पोखरा ।    गण्डकी प्रदेश सरकारमा आज (बुधबार) मन्त्रिपरिषद् हेरफेर भएसँगै नेकपा एमाले र नेपाली कांग्रेस दुवै दलबाट नियुक्त भए ८ मन्त्रीले सपथ लिएका छन् ।   गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टल...

काठमाडौँ:   काठमाडौँ महानगरपालिकाको नवनिर्वाचित प्रमुख बालेन्द्र साहले कार्यपालिका बैठकमा तत्काल फोहर व्यवस्थापन र भौतिक पूर्वाधार एम्बुलेन्स सञ्चालन गर्ने प्रस्ताव गर्नुभएको छ ।        पदभार ग्रहण गरेपछि सञ्चालन गरिएको पहिलो बैठकमा प्रमुख साहले तीन दिनदेखि उठ्न नसकेको  काठमाडौँको फोहर तत्काल व्यवस्थापन गर्ने र सडकमा पर्ने खाल्डाखुल्डी पुर्ने, ढल निकास गर्ने जस्ता काम सक्दो छिटो गर्न प्रस्ताव गर्नुभएको हो । उहाँले कार्यपालिका सदस्यहरुमाझ तत्काल दुईवटा भौतिक पूर्वाधार एम्बुलेन्स सुरु गर्न र नागरिकको समस्या समाधानका लागि कल सेन्टरको स्थापना गर्ने र त्यसमार्फत नागरिकको समस्या तत्काल सुन्ने अभ्यासमा जानुपर्ने धारणा राख्नुभयो ।      प्रमुख साह, उपप्रमुख सुनिता डङ्गोलसहितका जनप्रतिनिधिले शपथ लिएपछि आज पहिलो बैठक बसेको हो । बैठकको प्रमुख साहको निर्देशानुसार प्रत्यक्ष प्रशारण गरिएको छ । सडकमा थन्किएको फोहर व्यवस्थापन नभएसम्म माला खादा नलगाउने प्रमुख साहले घोषणा गर्नुभएको छ ।

काठमाण्डौँः       नेपाल एसोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स नाट्टा ले तारा एयरको ट्विनअटर विमान दुर्घटनामा परी ज्यान गुमाउने चालक दल तथा यात्रुहरुको निधनप्रति शोक व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ ।      शोक वक्तव्य जारी गर्दै घटनाले नाट्टा परिवारलाई स्तब्ध बनाएको भन्दै यस दुःखद घडीमा मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति भावपूर्ण समवेदना प्रकट गरेको छ ।  मुस्ताङको थासाङस्थित सानसुरे भिरमा दुर्घटनाग्रत भई उक्त विमानमा सवार चालक दलका तीन तथा १९ यात्रुको निधन भएको थियो ।     भौगोलिक बनावटका कारण नेपालको पर्यटन व्यवसायको विकास र विस्तारमा सुरक्षित हवाई सेवा एक आवश्यक पूर्वाधार भएको भन्दै नाट्टाले यस किसिमको हवाई दुर्घटनाले पर्यटन व्यवसायमा नकारात्मक प्रभाव पार्ने जनाएको छ । साथै निकायले नेपालको हवाई सेवालाई बढी भरपर्दो र विश्वसनीय बनाउन आवश्यक हवाई सुरक्षाको मापदण्डमा कडाइ गर्न तथा जोखिम न्यूनीकरणका सबै मापदण्ड कार्यान्वयन गर्न संस्थाले आग्रह गरेको छ । स्वदेशी/विदेशी पर्यटकलाई विश्वासनीयताको अनुभूति निर्माण गर्न आवश्यक पहल गर्न हुन पनि सबै सम्बद्ध निकायसँग नाट्टालले जोड्दार माग गरेको छ ।

काठमाण्डौँः   प्रधानमन्त्री देउवाद्वारा विमान दुुर्घटना घटनाप्रति दुःख व्यक्तप्रधानमन्त्री शेरबहादुर देउवाले कास्कीको पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको यात्रुवाहक जहाज दुर्घटनाग्रस्त भई विमानमा सवार सबैको निधन भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।      प्रधानमन्त्री देउवाले आज ट्विटरमार्फत यस अकल्पनीय दुर्घटनामा जीवन गुमाउनुहुने विमान चालक दलका सदस्यहरु र यात्रुहरुप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।      यही जेठ १५ गते पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको यात्रुवाहक विमान मुस्ताङको थसाङ गाउँपालिका–२ सानोस्वारे भिरमा दुर्घटनाग्रस्त हुँदा विमानमा सवार १९ यात्रु र चालक दलका तीन सदस्य गरी २२ जनाको निधन भएको थियो ।

धनगढी:  भाउजूलाई पेट्रोल छर्केर आगो लगाई हत्या गरी फरार रहेका देवरलाई प्रहरीले आज पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा सप्तरीको बोदेबर्साइन नगरपालिका–१ धनगढीका २५ वर्षीय परमेश्वर साह रहेको प्रहरीले जनाएको छ ।      गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बोदेबर्साइनबाट खटिएका वरिष्ठ प्रहरी नायब निरीक्षक सुरेश पालको नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो । गत वर्ष २०७८ माघ २१  गते उनले दाजु रविन साहकी २७ वर्षीया श्रीमती राजकुमारी साहलाई घरमा खाना पकाइरहेको अवस्थामा जीउभरि पेट्रोल छर्की आगो लगाएका थिए ।      सो क्रममा उपचारका क्रममा भाउजू राजकुमारीको मृत्यु भएको थियो । भाउजूको मृत्युपश्चात् राजन फरार रहँदै आएका थिए । यसैबीच पक्राउ परेकालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ ।

  पोखरा:   प्रतिकूल मौसमका कारण मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा आइतबार भएको तारा एयरको जहाज दुर्घटनामा परी मृत्यु भएकामध्ये दश जनाको सव अहिले काठमाडौँ ल्याइँदै छ । त्रिभुवन विमानस्थलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता टेकनाथ सिटौँलाका अनुसार २२ जना सवार दुर्घटनामा परेको उक्त विमानमा २१ जनाको शव भेटिएको र त्यसमध्ये पहिलो चरणमा दश जनाको शव काठमाडौँमा ल्याइँदै छ । प्रतिकूल मौसमका कारण अर्का एकजनाको शव खोजी भइरहेको र भेटाउन नसकिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको खोज तथा उद्धार समन्वय केन्द्रले जनाएको छ ।       केन्द्रका अनुसार दश जनाको शव बोकेर नेपाली सेनाको एमआई १७ नामक हेलिकप्टर अहिले पोखराबाट काठमाडौँका लागि उडेको छ । शवको उद्धार तथा आवश्यक व्यवस्थापनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, सचिव महेश्वर न्यौपाने सहितको टोली बिहानदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको खोज तथा उद्धार समन्वय केन्द्रमा खटिइरहेको छ ।      भेटिएका शव सनाखत गर्न बाँकी छ । समुन्द्री सतहदेखि चार हजार मिटरभन्दा बढी उचाइमा रहेको घटनास्थलमा कुहिरो लागेको बताइएको छ । भेटिएका २१ शवमध्ये ११ वटा शव घटनास्थलमै रहेको र मौसममा सुधार आएपछि पोखरा ल्याइने उद्धार टोलीले जनाएको छ । मानापाथी हिमालको फेदीमा रहेको पहाडमा जहाज ठोक्किएर टुक्राटुक्रा परेको अवस्थामा आज बिहान भेटिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई प्रदीप अधिकारीले जानकारी दिनुभयो ।       पोखराबाट आइतबार बिहान ९ः५५ बजे जोमसोमका लागि उडेको तारा एयरको ९ एनएइटी कलसाइन भएको उक्त विमान बिहान १०ः०७ बजे जोमसोम विमानस्थलको टावरबाट सम्पर्क विच्छेद भएको थियो । जहाजमा चालक दलका तीनजना सदस्य, १२ जना नेपाली, चार जना भारतीय र दुईजना जर्मनी नागरिकसहित २२ जना सवार रहेका थिए ।

कैलाली:   गेटा मेडिकल कलेजलाई सुदूरपश्चिमका दुई प्रादेशिक अस्पतालसित सहकार्य गरी सञ्चालन गरिने भएको छ ।       आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा सुदूरपश्चिमाञ्चल विश्वविद्यालय मातहत रहने गरी महाकाली प्रादेशिक अस्पताल र सेती प्रादेशिक अस्पतालसित सहकार्यमा गेटा मेडिकल कलेज सञ्चालनका लागि व्यवस्था मिलाउने घोषणा गरिएको हो ।     कैलालीको गेटास्थित मेडिकल कलेज सञ्चालन सरकारको नीति तथा कार्यक्रममा समावेश नभएपछि चौतर्फी विरोध गरिएको थियो । त्यसपछि दुई अस्पतालसित सहकार्य गरी मेडिकल कलेज सञ्लालन बजेटमा समावेश गरिएको हो । “गेटा मेडिकल कलेज र सेती तथा महाकाली अस्पताल बीचको सहकार्यमा सम्बन्धित विश्वविद्यालयअन्तर्गत मेडिकल कलेज सञ्चालन गर्ने व्यवस्था मिलाइनेछ”, बजेट वक्तव्यमा भनिएको छ ।      भौतिक पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको गेटा मेडिकल कलेजको सञ्चालन प्रारुपमा अझै अनिश्चित छ । गेटा मेडिकल कलेजलाई प्रतिष्ठान, विश्वविद्यालय मातहत सञ्चालन गर्नु वा नेशनल मेडिकल कलेजका रुपमा सञ्चालन गर्नुपर्ने आवाज उठेको थियो ।      सरकारले आगामी आर्थिक वर्षमा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयअन्तर्गत रहनेगरी प्रादेशिक अस्पतालसितको सहकार्यमा सञ्चालन गर्ने व्यवस्था गरेपछि सञ्चालन अन्योल पनि हटेको छ । सरकारले २०६६ मा सुदूरपश्चिमाञ्चल विश्वविद्यालय र गेटा मेडिकल कलेज बनाउने घोषणा गरेको थियो ।      त्यसअनुसार सुदूरपश्चिमाञ्चल विश्वविद्यालय सञ्चालनमा आइसकेको छ । कञ्चनपुर क्षेत्र नं ३ का सांसद डा दीपक प्रकाश भट्टले दुई प्रादेशिक अस्पतालसितको सहकार्यमा मेडिकल कलेज सञ्चालनका लागि बजेटमा व्यवस्था गरिनु राम्रो भएको बताउनुभयो । “सुदूरपश्चिमाञ्चल विश्वविद्यालयअन्तर्गत दुई अस्पतालसितको सहकार्यमा गेटा मेडिकल कलेज सञ्चालनमा आउँछ”, उहाँले भन्नुभयो, “यसलाई राम्रो मान्न सकिन्छ ।”      सांसद भट्टले २०७४ को आम निर्वाचनमा महाकाली अस्पताललाई मेडिकल कलेजका रुपमा सञ्चालन गर्न पहल गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।     गेटा मेडिकल कलेजलाई नेशनल मेडिकल कलेज बनाउन पनि प्रधानमन्त्री शेरबहादुर देउवासम्म पहल गरिएको थियो । सुदूरपश्चिम प्रदेशका सांसदहरुले माग राखेपछि प्रधानमन्त्री देउवा सकारात्मक देखिनुभएको बताइउको छ । उहाँले बजेटमा नेशनल मेडिकल कलेज बनाउने माग सम्बोधन गर्ने आश्वासन दिनुभएको थियो । 

पोखरा :    सरकारले पोखरा महानगरपालिका–१४ मा निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालनमा ल्याउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार सङ्घीय संसद्मा आगामी आर्थिक वर्षको बजेट कार्यक्रम प्रस्तुत गर्दै हवाई पूर्वाधारतर्फ पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालनमा ल्याइने बताउनुभयो ।     सरकारले आर्थिक वर्ष २०७९/८० मा हवाई पूर्वाधारतर्फ रु १२ अर्ब २४ करोड बजेट विनियोजन गरेको छ । चिनियाँ निर्माण कम्पनी सिएएमसीइले निर्माण गरिरहेको पोखरा विमानस्थलको भौतिक पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।     चिनियाँ कम्पनीसँग भएको ठेक्का सम्झौताअनुसारका सबै काम अन्तिम चरणमा  रहे पनि नेपाल सरकारको जिम्मामा रहेका सञ्चालनपूर्व गर्नुपर्ने काम भने अझै बाँकी छन् । पोखरा विमानस्थल गत चैत १२ गते चीनका विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका अवसरमा नेपाललाई हस्तान्तरण गरिएको थियो ।      त्यतिबेला  विमानस्थलको मुख्य निर्माण र उपकरण जडानको कार्य सम्पन्न भएको र ९३ प्रतिशत भौतिक प्रगति भएपछि नेपाललाई हस्तान्तरण गरिएको थियो ।      पोखरा विमानस्थल आयोजनाका वरिष्ठ अधिकृत सविन फुयाँलले आयोजनाको काम अन्तिम चरणको पुगेको र केही सामान्य काम मात्र बाँकी रहेको बताउनुभयो ।      उहाँका अनुसार विमानस्थल सञ्चालनका लागि अझै पनि ल्याण्डफिलसाइट स्थानान्तरण, दक्षितर्फको रिठेपानी डाँडा कटान र बर्खायाममा भलबाढी नियन्त्रणका लागि सिँचाइ नहर व्यवस्थापनको काम बाँकी छन् ।      यसैगरी आगामी आर्थिक वर्षको बजेटमा सरकारले जिल्लामा पर्यटन पूर्वाधार, खेलकुदलाई समेत सम्बोधन गरेको छ । अर्थमन्त्री शर्माले कास्कीको विरेठाँटी हुँदै हिमालपारीको जिल्ला मुस्ताङमा अवस्थित प्रसिद्ध मुक्तिनाथ मन्दिरसम्म केबलकार पूर्वाधार निर्माणका लागि निजी क्षेत्रलाई सहजीकरण गरिने बताउनुभयो ।     गण्डकी प्रदेशको राजधानी पोखरामा तय गरिएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आवश्यक रकम विनियोजन गरिएको अर्थमन्त्रीले बताउनुभयो ।      आगामी असोजमा पोखरामा नवौँ राष्ट्रिय खेलकुद आयोजना गर्ने तयारी छ । अर्थमन्त्रीले १०औँ राष्ट्रिय खेलकुदका लागि आवश्यक पूर्वाधारमा बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । आगामी वर्षको बजेटमा पोखरा–मुग्लिन सडकको स्तरोन्नति र विस्तारका लागि बजेटमा व्यवस्था गरिएको छ । अर्थमन्त्री शर्माले रणनीतिक सडकका रुपमा रहेका नागढुङ्गा–नौबिसे–मुग्लिन खण्ड र मुग्लिन–पोखरा सडकका लागि रु १० अर्ब ७४ करोड विनियोजन गरिएको बताउनुभयो ।   

मुस्ताङ:  प्रतिकूल मौसमका कारण तारा एयरको ट्वीनअटर विमान दुर्घटनाग्रस्त भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।   नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले खराब मौसमका कारण तारा एयरको विमान दुर्घटना भएको जानकारी दिनुभयो ।   संसद्को अन्तर्राष्ट्रिय समितिको आजको बैठकमा दुर्घनाग्रस्त जहाजकाबारेमा समितिलाई जानकारी गराउँदै महानिर्देशक अधिकारीले खराब मौसमका कारण ‘राईट टर्न’ गर्नुपर्ने जहाजले ‘लेफ्ट टर्न’ गरेर गएर भित्तामा ठोकिएको प्रारम्भिक अध्ययनले देखाएको बताउनुभयो ।   घटनाको जाँचबुझ आयोग गठन गरी थप अनुसन्धान गरेर सत्यतथ्य पत्ता लगाइने महानिर्देशक अधिकारीले विश्वास दिलाउनुभयो ।   घटनास्थल जोमसोम विमानस्थलबाट ८ नटिकल माइल दूरीमा पर्छ । उक्त विमान मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित सानुसरे भन्ने भिरमा ठोक्किँएर दुर्घटना भएको अवस्थामा आज बिहान भेटिएको थियो । विमानमा सवार १९ यात्रु र तीन चालक दलका सदस्यसहित २२ जनाको दुःखद् निधन भएको छ ।   पोखराबाट आइतबार बिहान ९ः५५ बजे जोमसोमका लागि उडेको उक्त विमान उडेको १०ः७ बजेपछि सम्पर्कविहीन भएको थियो ।   पाँच वटा हेलिकोप्टरले आइतबार दिनभर खोजी गर्दा पनि फेला नपरेपछि आज बिहानै परिचालन भएको संयत्रबाट दुर्घटनाग्रस्त जहाज भेटिएको थियो । रासस

काठमाण्डौँः  प्रधानमन्त्री शेरबहादुर देउवाले बलात्कारविरुद्धको उजुरीमा हदम्याद नलाग्ने गरी कानुन संशोधनको विधेयक चाँडै प्रस्तुत गरिने बताउनुभएको छ ।     चौथो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा आज आयोजित मूल समारोहको कार्यक्रममा प्रधानमन्त्री देउवाले महिला हिंसाका घटनामा सरकारले शून्य सहनशीलता अपनाउने र लैङ्गिक समानताका लागि संविधानले दिएको समावेशी समतामूलक हकअधिकार कार्यान्वयनका लागि सक्दो पहल गर्ने पनि बताउनुभयो ।       उहाँले निर्मला पन्तको हत्याका दोषीलाई पक्राउ गर्न समय लागे पनि प्रहरीको अनुसन्धान जारी रहेकाले एक दिन हत्यारा कानुनी नियन्त्रणमा आउने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री देउवाले लैङ्गिक समानताका दृष्टिले नेपाल दक्षिण एशियामै अग्रणी मुलुक रहेको र महिलालाई शिक्षा, स्वास्थ्य, रोजगारी र सम्पत्तिमा स्वामित्व वृद्धिका लागि नीतिगत र कानुनी प्रबन्ध गरिएको स्पष्ट गर्दै राज्यका सबै निकायमा महिलाको सार्थक सहभागिता र उपस्थितिका लागि पनि सरकार क्रियाशील रहेको अवगत गराउनुभयो ।      महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले नेपाली महिलाले मताधिकार पाउनका लागि पनि अग्रज महिलाले सङ्घर्ष गरेर अधिकार हासिल गरेको उल्लेख गर्दै राज्यका सबै निकायमा भविष्यमा ५० प्रतिशत महिला सहभागिताका लागि लाग्नुपर्ने बताउनुभयो ।     प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले संविधानमा समानताको हक स्थापित भए पनि अझै आमाका नामबाट नागरिकता पाउन कठिनाई भएकाले सहज प्रबन्धका लागि सरकारसँग आग्रह गर्नुभयो । उहाँले तेजाब आक्रमणकारी विरुद्धको अध्यादेशलाई विस्थापन गर्न चाँडै कानुन ल्याउन पनि माग गर्नुभयो ।      कार्यक्रममा पूर्वमन्त्री कमला पन्त, थममाया थापा, चन्दा चौधरी, राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुली लगायतले शोषित, पीडित महिलाका लागि हकअधिकार व्यवहारिक रुपमा स्थापित गर्न सकेमा महिला अधिकार दिवसको सार्थकता हुने बताउनुभयो ।          विसं २०६३ जेठ १६ गते तत्कालीन पुनःस्थापित संसद्ले राज्यका सबै निकायमा ३३ प्रतिशत महिलाको सुनिश्चितता लगायत चार बुँदे महिला अधिकारका सवालमा सङ्कल्प प्रस्ताव पारित भएको दिनलाई नेपाल सरकारले विसं २०७६ देखि राष्ट्रिय दिवसका रुपमा मनाउन थालेको हो ।