काठमाडौं: प्रहरीले त्रिभुवन विमानस्थल काठमाडौंबाट दुबई जान लागेका ४ जनालाई सवा करोड नेपाली रुपैयाँ बराबरका विदेशी मुद्रासहित पक्राउ गरेको छ । बुधबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै हिमालय एयरलाइन्सको जहाजबाट दुबई जान लागेका सन्तोष पन्थी, दिपेश राना, सूर्यमणि भण्डारी र अनिश थापालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट विभिन्न देशका १ लाख ६२ हजार भन्दा बढी विदेशी मुद्रा बरामद भएको छ । बरामद मुद्रा करिब सवा करोड रुपैयाँ बराबर रहेको विमानस्थल प्रहरी स्रोतले जनाएको छ । प्रहरी स्रोतका अनुसार करिब ४१ हजार ४०० अमेरिकी डलर, १ लाख १९ हजार ५०० साउदी रियाल, १३ सय ओमानी रियाल र बहरानी दिनारका ४८८ विदेशी मुद्रा बरामद गरिएको हो । यो मुद्रा सुन तस्करीसँग जोडिएको गिरोह र अवैध तस्करीको मुद्राको साँठगाँठ भएको हुन सक्ने प्रहरीको आशंका छ । पक्राउ परेका ४ नेपालीलाई गिरोहले भरियाको रुपमा प्रयोग गरेको हुनसक्ने प्रहरी स्रोतले जनायो । त्यसकै लागि उनीहरुमार्फत नै गैरकानुनी रुपमा विदेशी मुद्रा ओसारपोसार गराएको प्रहरीको आशंका छ । राजश्व अनुसन्धान विभागले मंगलबार र बुधबार मात्रै दुई दिन लगाएर हङकङबाट भित्रिएको करिब एक क्वीन्टल सुन बरामद गरेको थियो । विमानस्थलको कमजोर सुरक्षा प्रणाली र कर्मचारीहरुको मिलोमतोका कारण सुन, विदेशी मुद्रा तस्करी लगायतका अपराध मौलाउँदै गएको छ । प्रहरीका अनुसार हिमालयन एयरलाईन्सको उडान नम्बर एच ९-५४५ द्वारा काठमाण्डौंबाट दुबई प्रस्थान गर्न लागेका यात्रु जिल्ला रुपन्देही तिलोत्तमा नगरपालिका वडा नं. ९ तुलसिपुरका २४ वर्षिय अनिस थापालाई ब्यागेज चेकिङ एरियामा निजको शरीर खानतलासी एवं साथमा लिई आएको लगेजहरुलाई एक्सरे गर्ने क्रममा निजले लिई आएको खैरो रंगको ‘फेसन इटाली’ लेखिएको लगेज भित्र सेतो प्लाष्टिकले यापिङ गरेको अबस्थामा वरिपरि चाउचाउ राखिएको बीचमा अमेरिकन डलर १०० दरको थान ४१४ ले हुन आउने अमेरिकी डलर ४१ हजार ४ सय, रियल ५०० दरको थान- २१२, २०० दरको थान- ३२, १०० दरको थान- ७१ ले जम्मा साउदी रियल १ लाख १९ हजार ५ सय, ओमान रियाल ५० दरको थान-२६, २० दरको थान-१, १० दरको थान – २, ५ दरको थान – २, १ दरको थान- ७ ले जम्मा ओमानी रियाल १ हजार ३ सय ५७, बहराईनी डिनार २० दरको थान-१४, १० दरको थान – २, ५ दरको थान- १, १् दरको थान- ३ ले जम्मा बहराइनी डिनार ३ सय ८ बराबरको रकम लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको अवस्थामा प्रहरीले फेला पारेको हो । पक्राउ परेको रानालाई सोधपुछ गर्दा बरामद भएका विदेशि मुद्राहरु रानाका दाई तिलोत्तमा ९ का ३८ वर्षिय दिपेश रानाले सम्पर्क गरेका व्यक्तिहरु गुल्मी धुर्कोट ७ का २६ वर्षिय सन्तोष पन्थी, सत्यवती ६ का ३५ वर्षिय सुर्यमणी भण्डारीले दिएको बयान दिएको आधारमा उनीहरुलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान पार्किङ एरियामा अनिसलाई छाड्न आएकाहरुले प्रयोग गरेको बाग्मती प्रदेश -०१-०२७ च ६२६६ नम्बरको गाडी समेत नियन्त्रणमा लिएको छ । प्रहरी समक्ष अनिसले आफुलाई छाड्न आएका पन्थीलगायतले आफूलाई दुबईमा भएको साथीलाई पठाएको चाउचाउ हो भनेर दिएकोबाहेक अन्य थाहा नभएको बयान दिएको प्रहरीको भनाई छ ।
काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा सुन बरामद भएको बताइएको छ । राजश्व अनुसन्धान विभागका अधिकारीहरुका अनुसार सय किलो भन्दा बढी सुन बरामद गरिएको हो । अहिले पनि अपरेसन चलिरहेकाले कति किलो सुन बरामद भयो भन्ने यकिन भइसकेको छैन । तर सय किलोभन्दा बढी रहेको उनीहरु बताउँछन् । स्कुटरको ब्रेक सुमा लुकाएर सुन ल्याएको सूचनाका आधारमा राजश्व अनुसन्धान विभागको टोलीले छापा हानेको हो । केही व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।
पाेखरा: कर्तव्य ज्यान मुद्दामा १४ वर्ष कैद सजाय तोकिएका पुरूष ८ वर्षपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा मुस्ताङको थासाङ गाउँपालिका -२ घर भई काठमाडौंको जोरपाटी बस्दै आएका ४६ वर्षीय सम्राट शेरचन छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई मंगलबार गोकर्णश्वर नगरपालिका-८ अत्तरखेलबाट पक्राउ गरेको हो। कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतले ०७२ भदौ १ गते उनलाई १४ वर्षको जेल सजाय सुनाएको थियो। त्यसयता उनी फरार रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले जानकारी दिए उनीविरूद्ध ०६६ मा राधा पुनले जाहेरी दिएका थिए। त्यतिबेला मुस्ताङ जिल्ला अदालतले शेरचनलाई एक वर्ष चार महिना कैद सुनाएको थियो। त्यसविरूद्ध पुनरावेदन दिएका उनीविरूद्ध बागलुङ अदालतले जन्मकैदको सजाय सुनाएको थियो। पुनरावदेनको आदेशविरुद्ध सर्वोच्चले उनलाई १४ वर्षको कैद सजाय सुनाएको हो। पक्राउ परेका सम्राटलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पठाएको छ।
सुनसरी: तीनयुवतीमाथि साँगठनिक हमला गरेको आरोपमा थप २ जना पक्राउ परेका छन् । सुनसरी प्रहरीका अनुसार पक्राउ पर्नेमा बराहक्षेत्र न.पा. वडा नं. ८ (टोल सैनिकटोल) बस्ने बर्ष १८ की दुर्गा राई र सोही टोलकै २२ वर्षीया बिनिता उराँउ रहेकी छिन् । यसअघि प्रहरीले बराहक्षेत्र न.पा. वडा नं. १० प्रकाशपुर (भुजेलटोल) बस्ने १९ बर्षीया प्रिति लिम्बुलाई सोही दिन पक्राउ गरिसकेको छ । बाँकी दुई युवती फरार सूचिमा छिन् । गत २९ गते बेलुका करिब ५ बजे सुनसरीको बराहक्षेत्र न.पा. वडा नं.९ (टोल राजाबास) स्थित चिहान डाँडाको कोशी किनारमा ५ जनाको समुहले बराहक्षेत्र न.पा. बडा नं. ९ (राजाबास टोल) बस्ने बर्ष १९ की मनिषा राईसहित तीनजनालाई बोलाएको थियो । आफुहरुको बेइजत गरेको भन्ने भन्दै सामुहिक रुपमा कुटपिट गरेका थिए । तीनैजनालाई पालैपालो कुटपिट गरी भिडियोसमेत बनाई सामाजिक सञ्जालमा उक्त भिडियो राखेपछि भाइरल भएको थियो । घटना भएको दुईदिनपछि ३१ गते इलका प्रहरी कार्यालय महेन्द्रनगरमा जाहेरी दर्ता गराएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । कुटपिटमा संलग्न रहेका ५ जना मध्ये ३ जनालाई पक्राउ परिसकेका छन् भने फरार २ जनाको खोजीकार्य तिब्र पारिएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक राजेश दत्तले जानकारी दिए । उनै इन्सपेक्टर दत्तकै कमाण्डमा तीन जनालाई पक्राउ गरिएको हो । हाल अभद्र व्यवहार तथा कुटपिट कुसरमा मुद्धा दर्ता गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पाेखरा: कास्की प्रहरीले पोखराको लेकसाइडबाट एक व्यक्तिलाई २५ किलो २ सय ग्राम गाँजासहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा हित सिन्धुली तिनपाटन गाउँपालिका–५ बस्ने २४ वर्षीय विक्रम मोक्तान रहेका छन् । उनलाई वडा प्रहरी बैदामबाट खटिएको प्रहरी टोलीले हिजो (सोमबार) पक्राउ गरेको हो । पोखरा महानगरपालिका–६ लेकसाईडस्थित सुबिलम्ब होटलको कोठा नम्बर १०५ मा अवैध गाँजाको कारोबार भएको प्रहरीले सूचना पाएको थियो । सोही सूचनाको आधारमा प्रहरी टोली परिचालन गरी पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक बेद जोशीले बताए । उनका अनुसार सो कोठामा लुकाई राखेको अवस्थामा २५ किलो २ ग्राम बरामद गरिएको डिएसपी जोशीले जानकारी दिए । गाँजासहित पक्राउ परेका मोक्तानमाथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सप्तरी: सप्तरीको कञ्चनरुप नगरपालिकामा एक नावालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार जना पक्राउ गरेको छ । जिल्लाको कञ्चनरुप नगरपालिका वडा नम्वर १२ का ४१ वर्षीय कैलाश पोखरेल, २४ वर्षीय सुदिप भुजेल, २२ वर्षीय मनोज विश्वकर्मा र २१ वर्षीय दिपेश सुवेदी पक्राउ परेका हुन् । गत शुक्रवार राति सोही वडास्थित धरमपुर टोलमा १७ वर्षीया नावालिकामाथि सामूहिक बलात्कार भएको र घटनामा संलग्न योजनाकारसहित चार जनालाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय कञ्चपुरका प्रहरी नायव उपरीक्षक दिपक कुमार राईले जानकारी दिनुभयो । प्रहरीका अनुसार कैलाशले नै सुदिप, मनोज र दिपेशलाई बलात्कार गर्न निर्देशन दिई आफ्नै अगाडी बलात्कार गर्न लगाएको वयानको क्रममा खुलेको छ । शुक्रवार मध्यराति आरोपी चारैजना नावालिकाको घरमै पसेर कोही नबस्ने छेउको घरमा लगि कैलाशको निर्देशनमा पालै-पालो सुदिप, मनोज र दिपेशले बलात्कार गरेको जाहेरीका साथै बयानबाट पनि खुल्न आएको प्रहरीले जनाएको छ ।
पोखराः पोखरामा अनुचित लेनदेन (मिटर ब्याज)मार्फत कारोबार बढेपछि सहजीकरणमा जुटेको जिल्ला प्रशासन कार्यालय कास्कीले आंशिक सफलता हात पारेको छ । मिटरब्याजको समस्या सल्टाउन गृह मन्त्रालयबाटै परिपत्र भएयता कास्कीमा हालसम्म १ सय ३ वटा निवेदन परेको छ । जसमध्ये प्रशासनको सहजीकरण सहायता कक्षले ३३ वटामात्रै मुद्धा फछर्याैट गर्न सफल भएको छ । ३३ मुद्धामा पनि पीडक र निवेदक आफै मिल्ने सहमति गरेका छन् । तर उनीहरुबीच कसरी लेनदेन टुंगियो भन्ने विषयमा सहायता कक्ष बेखबर छ । अन्य मुद्धा मिल्ने, मिलाउने प्रक्रियामा छन् भने केही मुद्धा जिल्ला बाहिर पठाइएको छ । यता सहायता कक्ष भने फछर्याैट भएको संख्यालाई ‘अत्यधिक सफल’ भनिरहेको छ । कक्षका नायब सुब्बा रमेशप्रकाश बरालका अनुसार देशैभर मिटरब्याजमा परेको निवेदन र फछर्याैटको तुलना गर्दा कास्की प्रशासन सबैभन्दा बढी सफल भएको दाबी गर्छन् । ‘मिटरब्याजसम्बन्धी १ हजार निवेदन परेको जिल्लामा मुस्किलले ३० वटामात्र किनारा लागेको खबर छ’ नासु बराल भन्छन् ‘कास्कीमा हामीले १ सय हाराहारीका निवेदनमा ३३ वटा टुंग्याइदियौ ।’ बाँकी निवेदनउपर छलफल भइरहेको बताउँदै उनले अब उप्रान्त पीडित र पीडकसँगै थप एकजनामात्र राखेर सम्वाद गर्ने जनाए । त्यस्तै केही निवेदनउपर कुनैपनि हालतमा मिलाउन नसकेपछि उनीहरुलाई अदालत पठाइएको बराल बताउँछन् । पोखरामा भएका यस्ता अनुचित लेनदेनका घटनामा घरजग्गासमेत जोडिएको छ भने केहीको स्थायी ठेगाना कास्कीबाहिर देखिएकाले समस्या समाधान गर्न कठिनाई देखिएको कक्षको अनुभव छ । ‘घरजग्गा राखेर लेनदेन भएको छ तर पीडितले बसाई सराई नगर्दा उनीहरुको निवेदनउपर छलफल गर्न सकिएन’ बरालले भने ‘त्यस्ता उजुरी, निवेदन आयोगकै प्रक्रिया अनुसार सम्बन्धित जिल्ला प्रशासन कार्यालय पठाइएको छ ।’ यस्तैमध्येको एक पीडित हुन् सरस्वती पुर्जा । कास्कीको लेखनाथमा बसोबास गर्दै आएकी पुर्जाको ठेगाना हो म्याग्दी । उनले स्थानीय शुभदेवि देवकोटासँग लेनदेन गरेकी छिन् । पुर्जाले लिएको रिनको ब्याज चर्काे भएको भन्दै कास्की प्रशासनमा निवेदन दिइन् । निवेदनपछि प्रशासनले ३ पटकसम्म छलफल चलायो तर पार लगाउन सकेन । हाल उक्त ्निवेदन म्याग्दी पुगेको छ । अब म्याग्दीमै प्रक्रिया अघि बढ्ने पुर्जा बताउँछिन् । त्यस्तै १ दर्जन बढी लेनदेनका घटनामा स्थायी ठेगाना स्याङ्जा भएका पीडित छन् । कतिपय पीडित स्थायीरुपमै पोखरा बसोबास गर्दै आएपनि उनीहरुले बसाइसराइ नगरेका कारण मुद्धा यहाँ चलिरहेपनि अन्त्यमा सम्बन्धित जिल्ला नै पठाइएको छ । यस्तै मध्ये एक लेनेदेनको घटनामा पीडकले उल्टै अदालतमा मुद्धा दायर गरी थप दुख दिएको पाइएको छ । नाम नबताउने शर्तमा पीडित भन्छिन् ‘१ करोड ७० लाख रिन लिएकी हुँ, अहिले २ करोड ९२ लाख रुपैयाँ तिर्नुपर्ने हिसाब देखाउँछ’ पीडित भन्छिन् ‘अहिले उल्टै मलाई मुद्धा हालिदिएको छ, म पीडित नै पीडक बनाइएको छु ।’ पहिले चिनजानको आधारमा सामान्य कागज गरेर लेनदेन गर्ने र पछि हिसाब बिग्रदै गएपछि मुद्धामामिला गर्दा नागकिरताको आधारमा कारवाही प्रक्रिया अघि बढ्ने भएपछि सहायताकक्षले सोचेजस्तो काम गर्न गाह्रो भएको सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी गुरुदत्त ढकाल बताउँछन् ।
काठमाडौं: नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० हजार अमेरिकी डलरसहित एकजना विदेशी नागरिकलाई पक्राउ गरेको छ । विमानस्थल सुरक्षार्थ खटिएको प्रहरीले नेपाल एअरलाइन्सको उडानमार्फत् काठमाण्डौदेखि दुबई जान लागेका लेबनानका नागरिक ४२ वर्षीय एल यमन महमदलाई पक्राउ गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हाते झोला जाँच क्षेत्रबाट झोलामा लुकाएर लैजान लागेको एक सय दरका एक सय थान अमेरिकी डलर फेला पारेपछि उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। पक्राउ परेका उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक पठाइएको छ ।
धादिङ: धादिङमा एक युवक १० किलो गाँजासहित पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा गजुरी गाउँपालिका–२ का २९ वर्षीय रविन दोङ तामाङ रहेका छन् । उलनाई गजुरी गाउँपालिका–८ चालिसेबाट अवैध लागूऔषध गाँजासहित इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।