उदयपुरः नेपाल प्रहरीले उदयपुर तामिल्छा नगरपालिका –८ घर भई चन्द्रागिरि नगरपालिका–१० बोसीगाउँ बस्ने उदयपुरका २९ वर्षीय अरुण खत्रीको हत्यामा संलग्न दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले खत्रीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा कीर्तिपुर नगरपालिका–३ बाघभैरव बस्ने २६ वर्षीय अजय नापित र २२ वर्षीय सन्तोष महर्जनलाई मङ्गलबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । कीर्तिपुर नगरपालिका–३ ढाल्पास्थित सडकमा कुटपिट गर्दा गम्भीर घाइते भएका खत्रीको उपचारका क्रममा कीर्तिपुर अस्पतालमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरीले मृतक खत्रीको झोलाबाट नियन्त्रित लागुऔषध डाइजेपाम ३१ एम्पुल, फेनार्गन ६४ एम्पुल र नुर्फिन ७२ एम्पुल बरामद गरेको गरेको छ । घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बाँकेः बाँकेको खजुरा गाउँपालिकाले पाँच वर्षको अवधिमा ४२ किलोमिटर पक्की सडक निर्माण भएको छ । सडक निर्माणलाई उच्च प्राथमिकताका साथ अघि बढाएको र अन्य केही सडक निर्माणको काम अन्तिम चरणमा पुगेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाले वार्षिकरुपमा १६ किमी पक्की सडक निर्माण गर्ने लक्ष्य लिए पनि कोरोना महामारीका कारण लक्ष्य भेटाउन कठिनाइ भएको छ । “स्थानीय सरकारसँग जनताको पहिलो अपेक्षा हिलाम्मे र धुलाम्मे हुने बाटाको स्तरोन्नति थियो । यसलाई बुझेर गाउँपालिकाले हरेक वर्ष १६ किमी सडक निर्माण र स्तरोन्नति गर्ने लक्ष्य निर्धारण गर्याे ”, उहाँले भन्नुभयो, “सडक निर्माणलाई गाउँपालिकाको गौरवकै योजनाका रुपमा अघि बढाएको खजुराले लिएको लक्ष्य भेट्टाउन कोरोना महामारीले अवरोध सिर्जना गरे पनि गाउँपालिकाले पाँच वर्षमा ४२ किलोमिटर सडक पिच गरिसकेको छ भने अझै आठ किमी सडक निर्माण गर्ने योजना चलिरहेका छन् ।” गाउँपालिकाका ग्रामीण बस्तीभित्रका सडक पनि कालोपत्रे, पीसीसी र ग्राभेल गरिएका छन् । गाउँपालिकाका मुख्य सडकदेखि सहायक सडकको स्तरोन्नति गरिएको छ । सबै वडामा सडक र नाली निर्माण भएका छन् । खजुरा बजार क्षेत्रमा सडक डिभिजनले चार लेन सडक निर्माण पनि धमाधम गरिरहेको छ । त्यसमा गाउँपालिकाले समन्वय गर्दै आइरहेको प्रमुख प्रशासकीय अधिकृत केसीको भनाइ छ । निर्वाचित जनप्रतिनिधि आइसकेपछि पूर्वाधारका क्षेत्रमा अत्यधिक काम भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका सडक विस्तार गर्न, स्तरोन्नति गर्न अन्य पालिकाभन्दा अब्बल रहेको गाउँपालिका योजना अधिकृत दिलबहादुर पौडेलको दाबी छ । गाउँपालिकाले बितेको पाँच वर्षमा सडक सँगसँगै पूर्वाधारतर्फ बहुउद्देश्यीय सभागृह, एक हजार ५०० मेट्रिक टन क्षमताको शीतभण्डार, १५ शय्याको अस्पताल, गाउँपालिकाको प्रशासनिक भवन निर्माणाधीन अवस्थामा छन् । यी योजनाको काम ८० प्रतिशतभन्दा बढी भइसकेको उहाँले बताउनुभयो ।
सङ्खुवासभाः सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा पहिराले पुरिएर दुई जनाको मृत्यु भएको छ । चैनपुर–नुनढाकी सडक निर्माणका क्रममा सुक्खा पहिराले पुरिएर दुई मजदुरको मृत्यु भएको हो । मृत्यु हुनेमा सुनसरीको धरान उपमहानगरपालिका बस्ने ३५ वर्षीय रामकुमार राई र उदयपुरको चौदण्डीगढी नगरपालिका–६ का २० वर्षीय हिमबहादुर मगर रहेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिनुभयो । आज बिहान ११ बजे चैनपुर–नुनढाकी सडकखण्डमा तारजाली लगाउने क्रममा ३० मिटरमाथिबाट खसेको सुक्खा पहिराले पुरिएर धरानका राई र उदयपुरका मगरको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक बस्नेतले बताउनुभयो । चैनपुरको सिद्धपोखरीदेखि नुनढाकीसम्मको १९ किलोमिटर अमर कन्ट्रक्सन कम्पनीले सडक निर्माण गरिरहेको छ । घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय चैनपुरका प्रमुख प्रहरी निरीक्षकको टोली घटनास्थलतर्फ गएको छ ।
काठमाडौं: नेकपा (माओवादी केन्द्र) ले गत वैशाखमा सम्पन्न स्थानीय तह सदस्य निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिएको छ। स्थानीय तहबाटै समाजवादको आधार तयार गर्न निर्देशित गर्ने उद्देश्यले बुधबार र बिहीबार उनीहरूलाई प्रशिक्षण दिन लागिएको हो। कमलपोखरीस्थित कुमारी हलमा सुरू भएको प्रशिक्षणको पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका छन्। स्थानीय सरकार सञ्चालन, सेवा प्रवाह, विकास निर्माण, सुशासन, स्वास्थ्य, शिक्षा, बजेट तथा कानून निर्माणलगायत विषयमा विज्ञहरुले प्रशिक्षण दिने कार्यक्रम छ। तस्बिर: प्रचण्ड र रेनु दाहालको फेसबुकबाट
पोखरा: पोखरा महानगरपालिकाको प्रमुख पदका एमाले उम्मेदवार कृष्ण थापालाई हराउन योजना बुनेका तिन जनालाई निलम्बन गरको छ । नेकपा एमाले कास्कीका अध्यक्ष मन बहादुर गुरुङद्वारा हस्ताक्षरित प्रेस विज्ञप्ती मार्फत उक्त घटनामा संलग्न वडा २१ का पार्टी संगठित सदस्य मनोज पहारी, पोखरा ३३ वडा कमिटीका उपाध्यक्ष महेश अर्याल र सोही वडाकै पार्टी संगठित सदस्य प्रशान्त आचार्यलाई विधानको धारा ८१ अनुसार निलम्बित गरेको हो । उनीहरु अब आफ्नो जिम्मेवारीबाट मुक्त भएको विज्ञप्तीमा उल्लेख गरिएको छ । विज्ञप्तीमा भनिएकाे छः ‘स्थानीय निर्वाचन २०७९ को शिलशिलामा पोखरा महानगरपालिकाको निर्वाचनसँग जोडिन आएको अनेकौं विषयहरुको बारेमा नेकपा एमाले कास्कीले मसिनो गरि अध्ययन गरिएको सर्वविधितै छ । त्यसक्रममा सार्वजनिक भएका भ्याइस क्पिल र त्यसमा संलग्न व्यक्तिहरुसँग पार्टीका सम्बन्धित कमिटीहरुले स्पष्टिकरण सोधि निजहरुको बारेमा पार्टी विधानको धारा ८० अनुसारको अनुशासन उल्लंघन गरिएको ठहर गरि धारा ८१ बमोजिम कारवाही प्रक्रिया अगाडी बढेको जानकारी गराउँदछौं, विज्ञप्तीमा लेखिएको छ, ‘मातहतका कमिटीले अगाडी बढाएको कारवाही प्रक्रिया र प्राप्त तथ्यहरु केलाउदा तपशिलमा उल्लेखित व्यक्तिहरुलाई अगाडी बढाएको कारवाही प्रक्रिया निष्कर्षमै पुर्याउनै पर्ने आवश्यकता महसुस गरि तत्कालको लागि जिल्ला कमिटी कास्की निम्न निष्कर्षमा पुगेको अवगत गराउँदछौं ।’ विज्ञप्ती:
पाटन: यार्सा सङ्कलनका लागि जुम्लाको पाटन क्षेत्रमा भीडभाड हुन थालेको छ । जिल्लामा आर्थिक स्रोतको रुपमा यार्सागुम्बा सङ्कलनलाई लिइने गरिन्छ । यार्सा सङ्कलनका लागि पाटनतिर लागेका कारण जिल्लाका अधिकांश ग्रामीण बस्ती सुनसान बनेको जनाइएको छ । गाउँघरबाट पाटन जानेको लर्को लागेको गुठीचौर गाउँपालिकाका स्थानीय व्यापारी दीपक बोहोराले जानकारी दिनुभयो । यार्सागुम्बा सङ्लनको लागि तातोपानी, गुठीचौर, तिला, पातारासी, हिमा गाउँपालिकालगायत ग्रामीण क्षेत्रका सर्वसाधारण पाटनतर्फ गएका छन् । आर्थिक स्रोत जुटाउन यार्सा टिप्न पाटनतिर लागेको पातारासी गाउँपालिकाका स्थानीयवासी मुनबहादुर ऐडीले बताउनुभयो । १८ वर्षभन्दा माथि ५० वर्षमुनिका सबै स्थानीयवासी यार्सागुम्बा सङ्कलन गर्न गएका छन् । खेतीपातीबाट घरखर्च लगाउन पनि गह्रो हुने भएकोले स्थानीयवासीको मुख्य जीविकोपाजर्नको स्रोतनै जडीबुटी हो । घरखर्चदेखि बालबच्चाको पढाइखर्च सबै यार्सा सङ्कलनबाट हुने गरेको स्थानीयवासीले जनाएका छन् । पाटनमा यार्सा सङ्कलन निकै कठिन हुने गरेको छ । सङ्घीय सरकार, प्रदेशसरकारदेखी स्थानीय सरकारले गाउँमै आत्मनिर्भरका कार्यक्रम ल्याउन नसक्दा यो समस्या खडा भएको तिला गाउँपालिका स्थानीयवासी काली नेपालीले बताउनुभयो ।
काठमाडौं: काठमाडौंबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको जहान काठमाडौं नै फर्किएको छ । बिहान १०ः४३ बजे उडेको विमान टायरमा समस्या देखिएपछि बीचबाटै काठमाडौं फर्किएको त्रिभुवन विमानस्थल नागरिक उड्डकन कार्यालयले जनाएको छ । फ्लाइट नम्बर–९५३ ‘ए–एनपी’ विमान ११ बजेर १० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको छ । विमानमा ६९ जना यात्रु सवार थिए । जहाज सकुशल अवतरण गरेर प्राविधिक जाँच भइरहेको प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिएका छन् ।
मनाङ: हिमाली जिल्ला मनाङका चार स्थानीय तहलाई सङ्घीय सरकारबाट रु ३७ करोड ३६ लाख बजेट विनियोजन भएको छ । जिल्लाका चार पालिकालाई सङ्घ सरकारले आर्थिक वर्ष २०७९/८० का लागि बजेट बाँडफाँट गरेको हो । सबैभन्दा बढी मनाङ प्रवेश पालिका नासों गाउँपालिकालाई रु१९ करोड ७१ लाख बजेट विनियोजन गरिएको छ । चामे गाउँपालिकालाई रु१६ करोड ९७ लाख, मनाङ ङिस्याङ गाउँपालिकालाई रु१६ करोड ४४ लाख र नार्पाभूमि गाउँपालिकालाईरु१४ करोड २४ लाख बजेट विनियोजन भएको मनाङ ङिस्याङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीनारायण यादवले जानकारी दिनुभयो । सङ्घीय सरकारले सशर्त, विशेष अनुदान, समपूरक अनुदान, राजस्व बाँडफाँटलगायत शीर्षकमा स्थानीय तहलाई अनुदान दिने गरेको छ । सङ्घ सरकारले रणनीतिक (मनाङको मेरुदण्ड) डुम्रे–बेँसीसहर–चामे मनाङ सडक निर्माणका लागि बजेट विनियोजन गरेको छ । बहुवर्षीय योजनाका रूपमा सङ्घ सरकारले रु६१ करोड २८ लाख बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले दिने अनुदान, सङ्घीय अनुदान र स्थानीय स्रोतसमेत समावेश गरेर स्थानीय तहले बजेट निर्धारण गरेको छ । सङ्घीय सरकारको बजेट आएसँगै मनाङका स्थानीय तहले धमाधम नीति तथा कार्यक्रम र बजेट निर्धारणका लागि योजना तर्जुमा भेला गरी सुझाव सङ्कलन गरिरहेका छन् ।
काठमाण्डौँ: प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी छ । बैठकमा नेकपा एमालेका उपाध्यक्ष पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले सरकारले पेश गरेको आगामी आर्थिक वर्षको बजेटमा उत्पादन बढाउने कुरा गरे पनि कृषि क्षेत्रको समस्या समाधानमा ध्यान नदिएको बताउनुभएको छ । अहिले पनि किसानले मल नपाउने अवस्था रहेकाले त्यो समस्याको समाधान नगरी कृषि उत्पादन बढाउन नसकिने उहाँको तर्क थियो । वर्षे बाली लगाउने समयमा भारतबाट मल कहिले आउँछ टुङ्गो नभएको अवस्थामा मलमा बजेट आधा छुट्टाएर उत्पादन बढाउन नसकिने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “पैसा भएर त किन्ने अवस्था छैन भने बजेट घटाएर कसरी बढाउन सकिन्छ ।” खाद्यमा अन्तशुल्क लगाउँदा विदेशी खाद्यान्नको आयात बढ्ने पूर्वअर्थमन्त्री पाण्डेले बताउनुभयो । बिस्कुट, कुकिजलगायत स्वदेशमा नै उत्पादन हुने खाद्यान्नमा अन्तशुल्क बढाउँदा विदेशी खाद्यान्न सस्तो पर्ने उहाँले बताउनुभयो । सेनेटरी प्याडमा ९० प्रतिशतसम्म आयकर छुट दिँदा देशभित्रका उद्योग सुक्दै जानसक्ने उहाँले बताउनुभयो । सरकारले कयौँ योजना थपेको छ कतिपय छाडेको पूर्वमन्त्री पाण्डेले बताउनुभयो । निर्वाचनको वर्ष भएकाले यो वर्ष बजेट कार्यान्वयन जम्मा चार महिनामा गर्न गाहे हुने उहाँले बताउनुभयो । सरकारले चाहेर पनि पेट्रोलियम पदार्थलगायतका बस्तुको आयात रोक्न नसक्ने उहाँको भनाइ छ ।

