पाल्पा: पाल्पाको पर्वखोला गाउँपालिकाभित्र अध्ययनरत विद्यार्थीहको मुटु परीक्षण गरिएको छ । वडा नं १, ५ र ६ मा चलेको निःशुल्क मुटु परीक्षण शिविरमा एक हजार ८०० विद्यार्थीको मुटु परीक्षण गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक मोहन ढकालले बताउनुभयो । शिविरमा वडा नं १ मा छात्र ४४३ र छात्रा ३९५ गरी ८३८, वडा नं ५ मा छात्र २८१ र छात्रा २८८ गरी ५६९ तथा वडा नं ६ मा छात्र १९४ र छात्रा १९६ गरी ३९० विद्यार्थीको मुटु परीक्षण गरिएको हो । त्यसमध्ये एक विद्यार्थीलाई काठमाडौँ र सात विद्यार्थीलाई लुम्बिनी मेडिकल कलेजमा थप परीक्षणका लागि पठाइएको छ । हृदयरोग निवारण प्रतिष्ठान केन्द्रिय कार्यालय काठमाडौँको सहयोग र नेपाल हृदयरोग निवारण प्रतिष्ठान एकाइ कार्यालय पूर्वखोलाको आयोजनामा शिविर सञ्चालन गरिएको हो । परीक्षण पश्चात् मुटुमा समस्या देखा परेका र आर्थिक अवस्था कमजोर भएका परिवारका विद्यार्थीलाई गाउँपालिकाले स्वास्थ्य उपचारमा सहयोग गर्ने जनाइएको छ ।
गलेश्वर: म्याग्दीका ग्रामीण भेगमा पुख्र्यौदेखि चलनमा आएका मौलिक सामग्री हिजोआज हराउँदै गएका छन् । बजारमा प्लास्टिकका रेडिमेड सामग्री आउन थालेपछि गाउँमा बनाइएका डाला, नाङ्ला, थुन्से, भकारीजस्ता मौलिक सामग्रीको बिक्री हुन छोडेको छ । गाउँघरमासमेत यस्ता सामग्रीको प्रयोग गर्ने चलन घट्दै गएपछि रैथाने सीप र मौलिकता समेत हराउँदै जान थालेको स्थानीय जेठोपुस्ताका व्यक्तिले बताएका छन् । “केही वर्ष अगाडिसम्म ग्रामीण क्षेत्रमा डालो, नाङ्लोको प्रयोग निकै गरिन्थ्यो तर मौलिकतासँग जोडिएका यस्ता सामग्री अहिले प्रयोग कम हुँदै गएका छन्” बेनी नगरपालिका–२ का ८९ वर्षीय बेदप्रसाद उपाध्यायले बताउनुभयो । वर्षौँदेखि डालो, नाङ्लो बुन्ने र बिक्री गरी परिवार पाल्दै आएका पनि समस्यामा पर्न थालेका छन् । जेठो पुस्ताको सीप र ग्रामीण सौन्दर्यसमेत हराउँदै जान थालेकोमा स्थानीय बुढापाका चिन्तित देखिन्छन् । प्लास्टिकजन्य सामग्रीको बढ्दो प्रयोगले एकातिर वातावरणीय सन्तुलन समेत खल्बलिएको छ, भने अर्कोतर्फ रैथाने सीप पनि प्रयोगमा आउन नसक्दा सीपभएका स्थानीय पनि बेरोजगार बनेका मालिका गाउँपालिका– ३ का भीमबहादुर बुढाले बताउनुभयो । बुढाले वर्षौँदेखि डालो, नाङ्लो बुन्ने र बिक्री गरी घरपरिवार चलाउँदै आउनुभएको थियो । अहिले आफूले बनाएका सामग्रीले बजार पाउन छाडेपछि घरपरिवार चलाउन समस्या हुन थालेको उहाँले दुःखेसो पोख्नुभयो । केही वर्ष अगाडिसम्म निकै बिक्री हुने डाला, नाङ्ला, थुन्से र भकारीलगायतका सामग्रीको पछिल्लो समयमा लोकप्रियता कम हुँदै गएको उहाँको भनाइ छ । बजारमा नयाँ–नयाँ प्रविधिका नापतौलका सामग्रीहरु आएपछि आफूले बुनेका डाला, नाङ्लाले बजार पाउन छाडेको बुढा बताउनुहुन्छ । परम्परागत नापतौल गर्ने तुलोको रुपमा प्रयोग हुने मानापाथि आजकल किलो र लिटरमा परिवर्तन भएको उहाँको भनाइ छ । “दुई दशक अघिसम्म गाउँघरमा मात्रै होइन सहर बजारमा पनि अन्नपात किन्दा मानापाथीबाट तौलिने गर्थे, अहिले त सबै किलोको हिसाब हुन थाल्यो, यसले गर्दा पनि होला गाउँ घरमा उत्पादन हुने परम्परागत मानापाथिको प्रयोग हराउँदै गए” बेनी नगरपालिका ३ भकिम्लीका तीर्थबहादुर विकले भन्नुभयो, “अब त गाउँघरमा नाङला, डाला बुन्ने मानिस पाइन छोडे, डोकोको प्रयोग हुँदै आएको छ, यही हिसाबले जाने हो भने त केही वर्षपछि गाउँमा डोको बुन्ने मानिस पनि पाइने छैनन् ।” पछिल्लो समय एकातिर ग्रामीण मौलिक सामग्रीको प्रयोग कम हुँदै गएको छ भने अर्कोतर्फ कच्चापदार्थ समेत अभाव हुन थालेको उहाँहरुको गुनासो छ । “आजभोलि त पहिले–पहिलेको जस्तो चोया पनि प्रशस्त पाइँदैन, वनजंगल धाउनुपर्छ, चोया हुने हो भने दिनमा ५/७ वटा डोका बुन्न सकिन्छ” विकले भन्नुभयो । आफ्नो बाउ बाजेले बुनेको देखेर आफूले पनि सिकेको भन्दै अहिलेका युवा पुस्ताले यसप्रति चासो नदेखाएको उहाँले बताउनुभयो । आफूहरुको पुस्तापछि परम्परागत रुपमा बुनिँदै आएका डालो, नाङ्लो लोप हुनसक्ने उहाँको भनाइ छ । अहिले पनि गाउँका थोरै मान्छेले मात्रै बुन्ने गरेका छन् । “हामी पछिका मान्छेहरुले त अब यस्ता बुन्ने काम गर्दैनन् होला, अहिले कसैले पनि सिक्ने चासो देखाउँदैनन्, हामीले त सानैदेखि डोको, नाङ्लो, पाथी, डालो बुन्न सिक्ने गरेका थियौँ” विकले भन्नुभयो । केही वर्षअघिसम्म फुर्सदको समयमा डालो, नाङ्ला बुनेर विक्री गरेपनि वर्षमा डेढ दुई लाख आम्दानी गर्ने गरेको सम्झदै विकले अहिले ती सबै कुराहरु सपनाजस्तै भएको सुनाउनुभयो
काठमाण्डौँः सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९७ हजार ६०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९७ हजार २०० मा कारोबार भएको पहेँलो धातु आज प्रतितोला रु ४०० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार १०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९६ हजार ७०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ ले बढेर रु एक हजार २६५ पुगेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८४६ डलर आसपास कारोबार भइरहेको छ ।
हेटौंडा- बागमती प्रदेशसभाको बैठक अवरुद्ध भएको छ । बैठक सुरु भएलगत्तै नेकपा (एमाले)ले अवरोध गरेपछि बैठक केही समयका लागि स्थगन गरिएको छ । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रममाथि छलफल गर्न बसेको बैठक सुरु भएलगत्तै एमालेका सांसदले उठेर विरोध जनाउनुभएको थियो । त्यसपछि सभामुख सानुकुमार श्रेष्ठले एमालेका मुख्य सचेतक दीपक निरौलालाई आफ्ना भनाइ राख्न समय उपलब्ध गराउनुभएको थियो । मुख्य सचेतक निरौलाले पशुपन्छी तथा मत्स्य विकास केन्द्रका तीन कर्मचारीलाई वर्तमान सरकारले आफू अनुकूल नभएकाले सरुवा गरेको भन्दै विरोध जनाउनुभयो । उहाँले घटनाको सत्यतथ्य छानबिन गर्न सर्वपक्षीय छानबिन समिति गठनको प्रक्रिया अघि नबढाउञ्जेल संसद्मा अवरोध कायमै राख्ने बताएपछि सभामुख सानुकुमार श्रेष्ठले बैठक १० मिनेटका लागि स्थगन गर्नुभएको हो । बैठक अझै चल्न सकेको छैन ।
काठमाडौं: नेपाल आयल निगमलाई भारतीय आयल कर्पोरेसन (आइओसी) बाट इन्धनको नयाँ मूल्य सूची पठाएको छ । जसअनुसार पेट्रोलमा बढेर नयाँ मूल्य आएको छ भने डिजेल, खाना पकाउने ग्याँस र हवाइ इन्धनमा घटेर नयाँ मूल्य प्राप्त भएको नेपाल आयल निगमले जनाएको छ । आईओसीले बुधबार पठाएको नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर ८ रुपैयाँ २१ पैसा बढेको छ । डिजेलमा प्रतिलिटर ७ रुपैयाँ ४ पैसा घटेको छ भने खाना पकाउने ग्याँसमा प्रतिसिलिन्डर १ सय २२ रुपैयाँले घटेको छ । यस्तै हवाई इन्धन प्रतिलिटर ३ रुपैयाँ ३६ पैसा घटेर आएको निगमले जनाएको छ । नयाँ मूल्य पछि पनि निगमलाई मासिक घाटा ६ अर्ब १५ रुपैयाँ पुग्ने पनि निगमको प्रक्षेपण छ । आईओसीलाई पहिलेकै वक्यौता ३२ अर्ब रहेको र अबको नयाँ मूल्य पछि जुन महिनामा निगमले ४७ अर्ब हारहारी रकम भुक्तानी गर्न बाँकी रहेको निगमले जनाएको छ । अर्थ मन्त्रालयले घटाएको करबारे निगमलाई हालसम्म कुनै जानकारी नभएकाले अहिलेलाई कुनै निर्णय नलिने निगमले जनाएको छ ।
पोखराः पृथ्वीनारायण क्याम्पसको शिक्षा संकाय डिपार्टमा अनेरास्ववियुले तालाबन्दी गरेको छ । प्रात र दिवाकालिन दुवै समयमा पढाई हुनुपर्ने माग गर्दै आज तालबन्दी गरेको हो । करिब ४५ सय विद्यार्थीको हस्ताक्षर सकल गरि प्रशासनलाई बुझाएको बताउदै माग सुनुवाई नभएपछी ताला लगाउन बाध्य भएको अनेरास्ववियू पृथ्वीनारायण क्याम्पस समितिका सदस्य कुसल लम्सालले बताए । एक वर्ष पनि नबित्दै सहमतिलाई कुचल्दै दिवामा मात्र अध्यापन गराउने गरेकोमा घोर भत्र्सना गर्दछौ, उनले भने दिवामा मात्र पठनपाठान गराउने निर्णय हामी गरिब तथा मध्यम वर्गीय विधार्थीहरुको हित विरुद्ध छ । त्यसैले दुवै समयमा पढाई हुनुपर्ने हाम्रो माग हो । उनले शिक्षा संकायलाई दिवा र प्रातकालिन समयमा अध्यापन गराउने निर्णय नगरे शिक्षा संकाय तथा सहायक क्याम्पस प्रमुखको कार्यकक्षमा अनिश्चित कालिन तालाबन्दी जानकारी दिए । उनका अनुसार आन्दोलनको नेतृत्व अनेरास्ववियु शिक्षा संकाय कमिटीका अध्यक्ष सौगात तिमिल्सिनाले गर्दै आएका छन ।
हुम्लाः हुम्ला जिल्ला अदालतको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले आज एक कार्यक्रमकाबीच उक्त भवन उद्घाटन गर्नुभएको हो । उहाँले आफ्नै भवन भएपछि न्याय क्षेत्रमा नागरिकका लागि सहज वातावरण बनेको बताउनुभयो । उहाँले हरेक नेपाली न्यायको पक्षमा भइरहने हुँदा न्याय पाउने स्थान नागरिकको सहज पहुँचमा रहनुपर्ने बताउनुभयो । कार्यक्रममा सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश हरिकृष्ण कार्कीले न्याय क्षेत्र नागरिकको प्राथमिकताको विषय भएकाले यसमा कानुन व्यबसायी सदैव गम्भीर हुनुपर्ने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी सीता परियार र जिल्ला अदालतका न्यायाधीश जगतबहादुर पौडेलले जिल्ला अदालतको भवन निर्माण सम्पन्न भएकोमा खुसी ब्यक्त गर्नुभयो । भवन निर्माणका लागि रु दुई करोड ६२ लाख २५ हजार खर्चिएको अदालतका श्रेस्तेदार कमलकुमार आर्चायले जानकारी दिनुभयो ।
काठमाण्डौँः राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले सरकारका कार्यक्रम तथा बजेटबारे आलोचनाका लागि आलोचना मात्र नगरी ठीकलाई ठीक र बेठीकलाई बेठीक भनेर छुट्याउन सक्नुपर्नेमा जोड दिनुभएको छ । आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिदै नेपाली कांग्रेसका सांसद जीतेन्द्रनारायण देवले पूर्वाग्रहको संस्कारबाट मुक्त भएर सत्यपरक ढङ्गबाट ठीकलाई ठीक र बेठीकलाई बेठीक भन्ने संस्कारको विकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो,“सरकारको दस्तावेजमा सिद्धान्त, नीति तथा कार्यक्रम र बजेटबीच अन्तरसम्बन्ध रहेको छ । यी पक्षलाई एकीकृतरुपमा तयार गरिएको छ । बजेटमा विदेशी लगानी आकर्षित गर्ने, निजी क्षेत्रलाई विकासको इञ्जिनका रुपमा परिभाषित गर्ने तथा अनुसन्धानलाई जोड दिइएको छ । ” नेकपा एकीकृत समाजवादी का सांसद डा बेदुराम भुसालले गठबन्धन सरकारको पहिलो बजेट विगतका केही वर्षका बजेटभन्दा राम्रो रहेकोे विभिन्न आधारले पुष्टि गरेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “बजेटमा कृषिको रुपान्तरण, सहकारी, निजी र सरकारी क्षेत्रमार्फत आर्थिक रुपान्तरण गर्ने कुरा उल्लेख छ । ” नेकपा माओवादी केन्द्र की सांसद गङ्गाकुमारी बेल्वासेले स्थिरता, उद्यमशीलता, समावेशी विकास निर्माण गर्ने नारा उपयुक्त भएको बताउनुभयो । उहाँले भन्नुभयो “कृषिमा आत्मनिर्भर बनाउँदै जाने तथा सिँचाइ, मल, बीउबिजनलाई सम्बोधन गर्नु सकारात्मक हो । बजेट लघु, घरेलु र ठूला उद्योगलाई प्रोत्साहन गर्ने गरी आएको छ । बजेटमाथि आलोचनाका लागि आलोचना उपयुक्त हुँदैन । ” नेकपा एमाले०का सांसद देवेन्द्र दाहालले आगामी वर्ष निर्वाचनको वर्ष र आर्थिक सङ्कटको जोखिम रहेकाले सरकारले ठूलाठूला कुरा राख्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो “सामाजिक सुरक्षा भत्ता पाउने उमेर घटाउँदै जाँदा नागरिकमा छिट्टै बुढ्यौलीमा गइयो कि भन्ने चिन्ता उत्पन्न गर्छ ।” सरकारले बजेटमार्फत यसपटक बृद्धभत्ता ६८ वर्षमा नै उपलब्ध गराउने जनाएको छ । छलफलमा सांसदहरु प्रमिला कुमारी, शेखरकुमार सिंह, तुलप्रसाद विश्वकर्मा, सुमित्रा विसी, नरबहादुर विष्ट, रामचन्द्र राई, जगप्रसाद शर्मा, भगवती न्यौपाने, मायाप्रसाद शर्मा, वीना पोखरेल र नारायणदत्त मिश्रलगायतले भाग लिनुभएको थियो ।
पोखरा: वरिष्ठ संस्कृतिकर्मी, शिक्षासेवी, समाजसेवी तथा हिमाली साँस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङ र धर्मपत्नी मिरा गुरुङको स्मृतिमा निर्मित मेनकाजी मिरा स्मृति कक्षको उद्घाटन गरिएको छ । हिमाली साँस्कृतिक परिवारको भवनमा निर्माण गरिएको स्मृतिकक्षको स्वर्गीय गुरुङको प्रथम वार्षिकीको अवसरमा पोखरा ९ का नवनिर्वाचित वडाध्यक्ष दिपेन्द्र मर्सानीले उद्घाटन गरे । गुरुङ दाम्पत्यले सञ्चालन गरेको कञ्चनजङ्गा होष्टेलका पूर्व विद्यार्थी लक्ष्मी गुरुङ (जापान) आरती गुरुङ (युके) को पहलमा संकलित ६ लाख ३३ हजार ५३ रुपैया र सांस्कृतिक परिवारको ८ लाखको लागतमा उक्त कक्ष निर्माण गरिएको हो । गतवर्ष जेठ १७ गते कोरोना महामारीको समयमा मेनकाजी गुरुङ र जेठ १ गते धर्मपत्नी मिरा गुरुङको उपचारकै क्रममा निधन भएको थियो । स्मृतिकक्षको उद्घाटन पश्चात बोल्दै कार्यक्रमका प्मुख अतिथि समेत रहेका पोखरा ९ का वडाध्यक्ष लगायत जनप्रतिनिधीहरुलाई बधाई कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष दिपेन्द्र मर्सानीले गुरुङको निधनले लोक संस्कृतिमा ठुलो क्षति पुगेको धारणा राखे । उनले आफ्नो पारिवारिक सम्बन्ध एवम छोरीहरुको गुरु गुरुआमाको गुमाउनुको पीडा असैह्य हुने बताउदै सांस्कृतिक परिवारका लागि आफ्नो वडा सधै सहयोग र सहकार्य गर्न तयार रहेको बताए । यसैगरि हिमाली सांस्कृतिक परिवारका सल्लाहकार एवम तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले स्वर्गीय गुरुङको निधनले लोक संस्कृतिको जिउँदो संग्रहालय नै गुमाएको उल्लेख गरे । उनले स्वर्गीय गुरुङलाई चिरकाल स्मरणका लागि शुभेच्छुक व्यक्ति एवम संघ संस्थाहरुबाट ३५ लाख रुपैयाको अक्षयकोष स्थापना गरिएको बताउदै उक्त कोषको वार्षिक व्याजबाट अग्रज कलाकार सम्मान, क्रियाशील कलाकारहरुलाई पुरस्कृत र लोक सँस्कृतिको संरक्षण विकास गरिने जानकारी दिएका थिए । हिमाली सांस्कृतिक परिवारका अध्यक्ष ज्ञानबहादुर थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा सहसचिव मनबहादुर गुरुङले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रम सञ्चालनसचिव श्रीजंग गुरुङले गरेका थिए ।

