काठमाडौं: हङकङबाट क्याथे प्यासिफिकको जहाजमा भित्र्याएर भन्सार पार गराइसकेको करिब १ क्विन्टल सुन सिनामंगल सडकबाट बरामद हुनुअघि नै तस्करले त्योभन्दा ठूलो परिमाणमा सुन फुत्काएको देखिएको छ । भारत, चीन, हङकङ र नेपालमा सक्रिय संगठित गिरोहले स्कुटरमा प्रयोग हुने ‘ब्रेक सु’ भित्र लुकाएर ल्याएको सुन भन्सारका कर्मचारी, भन्सार एजेन्ट र बिचौलियालाई हातमा लिएर उम्काएको अनुसन्धानमा पाइएको हो । राजस्व अनुसन्धान विभागले ठमेलको एक घरमा छापा मार्दा फेला पारेको सुन निकालिएका र कार्टुनभित्र प्याक गरिएका ब्रेक सु हङकङबाट रेडी ट्रेडका नाममा असार २९ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएको ८ कार्टुन सामान राजस्व अनुसन्धान विभाग र सशस्त्र प्रहरीको संयुक्त टोलीले साउन २ मा सिनामंगल सडकबाट बरामद गरेको थियो । त्यस क्रममा भन्सार एजेन्ट र ट्याक्सी चालक पक्राउ परेका थिए । बरामद सामान खोलेर हेर्दा करिब १ क्विन्टल सुन भेटिएपछि थप अनुसन्धान गर्ने क्रममा विभागको टोलीले गिरोहको सेल्टर रहेका कमलपोखरी, बालुवाटार, लाजिम्पाटर पानीपोखरी र ठमेलमा बुधबार छापा मारेको थियो । ठमेलको एक घरमा ६६ कार्टुन ब्रेक सु भेटिएकामा धेरैजसो खोक्रा मात्रै पाइएको छ । ब्रेक सुसँगै सुन जोख्ने ढक–तराजु पनि भेटिएको छ । चिनियाँ गिरोहले सेल्टर लिएको लाजिम्पाटस्थित एक घरबाट दाह्री काट्ने उपकरण (सेभर) बरामद गरिएको छ । ती सबै ब्रेक सु रेडी ट्रेडकै नाममा भित्रिएका थिए । सामान रेडी ट्रेडले आफ्नै कार्यालय वा तोकिएको गोदाममा लैजानुपर्नेमा चिनियाँ र भारतीय गिरोहले सेल्टर लिएको ठाउँमा पुर्याउनुले तस्करीको सुन व्यवस्थापनकै लागि उक्त फर्म खोलिएको देखिने अनुसन्धान अधिकारीहरूको भनाइ छ । छापा मार्ने क्रममा चिनियाँ नागरिक बसेको बालुवाटारको कोठाबाट सुन गाल्ने उपकरण पनि बरामद भएको अनुसन्धानमा संलग्न एक अधिकारीले बताए । ‘विमानस्थल भन्सारबाट जाँचपास भइसकेपछि बरामद सुनभन्दा यो परिमाण धेरै हुन सक्ने देखिन्छ,’ उनले भने । विभागले विमानस्थल भन्सारका अधिकृतसहित ३ कर्मचारी, चिनियाँ र भारतीय गरी २ विदेशी, थप तीन भन्सार एजेन्ट, रेडी ट्रेडका सञ्चालक र उनका आफन्तलगायत पक्राउ गरिसकेको छ । उनीहरूले दिएको बयान र संकलित तथ्यरप्रमाणले क्विन्टल सुन बरामद हुनुअघि नै गिरोहले त्योभन्दा बढी परिमाणमा सुन भन्सारबाट बाहिर लगेको खुलेको हो । पछिल्लो पटक बुधबार चिनियाँ तस्करका सहयोगी भनिएका नुवाकोट घर भई टोखा बस्ने नरेश तामाङलाई सशस्त्रको विशेष टोलीले पक्राउ गरी विभागलाई जिम्मा लगाएको छ । तामाङले चिनियाँका लागि लाजिम्पाट र बालुवाटारका दुई वटा घर खोजिदिएको स्वीकार गरेका छन् । चिनियाँ भाषाका जानकार उनी यसअघि चिनियाँका लागि दोभासेका रूपमा पनि काम गरेका थिए । त्यहींबाट गिरोहसँग उनको साइनो जोडिएको देखिएको छ । रेडी ट्रेडका नाममा मे, जुन र जुलाईमा दाह्री काट्ने उपकरण (सेभर) २ हजार ७ सय थान, ब्रेक सु १ हजार १ सय ८० थान र मेकानिकल मोटर एक थान भित्रिएको विमानस्थल भन्सारको अभिलेखमा देखिन्छ । ती सामान करिब २० क्विन्टलका थिए । भन्सारबाट जाँचपास गरिएका मध्ये सेभर चीनको दोङगोन सुतु ट्रान्सपोर्टेसन कम्पनीले निर्यात गरेको थियो । हङकङबाट कहिले के भित्रिएका थिए ? विमानस्थल भन्सारको अभिलेखअनुसार रेडी ट्रेडका नाममा मे १७ मा ६६ केजी, मे २१ मा ६६ केजी, मे २४ मा ६६ केजी, मे २६ मा ५२ केजी सेभर आएको थियो । त्यस्तै, जुन ६ मा १ सय ३२ केजी, जुन ७ मा ६६ केजी, जुन १२ मा ६६ केजी, जुन १६ मा १ सय २ केजी, जुन १९ मा ६६ केजी, जुन २२ मा ९९ केजी, जुलाई ९ मा ३३ केजी, जुलाई १८ मा ३२ केजी सेभर ल्याइएको थियो । ती सामान चीनको दोङगोन सुतु ट्रान्सपोर्टेसन कम्पनीले निर्यात गरेको हो । मे ३१ मा ल्याइएको ६६ केजीको मेकानिकल मोटरको निर्यातकर्ता ताइवानको तालमड कम्पनी रहेको अभिलेख छ । यस्तै, रेडीकै नाममा मे २४ मा ३४ केजी, मे २८ मा ३८ केजी, मे ३१ मा ३८ केजी ब्रेक सु आएको थियो । जुन ६ मा ५७ केजी, जुन ७ मा ३९ केजी, जुन १२ मा ३८ केजी, जुन १४ मा ७८ केजी, जुन १८ मा ३८ केजी, जुन २३ मा ५८ केजी, जुन २६ मा १९ केजी, जुन २८ मा ७६ केजी ब्रेक सु भित्र्याइएको थियो । यस्तै, जुलाई ३ मा १ सय १४ केजी, जुलाई ६ मा ७६ केजी, जुलाई ९ मा १ सय १४ केजी, जुलाई १२ मा १ सय १६ केजी, जुलाई १८ मा १ सय ५२ केजी र जुलाई २४ मा ३४ केजी ब्रेक सु ल्याइएको थियो । ब्रेक सु चीनकै जियाङनेन फेङटोङ ट्रान्सपोर्टेसन कम्पनीबाट पठाइएको थियो । सामान पठाउने कम्पनीको आधिकारिकताबारे अनुसन्धान भइरहेको राजस्व अनुसन्धान विभागका एक अधिकारीले जानकारी दिए ।
जनकपुरधाम: सप्तरीमा एक युवकको हत्या भएको छ । अर्का एक युवक घाइते छन् । तिलाठी कोइलाडी गाउँपालिका ७ मनसापुर गाउँ नजिक हनुमाननगर कंकालिनी नगरपालिका १० इनर्वाका २१ वर्षीय तिर्कनारायण मण्डलको शव हिलोमा फेला परेको र अजय मण्डल नामका अर्का युवक घाइते अवस्थामा फेला परेको सप्तरीका प्रहरी प्रवक्ता नरेशकुमार सिंहले जानकारी दिए । ‘घटनास्थलको प्रकृति हेर्दा युवकको हत्या नै भएको देखिन्छ । अर्का युवक घाइते छन् । घटना कति बेलाको हो त्यो खुल्न सकेको छैन,’ प्रवक्ता सिंहले भने । उनका अनुसार स्थानीयले आज बिहान ६ बजेतिर शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । घटनाबारे अनुसन्धान गरिरहेको उनले बताए ।
काठमाडौं: काठमाडौंमा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नागार्जुन नगरपालिका–२, पाँचधारा घर भई सोही नगरपालिका–६, फस्कु बस्ने ५१ वर्षीय मनोज महर्जन रहेका छन् । महर्जनले ती बालिकालाई सोही नगरपालिका–४, सीतापाइलास्थित पार्किङमा राखेको हाल नम्बर नखुलेको बसभित्र लगेर बलात्कार गरेको आरोप छ । बलात्कार गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको हो ।
बागलुङ: जिल्ला प्रहरी कार्यालय बागलुङले प्रहरी वरिष्ठ नायब निरीक्षक उज्ज्वल पौडेलको हत्या भएको प्रारम्भिक निष्कर्ष निकालेको छ । आज (बुधबार) प्रेस विज्ञप्ती जारी गर्दै प्रारम्भिक अनुसन्धानबाट पौडेलको हत्या भएको पुष्टि गर्दै हत्या आरोपमा दुई जनालाई नियन्त्रणमा लिएको जनाएको हो । जारी विज्ञप्तीमा भनिएको छ, ‘इलाका प्रहरी कार्यालय भिमगिठ्ठे बागलुङमा कार्यालय प्रमुखको रुपमा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक उज्जल पौडेल मिति २०८० साउन ८ गते ८ बजेको समयमा जिल्ला बागलुङ बडिगाड गाउँपालिका ६ खालबजार स्थित आशा होटल एण्ड खाजा घरमा गएकोमा सोही होटलका सञ्चालिका आशा कुँवर र निजतको छोरा विनोद कुँवरसँग विवाद हुँदा उज्जल पौडेलको टाउकोमा मुक्काले मरणासन्न हुने गरी कुटपिट गरी छातीमा लात्तिले प्रहरी गरी बेहोस भई भुँईमा ढलेपछि पर्दाको कपडाले घाँटीमा कसी साढे ११ बजेको समयमा हत्या गरेको र मृतकले घाँटीमा लगाएको सुनको सिक्रीसमेत निकाली किचन र्याकमा लुकाई राखेको अवस्थामा फेला परेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको हुँदा घटनामा संलग्न निम्न दुई जनालाई नियन्त्रणमा लिई ज्यान सम्बन्धि कसुरमा थप अनुसन्धान कार्य गरिरहेको छ ।’ पौडेलको हत्या आरोपमा आशा होटलका सञ्चालिका ५१ वर्षीया आशा कुँवर र आशाकी छोरा २० वर्षीय बिनोद कुँवर पक्राउ हिजो (मंगलबार) नै पक्राउ परेका थिए । प्रहरी प्रधान कार्यालयको निर्देशनमा मृतक पौडेलको पोष्टमार्टम भने गण्डकी अस्पताल पोखरामा गरिने बताइएको छ ।
काठमाडौं: युवतीलाई जबरजस्ती करणी गरी फरार रहेका एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुर्खेतको विरेन्द्रनगर नगरपालिका ७ बस्ने २२ वर्षीय मोहन भण्डारी रहेका छन् । प्रहरीलाई प्राप्त सूचना अनुसार फरार भण्डारीलाई जिल्ला प्रहरी परिसर काठमाण्डौंबाट खटिएको विशेष प्रहरी टोलीले नयाँ बानेश्वरबाट आज पक्राउ गरेको हो । उनी विरुद्ध (परतिवर्तित नाम) गोयलीले जाहेरी दिएकी थिइन् । त्यसपछि सुर्खेत जिल्ला अदालतबाट पक्राउ अनुमति लिइ खोजी गरेको थियो । अहिले घटनासम्बन्धि थप अनुसन्धानका लागि प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
बारा: आफ्नै २३ वर्षीया श्रीमती यास्मिन खातुनको हत्या गरेको एक युवक पक्राउ परेका छन् । बारा प्रहरीका अनुसार पक्राउ पर्नेमा भारतको विहार प्रान्त पुर्वी चम्पारण ग्राम पञ्चायत पकडी–१४ थाना ढाका रुपौलिया बस्ने २६ वर्षीय मोहमद अमानुल्लाह रहेका छन् । उनलाई इलाका प्रहरी कार्यालय सिमरौनगढबाट खटिएको प्रहरी टोलीले बुधबार पक्राउ गरेको हो । पक्राउ परेका मोहमदले सिम्रौनगढ नगरपालिका–६ बयलहट्टी बजारस्थित माइती घरमा बस्दै आएकी यास्मिनलाई माइती घरमै आएर धारिलो हतियार प्रहार गरेका थिए । त्यसपछि स्थानीले ति मोहमदलाई कुटपिट गरेर घाइते भएका थिए । सो घटनाबारे प्रहरीलाई खबर पुगेपछि मोहमदलाई नियन्त्रणमा लिएर जिल्ला अस्पताल कलैयामा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पर्सा: पर्सामा सर्ट गनमा प्रयोग हुने १९ राउन्ड गोलीसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बिहारस्थित पश्चिम चम्पारण, लगुन्नाहका २२ वर्षीय मुरारी कुमार छन् । आइतबार राति वीरगन्ज महानगरपालिका–८, भानुचोकबाट उनलाई नियन्त्रणमा लिइएको हाे । प्रहरीले जाँच गर्न खोज्दा आफूले बोकेको झोला फालेर उनी फरार भएका थिए । झोला तलासी गर्दा उक्त गोली फेलापरेको प्रहरीले जनाएको छ । तत्कालै जिल्ला प्रहरी कार्यालय पर्सा, वडा प्रहरी कार्यालय बिर्ता र वडा प्रहरी कार्यालय श्रीपुरबाट उनको खोजीमा संयुक्त टोली खटिएको थियो । वीरगन्ज महानगरपालिकास्थित प्रभु अस्पतालनजिकै भाग्दै गरेको अवस्थामा फेला पारी टोलीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
सुनसरी: सुनसरीको बराहक्षेत्र नगरपालिका– १० स्थित सप्तकोशी नदी किनारमा गत २९ गते शुक्रबार युवतीहरूबीच भएको ‘ग्याङ फाइट’को भिडियो भाइरल बन्यो । त्यसपछि कुटपिटमा संलग्न पाँचै जनालाई सुनसरी प्रहरीले अहिले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । यसैबीच ग्याङ फाइट गर्ने उनीहरु छिमेकी रहेको र पिकनिकको बेला मादक पदार्थ (निगार) सेवन गरेकोसमेत अनुसन्धानमा खुलेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक एसपी प्रभु ढकालका अनुसार सोही समयमा ब्याइफ्रेण्डको विषयलाई लिएर एक समूहले अर्काे समूहलाई कुटेको प्रहरीको अनुसन्धान बाट खुलेको हो । ‘८ जना नै छिमेकी रहेछन्, मिलेर पिकनिक खान आएको देखियो,’ एसपी ढकालले भने, ‘पिकनिक खाइसकेपछि झगडा हुँदा ५ जनाले ३ जनालाई कुटेका रहेछन् ।’ त्यसपछि सुनसरी प्रहरीले पाँचै जनालाई पक्राउ गरिसकेको छ । पक्राउ पर्नेहरुमा सुनसरीको बराहक्षेत्र नगरपालिका– १० भुजेल टोलकी १९ वर्षिया प्रीति लिम्बू, बराहक्षेत्र– ८ सैनिक टोलकी १८ वर्षीया दुर्गा राई, २२ वर्षिया विनिता उराव, बराहक्षेत्र– ९ की १९ वर्षीया सञ्जिता राई र निहाङ राई छन् । ति पाँच जनाको कुटाइ खाएका अर्काे समुहको तीन जनाले घटना गुपचुप राखेको एसपी ढकालले बताए । ‘ग्याङ फाइटपछि सबै मिलेर घर गएको प्रारम्भिक अनुसन्धानले देखाएको छ,’ ढकालले भने, ‘एक स्थानीयले भिडियो खिचेर सामाजिक सञ्जाल फेसबुकमा हालेपछि परिवारका सदस्यले थाहा पाएर जाहेरी परेको हो ।’ पक्राउ परेका उनीहरूलाई अभद्र व्यवहारमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
पोखरा: कास्की प्रहरीले एक जनालाई महिलालाई कुटपिट गरेको आरापमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ बेनीघाट रोराङ गाउँपालिका १० डुंगेका २५ वर्षीय दिपेन गुरुङ भनिने सन्त बहादुर मगर रहेका छन् । उनले गत जेठ ५ गते राती करिब १० बजे पोखरा महानगरपालिका १८ गुफाडाँडा स्थित झाँडीमा एक महिलालाई गम्भीर घाइते हुनेगरी कुटपिट गरी फरार थिए । फरार रहेका सन्तबहादुरलाई नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्कीको सहकार्यमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले आफ्नै घरबाट आइतबार पक्राउ गरेको हो । कास्की प्रहरीका प्रवक्ता तथा डिएसपी श्रवण कुमार बिकका अनुसार सन्तबहादुरले महिलाको ४ हजार मोवाइल लुटेर फलामको हथौडा तथा धारिलो हतियार चक्कुसमेत प्रहार गरेका थिए । त्यसपछि ति महिलालाई झाँडीमा फालेर फरार थिए । पक्राउ परेका सन्तबहादुरलाई कास्की जिल्ला अदालतबाट कुटपिट वा अंगभंग सम्बन्धी कसुर मुद्दामा ७ दिन म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।

