काठमाडौं: अनलाइन बेटिङमार्फत सट्टेबाजीसम्बन्धी प्रचार गर्दा केही कलाकारले ४० लाखसम्म लिएको पाइएको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुमाथि गरेको प्रारम्भिक अनुसन्धानका क्रममा ४० लाखसम्म लिएको स्वीकार गरेका छन्। पक्राउ परेका आठजना कलाकार तथा युट्युबरमध्ये कतिले पाँच लाख कमाएको र कतिले ४० लाखसम्म कमाई गरेको बताएका कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डा मनोज केसीले बताउनुभयो। गत बिहीबार अनलाइन बेटिङ प्लेटफर्ममार्फत सट्टेबाजीसम्बन्धी प्रचार गरेको आरोपमा प्रहरीले बल्छी ध्रुवे भनिने कलाकार मरिचमान श्रेष्ठ र टेलिसिरियल खेलिरहेका राजु मास्टर भनिने राजु पौडेलसहित म्याकुरी भन्ने पवन खतिवडा, एलिश राई, ज्वलन घर्तिमगर, गणेश देवकोटा, सरोज घिमिरे र भटभटे माइला भन्ने वेगम नेपालीलाई पक्राउ गरेको थियो। उनीहरुले पैसा लिएको स्वीकार गरेको केसीले बताउनुभयो। उनीहरुले कमिसनबापतको पैसा वान–एक्स बेटमार्फत सिधै दिने गरेको पनि पाइएको छ। केही कलाकारहरुलाई निगरानी गरिरहेको र सिजी वेटका विषमया समेत अनुसन्धान भइरहेको डा केसीले बताउनुभयो। कलाकार एवं युट्युबरले विज्ञापन गरी सट्टेबाजीमा युवापुस्तालाई आकर्षण गर्ने गरेको भन्दै प्रहरीले अप्रेसन चलाएको थियो। त्यसको अघिल्लो दिन अनलाइन बेटिङमार्फत सट्टेबाजीको कारोबार गरेको आरोपमा बुधबार मात्रै उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पाँचजना एजेन्टलाई पक्राउ गरेको थियो। उनीहरुले ७४ करोड कारोबार गरेको फेला परेको थियो। एकजना दिनेश खड्का भन्नेले मात्रै ६४ करोड कारोबार गरेको फेला परेको थियो। उनीहरुको मुद्दामा अहिले प्रहरी परिसरले अनुसन्धान गरिरहेको छ।
काठमाडौं: एक युवक पेस्तोलसहित पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका–३ का ३२ वर्षीय रमेश बाँनिया रहेका छन् । पक्राउ परेका बाँनियाको साथबाट १ थान पेस्तोल र , पेस्तोलमा लाग्ने २ वटा म्याग्जिन र ११ वटा गोली बरामत गरेको हो । बैंकिङ कसूर मुद्दामा फरार रहेका बाँनिया काठमाडौं महानगरपालिका–८ जयबागेश्वरीस्थित जेनिस अटो रिकन्डिसन नजिक रहेको सूचनाको आधारमा प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीलाई देख्नासाथ रमेश बाँनियाले बोकेको झोला सडकमा फाली फरार थिए । त्यसपश्चात उक्त झोलामा पेस्तोल फेला परेको थियो । त्यसपछि उनलाई भक्तपुर नयाँ ठिमीस्थित नयाँ बाटोबाट पक्राउ गरेको थियो ।
पोखरा: नक्कली सुन देखाएर ठगी गरेको आरोपमा पोखरामा दुई युवा प्रकाउ परेका छन् । गएको जेठ ५ गते पोखरा महानगरपालिका १० स्थित अमरसिंहचोकबाट विभिन्न व्यक्तिहरुलाई नक्कली सुन देखाएर सक्कली सुन र नगद चोरी गरेको आरोपमा कास्की प्रहरीले दुई युवालाई आज प्रकाउ गरेको हो । नक्कली सुन देखाएर ठगी गरेर फरार भएका सिन्धुली घर भएका ४४ वर्षीय बिमल तामा र मकवानपुर हेटौडा उपमहानगरपालिका २ बस्ने ४१ वर्षीय सन्तोष मगरलाई पोखरा २६ अघौंचोकमा शंकास्पद अवस्थामा हिडिरहेको अवस्थामा प्रकाउ गरेको हो । प्रकाउ परेका दुई युवाको साथबाट सुन जस्तो देखिने ९९९९ १०० लेखिएको पहेंलो धातु ३ थान, विभिन्न कम्पनीका मोबाईल ३ थान र ५ हजार ४ सय ३५ रुपैयाँसहित प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । प्रकाउ परेका दुवैजनालाई ठगी,अपराधिक विश्वास घात तथा अपराधिक लाभ (एक्सटर्सन)सम्बन्धि मुद्धामा अनुसन्धान भईरहेको कास्की प्रहरीले जनाएको छ ।
दैलेख: दैलेखमा आज बिहीवार दिउँसो ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । आज बिहीवार तल्लो डुङ्गेश्वरबाट दुल्लु जाँदै गरेको प्रदेश १ ०२ ००३ त २८२६ नम्बरको ट्र्याक्टर दुल्लु नगरपालिका–१ डाडापानीमा दुर्घटना हुँदा स्थानीय डिलमाया खड्काको ज्यान गएको हो । दुर्घटनामा तीन जना घाइते भएकामा डिलमायाको उपचारका क्रममा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख किशोर लम्सालले जानकारी दिनुभयो । घाइते दुई जना जानुकुमारी खड्का र भरत शर्माको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ र चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।
काभ्रेपलाञ्चोक: काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ श्यामपाटी सिमलचौरका वडा सदस्य ज्ञानी विकको कुटपिटबाट ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक ९डीएसपी० ढुण्डीराज न्यौपानेका अनुसार श्रीमानको कुटाइबाट गम्भीर घाइते हुनुभएकी उहाँको धुलिखेल अस्पतालमा उपचारका क्रममा आज बिहीवार बिहान ज्यान गएको हो । श्रीमान् शम्भु विकले जेठ २९ गते राति १० बजे जाँड–रक्सी खाएर कुटपिट गरेका थिए । विकको शव परीक्षणका लागि धुलिखेल अस्पतालमा राखिएको छ । कुटपिट गर्ने उहाँका श्रीमान् शम्भु विकलाई पक्राउ गरेर घटनाबारे थप अुनसन्धान भइरहेको डीएसपी न्यौपानेले जानकारी दिनुभयो ।
काठमाडौं: अनलाइन बेटिङ एप ‘वान एक्स बेट’मा सट्टेबाजी गर्ने र त्यसको विज्ञापन गरेको आरोपमा कलाकारसहित ८ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुको सूचिमा ‘बल्छी ध्रुबे’ नामले पचिरित कलाकार मरिचमान श्रेष्ठसमेत रहेको प्रहरी सुत्रले जनाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार वानएक्स बेटमा सट्टेबाजी खेलाउने र यसको विज्ञापन गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । अनलाइन बेटिङ एप ‘वान एक्स बेट’ लाई नेपालको कानून अनुसार अवैध धन्दा मानिन्छ । पक्राउ परेका कलाकारहरूले युट्युबमार्फत् वानएक्स बेटको विज्ञापन गरेको आरोप छ । युट्युबमा प्रोमो कोड प्रयोग गरी वानएक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै विज्ञापन गरेको देखिन्छ । यसरी कलाकार एवं युट्युबरहरूले विज्ञापन गरेर बेटिङमा युवापुस्तालाई आकर्षण गर्ने गरेको भन्दै कार्यालयले अपरेसन चलाएको हो । त्यसरी अपरेसन चलाएर बुधबारमात्रै बेटिङका पाँच जना एजेन्टलाई पक्राउ गरी सार्वजनिक गरेको थियो । पाँच जनाले मात्रै ७४ करोडको कारोबार गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको थियो ।
तनहुँ: भानु नगरपालिका–५ मैबलका २१ वर्षीय मनोज विष्टले आफ्नै श्रीमतीको हत्या गरेको स्वीकारेका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँले विष्टलाई सार्वजनिक गर्दै प्रारम्भिक बयानका क्रममा घाँटी थिचर हत्या गरेको स्वीकारेको एसपी अबदेश विष्टले बताए । उनका अनुसार मनोजले आफ्नो श्रीमती (व्यास नगरपालिका–१२ लामिडाँडाकी २२ वर्षीया रंगिला) को अर्कै प्रेमी रहेको थाहा पाएपछि गत शुक्रबार मध्याह्नमा डेरामा रंगिलालाई मुक्काले हिर्काएका थिए । त्यसपछि भने उनले घाँटी थिचेर हत्या गरेका थिए । मनोज र रंगिलाले गत बैशाख १ गते ७ महिनाको प्रेम सम्बन्धपछि विवाह गरेका थिए । मनोजले श्रीमतीको हत्यापछि व्यास–४ चिहानडाँडा नजिकैको ह्युम पाइपभित्र बोरामा हालेर फ्याँकेका थिए । अनुसन्धानको क्रममा शवको पहिचान भएपछि सोही आधारमा अनुसन्धान अघि बढाएर श्रीमान मनोजलाई पक्राउ गरेको तनहुँ प्रहरीले जनाएको छ ।
पोखरा: वन रक्षकको परीक्षामा सहभागी भएका जुम्लाका दुई नक्कली परीक्षार्थीलाई कास्की प्रहरीले प्रकाउ गरेको छ । पोखरा महानगरपालिका १५ फुलवारी स्थित गण्डकी प्रदेश तालिम केन्द्रमा सञ्चालन भईरहेको वन रक्षकको परीक्षामा सहभागी भएका जुम्लाका २ जना नक्कली परीक्षार्थीलाई जिल्ला प्रहरी कार्यालय कास्कीले प्रकाउ गरेको हो । लोक सेवा आयोगको विज्ञापन नं.१४५–१५३/०७९/०८० (खुल्ला तथा समावेशी) प्रदेश वन, सेवा जनरल फरेष्ट्रि समूह, सहायक तेस्रो तह वन रक्षक पदको शारीरिक तन्दुरस्ती (शारीरिक परीक्षण,दौड, रुख चड्ने र पौडी ) परीक्षामा सहभागी भएका परीक्षार्थीहरुको कागजात चेकजाँच गर्ने क्रममा जुम्लाका २ नक्कली परीक्षार्थी प्रकाउ परेका हुन् । प्रकाउ पर्नेमा जुम्लाको चन्दनाथ नगरपालिका ९ घर भएका १८ वर्षीय बालक र जुम्लाको सिन्जा गाउँपालिका ३ घर भएका २५ वर्षीय पदम बुढालाई वन रक्षकको परीक्षामा अर्काको नाममा रहेको नागरिकतामा आफ्नो फोटो टाँस गरेर सहभागी भएको आरोपमा प्रहरीले प्रकाउ गरेको हो । प्रकाउ परेका दुवैजनालाई जिल्ला अदालत कास्कीबाट शिक्षा ऐन सम्बन्धि मुद्धामा ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
दमौली: तनहुँको दमौली बजार नजिक रहेको चिहानडाँडामा एक व्यक्तिको बोराभित्र शव फेला परेको छ । व्यास नगरपालिका–४ स्थित चिहानडाँडा नजिकको नालामा बोराभित्र शव आज फेला परेको हो । प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए । ‘अहिले शवको पहिचान भइसकेको छैन । टोलीले घटनाको अनुसन्धान थालिसकेको छ,’ नायब उपरिक्षक खाँणले भने ।