काठमाडाैं: आसन्न निर्वाचनका लागि आजदेखि छ दिनसम्म विद्यालय बन्द हुने भएका छन् । निर्वाचनका लागि धेरैजसो सामुदायिक तथा निजी विद्यालयमा मतदान केन्द्र राखिएको, धेरै शिक्षक निर्वाचनमा खटाएको र शिक्षक तथा कक्षा १२ मा अध्ययनरत विद्यार्थी मतदानका लागि गाउँ फर्किने भएकाले आजदेखि अगामी जेठ २ गतेसम्मका लागि विद्यालय बन्द गरिने भएको हो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ वटै शिक्षा विकास तथा समन्वय एकाइलाई मतदान केन्द्र कायम भएका विद्यालयमा २८ गतेदेखि ३० गतेसम्म तीन दिन बिदा दिन निर्देशन दिए पनि शनिबार, १ गते आइतबार तथा २ गते बुद्धजयन्तीको सार्वजनिक बिदा परेकाले छ दिन विद्यालय तथा कार्यालय बन्द हुने भएको हो । सरकारले हरेक शुक्रबार ४ बजेसम्मनै पठनपाठन सञ्चालन गर्ने र बर्खे तथा हिउँदे बिदा घटाएर हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको छ । सरकारले आगामी जेठ १ गतेदेखि लागू हुने गरी शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । शिक्षा मन्त्रालयले यसलाई कार्यान्वयन गराउन शिक्षा विकास तथा समन्वय एकाइ सानोठिमीलाई परिपत्र गरेको छ । शिक्षा मन्त्रालयले बुधबार सरकारी तथा निजी विद्यालयमा पनि हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । शुक्रबार ४ बजेसम्म नै पठनपाठन गर्ने तथा बर्खे र हिउँदे बिदा घटाएर हप्तामा दुई दिन बिदा दिने व्यवस्था मिलाउन शिक्षामन्त्रीस्तरीय निर्णय गरी बुधबार शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीलाई निर्देशन गरेपछि केन्द्रले ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय एकाइलाई परिपत्र गरेको हो । केन्द्रले देशका ७७ वटा जिल्ला समन्वय एकाइ तथा देशभरका स्थानीय तह एवं विद्यालयलाई पनि हप्तामा दुई दिन सार्वजनिक बिदा कार्यान्वयन गर्न परिपत्र गरेको केन्द्रका निर्देशक रामचन्द्र शर्माले जानकारी दिनुभयो । राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ ले निर्दिष्ट गरेअनुसार पाठ घण्टा र कार्य घण्टामा नघट्ने गरी पठनपाठनका कार्य सञ्चालन गर्न आइतबार बिदा दिँदा अपुग भएका समय हिउँदे, वर्षे र अन्य बिदामा कटाइ पूर्ति गर्ने व्यवस्था गर्ने गरी वार्षिक क्यालेण्डर तयार पार्न स्थानीय सरकारलाई निर्देशन गरेको छ । यस अवधिमा हिउँदे तथा वर्षे बिदा ५० दिनलाई घटाएर ३० दिन बिदा एकैट पटक दिने वा पटक पटक गरी दिने भन्नेबारेमा स्थानीयले तहले क्यालेन्डर बनाउन सक्ने व्यवस्था गरिएको छ ।
पोखराः स्थानीय तह निर्वाचन–२०७९ अन्तरगत शुक्रबार मतदान हुँदैछ । मतदानसँगै अत्यावश्यकस्थत मानिने गणनास्थलकोसमेत तयारी भइरहेको छ । पोखरा महानगरपालिकाको मतगणनास्थल जिल्ला समन्वय समितिको हल र पोखरा उपत्यका नगर विकास समितिको हललाई तोकिएको छ । त्यस्तै, अन्नपूर्ण गाउँपालिकाको मतगणनास्थल कृषि अनुसन्धान केन्द्र लुम्ले तथा मादी, माछापुच्छ्रे र रुपा गाउँपालिकाको मतगणनास्थल सम्बन्धित गाउँपालिकाको प्रशासकीय भवनलाई तोकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लामा मतदानपछि गतणनाका लागि आवश्यक तयारीसमेत गरिएको छ । गणनास्थलमा सिसीक्यामेरा र छेकबार लगाउने काम भइरहेको बताइन्छ । जिल्लाका सबै मतदान केन्द्रमा मतदानस्थल निर्माणलगायत व्यवस्थापकीय काम बुधबारदेखि सुरु भएको छ । सबै केन्द्रमा बुधबारसम्म मतदान अधिकृतलगायत खटिएका सबै कर्मचारी पुगेका छन् । मतदान केन्द्रका कर्मचारीले निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्नेबारेमा सर्वदलीय बैठक गरी गैरकानुनी क्रियाकलाप हुन नदिने र शान्तिपूर्ण मतदानको वातावरण बनाउने प्रतिबद्धता सम्बद्ध दलहरूले गरेका छन् । सबै केन्द्रमा मतदानस्थलको आवश्यक व्यवस्थापकीय काम भइरहेको छ । सबै केन्द्रमा मतदाता परिचयपत्र वितरण सुरु भएको छ । जिल्लामा मतदानस्थलको सुरक्षा घेरा तीन तहको बनाइएको छ, जसमा पहिलो घेरामा नेपाल प्रहरी हुने र प्रहरीलाई म्यादी प्रहरीले सघाउने छ भने बीच घेरामा सशस्त्र प्रहरी र बाहिरी घेरामा नेपाली सेनाले सुरक्षा दिने भएको छ । जिल्लाका १५० मतदानस्थलमा ३३६ वटा मतदान केन्द्र छन् । पोखरा महानगरपालिकामा ९८ मतदानस्थल र २४२ मतदान केन्द्र, अन्नपूर्ण गाउँपालिकामा १५ मतदानस्थल र २६ मतदान केन्द्र, माछापुच्छ्रे गाउँपालिकामा १२ मतदानस्थल र २५ मतदान केन्द्र, मादीमा १७ मतदानस्थल र २५ केन्द्र तथा रुपा गाउँपालिकामा आठ मतदानस्थलमा १८ मतदान केन्द्र तोकिएको छ ।
म्याग्दी, वैशाख २९ गते । म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्ने सिमकोस र बगरगाउँका बासिन्दा मतदानका लागि तीन दिन पैदलयात्रा गर्नुपर्ने बाध्यता छ । भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा यातायात सुविधा नपुगेको सिमकोस बगरका बासिन्दालाई मतदान केन्द्रमा पुग्न र घर फर्कन तीन दिन समय लाग्ने भएको हो । स्थानीयवासी चित्रबहादुर तिलिजाले मतदान हुनुभन्दा एक दिनअघि घरबाट हिँडेर भोलिपल्ट मतदान गरेर मात्र फर्कने गरिएको बताउनुभयो । “मतदान हुने अघिल्लो दिन गाउँबाट हिँडेर नाउरामा पुगेपछि बास बस्छौँ, भोलिपल्ट मतदान केन्द्रमा पुगेर मतदान गरी फर्केपछि नाउरामै बास बस्छौँ”, उहाँले भन्नुभयो, “घरबाट हिँडेको तेस्रो दिनमात्र फर्कन सकिन्छ ।” धवलागिरि हिमालको आधार शिविर जाने अन्तिम मानव बस्ती बगर र सिमकोस गाउँमा ५० घरधुरी छ । साविक मुदी गाविसको वडा नं ९ मा पर्ने सिमकोस बगरका बासिन्दाको मतदान केन्द्र मुदीको बुद्धीविकास मावि हो । त्यहाँ १०० भन्दा बढी मतदाता छन् । विसं २०७४ को स्थानीय तहको चुनावमा ५७ जनाले मतदान गरेका थिए । २०५४ को स्थानीय तहको चुनावमा बगर वडाका सबै निर्विरोध भएका थिए । घर कुर्नुपर्ने भएकाले सबै स्थानीयवासी मतदान केन्द्रमा आउन सक्दैनन् । ज्येष्ठ नागरिक, अपाङ्गता र अशक्त नागरिकलाई मतदान केन्द्रमा पुग्न सास्ती हुने गरेको छ । पशु गोठमा बस्ने गोठाला पनि मतदानबाट बञ्चित हुने गरेका छन् । नाउराको अक्करे भीरको पैदलमार्ग छिचोलेर बगर पुग्नुपर्छ । मुदी गाउँसम्म मात्र सडक पुगेको छ । नाउराको भिरको पदमार्ग जिल्लाकै जोखिमयुक्त हो । विसं २०६४ अघि बगरगाउँ पुग्ने घोडेटो बाटो पनि थिएन । धवलागिरि आधारभूत विद्यालयमा कक्षा ५ पढेपछि यहाँका बालबालिका माथिल्लो तहको अध्ययनका लागि घर छाडेर जानुपर्छ । विसं २०७५ मा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरिएको थियो । उक्त एकाइ नुहँदा बगरवासीलाई उपचारका लागि मुदी पुगेर फर्कन तीन दिन लाग्ने गरेको थियो । बगरमा छुट्टै मतदानस्थल बनाउनुपर्ने स्थानीयवासीको मागमा मतदाता सङ्ख्या थोरै भएकाले पूरा हुनसकेको छैन । एक मतदान केन्द्रमा न्यूनतम एक हजार मतदाता हुनुपर्ने निर्वाचन आयोगको मापदण्ड छ ।
पोखरा: कास्कीको माछापुच्छ्रे गाउँपालिकाका एकीकृत समाजवादीका अध्यक्ष रामप्रसाद अधिकारी मूलघर नेकपा एमालेमा नै फर्किएका छन् । आसन्न स्थानीय निर्वाचनलाई लक्षित गरेर गाउँपालिकामा आयाजित चुनावी भेलामा अधिकारी आफ्नै मूलघर नेकपा एमालेमा नै फर्किएका हुन् । कार्यक्रममा बोल्दै उनले केहीले आफ्नो खुट्टा तान्ने प्रयास गरिरहेको र निषेधको राजनीति नगर्न आग्रह गरेका छन् । ‘मेरो खुट्टा तानिरहँदा, मेरो घाँटी निचोरिरहँदा तपाईं खेल मैदानबाट बाहिरिनु भएको छ ।’ उनले भने, ‘त्यसैले म के भन्न चाहन्छु भने कोही कसैले निषेधको राजनीति नगरौं, विचार र विवेकको राजनीति गरौं ।’ अबबाट आफूले एमालेमा रहेर नै राजनीति गर्ने अधिकारीले प्रतिवद्धता व्यक्त गरेका छन् । त्यस्तै नेकपा एमाले केन्द्रीय पोलिटब्युरो सदस्य सीता गिरीले गाउँपालिकामा नेकपा एमालेले धेरै विकासका काम गरेको र आगामी दिनमा उक्त कार्यलाई निरन्तरता प्रदान गर्न फेरी पनि एमालेले जिताउन सूर्य चिन्हमा भोट हाल्न आग्रह गरिन् । ‘नेकपा एमाले भनेको विकासको सोच बोकेको पार्टी हो, परिर्वतनको एजेण्डा बोकेको पार्टी हो । यो कुरा हामीले चुनावमा भोट माग्न मात्रै भनेका होइनौं ।’ उनले भनिन्, ‘समृद्धिको यात्रामा, विकासको अभियानमा, सुखी माछापुच्छ्रेवासी हुनको निम्ति सूर्य चिन्हमा मतदान गरिदिनुहुन अनुरोध गर्छु ।’ भेलामा गाउँपालिकामा नेकपा एमालेको तर्फबाट अध्यक्षका प्रत्यासी विक्रम गुरुङले आफूहरु माछापुच्छ्रेको मुहार परिर्वतनका लागि उमेद्वार बनेको बताएका छन् । नेकपा एमालेले देशभरीका स्थानीय तहमा विकासको बाढी ल्याउन उमेद्वार खटाएको उनले बताए । भुगोल तथा क्षेत्रलाई मध्यनजर गर्दै आफूले प्रतिवद्धतापत्र ल्याएको प्रत्यासी गुरुङको भनाई थियो । पार्टीले जितेको खण्डमा गाउँपालिकाको आर्थिक वृद्धिदरसंग जोडिने गुरुङको भनाई छ । गाउँपालिकामा रहेका प्राकृतिक सुन्दरतालाई प्रयोगमा ल्याएर गाउँपालिकाको आर्थिक अवस्थामा सुधार ल्याउने उनले बताए । ५ वर्षको अवधीमा आफूहरुले विभिन्न कानुन बनाएको र अब कानुन लागू गर्ने गुरुङले बताएका छन् । त्यस्तै गाउँपालिकामा एमालेको तर्फबाट उपाध्यक्षकी उमेद्वार सीता तिवारी अधिकारीले गाउँपालिकामा हुने विभिन्न विकास निर्माणका कामहरुमा अवरोध आउने समस्या भइरहेको बताएकी छिन् । विकासका योजना सम्पन्न गर्दा आएका त्यस्ता अवरोधलाई हटाउने आफूले पहल गर्ने उनले प्रतिवद्धता व्यक्त गरिन् । जेष्ठ नागरिकका लागि समेत आफूसंग योजना भएको उपाध्यक्षका प्रत्यासी तिवारीको भनाई छ । ‘गाउँपालिकामा कुनै पनि जेष्ठ नागरिकले भोकको सामना गर्नुपरेको छैन । एमालेको सरकारले ती सबै कुरा पु¥याइरहेको छ ।’ उनले भनिन्, ‘अहिले उहाँहरुलाई मानसिक शान्ति आवश्यक छ, त्यसका लागि उहाँहरुलाई खाजासहितको विश्रामगृह निर्माण गर्ने प्रतिवद्धता व्यक्त गर्छु ।’ गाउँपालिकाका महिलालाई आयसंग जोड्ने उनले प्रतिवद्धता व्यक्त गरिन् । ‘महिलालाई आय अन्य क्षेत्रमा विकासका काममा ल्याउन कार्यक्रम ल्याउने छु ।’ उनले भनिन् । कार्यक्रममा तिवारीले गाउँपालिकालाई डिजिटलाइजेसन गर्ने घोषणा गरेकी छिन् ।
इलाम: इलाममा आज ट्रकको ठक्करबाट एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ । मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका– ९ गोलाखर्कमा झापाबाट इलामतर्फ आउँदै गरेको ट्रकले माइखोलाबाट इलामतर्फ आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा पाँचथर याङ्रुप गाउँपालिका– ४ घर भई इलाम नगरपालिका– ९ शेरामा डेरा गरी बस्ने ३५ वर्षीय धनबहादुर राई हुन् । मे १ प ६५४४ नं को मोटरसाइकलले ना ४ ख ५६६९ नं को ट्रकलाई ओभरटेक गर्दा ट्रकको पछाडिको भागले मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट मोटसाइकल चालको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी गङ्गाबहादुर थापाले जानकारी दिनुभयो । घटनापछि ट्रक चालक फरार रहेकाले खोजी भइरहेको बताइएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।
नयाँ मतदाताहरूले आज र भोलि मतदाता परिचयपत्र पाउने भएका छन् । पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता गराएका नयाँ मतदाता र परिचयपत्र हराएको भनि सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएका मतदाताले बुधबार र बिहीबार सम्बन्धित मतदानस्थलबाट मतदाता परिचयपत्र पाउने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनका अनुसार मतदाता परिचयपत्र वितरणसँगै मतदाता शिक्षा अन्तर्गत मतदान गर्ने सही तरिकासम्बन्धी जानकारी दिने कार्यक्रम छ । ‘बढी भन्दाबढी मतदातालाई मतदानसम्बन्धी जानकारी उपलब्ध गराउन आम संचार माध्यम तथा सामाजिक सञ्जालको प्रयोग गरी श्रव्यदृश्य माध्यमबाट विभिन्न जानकारीमूलक सन्देश प्रसारण समेत भरहेका छन्,’ उनले भने । वालिग मताधिकारको आधारमा संविधानले सबै नेपाली जनतालाई निर्वाचनमा सहभागी हुने अधिकार दिएको छ । यो अधिकारको प्रयोग गर्न यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा कसैको डर, धाकधम्की र त्रास नमानी निर्धक्क भएर आफूले रोजेको प्रतिनिधिलाई मतदान गर्न आयोगले अपिल गरेको छ । शुक्रबार हुने निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, स्वयंसेवक लगायत मतदानको कार्यमा खटिने जनशक्ति मतदान स्थलमा पुगिसकेको जानकारी दिइएको छ ।
दाङ- दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १७ का नेकपा (एमाले)को तर्फबाट वडाध्यक्षका उम्मेदवार लबरु चौधरीको मृत्यु भएपछि अर्को उम्मेदवार मनोनयका लागि आजको समय तोकिएको छ । एमालेका लागि मात्रै आज बिहान १० देखि १ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको तुलसीपुर उपमहानगरपालिकाका निर्वाचन अधिकृत रामेश्वर अर्यालले बताउनुभयो । बिहीबार बेलुका ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने भएको छ । वडा नं १७ को हकमा वैशाख ३१ गतेदेखि मौन अवधि सुरु हुने छ भने वैशाख ३१ गते मध्यरातिसम्म प्रचार प्रसार गर्न पाइने छ । त्यसपछि मौन अवधि सुरु हुनेछ । त्यस्तै जेठ ३ गते मतदानको समय तोकिएको छ । कलेजो, मिर्गौला रोगका कारण चौधरीको मृत्यु भएको हो । वडा नं १७ को निर्वाचन भएपछि मात्रै तुलसीपुरमा मतगणना हुने भएको छ ।-
लमजुङ: बैंकिङ कसुरमा फरार एक महिलालाई लमजुङ प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोर्दी गाउँपालिका ५, पाचोककी ३० वर्षीया हस्तीमाया गुरुङ रहेकी छिन्र । उनलाई काठमाडौंको बालाजुबाट पक्राउ गरेर ल्याइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्स्पेक्टर जगदीश रेग्मीले जानकारी दिए । उनका अनुसार उच्च अदालत, पाटनले २०७८ वैशाख ८ गते र फागुन २३ गतेको फैसलाअनुसार बैंकिङ कसुर मुद्दामा ३ लाख ९४ हजार रुपैयाँ जरिवाना र ३ दिन कैदको सजाय कायम हुने फैसला गरेको थियो । फरार हस्तीमाया काठमाडौंमै लुकेर बसेको भन्ने सूचनाको आधारमा लमजुङबाट खटिएको प्रहरीको विशेष टोलीले स्थानीय प्रहरीको समन्वयमा शनिबार पक्राउ गरेको र मंगलबार जिल्ला अदालतमा पेश गर्दा जरिवाना रकम दाखिला गर्न नसकेको र ३ दिनको कैद फैसलाअनुसार गरी ३ वर्ष ६ महिना २१ दिन कैदमा राख्ने गरी कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।
पोखरा: दलीय भागवण्डा विरुद्धमा सुरु भएको अटेरी अभियानबारे धेरै केही त भन्नै पर्दैन । राजनीतिक दलको टाउको दुखाई बनि रहेको अटेरी अभियानले आफ्नो चुनावी खर्च समेत सार्वजनिक गरि सकेको छ । अटेरी अभियानका परिकल्पनाकार तथा पोखरा महानगर प्रमुख पदका उम्मेदवार गनेस पौडेलले चुनाव जितेपछि पोखराप्रति अपनत्व जगाउने बताएका छन् । पोखरा महानगरमा समावेश भए पनि अझैं पोखरा महानगरबासिले पोखराबासि भएको महसुस नै नगरेको उनले बताए । ‘अस्ति चुनावी कार्यक्रममा माँझठान जाँदा एक जना महिलाले केटाकेटी पोखरा गएका छन् । भरे, आउँछन् भनेर भन्नु भयो, जबकी उहाँ आफैं पोखराबासि हो,’ उनले भने, ‘पोखराबासी हुँ भन्ने महसुस नै भएको छैन । जबसम्म पोखरा बासि हुनुको महसुस हुन्न, पोखरा नामप्रति अपनत्व महसुस गर्न सक्दैन, तबसम्म विकासको थोत्रा गफ गरेर कुनै फाइदा छैन ।’ ग्रामीण क्षेत्रसम्म पहिचानको समान वितरण हुनुपर्ने उनले बताए । ‘त्यो भनेको के भन्दा सेवा सुविधाको अवधारणा । त्यसको लागि एक गाउँ एक पर्यटकीय गन्तव्य हुनुपर्छ । ति सबै प्रकृति र पर्यावरणसँग सम्बन्धित रहेका छन्,’ उनले भने । चुनाव जितेपछि उनले पोखरालाई सिर्जनात्मक सहर बनाउने उनले बताएका छन् । कल्चर हाउस र सिर्जनाग्रामको पनि पहिचान गरेर पोखरामा मुभमेन्टहरु बढाउने उनले बताए । सामुदायिक शिक्षाको दुरावस्थाले देश विकास हुन नसकेको बताउँदै उनले सबैभन्दा पहिला सामुदायिक शिक्षा सुधार गर्नपट्टी आफूहरु लाग्ने उनले बताए । अहिले स्वास्थ्यमा देखिएको विकराल समस्याका कारण घरपरिवार दुई तिर बाँडीनु परेको उनले बताए । कम्तिमा महानगरले अपनत्व लिएर उपचार गर्नुपर्ने उनले बताएका छन् ।

