काठमाडौँ– वैदेशिक रोजगारीमा आकर्षक तलब पाउने लोभ देखाएर विभिन्न व्यक्तिबाट लाखौँ ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका घर भई हाल ललितपुरको ठेचो बस्ने ३३ वर्षका विकास तामाङ र सोही ठाउँका हरिबहादुर तामाङ रहेका छन् । मोरङको रतुवामाई नगरपालिका घर भई हाल काठमाडौँ बस्ने विक्रम मिश्रसमेत पाँच जनालाई भिजिट भिसामा युनाइटेड अरब इमिरेट्स पठाइदिने लोभ देखाएर उनीहरूले नौ लाख ५० हजार ठगी गरेको पाइएको छ । उनीहरूले प्रतिव्यक्ति एक लाख ९० हजार उठाएको प्रहरीले जनाएको छ । त्यसपछि उनीहरू फरार थिए । पक्राउ गरी उपस्थित गराइदिन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि खोजतलास गरी उनीहरूलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनीहरूमध्ये विकासलाई बिहीबार काठमाडौँको चुच्चेपाटीबाट र हरिबहादुरलाई आज ललितपुरको जावलाखेलबाट पक्राउ गरिएको कार्यालयले जनाएको छ । थप अनुसन्धान गर्न उनीहरूलाई वैदेशिक रोजगार विभाग पठाइएको छ ।
वीरगञ्ज: विद्युत सर्ट भएर वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ बहुअरीमा रहेको वीरगञ्ज हेल्थकेयर हस्पिटलमा शुक्रबार राति ९ बजे आगलागी हुँदा करोडौंको क्षति भएको छ । शुक्रबार राति ९ बजे हावाहुरीसँगै पानी परिरहेको बेला चट्याङ परिरहेको अवस्थामा चट्याङका कारण अस्पतालको डायलोसिस शाखामा विद्युत सर्ट भएर आगलागी भएको अस्पतालका सञ्चालक डा. अबुल हैयश अन्सारीले जानकारी दिनुभयो । उहाँका अनुसार आगलागीबाट डायलोसिस शाखामा रहेका डायलोसिस मेसिन छ वटा, भेन्टिलेटर दुई वटा, कार्डियेक मोनिटर छ वटा र छ बेड वटा जलेर नष्ट भएको र आगलागीबाट करिब दुई करोड रुपैयाँ बराबरको क्षति भएको छ । अस्पतालको तेश्रो तलामा रहेको डायलोसिस शाखामा विद्युत सर्ट भएर भएको आगलागीलाई वीरगञ्ज महानगरपालिकाको बारुणयन्त्रको मद्दतले सशस्त्र प्रहरी, नेपाल प्रहरी र अग्नि नियन्त्रकको टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले बताउनुभयो । उहाँका अनुसार आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन ।
पोखरा: नेपाली कांग्रेस कास्कीको पार्टी कार्यालय तोडफोडको क्रममा पक्राउ परेका २३ जना कांग्रेसका कार्यकर्ता रिहा भएका छन् । जिल्ला प्रहरी कार्यालयबाट शुक्रबार पौने ५ बजे रिहा भएकौ नेपाल तरुण दल वडा २४ का सचिव रमेश तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार गठबन्धनको विरुद्धमा रहेका पोखरा २४ का कार्यकर्ताहरु हिजो बिहिबार पार्टी कार्यालयमा विरोध जनाउँदै तोडफोड गरेका थिए । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो । नेपाली कांग्रेसका उक्त कार्यकर्ताहरु पार्टीकै जिल्ला सभापतीसँग रुष्ट बनेका थिए । पाँच दलीय गठबन्धनको तर्फबाट घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रममै आफ्नै पार्टीका नेता विरुद्ध नाराबाजी गरेका थिए ।
काठमाडौं- पाँच दलीय सत्ता गठबन्धनभन्दा बाहिर अन्य दलहरूसँग भएको चुनावी तालमेल खारेज हुने भएको छ । सत्तागठबन्धन दलका शीर्षनेताको आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले गठबन्धन बाहिरको चुनावी तालमेल खारेज नगरे सम्बन्धित दलले तत्काल कारबाही गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले गठबन्धनबीच भएको सहमतिविपरीत विभिन्न दलका प्रतिनिधिले स्वतन्त्ररूपमा दर्ता गरेका उम्मेदवारीलाई तत्काल फिर्ता गर्न पहल गर्ने निर्णय गरेको छ । यसैगरी गठबन्धनबीच यसअघि केन्द्रबाट भएको सहमतिअनुसार छ महानगरपालिका र ११ उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख पदमा भएको सहमतिविपरीत गठबन्धन दलबाट दर्ता भएका उम्मेदवारी तत्काल फिर्ता लिने बैठकको निर्णय छ । बैठकपछि कांग्रेस सभापति देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरी निर्णय सार्वजनिक गर्नुभएको छ ।
काठमाडौं: काठमाडौँ उपत्यकामा ट्राफिक जरिवना क्युआर कोर्डमार्फत तिर्न सकिने भएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियम उलङ्घन गर्ने चालकको सहजताका लागि ‘क्युआर स्क्यान पे फाइन एण्ड विथड डकुमेन्ट’ सुविधाको थालनी गरेको हो । कुमारी बैंक लिमिटेडको सहकार्यमा बिहीबारदेखि सुरु गरिएको उक्त सेवाको कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशी र बैंकका डिजिटल प्रमुख अनिश ताम्राकारले संयुक्तरुपमा शुभारम्भ गर्नुभयो । उक्त सेवा प्रारम्भ भएसँगै जरिवाना रकम तिर्न बैंक खोज्न भौतारिनुपर्ने वा नगद पैसा बोकेर बैंकमा घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यताको अन्त्य हुने कार्यालय प्रमुख जोशीले बताउनुभयो । उहाँले ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थापनमा नयाँनयाँ प्रविधिको उच्चतम प्रयोगलाई बढाउँदै लगेकाले आम सडक प्रयोगकर्तालाई थप सहज, सरल, छिटो र भरपर्दो भएको उल्लेख गर्नुभयो । कुमारी बैंकका डिजिटल बैंकिङ प्रमुख ताम्राकारले उक्त व्यवस्थाबाट नागरिकलाई थप सुविधा भएको र आगामी दिनमा अझ सुलभ तथा उत्कृष्ट सेवाका लागि ट्राफिक प्रहरीसँग सहकार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
तनहुँः आसन्न स्थानीय तह निर्वाचनका लागि तनहुँमा मतपत्र आइपुगेको छ । नेपाली सेनाको सुरक्षामा तनहुँमा बिहीबार मतपत्र ल्याइएको हो । तनहुँमा ५३८ पेटी मतपत्र आइपुगेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार जिल्लाका लागि दुई लाख ६९ हजार थान मतपत्र आइपुगेको हो । ‘निर्वाचनलाई आवश्यक ६१ प्रकारका सामग्री आइपुगेको छ’, ढकालले भने, ‘निर्वाचनलाई चाहिने रबरम्याट, स्ट्यामप्याड, स्वस्तिक छाप, लाहाछाप, मार्कर पेन, स्यानिटाइजर, कैची, कर्मचारी परिचयपत्र, स्वयंसेवक परिचयपत्र लगायत सामग्री कार्यालय आइपुगिसकेको छ ।’ तनहुँमा कुल १३६ मतदानस्थल र २९७ मतदान केन्द्र निर्धारण गरिएको छ । ढकालका अनुुसार निर्वाचनका लागि २९७ मतदान अधिकृत, २९७ सहायक मतदान अधिकृत, ५९४ सहायक, २९७ सहयोगी परिचालन हुनेछ । यसका साथै मतदान केन्द्रमा ८९१ कर्मचारी नियुक्त गरिनेछ । तनहुँका दुई लाख ४४ हजार ३४० मतदाताले मतदान गर्दैछन् । गत स्थानीय तह निर्वाचनभन्दा यसपटक ४९ हजार आठ सय ६९ मतदाता थपिएका छन् । कुन पालिकामा कति मतदाता ? विसं २०७४ सालको स्थानीय तह निर्वाचनमा जिल्लामा एक लाख ९४ हजार चार सय ७१ मतदाता थिए । आँबुखैरेनीमा ६ हजार ६४२ पुरुष र ६ हजार ९८९ गरी १३ हजार ६ सय ३१, ऋषिङ गाउँपालिकामा आठ हजार ९५१ पुरुष र नौ हजार दुई सय ८७ महिला गरी १८ हजार दुई सय ३८, घिरिङ गाउँपालिकामा सात हजार एक सय १७ पुरुष र सात हजार पाँच सय ५९ महिला गरी १४ हजार ६ सय ७६, देवघाट गाउँपालिकामा ६ हजार तीन सय ७५ पुरुष र ६ हजार चार सय ४० महिला गरी १२ हजार आठ सय १५ मतदाता कायम भएका छन् । यस्तै बन्दीपुर गाउँपालिकामा सात हजार पाँच सय ६४ पुरुष र आठ हजार ७४ महिला गरी १५ हजार ६ सय ३८, भानु नगरपालिकामा १९ हजार पाँच सय ४४ पुरुष र २० हजार नौ सय ५२ महिला गरी ४० हजार चार सय ९६, भिमाद नगरपालिकामा ११ हजार आठ सय ९९ पुरुष र १२ हजार नौ सय ८५ महिला गरी २४ हजार आठ सय ८४, म्याग्दे गाउँपालिकामा आठ हजार पाँच सय ७९ पुरुष र नौ हजार पाँच सय २६ महिला गरी १८ हजार एक सय पाँच, व्यास नगरपािलकामा २२ हजार चार सय १३ पुरुष र २५ हजार एक सय २९ महिला गरी ४७ हजार पाँच सय ४२, शुक्लागण्डकी नगरपालिकामा १८ हजार ५० पुष र २० हजार दुई सय ६५ महिला गरी ३८ हजार ३१५ मतदाता रहेका छन् ।
काठमाडौं- नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनमा पार्टीका नेपाली कांग्रेस पार्टीका आधिकारिक उम्मेदवारका विरूद्ध बागी उम्मेदवारी दिएकाहरुलाई आफ्नो मनोनयन फिर्ता लिन आग्रह गरेको छ । काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी निर्वाचन आयोगले तोकेको समयभित्र उम्मेदवारी फिर्ता लिन आग्रह गर्नुभएको हो । सो समयभित्र उम्मेदवारी फिर्ता नलिने बागी उम्मेदवारका साथै उनको प्रस्तावक र समर्थक पार्टीबाट स्वतः निष्कासित गरिने जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । निर्वाचन आयोगले आज विहान १० बजेदेखि साँझ ५ बजेसम्मका लागि उम्मेदवारी फिर्ताका लागि समय निर्धारण गरेको छ ।
काठमाडौं- बागमती प्रदेश सरकारले मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपति प्राडा विश्वराज जोशीलाई निलम्बन गरेको छ । पदीय जिम्मेवारी पूरा नगरेको आरोपमा छानबिन गर्नका लागि उहाँलाई निलम्बन गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव यमलाल भुषालले जानकरी दिनुभयो । प्रतिष्ठानका एक चौथाई सदस्यले उपकूलपति डा. जोशीले जिम्मेवारीपूर्वक काम नगरेकोलगायत विषयमा लिखित निवेदन दिएपछि छानबिनका लागि उहाँलाई निलम्बन गरिएको बताइएको छ । मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ को उपदफा( ३) बमोजिम छानबिनका लागि उपकूलपति प्राडा जोशी स्वतः निलम्बनमा परेको सचिव भुषालको भनाइ छ । प्रा.डा जोशी २०७७ साउन १६ गते चार वर्षका लागि उपकूलपतिमा नियुक्ति हुनुभएको थियो ।
पोखराः नेपाली कांग्रेसको पोखरा माहानगरपालिका वडा १८ र २४ का असन्तुष्टी पक्षले जिल्ला पार्टी कार्यालयमा तोडफेड गरेको छ । आफ्नै पार्टी विरुद्ध सँघर्ष गर्दै दुई वडाका कार्यकर्ताले जिल्लाको पार्टी कार्यालय कबिर ४ बजे तोडफोड गरेको हो । उनीहरुले पार्टी कार्यालयको कुर्ची तथा टेवल लगायतका सामान तोडफोड गरेका छन् । असन्तुष्टी जनाएका उनीहरुले आफ्नो वडामा गठबन्धन नगरीकनै चुनाव जित्ने बताउदै आएका थिए । पोखरा महानगरपालिकाको मेयर र उपमेयर पदकालागि पाँच दलीय गठबन्धनले आयोजना गरेको घोषणापत्र सार्वजनिक कार्यक्रमको अवसरमा गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दु कुमार थापालाई गल्ती सच्चाउन आग्रह गरेका थिए । असन्तुष्टी जनाएका कार्यकर्ताले भनेका थिए, ‘कांग्रेस बेच्न पाइदैन । यदी गल्ती नसच्चिए कालो झण्डा देखाउछौ ।’

