काठमाण्डौँ: नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनप्रतिनिधिमूलक संस्थालाई आरोप प्रत्यारोपको थलो नबनाउन आग्रह गर्नुभएको छ । सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै नेपालले जनताको आवाज मुखरित गर्ने स्थानलाई मर्यादित बनाउन आग्रह गर्नुभयो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेपालले नेकपाका संस्थापक महासचिव पुष्पलालले अगाडि सार्नुभएको वामपन्थी र लोकतान्त्रिक शक्तिबीचको सहकार्यका आधारमा मात्रै नेपालमा ठूलाठूला परिवर्तन भएको तथ्य पेश गर्दै अध्यक्ष नेपालले राष्ट्रिय आवश्यकतालाई केन्द्रमा राखेर अगाडि बढ्नुपर्ने बताउनुभयो । राष्ट्रिय हितलाई केन्द्रमा राखेर परराष्ट्र नीति सञ्चालन गर्नुपर्ने उल्लेख गर्दै उहाँले सरकारले अगाडि सारेको नीति तथा कार्यक्रममा कृषि, पर्यटन, जलविद्युत् उद्योगलगायतका विषयलाई प्राथमिकतामा राखिएमा प्रसन्नता व्यक्त गर्नुभयो । अध्यक्ष नेपालले कृषिको आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रीकरण गर्ने विषयमा नीति तथा कार्यक्रमले जोड दिएकाले अब त्यसलाई कार्यान्वयनमा लैजानेतर्फ ध्यान दिन आग्रह गर्नुभयो । पानीजहाज, भ्यूटावरलगायतका कार्यक्रम आवश्यक नभएको भन्दै उहाँले नेपाली युवालाई सीपयुक्त बनाउन दूरदृष्टि राख्नुपर्ने स्पष्ट पार्नुभयो । नेपालमा कति वटा राजमार्ग आवश्यकपर्ने विषयमा पनि वस्तुवादी दृष्टिकोणका आधारमा निर्णय गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । नेपालले स्वतन्त्र उम्मेदवारको जीतलाईसमेत जनभावनाका रुपमा स्पष्ट पार्नुभयो । राजनीतिप्रति बढ्दै गएको वितृष्णालाई पनि हेर्नुपर्ने तथा भ्रष्टाचार समाप्त गर्नेतर्फ लाग्नुपर्ने उहाँले बताउनुभयो । समग्र नेपालको विकासको प्रक्रियालाई आत्मसात् गर्नुपर्ने, विकास प्रगति र न्यायोचित वितरणको कामलाई अगाडि बढाउनुपर्ने नेता नेपालको धारणा छ । नेपालले मनलाग्दी तवरले विमानस्थल निर्माण गरिएकामा समेत आपत्ति प्रकट गर्नुभयो । उहाँले लामो अध्ययनपछि अगाडि बढाइएको निजगढ विमानस्थल अगाडि बढाइएको भए पनि त्यसलाई रोकिएको भन्ने विषय आएकामा दुःख व्यक्त गर्नुभयो । “सो विमानस्थलको विकल्प के रिजनल हबका रुपमा अगाडि बढाउन खोजिएको हो, विमानस्थल निर्माण रोकिनुका कारण के हो ” पूर्वप्रधानमन्त्री नेपालले प्रश्न गर्नुभयो । भ्रष्टाचारको जालो तोड्नका लागि सरकारी निकायको तत्परताको जरुरी रहेको उल्लेख गर्दै उहाँले निर्वाचनका नाममा भोजभतेर गर्ने, कसलेभन्दा कसले बढी खर्च गर्ने प्रतिस्पर्धा चलेको बताउनुभयो । अध्यक्ष नेपालले हाम्रै जीवनकालका देश समृद्ध बन्ने, विकास र समृद्धिको चाहनाले साकार रुप पाउने विश्वास व्यक्त गर्नुभयो । सांसद प्रमोद साहले पछिल्ला चार वर्षमा सरकारी पक्षले नीति तथा कार्यक्रमको समर्थन गर्ने र विपक्षीले विरोध गर्ने परिपाटी रहेमा यस वर्षको कार्यक्रमले कृषि, उद्योग, खानेपानी, विद्युत् उत्पादन प्रसारण लगायतका विषयलाई समावेश गरिएकामा प्रसन्नता व्यक्त गर्नुभयो । उहाँले नीति तथा कार्यक्रम राम्रो भए पनि कार्यान्वयनमा चुनौती रहने गरेकाले त्यसलाई मजबुत बनाएर लागिपर्न आग्रह गर्नुभयो । मानव सूचकाङ्कका आधारमा नीति तथा कार्यक्रम ल्याएकामा खुसी व्यक्त गर्दै उहाँले जनसङ्ख्याका आधारमा पनि मूल्याङ्कन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले वर्तमान सरकारलाई आरोप लगाउनुअघि आफ्नै पालामा भएका भ्रष्टाचारका विषयमा पनि स्मरण गर्न नेकपा एमालेलाई आग्रह गर्नुभयो ।
भारत: लागुऔषध मुद्दा खेपिरहेका बलिउड कलाकार शाहरुख खानका छोरा आर्यन खानलाई उनले गलत काम नगरेको जनाउँदै लागू औषध नियन्त्रण विभागले सफाई दिएको छ । गत अक्टोवरमा एक पानी जहाजमा आर्यन र उनका १८ जना साथीलाई लागू औषधसहित विभागले पक्राउ गरेको थियो । यद्यपि आर्यनबाट विभागले लागू औषध बरामद गरेको थिएन । प्रारम्भिक अनुसन्धानपछि दुई जना बाहेक सबै अभियुक्त धरौटीमा छुटेका थिए । सुरुमा विभागको मुम्बई कार्यालयले उक्त मुद्दाको अनुसन्धान गरेको थियोभने पछि विभागको प्रधानकार्यालय नयाँदिल्लीका नायब महानिर्देशक नेतृत्वको विशेष अनुसन्धान टोलीले छानबिन गरेको थियो । यसैबीच, विभागले अन्य आरोपीविरुद्ध शुक्रबार मुद्दा दायर गरेको छ । गत मार्चमा विशेष अदालतले विभागलाई आरोपपत्र दायर गर्न ६० दिनको म्याद दिएको थियो ।
भारत: काङ्ग्रेसले शुक्रबार भारतका शिल्पकार प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूलाई उहाँको ५८ औँ वार्षिक पुण्यतिथिमा श्रद्धाञ्जलि अर्पण गरेर सम्झेको छ । नेता नेहरूका पनाति राहुल गान्धीको उपस्थितिमा भएको स्मृतिसभामा उहाँका दर्शन, विचार र राजनीति राष्ट्रका लागि आज पनि उत्तिकै सान्दर्भिक रहेका अभिमत वक्ताहरूले प्रकट गरेका छन् । प्रथम प्रधानमन्त्रीले नेहरू अगस्ट १९४७ र मे १९६४ को बीचमा कार्यभार सम्हाल्नु भएको थियो । आज कै दिन अर्थात् मे २७ १९६४ मा उहाँको निधन भएको थियो । काङ्ग्रेस अध्यक्ष सोनिया गान्धीले यहाँस्थित शान्ति वनमा नेहरूप्रति पुष्पार्पणसहित श्रद्धाञ्जलि दिनुभयो । काङ्ग्रेसले पण्डित नेहरूलाई साहसी स्वतन्त्रता सेनानी, आधुनिक भारतका शिल्पकार, एक राजनेता, दूरदर्शी, देशभक्त एवं भारतमाताको सच्चा पुत्रका रूपमा प्रशंसा गरेको छ । पार्टीले आफ्ना प्रथम प्रधानमन्त्रीलाई उहाँको पुण्यतिथिमा करोडौं अभिवादन र अर्बौं श्रद्धाञ्जली अर्पण गरेको छ । नेता नेहरूप्रति पार्टीका वरिष्ठ नेताहरूले पनि श्रद्धाञ्जलि अर्पण गरेका थिए ।
टिमोर: पूर्वी टिमोरको तटीय क्षेत्रमा शुक्रबार ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था यूएसजीएसले जनाएको छ । यद्यपी क्षतिको तत्काल विस्तृत विवरण भने आएको छैन । यस भूकम्पले हिन्द महासागर क्षेत्रमा सुनामी उत्पन्न गर्न सक्ने सुनामी सल्लाहकार समूहले जानकारी दिएका छन् । पूर्वी टिमोर र इन्डोनेसियाबीचमा विभाजित टिमोर टापुको पूर्वी सिराबाट ५१.४ किलोमिटर गहिराइमा भूकम्प गएको यूएसजीएसले जनाएको छ । पूर्वी टिमोरको राजधानी डिलीमा एएफपी समाचार समितिका एक पत्रकारले भूकम्पको धक्का महसूस गरेको, तर मानिसहरू सामान्य रूपमा आफ्नो गतिविधिमा गएका बताएका छन् । सन् २००४ मा सुमात्राको तटीय क्षेत्रमा गएको ९.१ म्याग्नीच्युडको भूकम्पले इण्डोनेसियाका एक लाख ७० हजार नागरिकलगायत दुई लाख २० हजार व्यक्तिको मृत्यु भएको थियो । तेह्र लाख जनसङ्ख्या भएको पूर्वी टिमोर दक्षिणपूर्व एशियाको सबैभन्दा कान्छो देश हो । यस देशले हालै मात्र इन्डोनेसियाबाट स्वतन्त्र भएको आफ्नो २० औं वार्षिकोत्सव मनाएको छ । अधिकांश ग्रामीण क्षेत्र रहेको यस देशको अर्थतन्त्र कोभिड–१९ को महामारीले नराम्ररी प्रभावित भएको छ । विश्व बैंकले ४२ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेको बताएको छ । एजेन्सि
कैलाली । कैलालीमा २५ लाख बढी भारतीय रुपैयाँ र सुन बरामद भएको छ। जिल्लाको बर्दगोरिया गाउँपालिका– ४ सुन्दरपुर दुर्गा चलाउनेको घरनजिक खेतमा र घोडाघोडी नगरपालिका–८ का लालबहादुर थापाको घरनजिक खाडलमा लुकाएर राखेको अवस्थामा नगद र सुन बरामद गरिएको हो। भारतको विभिन्न स्थानबाट चोरी भएको २५ लाख ६८ हजार भारतीय रुपैयाँ र सुन फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उक्त विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
रुपन्देही: रुपन्देहीको भलवारीस्थित नेपाल आयल निगमको डिपो अगाडि राखिएका दुई वटा ट्यांकरमा आगलागी भएको छ । शुक्रबार बिहान ११ बजेतिर लु २ ख २६५६ र लु २ ख ५६८७ नम्बरको ट्यांकरमा आगलागी भएको हो । डिपोमा ट्याकंरबाट तेल खन्याएपछि अचानक आगलागी भएको बताइएको छ । अहिले भने सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका र भलवारी आयाल निगमको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ । तस्वीरः झम गुरुङ
सङ्खुवासभा: सङ्खुवासभाको मकालु वरुण राष्ट्रिय निकुञ्जबाट बहुमूल्य जडीबुटी यार्सागुम्बा सङ्कलन सुरु भएको छ । दुई बर्षदेखि रोकिएको यार्सागुम्बा सङ्कलनकार्य जेठ १० गतेदेखिसुरु गरिएको निकुञ्जले जनाएको छ । निकुञ्जका कार्यालयप्रमुख रामदेव चौधरीका अनुसार कोरोना भाइरस सङ्क्रमणका कारण दुई वर्षदेखि निकुञ्जले यार्सागुम्बा सङ्कलनमा रोक लगाएको थियो । उक्त निकुञ्ज क्षेत्रमा दुई प्रजातिका यार्सा पाइन्छ । कार्यालयले सोलुखुम्बुको महाकुलुङ र छेस्काम मध्यवर्ती उपभोक्ता समिति, सङ्खुवासभाको किमाथाङ्का मध्यवर्ती उपभोक्ता समिति, चेपुवा, अरुण वरुण, मकालु, पाथीभरा, सेदुवा, पुखुवा, सिलिचोङ, मांतेवा, ताम्कु, बाला र सिसुवा मध्यवर्ती उपभोक्ता समितिमार्फत पुर्जी दिने व्यवस्था गरेको छ । अनुमति लिएका व्यक्ति वा समूहले जेठ १० गतेदेखि असार १० गतेसम्म यार्सा सङ्कलन गर्न पाउने छन् । यार्सागुम्बा मकालु गाउँपालिका, भोटखोला र सिलिचोङ गाउँपालिका क्षेत्रको मकालु वरुण निकुञ्जलगायत ठाउँमा पाइन्छ । उच्च हिमाली क्षेत्रका बान्सिदाको मुख्य आम्दानीको स्रोत यार्सागुम्बा मानिन्छ । सङ्कलित यार्सागुम्बा बिक्रीमार्फत उनीहरुले वर्षभरिको आवश्यक घर खर्च, बालबच्चा पढाउने गरेका स्थानीयको भनाइ छ । यार्सागुम्बा सङ्कलन गर्न निकुञ्ज कार्यालयले मध्यवर्ती क्षेत्रभित्रका स्थानीयलाई ५००, मध्यवर्ती क्षेत्र बाहिरका तर जिल्लाभित्रकालाई रु दुई हजार र जिल्ला बाहिरकाको लागि रु तीन हजार प्रवेश शुल्क तोकेको छ । निकुञ्जले विगतका वर्षमा यार्साबाट वार्षिक रु ५० लाख बढीको राजस्व सङ्कलन गर्ने गरेको छ । गुणस्तरका आधारमा १ नम्बरको यार्सागुम्बालाई केजीको रु ४० लाखसम्ममा बिक्री हुने गरेको भए पनि सङ्खुवासभामा यार्सागुम्बाप्रति केजी रु साढे पाँच लाखदेखि साढे सात लाखसम्ममा किनबेच हुने गरेको व्यापारीको भनाइ छ । यसरी सङ्कलन गरिएको यार्सा चीनको तिब्बती तथा काठमाडौँमा बढी निकासी हुने गरेको छ । निकुञ्ज सङ्खुवासभा र सोलुखुम्बुको एक हजार ५०० वर्गकिलोमिटरमा फैलिएको छ ।
अर्घाखाँची- सन्धिखर्क–४ वाङला अमलडाँडामा चितुवाको आक्रमणबाट सात वर्षीय बालकको मृत्यु भएको छ । गुल्मीको रेसुङ्गा घर भई सो स्थानमा बस्दै आएका सम्राट नेपालीको विहीबार चितुवाको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिनुभयो । भगवती आधारभूत विद्यालयमा कक्षा २ मा अध्ययनरत ती बालक मामाघर बस्दै आएका थिए । खेल्न गएका बेला उनलाई चितुवाले आक्रमण गरेको थियो । चितुवाले घरभन्दा करिब एक किमी टाढा लगेर बालकलाई मारेको अवस्थामा स्थानीयवासीले फेला पारेपछि प्रहरीलाई खबर गरेको प्रनाउ थापाले बताउनुभयो ।
काठमाडौं: प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले कुनै पनि विषयलाई सम्बोधन गर्न नसकेको आरोप लगाउनुभएको छ । यही जेठ १० गते राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममाथि आजदेखि सुरु भएको छलफलमा भाग लिँदै उहाँले यसले मुलुकको कुनै पनि समस्याको सम्बोधन गर्न नसकेको बताउनुभयो । उहाँले आफ्नो सरकारले अगाडि सारेका नीति तथा कार्यक्रमलाई निरन्तरता दिएको भन्दै प्रसन्नता प्रकट गर्नुभयो । ओलीले आफूले स्थापित गरेको सुखी नेपाली र समृद्ध नेपालको नारा हटाइएकामा भने आपत्ति प्रकट गर्नुभयो । आफूहरु सामाजिक सद्भाव, न्याय, समानताको पक्षमा रहेको भन्दै उहाँले राष्ट्रिय हितमा अगाडि बढ्न आग्रह गर्नुभयो । उहाँले नेपाल र भारतका सरकारका प्रतिनिधि सम्मिलित प्रबुद्ध व्यक्तिको समूह (इपीजी)ले तयार पारेको प्रतिवेदन नेपाल सरकारले बुझ्न र संसद्लाई जानकारी गराउन आग्रह गर्नुभयो । संवादहिनतामा राखेर आफूहरुलाई सरकारले पेलेको, राष्ट्रिय महत्वका विषयमा प्रतिपक्षीसँग संवाद नगरिएकामा समेत ओलीले सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले सरकारको नीति तथा कार्यक्रम स्वादविहीन भएको टिप्पणी गर्नुभयो । ओलीले कार्यक्रममा अधिकांश विषय अमूर्त रहेको, राज्य संयन्त्रप्रति अविश्वास व्यक्त गरिएको आरोप लगाउनुभयो । उहाँले परराष्ट्र नीतिलाई आवेगपूर्ण र सत्तास्वार्थमा सङ्कुचित बनाइएको आक्षेप पनि उहाँले लगाउनुभयो । नेता ओलीले यो नीति तथा कार्यक्रमले अघिल्ला सरकारले अगाडि सारेका सकारात्मक कामलाई समावेश नगरेको र राष्ट्रिय आवश्यकतालाई ख्याल नगरेको बताउनुभयो ।

