सोही अवधिमा कुकुर र बिरालोको आहार (डगच्यू)को निर्यातमा ४१.१३ प्रतिशतले वृद्धि भई रु दुई अर्ब ३१ करोड पुगेको केन्द्रले जनाएको छ ।        चालू आवको १० महिनाको अवधिमा प्रशोधित खाद्य तेल (भटमासको तेल, पाम आयल, सूर्यमुखी तेल) को निर्यात कूल निर्यातमा ५०.५३ प्रतिशतको हिस्सा ओगट्दै प्रमुख निर्यातजन्य वस्तुका रुपमा देखापरेको छ । यस अवधिमा प्रशोधित खाद्य तेलको कूल निर्यात रु ८७ अर्ब ६० करोड पुगेको छ । प्रशोधित खाद्य तेलको निर्यातमध्ये भटमासको तेल, पाम आयल तथा सूर्यमुखी तेलको निर्यातको हिस्सा नेपालको कुल निर्यातमा क्रमशः २६.१६, २१.८९ र २.४८ प्रतिशत छ ।        कृषिजन्य वस्तुको निर्यातमा अग्रणी स्थान हासिल गरिरहेको अलैँची र चियाको निर्यातमा भने ह्रास आएको छ । समीक्षा अवधिमा अलैँचीको निर्यातमा २९.५३ प्रतिशतले ह्रास आई रु चार अर्ब २२ करोड र चियाको  निर्यातमा १८.२३ प्रतिशतले ह्रास आई रु दुई अर्ब ७६ करोडमा सीमित भएको छ ।      नेपालको निकासी व्यापारमा प्रमुख स्थान ओगट्ने भारततर्फको निर्यातमा ७२.९ प्रतिशतले वृद्धि भई रु एक खर्ब ३७ अर्ब १८ करोड पुगेको छ । नेपालको कूल निकासीमा अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भारततर्फको हिस्सा ७३.१२ प्रतिशत रहेकामा चालू आर्थिक वर्षमा सो हिस्सा बढेर ७९.१३ प्रतिशत पुगेको छ ।       नेपालको निर्यातमा ५०.५३ प्रतिशत योगदान राख्ने भटमास, पाम आयल र सूर्यमुखी तेलको निर्यात भारतमा नै भइरहेकाले नेपालको कूल निकासीमा भारततर्फको हिस्सामा यस्तो बढोत्तरी देखिएको हो । संयुक्तराज्य अमेरिका, जर्मनी, टर्की, युके, फ्रान्स, अष्ट्रेलिया, क्यानडा, इटाली, जापान, चीन, नेदरलेण्डस्, डेनमार्क, बङ्गलादेशलगायत मुलुकमा नेपाली उत्पादन निर्यात हुँदै आएका छन् ।        चालू आवको प्रथम १० महिनामा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा पेट्रोलियम पदार्थको आयातमा ८१.१ प्रतिशतले वृद्धि भएको छ ।      सो अवधिमा रु दुई खर्ब ५२ अर्ब ९४ करोडको पेट्रोलियम पदार्थ आयात भएको छ । समीक्षा अवधिमा फलाम तथा स्टिल र तिनका उत्पादनको आयातमा १३.८, मेशिनरी तथा पार्टस्को आयातमा २२.१, यातायातका साधन र तिनका पार्टपुर्जाको आयातमा ५.३, कच्चा भटमास तेलको आयातमा २५.२ प्रतिशतले वृद्धि भएको छ ।            समीक्षा अवधिमा औषधीको आयातमा १३४.९ प्रतिशतले वृद्धि भएको छ । खोपको आयात भारीमात्रामा हुन गई औषधिको आयातमा यस्तो वृद्धि देखिएको हो । भारत, चीन, इण्डोनेशिया, संयुक्तराज्य अमेरिका, युएई, अर्जेन्टिना,  अष्ट्रेलिया, युक्रेन, मलेशिया, ब्राजिल, बङ्गलादेश, थाइल्याण्ड, क्यानडा तथा  टर्कीबाट प्रमुख रुपमा वस्तु आयात हुने गरेको छ ।        चालू आवको समीक्षा अवधिमा समग्र निकासीमा उल्लेख्य रुपमा सुधार भए पनि पैठारीमा देखिएको वृद्धिका कारण व्यापार घाटामा २४.९ प्रतिशतले वृद्धि भई कूल व्यापार घाटा रु १४ खर्ब ३१ अर्ब ३० करोड पुगेको छ ।

पोखराः    पोखरा महानगरपालिकाको पहिलो कार्यापालिका बैठक विभिन्न महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ । कार्यपालिका बैठकले ल्याण्डफिलसाइट  पोखरा ३३ मा सार्ने र त्यसका लागि आवश्यक बजेट व्यवस्थापन गर्दै पूर्वाधार तयार पार्ने निर्णय गरेको छ ।    पोखरामा एक वर्षभित्रमा विभिन्न स्थानमा सार्वजनिक सौचालय निर्माण गर्ने र यसरी सौचालय निर्माण गर्ने अवधिसम्मका लागि बैंक, होटल, विभिन्न संघ सस्था र रेष्टुरेष्टका सौचालय सर्वसाधारण नागरिकका लागि प्रयोग गर्न दुइपक्षीय संझौता गर्ने निर्णय भएको छ ।    यसैगरी पोखरा महानगरपालिकाले तत्काल आपत्कालिन सेवा सञ्चानमा ल्याउने भएको छ । सडकमा रहेका खाल्डाखुल्डी पुर्ने, आगलागी तथा विभिन्न घटनामा तत्काल जनशक्ति परिचालन गर्नेगरी पूर्वाधार महाशाखाको क्षमता विकास गर्ने र कर्मचारीसमेत भर्ना गरेर सेवामा प्रभावकारीता ल्याउने कार्यपालिका बैठकले निर्णय गरेको पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्यालले जानकारी दिए । उनले यसको थालनी समेत भइसकेको दाबी गरेका छन् ।    पूर्वाधार तयार पार्ने र कामलाई अगाडि बढाउने काम सुरु गरिएको उनले बताए । छाडा चौपाया सडकबाट हटाउने र ढल तथा नाला सफाई अभियान चलाएर व्यवहारिक रुपमा आपत्कालिन सेवा, जो महानगरको दायित्वभित्र पर्छ त्यो तत्काल गर्ने निर्णय भएको उनले बताएका छन् । मेयर धनराज आचार्यको योजना अनुरुप अरु यस्ता नागरिकले महसुस गर्ने खालका कार्यक्रम अगाडि बढ्ने पनि उनले बताए । पोखराका खाल्डाखुल्डी पुर्न समेत तत्काल जनशक्ति परिचालन गरिने भएको छ ।   प्रमुख प्रशासकीय अधिकृत रिज्यालका अनुसार पोखरा महानगरमा विभिन्न समिति गठन भएका छन् । त्यसैगरी महानगरले तालचोक–बेगनास सडकको निर्माणको ठेक्का बोलपत्र स्विकृत गरेको छ । झण्डै तीन किलोमिटर दूरीको चार लेनको सडक निर्माणका लागि विश्व बैंकले सहयोग गर्ने भएको छ ।    पोखरा महानगरको प्रशासकीय भवन निर्माणका लागि जग्गा छनोट गर्न तीन सदस्यीय समिति गठन गरिएको छ । वडा अध्यक्षहरु दिवशमान प्रधानंग, राधिका शाही, र पूर्वाधार महाशाखा प्रमुख पूर्णबहादुर गुरुङको रहेको समितिले अर्को कार्यपालिका बैठकमा अध्ययन गरेर प्रशासनिक भवन निर्माणका लागि स्थान सिफारिस गर्ने उनले जानकारी दिए ।   

पोखरा:       पोखराका सडकलाई छाडा चौपाया मुक्त गर्नका लागि सडकमा रहेका छाडा चौपाया संकलन कार्य सुरु भएको छ । पोखरा महानगरका वरिष्ट कानून अधिकृत नारायण प्रसाद शर्माले मेयर धनराज आचार्यको निर्देशन अनुसार बिहीबार देखि सडकमा देखिएका छाडा चौपाया हटाउने अभियान सुरु भएको जानकारी दिएका हुन् ।    उनले बिहीबार सेतीवारीका सडकमा रहेका छाडा चौपाया संकलन गरिएको जानकारी दिए । बिहीबार ३७ वटा छाडा चौपाया संकलन गरेर कान्जी हाउसमा राखिएको छ । शुक्रबारपनि यो अभियान जारी रहने वरिष्ट कानुन अधिकृत शर्माले जानकारी दिए । ‘मेयरसावको निर्देशन अनुरुप पोखराका सडकलाई छाडा चौपाया मुक्त गर्ने प्रयास स्वरुप हामीले बिहीबार ३७ वटा छाडा चौपाया संकलन गरे कान्जी हाउसमा राखेका छौं । शुक्रबार पनि यो अभियान जारी रहन्छ । यो अभियानमा नगरप्रहरी विहान चार बजेबाट नै खटिएको छ’ उनले भने ।    यसरी संकलन गरिएका छाडा चौपाया पोखरा १४ स्थित बाच्छे बुढुवामा रहेको गौशालामा लगिनेछ । ल्याण्डफिल साईडसंगै रहेको गौशालामा हाल १५० को हाराहारीमा छाडा चौपाया छन् । करिव ३५ रोपनी क्षेत्रफलमा चौपायाको चरन क्षेत्र र १० रोपनी क्षेत्रमा तारबार लगाएर छानाको व्यवस्थापन गरिएको छ । वरिष्ट कानुन अधिकृत शर्माले सडकमा छाडा चौपाया देखिए वडा हुँदै महानगरमा खबर गर्न समेत नगरवासीलाई आग्रह गरेका छन् ।    यसैबीच पोखरामा शुक्रबार बाट ढल र नाला सफाई अभियान सुरु हुने भएको छ । महानगरका मेयर धनराज आचार्यको सक्रियतामा सडक विभाग र पोखरा महानगरपालिकाले संयुक्तरूपमा ढलहरू सफा गर्ने अभियान शुक्रबार सुरु हुने भएको हो । तीन दिनसम्म चल्ने उक्त अभियानमा साथ दिन संघ संस्थाहरु र नगरवासीलाई मेयर आचार्यले आह्वान गरेका छन् ।    पोलिथिनजन्य पदार्थबाट भएको फोहोरको कारणले अत्याधिक वर्षाका बेला ढल बूझिनुका साथै बाटोमा पानीको बहाव बढी भई दुर्घटना समेत हुनेगरेको भन्दै ढल तथा नालाको सरसफाईमा जुट्न नगरवासीलाई उनले आह्वान गरेका हुन् । अभियान शुक्रबार बिहान ७ बजे पोखराको पृथ्वीचोक स्थित ट्राफिक प्रहरी कार्यालयबाट आरम्भ हुनेछ । अभियानमा कास्कीका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय प्रमुख लगायतको सहभागिता रहनेछ ।   

पोखरा :     गण्डकी प्रज्ञा प्रतिष्ठानले ‘प्रज्ञा उत्सव’ कार्यक्रम आयोजना गर्ने भएको छ । कार्यक्रम असार १० गतेबाट १२ गतेसम्म प्रतिष्ठानकै हलमा आयोजना हुने सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।    जस अनुसार पहिलो दिन असार १० गते आर्ट कार्यशाला गरिनेछ । दोस्रो दिन असार ११ गते कविता, गजल, मुक्तक, लघुकथा वाचन कार्यक्रम हुनेछ । सोही दिनमा नाटक धनीरामको गोरु समेत मञ्चन गरिनेछ  ।  यसैगरी असार १२ गते विभिन्न साँस्कृतीक प्रस्तुती, एकेडेमीको वार्षिक कार्यक्रम श्रव्य दृश्य मार्फत जानकारी, विभिन्न जातीको झाँकी प्रदर्शन हुनेछ । सोही दिन कला, साहित्य, संगीत र संस्कृतीको क्षेत्रमा योगदान पु¥याउने एक–एक जना व्यक्तिलाई सम्मान समेत गर्ने प्रतिष्ठानले तयारी गरेको छ ।     यसैगरी पुस्तक प्रदर्शन, लोपोन्मुख बाजा प्रदर्शन, पृथ्वीनारायण क्याम्पस विज्ञान संकायका विद्यार्थीद्धारा तयार गरिएका सामाग्रीको प्रर्दशन समेत प्रज्ञा उत्सवको आर्कषणको रुपमा रहनेछ ।   कार्यक्रम गर्नुको मुख्य उद्धेश्य नयाँ पुस्ताहरूलाई मौलिक संस्कृतिको बारेमा जानकारी दिन तथा उनीहरुमा अभिरुचि प्रदान गर्न भएको सदस्य सचिव श्रेष्ठले बताउनुभयो । निरन्तर यसै क्षेत्रमा लागेकाहरूलाई सम्मान मार्फÞत हौसला बढाउन मात्र नभएर श्रस्टाहरूलाई एकेडेमीसँग साक्षात्कार गराउँने कार्यक्रमको लक्ष्य रहेको उहाँले खुलाउनुभयो । यस्ता कार्यक्रमले लुकेका प्रतिभा बाहिर ल्याउन सहयोगी बन्ने गण्डकी प्रज्ञा प्रतिष्ठानको विश्वास छ ।   गण्डकी प्रज्ञा प्रतिष्ठानले साहित्यका सबै विधालाई महत्वका साथ स्थान दिँदै यिनको संरक्षण तथा प्रवद्र्धन गन क्रियाशिल बन्ने उपकुलपति गोरे गुरुङले बताउनुभयो । ‘प्रज्ञा उत्सव’ कार्यक्रममका सहभागी भई रौनकता प्रदान गरिदिन सबैमा उहाँको आग्रह छ । आगामी वर्षदेखि वार्षिक उत्सवको अवसरमा यो कार्यक्रमलाई निरन्तरता दिने प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानको स्थापना २०७८ बैशाख १५ गते भएको थियो । स्थापना भएको छोटो समयमा नै प्रतिष्ठानले विभिन्न महत्वपूर्ण कार्यक्रम आयोजना गरिसकेको छ ।