काठमाण्डौँ ः नेपाल प्रहरीले अदालत परिसरबाट फरार व्यक्तिलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले आइतबार साँझ जिल्ला अदालत काठमाडौँमा म्याद थपका लागि लैजाने क्रममा फरार रहेका सप्तरी कचन गाउँपालिका घर भई हाल काठमाडौँको तिलगङ्गा बस्दै आएका अनिल ठाकुरलाई गए राति पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले लागुऔषध मुद्दामा म्याद थपका लागि अदालतबाट फरार ठाकुरलाई तीन घण्टापछि कोटेश्वरस्थित आकाशे पुल नजिकबाट पक्राउ गरिएको जानकारी दिनुभयो । अदालतबाट फरार भएसँगै काठमाडौँ प्रहरीले ललितपुर र भक्तपुर प्रहरीलाई समेत खबर गरी सूक्ष्म तवरले जाँच गर्ने व्यवस्था गरेको थियो । यस्तै, काठमाडौँको प्रमुख नाकामा सुरक्षा व्यवस्था कडा पारिएको प्रवक्ता मैनालीले बताउनुभयो । जिल्ला प्रहरी परिसरको विशेष प्रहरी एकाइ र प्रहरी प्रभाग कोटेश्वरको टोलीले पक्राउ गरेका ठाकुरलाई प्रहरी वृत्त गौशालामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कास्की: वडा प्रहरी कार्यालय रामबजारको टोलीले पोखरा १४ विपीमार्गस्थित चुलो सेवा प्रालिको काउण्टरबाट नगद चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका २१ निर्मलपोखरी घर भई पोखरा १० औधोगिक क्षेत्र बस्ने २१ वर्षिय अजित विक रहेका छन् । उनलाई आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीले सार्वजनिक गरेको हो । पक्राउ परेका विकको साथबाट नगद ३ लाख ६२ हजार ३ सय ८० रुपैयाँ र १ थान मोबाइल बरामत गरिएको कास्की प्रहरीका निमित्त प्रवक्ता एवम् प्रहरी निरिक्षक ज्ञान बहादुर खड्काले बताए । उनका अनुसार चोरी गर्ने विक २ महिना अघि सम्म उक्त प्रालिमा लेखापाल (एकाउन्टेण्ट) का रुपमा कार्यरत थिए । औधोगिक क्षेत्रबाट सादा पोशाकमा एम्बुसिङ डिउटीमा खटिएको प्रहरी टोलीले आज (आइतबार) विहान साढे २ बजे विकलाई संकास्पद अवस्थामा झोलाको साथमा उक्त टोलीले नियन्त्रणमा लिएको निमिक्त प्रवक्ता खड्काले जानकारी दिए । उनका अनुसार सोही क्रममा सोधपुछ गर्दा स्रोत खुलाउन नसकेपछि थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय गैह्रापाटन पठाएको थियो । अहिले विकमाथी चोरी कसुरमा मुद्धा दर्ता गरि थप अनुसन्धान भइरहेको छ । विकको साथबाट ३ लाख ६२ हजार ३ सय ८० रुपैयाँ बरामत गरेपनि चुलो सेवा प्रालिका संचालक सन्त बहादुर लामिछानेले भने उक्त काउण्टरमा ७ लाख २५ हजार ३ सय ५० र भारु ९ हजार रहेको प्रहरीलाई जानकारी दिएका थिए । सो बारे पनि अनुसन्धान हुने कास्की प्रहरीले जनाएको छ ।
काठमाडौँ: काठमाडौँको टोखा नगरपालिका–१० गोङ्गबुबाट संरक्षित वन्यजन्तु हिउँ चितुवाको छालासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ खानियाबास गाउँपालिका–२ झार्लुङका ४८ वर्षीय खार्पा तामाङ, धादिङ गङ्गाजमुना गाउँपालिका–६ आरुबोटेका ३९ वर्षीय सुकबहादुर घले र सोही गाउँपालिका–६ बस्ने ४१ वर्षीय सूर्यबहादुर घले रहेका छन् । गोंगबु क्षेत्रमा अवैधरुपमा संरक्षित वन्यजन्तुको आखेटोपहार ओसारपसार गरी खरिद बिक्री गर्न लागिएकोे सूचनाको आधारमा खोजतलासका लागि प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । खार्पाले बोकेको झोलाभित्र लुकाई छिपाई बेरेर राखेको अवस्थामा वन्यजन्तुको छाला फेला पारीएको र अनुसन्धानका क्रममा तीनै जना संलग्न रहेको पाइएको छ । उनीहरूलाई आवश्यक करवाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौँमा बुझाइएको व्यूरोले आज एक सूचना जारी गरी जनाएको छ ।
उर्लाबारी, मोरङको पथरीशनिश्चरे १ पानीट्याङ्की लाइनमा बस्ने २९ वर्षीया सुमित्रा राईले आफ्नै दिदी ४० वर्षीया लक्ष्मी राईको घाँटीमा खुकुरी प्रहार गरेकी छन् । उनलाई प्रहरीले पक्राउ गरेको छ भने गम्भीर घाइते हुनुभएकी राईको विराटनगरमा उपचार सुरु भएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतम जानकारी दिनुभयो । बिहीबार राति ९ बजे सुमित्राले दिदी लक्ष्मीलाई घाँटीमा खुकुरी प्रहार गरेकी थिइन् । उनीहरू दुबै जना माइतमै बस्दै आएका थिए ।
रोल्पा: एक बालिकालाई करणी गरेको आरोपमा रोल्पाका एक जनप्रतिनिधि पक्राउ परेका छन । बालिकालाई करणी गरेको आरोपमा त्रिवेणी गाउँपालिका–६ का वडा सदस्य ३५ वर्षीय मोहन केसी पक्राउ परेका हुन् । गत जेठ ३० गते केसीले बालिकालाई जबर्जस्ती करणी गरेको उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । केसीलाई पक्राउ गरी रोल्पा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
काठमाडौं: एक अर्ब बढीको लागूऔषध हेरोइनसहित ६ विदेशी महिला पक्राउ परेकी छिन् । विश्वकै महँगो लागूऔषध मानिने एक अर्ब बढी बराबरकाे खैरो हेरोइनसहित अफ्रिकन महिलाहरू काठमाडौंबाट परेका हुन् । लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी) काठमाडौंले चलाएको ‘अपरेशन ह्वाइट डस्क’मार्फत ५१ किलो हेरोइनसहित ६ जना विदेशी नागरिकलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ । उनीहरुबाट बरामद खैरो हिरोइनको अवैध बजार मूल्य एक अर्ब २ करोड रहेको ब्यूरोका एसपी जीवन श्रेष्ठले बताए । उनका अनुसार दक्षिण अफ्रिकाबाट आएका केही महिलाले पटकपटक लागूऔषध हेरोइनसहित पक्राउ गरेको विगतको अुनभवका कारण क्रिमिनल प्रोफाइलिङ गरेर निरन्तर निगरानी गर्दा उनीहरु पक्राउ गरेका हुन् ।
हेटौडा : बन्धक बनाएर शारीरिक यातना दिइएकी महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका–१ पिप्लेकी २७ वर्षीया महिला रहेकी छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ घर भई हाल राप्ती नगरपालिका बस्ने ४५ वर्षीय पूर्णबहादुर घलानले बन्धन बनाएर शारीरिक यातना दिएकी ती महिलाको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । काठमाडौँबाट चितवन राप्ती नगरपालिका–१ पिप्ले भाउजूको घर आएकी २७ वर्षिया महिला बाटो अलमलमा परेको बेला घलानले भाउजूको घर पु¥याइदिन्छु भनेर उनलाई बन्धक बनाएको प्रहरीले जनाएको छ । लामो समयसम्म आफ्नै घरमा राखी ती महिलालाई घलानले पटकपटक यौन हिंसा गरेका कारण रक्तस्राव भएपछि उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो । घटनाको विषयमा जानकारी पाएपश्चात् मृतक महिलाको भाउजू भीमकुमारी तामाङले प्रहरीलाई खबर गरेको र पीडक हाल प्रहरीको नियन्त्रणमा रहेको कार्यालयका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।
बागलुङ : नाबालिकालाई बलात्कार गरेको आरोपमा बागलुङमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । प्रहरीले बरेङ गाउँपालिका–३ का २४ वर्षीय अनिल श्रीषलाई पक्राउ गरेको हो । प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार यही जेठ २७ गते बालिका दिदीको घर जाँदै गर्दा उनलाई डरधम्की देखाएर बाटोमै बलात्कार गरेका थिए । पीडित पक्षले जेठ ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि श्रीषलाई पक्राउ गरेको हो । आरोपितलाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पाल्पा : बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पाल्पामा एक पुरुष पक्राउ परेका छन् । चौध वर्षीया बालिकालाई करणी गरेको आरोपमा रिब्दीकोट गाउँपालिका– १ ख्याहाका ३९ वर्षीय विष्णुबहादुर विकलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयको टोलीले करणी पश्चात फरार रहेका विकलाई पक्राउ गरेको हो । विकले बालिकालाई यही जेठ २३ गते रिब्दीकोट–२ जङ्गलमा करणी गरेका थिए । पीडित बालिकाकी आमाले प्रहरीमा जाहेरी दिएपछि विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

