बाँकेः बाँकेमा १६ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा सात जना पक्राउ परेका छन् । सामूहिक बलात्कारमा संलग्न रहेको आरोपमा वैजनाथ गाउँपालिकाका सात जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधसुदन न्यौपानेले जानकारी दिनुभयो । फेसबुकमार्फत चिनजान भएका १७ वर्षका हेमराज थारुले आफ्नो जन्म दिन मनाउन भन्दै भेट्न बोलाएपछि आएकी किशोरीलाई हेमराजलगायत सात जनाले सामूहिक बलात्कार गरेकोे प्रहरीले जनाएको छ । किशोरीलाई सुरुमा बाँके–बर्दियाको सिमाना मानखोलाको जङ्गल र त्यसपछि वैजनाथस्थित एक टहरामा लगेर बलात्कार गरेको बताइएको छ । मानखोलाको जङ्गलमा पाँच जना र टहरामा लगेर दुई जनाले बलात्कार गरेको प्रहरीले जनाएको छ । प्रहरीले हेमराज, निराजन थारु, विक्रान्त थारु, प्रवीण थारु, राजकुमार थारु, विश्वनाथ थारु र निर्देश थारुलाई विभिन्न ठाउँबाट पक्राउ गरेको थियो । इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले खजुरा गाउँपालिका–५ चाइना इँटाभट्टा नजिक शङ्कास्पदरूपमा भे३प ३५२७ नम्बरको मोटरसाइकलमा ती किशोरीलाई दुई पुरुषले मोटरसाइकलको बीचमा राखी हिँडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएपछि घटना बाहिर आएको हो ।
काठमाडौँ: काठमाडौँको दक्षिणकाली नगरपालिकास्थित फर्पिङको जङ्गलमा दुई जना मृतावस्थामा फेला परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक दिनेश मैनालीले एकजोडी युवायुवती मृतावस्थामा फेला परेको जानकारी दिनुभयो । उहाँले मृतावस्थामा भेटिएका व्यक्ति अन्दाजी २२-२३ वर्षको भएको बताउनुभयो । मृतावस्थामा भेटिएका ती व्यक्तिको सनाखत हुन नसकेको र मृत्युका कारण पनि नखुलेको प्रवक्ता मैनालीले बताउनुभयो । घटनास्थलमा अहिले प्रहरीको टोली पुगेको छ ।
काठमाडौँ: नेपाल प्रहरीले काठमाडौँको लैनचौरमा एक व्यक्तिलाई लुटपाट गर्ने दुई जनालाई पक्राउ गरेको छ । प्रहरीवृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका वडा नं २६ लैनचौरस्थित ब्याडमिन्टन कोर्टनजिक खाजा घरमा पोखराका ४० वर्षीय एक व्यक्तिको साथबाट रु ३५ लाख लुटपाट गर्ने नुवाकोट घर भई बूढानीलकण्ठ बस्ने २५ वर्षीय पेम्बा तामाङ र दाङ घर भई काठमाडौँको मालिगाउँ बस्ने ३४ वर्षीय शालिकराम नेपालीलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले पीडितलाई विभिन्न प्रलोभनमा पारेर खाजा घरमा बोलाएर लुटपाटमा संलग्न रहेकाले उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेकासँग प्रहरीले मोबाइल एक थान, घडी एक थान र फलामको रड बरामद गरेको छ । पक्राउ परेका तामाङ र नेपालीलाई मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद २० को दफा २४१ अनुसार डाँका, चोरीसम्बन्धी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिइ अनुसन्धान गरिरहेको प्रवक्ता मैनालीले बताउनुभयो । लुटपाट घटनामा संलग्न फरार अन्य व्यक्तिको पहिचान खुलिसकेकाले उनीहरुलाई पनि चाँडो नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौँ: काठमाडौँ महानगरपालिकाले सार्वजनिक शौचालय पहिचानका लागि नीलो पृष्ठभूमिको सङ्केत चिन्न तयार गरेको छ । चिन्न तयार भएसँगै काठमाडौं महानगरपालिकाले सार्वजनिक शौचालय सञ्चालनको लागि इच्छा भएका सङ्घ संस्थालाई सम्पर्क गर्न पनि आग्रह गरेको छ । काठमाडौं महानगरपालिका क्षेत्रभित्रका होटल, रेष्टुरेन्ट, बैंक, व्यापारिक भवन, कम्पनी, फर्म, गैर सरकारी सङ्घसंस्थाका शौचालयलाई सार्वजनिक बनाउन इच्छुकलाई महानगरपालिकाले सार्वजनिक निजी साझेदारी इकाइमा सम्पर्क राख्न आग्रह गरेको हो । कामपासँग सहकार्य भएको सङ्घसंस्थाको शौचालयमा प्रयोगकर्तालाई सहज होस् भन्ने उद्देश्यले सबैमा एकै किसिमको सङ्केत चिन्न राखिएको कामपाले जानकारी गराएको छ । लोगो रेखाभित्र नीलो पृष्ठभूमि, त्यसको माथिल्लो भागमा नेपाली भाषामा सेतो अक्षरले ‘सार्वजनिक शौचालय’ लेखिएको छ । बिच भागमा सेतो रङ्मै महिला र पुरुषको चिन्ह रहेको छ । सङ्केत चिन्हको पुछारमा अङ्ग्रेजी भाषामा ‘पब्लिक ट्वाइलेट’ लेखिएको छ । सर्वसाधारणको सहजताको लागि कामपाको सञ्चालन गर्न लागेको शौचालय पहिलो चरणमा करिब ६० शौचालय प्रयोगमा ल्याउने भएको छ । नवनिर्वाचित महानगरप्रमुख बालेन्द्र साहको संयोजकत्वमा अघिल्लो सोमबार बसेको पहिलो कार्यपालिका बैठकको निर्णय अनुसार हाल कामपामा रहेका झण्डै ५८ सार्वजनिक शौचालयलाई मर्मतसम्भार गरी पुनः प्रयोग गर्ने र सहकार्यमार्फत तत्काल ६० शौचालय प्रयोगमा ल्याउन लागिएको हो । प्रमुख साहले पहिलो बैठकमै गर्नुभएको निर्णय फोहर व्यवस्थापन र भौतिक पूर्वाधार एम्बुलेन्स सञ्चालनसम्बन्धी काम पनि अघि बढेको कामपाको प्रशासन प्रमुख महेश काफ्लेले जानकारी दिनुभयो ।
काठमाडौं: प्रतिनिधिसभाको आजको बैठकले यौन हिंसाविरुद्धको केही ऐन संशोधन गर्ने विधेयक २०७९ माथि विचार गरियोस भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले “यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । सो प्रस्तावमाथि सदनमा सामान्य छलफल भई सांसदहरुले उठाउनुभएको प्रश्नको कानुनमन्त्री कोइरालाले जवाफसमेत दिनुभएको थियो । जवाफका क्रममा उहाँले यौन हिंसासम्बन्धीका कसूरको हदम्यादका सम्बन्धमा सांसदहरुले उठाउनुभएका विषयमा सरकारको गम्भीर ध्यानाकर्षण भएको जानकारी गराउनुभएको थियो । उहाँले हदम्यादका सम्बन्धमा आफू मन्त्री भएदेखि नै अध्ययन गर्न नेपाल कानुन आयोगलाई अनुरोध गरिएको र सो प्रतिवेदनलाई समेत मध्यनजर गर्दै हदम्यादको प्रावधानलाई आवश्यक सुधार गरिने बताउनुभयो । हदम्याद बढाउँदा सकारात्मक नकारात्मक परिणामलाई समेत उल्लेख गर्न भनिएको पनि उहाँले बताउनुभयो ।
काठमाडौं: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफू पछिल्लो पटक मन्त्री भएको सातमहिने कार्यकाल देश र नागरिकका हितमा काम गरेर बिताएको बताउनुभएको छ । मन्त्री आलेले भन्नुभयो, “मन्त्री पदमा रहँदा देश र नागरिकका लागि अहोरात्र खटिइ देशको हित हुने काम गरेको छु, मलाई लाग्छ मैले काम गर्ने क्रममा विगतमा कुनै गल्ती गरेको भए पनि त्यसलाई सच्याउने मौका अहिले पाएँ, अहिले जे जति गरेँ जनताका पक्षमा नै काम गरेँ ।” उहाँले आफूले पर्यटन मन्त्रालयअन्तर्गत राम्रा कामको थालनी गरेको जिकिर गर्दै अब आउने मन्त्रीलाई पनि यी राम्रा कामलाई निरन्तरता दिन आग्रहसमेत गर्नुभयो । मन्त्री आलेले पशुपति धर्मशाला र नारायणहिटी दरबार सङ्ग्रहालयमा बतास समूहको उपस्थितिलाई फिर्ता गरी सो समूहले गरेका कामलाई देश र जनताका पक्षमा ल्याएको दाबी पनि गर्नुभयो । त्यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नागरिकको सहुलियतका लागि सटल बस सञ्चालनमा ल्याएको र क्यासिनो सञ्चालकबाट सरकारलाई ठूलो रकम राजस्व तिराएको तथा नतिर्ने तारे होटेललाई कारबाही गरेको उहाँले जानकारी दिनुभयो । आफू पदमा रहँदा होस् वा नरहँदा देश र नागरिककै पक्षमा काम गर्ने तथा वकालत गर्ने भएकाले आफू सधै देश र नागरिकको हकहितका लागि लाग्ने पनि उहाँले बताउनुभयो । आइतबार बसेको नेकपा (एकीकृत समाजवादी) को सचिवालयको बैठकले आफ्ना पार्टीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्री फिर्ता बोलाउने निर्णय गरी नयाँ मन्त्रीहरुको नामावली पठाइसकेको छ । यसअघि नै आलोपालो गरी मन्त्री बनाउने आफ्नो पार्टीको सर्तमा आफू संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेको र अहिले फिर्ता बोलाउने निर्णय गरेकाले आफूले पार्टीको निर्णय मानेर फिर्ता हुने पनि मन्त्री आलेले बताउनुभयो ।
काठमाडौं: प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले पीडकले सजाय र पीडितले न्याय पाउने गरी कानुन संशोधन गर्न माग गर्नुभएको छ । बैठकले यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव माथिको छलफलमा भाग लिँदै उहाँहरुले समय सापेक्ष रुपमा कानुनलाई परिमार्जन गरी कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिनुभयो । उक्त प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद अमृता थापाले कानुन बनाउँदा दीर्घकालीन रुपमा सोचेर अघि बढ्नुपर्ने सुझाव दिनुभयो । उहाँले घटना हुन नदिनु नै सरकारको मुख्य जिम्मेवारी भएको उल्लेख गर्दै पीडक नछुटोस् र पीडितले न्याय पाओस् भन्नेतर्फ सचेत हुन आग्रह गर्नुभयो । सांसद दुर्गा पौडेलले गम्भीर प्रकारको अपराधको रुपमा रहेको यौन हिंसाका घटना दैनिक बढ्दो क्रममा रहेको भन्दै चिन्ता प्रकट गर्नुभयो । उहाँले यौन हिंसाका घटना घट्नुमा एउटा मात्रै कारण नभएकाले परिवारबाटै सचेतना फैलाउनु जरुरी छ भन्नुभयो । उहाँले यौन हिंसा सम्बन्धिका घटनाका लागि उजुरी दिने हदम्याद बढाउनुपर्नेमा जोड दिँदै घटना के कस्तो भएको हो ? त्यसको प्रकृतिलाई पनि ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “बलात्कृत महिलाले समाजमा बाँच्नै नसक्ने अवस्था हुन्छ, हाम्रो सामाजिक संरचना नै त्यस्तै छ, पीडितको ग्यारेन्टी सरकारले गर्नुपर्छ ।” अर्का सांसद प्रेम सुवालले सबैको सांस्कृतिक स्तर उठाउने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।
पोखरा: गत शनिबारदेखि बेपत्ता भएका गुरुङको शव फेला परेको छ । पोखराको फुस्रे खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका गुरुङको शव सोमबार बिहान साढे ८ बजे पोखरा महानगरपालिका ३३ मुसीटुडामा पानीमा तैरिहरेको अवस्थामा फेला परेको हो । फेला परेका मृतक गुरुङका दाई तेल बहादुर गुरुङले शवको सनाखत गरेको कास्की प्रहरी जनाएको छ । उक्त शब पोस्टमार्टमका लागि स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । फुस्रे खोलामा पौडी खेल्ने क्रममा स्याङ्जाको पुतलीबजार नगरपालिका ७ बेशीगाउँका पूर्ण गुरुङ गत शनिबार दिउसोबाट बेपत्ता भएका थिए । पौडी खेल्न उनीसँगै अन्य ६ जना फुस्रे खोला पुगेका थिए । नेपाल प्रहरी, सशत्र प्रहरी बल, नेपाली सेना, स्थानीय बासिन्दाको टोलीले खोज्दै आएपनि भेटिएको थिएन । तर आज विहान शव तैरिरहेको अवस्थामा स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए ।
पोखरा: पोखरा विश्वविद्यालय र नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) बीच विज्ञान तथा प्रविधिको अध्ययन अनुसन्धानात्मक तथा शैक्षिक क्षेत्रका विधामा एकापसमा सहयोग आदान प्रदान गर्ने उद्देश्यका साथ सझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा पोखरा विश्वविद्यालयको तर्फबाट उपकुलपति प्रा डा प्रेमनारायण अर्याल र नाष्टको तर्फबाट उपकुलपति डा सुनिलबाबु श्रेष्ठले हस्ताक्षर गर्नुभयो । दुवै संस्थाबीच वैज्ञानिक तथा प्राविधिक जनशक्ति, सीप र भौतिक सुविधाको यथोचित सदुपयोगमा सहयोग आदानप्रदान हुने र समसामयिक विषयमा कार्यशाला गोष्ठी, तालिम, सेमिनार, अनुसन्धान परियोजना सञ्चालन गरिने समझदारीपत्रमा उल्लेख छ । त्यस्तै विज्ञान तथा प्रविधिको विभिन्न क्षेत्रमा विश्वविद्यालयको स्नातकोत्तर तह एवं विद्यावारिधिस्तरका शोध निर्देशन कार्यमा आपसी स्वीकृतिमा नाष्टका उपलब्ध प्राज्ञ तथा वरिष्ठ वैज्ञानिकको पनि संलग्नता गराइनेछ । समझदारी पत्रले दुवै संस्थालाई संयुक्तरूपमा विज्ञान तथा प्रविधि उन्नयन, जैविक विविधता, पर्यावरण, दिगो सहरी विकाससम्बन्धी अध्ययन अनुसन्धानका लागि सहकार्य गरी अघि बढ्न बाटोसमेत खोल्ने विश्वास दिइएको छ ।

