एक सय ९७ तोला २८ लाल चाँदीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा राप्ती नगरपालिका–११ स्थायी घर भई गैँडाकोट नगरपालिका–५ बस्ने २४ वर्षीय कुमार विक छन् । कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार उनलाई भरतपुर महानगरपालिका–११ स्थित भोजाड–पदमपुर सडकखण्डबाट पक्राउ गरिएको हो । उनलाई रु दुई लाख २८ हजार १९७ बराबरको बिनाबिलको चाँदीका गरगहनासहित नियन्त्रणमा लिइएको हो । विकको साथबाट प्रदेश०३–००२प ७०६६ नंको पल्सर मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको उहाँले जानकारी दिनुभयो । पक्राउ परेका उनलाई बुधबार आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाएको प्रहरीले जनाएको छ ।
काठमाडौं- कर्तव्य ज्यान मुद्दाका एक फरार प्रतिवादीलाई प्रहरीले आज भक्तपुरको चाँगुनारायणबाट पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले गोरखाको बोर्लाङका डिलबहादुर दराईलाई कर्तव्य गरी मारेको घटनाका फरार प्रतिवादी भक्तपुरको चाँगुनारायण नगरपालिका–८ सुडाल बस्ने ३८ वर्षका कैलास कार्कीलाई पक्राउ गरेको हो । घटना विसं २०६६ मा भएको थियो । उनलाई आवश्यक कारवाहीकाल लागि आजै जिल्ला प्रहरी कार्यालय गोरखा पठाइएको व्यूरोले सूचना जारी गरी जनाएको छ ।
भारत: लागुऔषध मुद्दा खेपिरहेका बलिउड कलाकार शाहरुख खानका छोरा आर्यन खानलाई उनले गलत काम नगरेको जनाउँदै लागू औषध नियन्त्रण विभागले सफाई दिएको छ । गत अक्टोवरमा एक पानी जहाजमा आर्यन र उनका १८ जना साथीलाई लागू औषधसहित विभागले पक्राउ गरेको थियो । यद्यपि आर्यनबाट विभागले लागू औषध बरामद गरेको थिएन । प्रारम्भिक अनुसन्धानपछि दुई जना बाहेक सबै अभियुक्त धरौटीमा छुटेका थिए । सुरुमा विभागको मुम्बई कार्यालयले उक्त मुद्दाको अनुसन्धान गरेको थियोभने पछि विभागको प्रधानकार्यालय नयाँदिल्लीका नायब महानिर्देशक नेतृत्वको विशेष अनुसन्धान टोलीले छानबिन गरेको थियो । यसैबीच, विभागले अन्य आरोपीविरुद्ध शुक्रबार मुद्दा दायर गरेको छ । गत मार्चमा विशेष अदालतले विभागलाई आरोपपत्र दायर गर्न ६० दिनको म्याद दिएको थियो ।
कैलाली । कैलालीमा २५ लाख बढी भारतीय रुपैयाँ र सुन बरामद भएको छ। जिल्लाको बर्दगोरिया गाउँपालिका– ४ सुन्दरपुर दुर्गा चलाउनेको घरनजिक खेतमा र घोडाघोडी नगरपालिका–८ का लालबहादुर थापाको घरनजिक खाडलमा लुकाएर राखेको अवस्थामा नगद र सुन बरामद गरिएको हो। भारतको विभिन्न स्थानबाट चोरी भएको २५ लाख ६८ हजार भारतीय रुपैयाँ र सुन फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उक्त विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
अछाम । एमबीबीएस डाक्टरभन्दै ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । मंगलसेन नगरपालिका–२ मिस्तुरु निवासी २९ वर्षीय चक्रबहादुर विश्वकर्मालाई न्यूरोसर्जन भएको भन्दै ठगी गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको अछाम प्रहरी प्रमुख रविराज थपलियाले जानकारी दिनुभयो । विश्वकर्माले सरकारी, गैरसरकारी निकायमा र प्रहरीमा समेत आफू वीर अस्पताल र शिक्षण अस्पतालमा न्यूरो सर्जन डाक्टर भएको नक्कली परिचयपत्र बनाएर अनुचित फाइदा लिएको सूचनाको आधारमा पक्राउ गरिएको अछाम प्रहरीले जनाएको छ । जिल्ला अस्पतालमा वीर अस्पताल र शिक्षण अस्पतालको डाक्टर भनेपछि उहाँलाई पक्राउ गरिएको अछाम प्रहरी प्रमुख थपलियाले जानकारी दिनुभयो । प्रहरीले विश्कर्माको साथबाट डाक्टर दीपक विसीको नक्कली परिचयपत्र, दीपककै नाममा काटिएका सहयोग रसिद, बैंकका भौचर र हवाइजहाजको बोर्डिङ पास, चक्रबहादुर नामको मतदाता परिचयपत्र फेला परेको छ । डाक्टर दीपक भनेर विभिन्न व्यक्तिसँग अनुचित लाभ लिनका लागि ढाँटेको भनेर प्रहरीमा स्वीकारेको बताइएको छ । पक्राउमा परेका विश्वकर्माको बारेमा थप अनुसन्धान भइरहेको अछाम प्रहरीले जानकारी दिएको छ ।
वीरगञ्ज, पर्सा प्रहरीले १२ बोरको घरेलु बन्दुकसहित २७ वर्षीय युवकलाई नियन्त्रणमा लिई हातहतियार तथा खरखजाना मुद्दा चलाएको छ। पर्साको पर्सागढी नगरपालिका वडा नम्बर १ बस्ने २७ वर्षीय मनोज भन्ने शिवु माझी मुसहरलाई १२ बोरको एकनाले बन्दुकसहित नियन्त्रणमा लिएर हातहतियार तथा खरखजाना मुद्दा चलाएको हो। जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालका अनुसार शनिबार साँझ ७ बजे इलाका प्रहरी कार्यालय एकटाङ्गा र प्रहरी चौकी मनवाको संयुक्त टोलीले तेलिया टोल जाने बाटो भएर १२ बोरको एक नाले घरेलु बन्दुक बोकेर हिँडिरहेको अवस्थामा पक्राउ गरेको थियो। पक्राउ परेका व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याइ मुद्दा प्रक्रिया अगाडि बढाइएको र अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक खनालले बताउनुभयो।
तम्घास, गुल्मीमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा दुई जना शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको सत्यवती गाउँपालिकामा रहेको सत्यवती माध्यमिक विद्यालय हसराको कक्षा नौ मा अध्ययन गर्ने छात्रालाई शिक्षक प्रकाश भट्टराई र नीलकण्ठ बस्यालले यौन दुर्व्यवहार गरेको भन्ने उजुरीको आधारमा शुक्रबार प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको जनाएको छ । नाबालिका छात्रालाई शिक्षक बस्यालले २०७८ भदौदेखि र भट्टराईले माघदेखि यौनजन्य क्रियाकलापमा फकाउने र यौन दुर्व्यवहार गर्ने गरेको उजुरीमा उल्लेख छ । प्रहरीले प्रारम्भिक अनुसन्धानबाट आरोपहरु पुष्टि हुन थालेको भन्दै मुद्दा दर्ता गर्ने तयारी गरेको छ ।
रोल्पा कारागारमा गए राति एक पुरुष कैदी झुन्डिएको अवस्थामा भेटिएका छन् । सुर्खेतको बराहताल गाँउपालिका–१ घोडाआँखेका २७ वर्षीय विजयविक्रम शाह कारगारको शौचालयमा आफ्नै गलबन्दीको पासो लगाई झुन्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयाका सूचना अधिकारी प्रहरी निरीक्षक थमन जिसीले जानकारी दिनुभयो । शौचालयको ढोका बन्द रहेको जानकारी पाएपछि प्रहरीले ढोका फोरेको थियो । जिल्ला कारागारमा हाल महिला कैदी ११ र पुरुष कैदी ९६ रहेको बताइएको छ ।
लमजुङ: बैंकिङ कसुरमा फरार एक महिलालाई लमजुङ प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोर्दी गाउँपालिका ५, पाचोककी ३० वर्षीया हस्तीमाया गुरुङ रहेकी छिन्र । उनलाई काठमाडौंको बालाजुबाट पक्राउ गरेर ल्याइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्स्पेक्टर जगदीश रेग्मीले जानकारी दिए । उनका अनुसार उच्च अदालत, पाटनले २०७८ वैशाख ८ गते र फागुन २३ गतेको फैसलाअनुसार बैंकिङ कसुर मुद्दामा ३ लाख ९४ हजार रुपैयाँ जरिवाना र ३ दिन कैदको सजाय कायम हुने फैसला गरेको थियो । फरार हस्तीमाया काठमाडौंमै लुकेर बसेको भन्ने सूचनाको आधारमा लमजुङबाट खटिएको प्रहरीको विशेष टोलीले स्थानीय प्रहरीको समन्वयमा शनिबार पक्राउ गरेको र मंगलबार जिल्ला अदालतमा पेश गर्दा जरिवाना रकम दाखिला गर्न नसकेको र ३ दिनको कैद फैसलाअनुसार गरी ३ वर्ष ६ महिना २१ दिन कैदमा राख्ने गरी कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

