काठमाण्डौँः नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको विश्वास जितेर इमान्दारितापूर्वक काम गर्न नवनिर्वाचित जनप्रतिनिधिलाई आग्रह गर्नुभएको छ । कांग्रेस काठमाडौँ क्षेत्र नं ९ ले आज आयोजना गरेको ‘नवनिर्वाचित जनप्रतिनिधीलाई बधाई तथा मतदातालाई धन्यवाद’ कार्यक्रममा उहाँले जनताले दिएको जिम्मेवारीलाई इमान्दारितापूर्वक निर्वाह गर्न आग्रह गर्नुभएको हो । “जनताले तपाईँहरूलाई विश्वास गरेर मत दिएका छन्, जनताको अझ बढी विश्वास जितेर काम गर्नुस्, आफ्नो जिम्मेवारीलाई इमान्दारितापूर्वक निर्वाह गर्नुहोस्”, नेता सिंहले भन्नुभयो । पार्टीका पूर्वमहामन्त्री सिंहले कांग्रेसले काठमाडौँ महानगरपालिकामा प्रमुख पद नजिते पनि अधिकाशं वडामा विजय हासिल गरेको उल्लेख गर्दै आगामी निर्वाचनमा पनि पार्टीका उम्मेदवारलाई विजयी गराउने गरी काम गर्नुपर्ने बताउनुभयो । पार्टी र सङ्गठनलाई केन्द्रमा राखेर काम गर्नुपर्ने उहाँको भनाइ थियो । नेता सिंहले पार्टीका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, सुवर्णशम्शेर जवरालगायतले गरेको त्याग र योगदानलाई सम्झेर जनताको काम गर्न नवनिर्वाचित जनप्रतिनिधीलाई निर्देशन दिनुभयो ।
तेह्रथुमः तेह्रथुममा ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । म्याङलुङ नगरपालिका–१ को भित्री सडकखण्डमा म्याङलुङबाट तमोर नदीतर्फ जाँदै गरेको प्रदेश१–०२–००३त ४९८ नंको ट्याक्टर गए राति आफैँ अनियन्त्रित भई सडकबाट करिब १०० मीटर तल झरी दुर्घटना भएको थियो । दुर्घटनामा ट्याक्टर चालक फेदाप गाउँपालिका–५ इसिबुका २६ वर्षीय रविन खापुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
बाँकेः बाँकेको राप्ती नदीमा दाहसंस्कारका लागि गएका दुई युवाको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । हुम्ला सिमिकोट–८ घर भई हाल नेपालगञ्ज–१ धम्बोझीमा भाडामा बस्दै आएका १८ वर्षीय त्रिबल शाही र लेकराज छन्तेल आज बिहान राप्ती नदीमा मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार बुधबार घरबेटीको दाहसंस्कारमा गएका उनीहरू घर नफर्केपछि साँझ ६ बजे खोजतलास गर्दा नदीको छेउमा दुई जोर कपडा र एक थान मोबाइल फेला परेको थियो । पौडी खेल्ने क्रममा नदीमा बेपत्ता भएको आशङ्का गरिएको छ । बिहीबार बिहानै खोजतलासमा खटिएको प्रहरी टोलीले डुडुवा गाउँपालिका–४ स्थित सिधनियाघाट राप्ती नदीमा उनीहरूको शव फेला पारेको हो । हुम्लाबाट अध्ययनका लागि नेपालगञ्ज आएका उनीहरूले यसै वर्ष यहाँस्थित धम्बोझी माविबाट कक्षा १२ को परीक्षा दिएका थिए ।
लमजुङ: जिल्लामा सञ्चालित दर्जनौँ घरवास (होमस्टे) लामो समयदेखि सुनसान अवस्थामा छन् । विगतमा दैनिक सयदेखि दुई सयको हाराहारीमा पर्यटक आउने गरेकामा केही समयदेखि उक्त सङ्ख्यामा कमी आएको छ । नमूना घलेगाउँ, काउलेपानी, सिउरुङ, राइनास, भलामचौर, भुस्मे, नरुवाललगायत घरवासमा गत चैत १५ गतेयता मुस्किलले १०/१५ जना आउने गरेका छन् । स्थानीय तह निर्वाचनको चुनाव र बर्खा लाग्दा पर्यटक आगमन ह्वात्तै घटेको सञ्चालक बताउँछन् । क्व्होलासोथर गाउँपालिका–३ स्थित घलेगाउँ घरवासमा चुनाव अघिसम्म दैनिक डेढ सयदेखि २०० पर्यटक आउने गरेका थिए । त्यसयता ३०/४० जना मात्र आउने गरेको सञ्चालक दिर्घ घलेले बताउनुभयो । उहाँले भन्नुभयो, “कोरोनाले थला परेको पर्यटन क्षेत्र विस्तारै उठ्दै गर्दा फेरी पर्यटक आउन छाडेका छन् । पर्यटक नआउँदा आम्दानी रोकिएको छ ।” वर्खा लागेकाले घरवास सञ्चालक चिन्तित बनेका छन् । “भदौयता पर्यटक आउने सम्भावना कमै छ, आम्दानी हुन छाड्यो, घर खर्च चलाउन समस्या भयो”, घरवास सञ्चालक काशी गुरुङले भन्नुभयो । विसं २०५७ देखि सञ्चालित उक्त क्षेत्रमा यतिबेला ३७ घरवास सञ्चालनमा छन् । पर्यटकका लागि सत्कारसँगसँगै आफ्ना कला, भेषभूषा संस्कार, संस्कृति जोगाइराख्न जुटेका उनीहरुहरुको जातीय पहिचानसहित सांस्कृतिक नृत्यसमेत प्रस्तुत हुने गर्दछ । घलेगाउँ समुद्री सतहदेखि दुई हजार १०० मिटर उचाइमा छ । यो आदिवासी जनजाति गुरुङको उद्गमथलो तथा घले राजाले अन्तिम राज्य सञ्चालन गरेको गाउँ पनि हो । यहाँबाट ८ हजार १६३ मिटर अग्लो मनास्लु हिमाल, ७ हजार ८३५ मिटरको ङादीचुली (डा हर्क हिमाल), ७ हजार ९३५ मिटर उचाइको अन्नपूर्ण हिमाल (दोस्रो), अन्नपूर्ण हिमाल (चौथो), ६ हजार ९६३ मिटर उचाइको माछापुच्छे« हिमाल, ७ हजार ८९३ मिटर उचाइको हिमालचुली, ६ हजार ९८६ मिटर उचाइको लमजुङ हिमाल र ६ हजार ६७२ मिटर अग्लो बुद्व हिमालको अवलोकन गर्न सकिन्छ । यहाँ घलेराजामध्ये अन्तिम ज्याल्बु रुजा क्लेको शालिकसमेत देख्न सकिन्छ । यहाँ आउँने पर्यटकलाई घरवास सञ्चालकले गाउँघरमै उब्जाइएका अर्गानिक धान, मकै, कोदो, भटमास, सायोको साग, सिस्नोको खोले, लोकल कुखुरा, खसीबोका, भेडाको मासुलगायत परिकार खुवाउने गर्दछन् । पर्यटकलाई सत्कारसँगसँगै आफ्ना कला संस्कृति जोगाइ राख्न जुटेका गुरुङसेनीको जातिय पहिचानसहितको कृष्ण चरित्र, लामा, सोरठी, घ्याब्रे, पच्चु, झ्याउरे, चुट्का, झाँक्री, सेर्गालगायत सांस्कृतिक नृत्य प्रस्तुत हुने गर्दछ । समुन्द्री सतहदेखि एक हजार ६०० मिटर उचाइमा रहेको बेँसीशहर नगरपालिका–३ लमजुङ दरबार नजिकै रहेको काउलेपानी घरवासमा पनि वैशाखयता पर्यटक नआउँदा सुनसान छ । काउलेपानी पर्यटन विकास समितिका अध्यक्ष देवबहादुर गुरुङले भन्नुभयो, “लामो समयदेखि पर्यटक आएका छैनन्, झन् अब बर्खा लाग्न थाल्यो, घरवाससम्म आउनका लागि बाटो पनि राम्रो छैन, केही महिना सुनसान नै हुने देखिन्छ ।” विगतमा यहाँ दैनिक ४०० देखि ५०० पर्यटक आउने गरेका थिए । सन् २०११ बाट सञ्चालनमा आएको यस क्षेत्रका १५ घरमा घरवासको व्यवस्था गरिएको छ । यहाँ नेवार, गुरुङ र भुजेल समुदायको बसोबास छ । काउलेपानीबाट बौद्ध हिमाल, माछापुच्छे, अन्नपूर्ण दोस्रोदेखि चौथो, मनाश्लु दक्षिण, मनाश्लु, अन्नपूर्ण साउथ, च्ये, डाक्टर हर्कपिकलगायत हिमश्रृङ्खला देख्न सकिन्छ । शाहवंशीय राजाको उद्गमथलो मानिने लमजुङ दरबार र सूर्योदयको मनमोहक दृश्य देख्न सकिन्छ । काउलेपानी मन्दिरको अवलोकन तथा दर्शन गर्न सकिन्छ । यहाँ प्रतिपर्यटकले एक रातको रु एक हजार ५० तिर्नु पर्छ । गाउँमै उब्जाएको मकै, भटमास, कोदोको सेलरोटी, गुन्द्रुकको अचारको खाजा खुवाउने बेग्लै खालको परम्परा छ । स्थानीयले बेलुकी खाना खानुअघि स्थानीय परम्परागत गीत, नाच प्रस्तुत गरी पर्यटकलाई सँगसँगै नचाउने गर्छन् । बेँसीशहर बजारदेखि दक्षिण पश्चिमतर्फ सात किलोमिटर टाढा रहेको काउलेपानी पुग्न सवारीसाधनमा ४५ मिनेट र पैदल दुई घण्टा लाग्छ । पैदल यात्रुका लागि सिँढी निर्माण गरिएका छन् । यहाँ पुग्ने सडकको स्तरोन्नति गरिएको छ ।
बागलुङः नौमती बाजाका लागि चर्चित बागलुङका थुप्रै गाउँ मध्ये सिगानाको लामिचौर पनि एक हो । माग बढ्दै आएसँगै सिगानाको लामिचौरका युवाहरु आम्दानीको स्रोतको रुपमा नौमती बाजा बजाउनेतर्फ अग्रसर भएका छन् । संस्कृति र परम्परासँग जोडिएको नौमती बाजाप्रति युवा पुस्ताको चासो नहुँदा मौलिक नौमती बाजा हराउने अवस्थामा पुगेको अवस्थामा बागलुङ नगरपालिका–८ सिगाना लामिचौरको नौमती बाजा समूह भने ब्राण्ड नै बनेको छ । पाँच वर्षअघि बागलुङको चैते दसैँ मेलामा आयोजना गरिएको प्रतियोगितामा अब्बल सावित भएपछि सिगानाको नौमती बाजा धेरैले रुचाउन थालेका हुन् । माग बढ्दै गएपछि यहाँका युवा आम्दानीको स्रोत बनाउन नौमती बाजा बजाउनेतर्फ अग्रसर भएका छन् । सिगाना लामिचौरका २१ वर्षीय लक्ष्मण नेपालीको अहिले मुख्य आम्दानीको स्रोत नौमती बाजा बनेको छ । बाजामा उहाँले नयाँ तथा पुराना गीत दुरुस्तै मिलाउनुहुन्छ । उहाँ पुर्खाले आर्जेको पेशालाई निरन्तरता दिँदै घर खर्च चलाउन सानै उमेरबाट बाजा बजाउन थालेको बताउनुहुन्छ । नौमतीका सबै बाजा बजाउन जान्नुभएका उहाँले अधिकांश सहनाइ बजाउनुहुन्छ । नेपाली नयाँ तथा पुराना लोक गीतको भाकामा दुरुस्तै सहनाइ बजाउन जान्नुभएका नेपालीलाई धेरैले रुचाउन थालेका छन् । उहाँले बजाएको सहनाइबाट प्रभावित बनेकाले उहाँलाई थोरधेरै रकम सहयोग गर्ने गरेको बताउनुहुन्छ । “कुनै प्रशिक्षण लिएको हैन, बाबु बाजे, छर छिमकमा बजाएको सुनेर बजाउन सिकेको हुँ, नयाँ गीत आएपछि नाच्न आउनेले त्यही गीत बजाउ भन्नुहुन्छ, त्यसैले नयाँ गीत आउँदासाथ सिक्नु पर्छ”, उहाँले भन्नुभयो, “हामी जस्ता युवाले अन्य स्थानमा कमै मात्रमा नौमती बजाउने गर्दछन्, हामीले नबजाए पछिल्लो पुस्तामा यो लोप हुन्छ त्यसैले यसैबाट घर खर्च चलाउँदै पुर्खाको पेशा धान्दै आएका छौँ ।” नेपाली मात्रै हैन लामिचौर नौमतीबाजा समूहमा अधिकांश युवा नै आबद्ध छन् । लामिचौरमा दुई समूहमा नौमती बाजा बजाउने कलाकार छन् । अब्बल बनेको समूह हो सिगाना लामिचौर नौमतीबाजा समूह । नौमती बाजाको संरक्षण गर्दै पुख्यौली पेशा धान्नका लागि समूह गठन गरिएको छ । अहिले समूहको आफ्नै पोसाक छ भने नौमती समूहको जिल्लाको विभिन्न स्थान, म्याग्दी, पर्वत हुँदै पोखरासम्म माग भएको समूहका अध्यक्ष बाबुराम परियारले बताउनुभयो । उहाँले नौमती बाजा बजाउन आफूहरुले युवालाई प्रेरित गर्दै आएको बताउनुभयो । “नौमती बाजा संरक्षण गर्नुछ भने यसैलाई आफ्नो मुख्य आम्दानीको थलो बनाउनुछ”, उहाँले भन्नुभयो, “हामीलाई बाजामा नरसिङ्गाको अत्यन्तै आवश्यकता छ, बाजा बनाउन अलि महँगो छ, त्यसैले बाजाविहीन भएकै कारण कतिले यो पेशा छोडेका छन्, स्थानीय सरकारले सहयोग गरे अझै सहज हुन्थ्यो ।” परियारले बाजा बजाउन पोखरासम्म पुगेको र उक्त समूहले एक दिनको रु २० हजाररदेखि रु ३० हजारसम्म पारिश्रमिक लिने गरेको छ । नौमती बाजाको लामिचौरमा मात्रै पुर्खाहरुले ३६ प्रकारको सुर तालको बाजा बजाएको इतिहास छ । अहिले यहाँका दलित समुदायले १७ प्रकारको सुर तालको बजा बजाउने गरेका छन् । पछिल्लो समय बागलुङमा सिगानाको बाजा भनेपछि धेरैको ध्यानाकर्षण हुनेगरेको छ । नौमती नौ बाजाको सामूहिक बाजा हो । यो पञ्चेबाजाको ठूलो रूप हो । यसअन्तर्गत दमाहा, झ्याली, ट्याम्को, ढोलक, सहनाइ, कर्नाल, नरसिङ्गा बाजा हुन्छन् जसमा सहनाइ र दमाहाका दुई-दुई वटा हुन्छन् । सनही र नरसिङ्गा फुकेर, ठूलो दमाहा, सानो दमाहा, ढोलक र ट्याम्को ठोकेर तथा झ्याम्टा र मुजुरा एक आपसमा जुधाएर बजाइन्छ । नौ वाद्यवादक लोककलाकारले सुर र ताल मिलाएर एकैपटक बजाउने गरेकाले यसलाई नौमती बाजा भनिएको हो ।
कञ्चनपुरः जिल्ला समन्वय समिति कञ्चनपुरको प्रमुखमा नेपाली कांग्रेसका दुर्गादत्त बोहरा निर्विरोध चयन हुनुभएको छ । जिसस प्रमुखमा कांग्रेसको मात्र उम्मेदवारी परेको थियो । जिसस उपप्रमुखमा कांग्रेसकै रामकुमारी राना निर्विरोध चयन हुनुभएको छ । जिसस सदस्यहरुमा मोहन महता, रामसिंह भण्डारी, जयसिंह विष्ट, लिला चौधरी, चन्द्रावती थापा, विमलाकुमारी सार्की र अन्जुदेवी राना निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिससमा अन्य दलले उम्मेदवारी दिएका थिएनन् ।
बागलुङः दुई दिनदेखिको वर्षासँगै खसेको पहिराका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्डअन्तर्गत घोडाबाँधे–हटिया सडक गए रातिदेखि अवरूद्ध भएको छ । सडक अवरुद्ध हुँदा लोकमार्ग भएर चल्ने लामो तथा छोटो दुरीका सवारीसाधन बाटोमै थन्किएका छन् । यात्रुले सास्ती व्यहोरिरहेका छन् । ठाउँठाउँमा खसेका पहिराले लोकमार्ग क्षतविक्षत बनेको छ । गलकोट नगरपालिकाका प्रवक्ता हेमन्त भण्डारीका अनुसार अहिले डोजरले पहिरा पन्छाएर अवरुद्ध सडक खुलाउने काम भइरहेको छ ।
काठमाण्डौँः राजधानीको प्रमुख पर्यटकी क्षेत्र ठमेलस्थित छायाँ सेन्टरले सर्वसाधरणलाई निःशुल्क शौचालय उपलब्ध गराउने भएको छ । काठमाडौँ महानगरपालिकाको ‘निःशुल्क शौचालय’ अभियानमा ऐक्यबद्धता जनाउँदै सेन्टरले व्यापारिक भवनभित्र रहेका १२ वटै शौचालय सबैका लागि निःशुल्क उपलब्ध गराएको छ । छायाँ सेन्टरका सञ्चालक एवं वरिष्ठ पर्यटन व्यवसायी सुमन पाण्डेले विदेशी पर्यटकका साथै सर्वसाधरणलाई सहज हुनेगरी निःशुल्क शौचालयको व्यवस्था गरिएको बताउनुभयो । उहाँले महानगरपालिकाको घोषित निःशुल्क शौचालय सेवाको अभियानमा जोडिन पाउँदा खुसी लागेको भन्दै महानगरपालिका प्रमुख बालेन्द्र शाह, उपप्रमुख सुनिता डङ्गोल तथा ३२ वटै वडाध्यक्ष तथा सदस्यहरुप्रति हार्दिक आभार प्रकट गर्नुभयो । “मेयर साहबाट घोषित निःशुल्क शौचालय सेवाको अभियानमा ठमेल–२६ स्थित छायाँ सेन्टर, पर्यटकीय व्यापारिक कम्प्लेक्सले सहभागिता जनाउने निर्णय गरेको जानकारी गराउँछौँ’’, सेन्टरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
काठमाण्डौँः नेपालको पूर्वी भूभागमा मनसुनी वायुको सामान्य प्रभाव र मध्य तथा पश्चिमी भूभागमा स्थानीय वायुको प्रभावका साथै भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्वपश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावका कारण अहिले प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही गण्डकी प्रदेश र अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहको छ । प्रदेश १ र मधेसका थोरै स्थान तथा बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा भइरहेको छ । राजधानी काठमाडौँ उपत्यकामा बिहानैदेखि हल्का वर्षा भइरहेको छ । उपत्यकामा पूर्ण रुपमा बदली छ । दिउँसो प्रदेश १, मधेश प्रदेस, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । काठमाडौँको अधिकतम तापक्रम २८ र न्यूनतम तापक्रम २० डिग्री सेल्सियस रहेको छ ।

