पोखरा: गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै, कसैको प्रभावमा नपरी स्वतन्त्ररुपमा योग्य उम्मेदवारको छनौटका लागि मतदानमा संलग्न हुन सम्पूर्ण प्रदेशवासीमा अपिल गरेका छन् । स्थानीय तह निर्वाचन २०७९ का सन्दर्भमा मंगलबार आह्वान पत्र जारी गर्दै मुख्यमन्त्री पोखरेलले भनेका छन्, ‘ हाम्रो मत नै मुलुक रुपान्तरणको आधार भएकाले मतदानको अधिकार विवेकपूर्णरुपमा प्रयोग गर्नुहुनेछ भन्नेमा विश्वस्त छु ।’ स्थानीय तह जनताको समीपमा रहेर जनताको हेरक गतिविधिमा साथ दिने सरकार हो भन्दै मुख्यमन्त्री पोखरेलले लोकतन्त्रमा विश्वास गर्ने, जनताको अधिकारको रक्षा गर्न सक्षम, विकासप्रेमी, इमान्दार, कर्तव्यनिष्ठ र सेवा भावले ओतप्रोत उम्मेदवारलाई छनौट गर्न सकेमा मात्र आगामी ५ वर्ष हामीले चाहे बमोजिमको सेवा प्राप्त गर्न सकिने उल्लेख गरेका छन् । लोकतन्त्रको महत्वपूर्ण आधार र सुन्दर पक्ष नै आवधिक निर्वाचन हो । संविधानसभामार्फत् २०७२ मा जारी भएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको संविधानमा व्यवस्था भए बमोजिमको ३ तहको सरकारमध्ये जनताको समीपमा रहेको स्थानीय तहको १ कार्यकाल सफलतापूर्वक सम्पन्न भई विशेष अनुभवका साथ मुलुक अहिले स्थानीय तहको दोस्रो कार्यकालका लागि निर्वाचनमा जुटिरहेको छ । मुख्यमन्त्रीले भनेका छन्, ‘यस सुखद घडीमा सम्पूर्ण प्रदेशवासीमा वधाई ज्ञापन गर्न चाहन्छु । यसै क्षणमा हामीलाई उन्नत अवस्थाको शासन प्रणाली उपलब्ध गराउन बलिदानी गर्नुहुने सम्पूर्ण सहिदप्रति हार्दिक श्रद्धाञ्जली प्रदान गर्दै अग्रजहरु प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।’ लामो र कठोर बलिदानीपूर्ण संघर्षबाट नेपाली जनताले प्राप्त गरेका उपलब्धि बचाई राख्नका लागि आवधिक निर्वाचन अनिवार्य शर्त रहेको मुख्यमन्त्रीले उल्लेख गरेका छन् । आह्वानपत्रमा भनिएको छ, ‘वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई भयरहित, स्वच्छ एवं मर्यादित तबरले सम्पन्न गर्ने, गराउने दायित्य सरकारसँगै राजनीतिक दल, नागरिक समाज, निजी क्षेत्र एवं आमसञ्चार माध्यमसमेतको हो ’ राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, पर्यवेक्षणमा खटिने राष्ट्रिय अन्तर्राष्ट्रिय संघ संघसंस्था एवं सरोकारवाला सबै निश्पक्ष एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन अग्रसर हुनका लागि उनले आह्वान गरेका छन् । धेरैभन्दा धेरै प्रदेशवासीको संलग्नतामा स्थानीय तहको निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न होस् भन्ने शुभकामना व्यक्त गर्दै कोरोनाको त्रास कायमै रहेकाले सामाजिक दुरी र स्वास्थ्य मापदण्ड अनपाउन उनले अनुरोध गरेका छन् ।
पोखरा: स्थानीय तहको निर्वाचनको प्रचार प्रसारको मौन अवधी सुरु हुन केही घण्टा मात्रै बाँकी रहदा पोखरामा एमाले प्रवेशको क्रम जारी छ । यसैबीच सो महानगरको वडा न ३३ मा एमाले प्रवेश गर्ने क्रम रोकिएको छैन । सो वडाका नेपाली काँग्रेसका पुराना कार्यकर्ता श्रीकृष्ण नेपालीसहित ४ दर्जन युवा एमाले प्रवेश गरेका छन् । यसरी प्रवेश गर्नेहरु आपुकसेरी तल्लो पुडि, छप्ल्याङ लगाएतका स्थानका युवा रहेको साविक भरत पोखरी गाविसका अध्यक्ष तथा एमाले पोखरा महानगर कमिटी सदस्य गोपाल पुनले बताए । उनीहरुलाई नेकपा एमालेका केन्द्रीय सदस्य भिम कार्की, केन्द्रीय सदस्य विद्या भट्टराई, प्रदेश उपसचिव रश्मि आचार्य लगायले उक्त वडाको चुनावी आमसभामा स्वागत गरेका थिए । कार्यक्रममा बोल्दै सो पार्टीका स्थायी कमिटी सदस्य एवं संगठन विभाग प्रमुख खगराज अधिकारीले ऐतिहासिक बिरासत बोकेको सो वडाबाट एमालेको विजय सुनिस्चित भैसकेको जिकिर गरे । उनले रुप फेरेर जनतासंग आउनेदेखि भरतपोखरीवासी सतर्क भइसकेको विशाल जन सहभागिताले पुष्टि गरेको बताएका छन् । एमाले केन्द्रीय सदस्य भिम कार्कीले जनताबाट स्वीकृत हुन कामै गर्नुपर्ने भन्दै एमालेका विकासका अभियन्तालाइ जिताउन आग्रह गरे । अर्का केन्द्रीय सदस्य विद्या भट्टराईले एमालेले गरेको विकास सबैका लागि भएकाले विकास गर्ने पार्टीदेखि कोही पार्टी नआत्तिन आग्रह गर्दै विकासका काम नै एमालेको परिचय भएको उल्लेख गरिन् । मेयर पदका उमेद्वार कृष्ण थापाले सो वडालाई पूर्ण भौतिक पूर्वाधार सहितको समृद्ध वडा बनाउने प्रतिवद्धता व्यक्त गरे । उप मेयर पदका उमेद्वार मन्जुदेवी गुरुङले सो वडामा अघिल्लो कार्यकालमा सुरु भएका विकासका योजनाको चर्चा गर्दै अब केही नया योजना सहित लागि पर्ने उल्लेख गरिन् । एमाले प्रदेश उपसचिव रश्मि आचार्यले भरत पोखरीको एमालेको विरासत झन्झन् उँचो हुने भन्दै सम्पूर्ण स्थानीयको रहर लाग्दो साथ नै यसमा काफी भएको उल्लेख गरे । चुनावी सभामा सो वडाका पूर्वसचिव बसन्तराज आचार्य, पूर्व गाविस अध्यक्ष गोपाल पुन, युवा नेताद्वय श्रीधर पौडेल, ऋषिराज आचार्य, खुल्ला सदस्य पदका उमेद्वार, बिनोद भण्डारी, अध्यक्ष पदका शिवप्रसाद आचार्य, एमाले ३३ का उपसचिव रमेशराज आचार्य, प्रेस चौतारी नेपाल लेखा आयोग उपाध्यक्ष रामजीप्रसाद लम्साल लगाएतले बोलेका थिए । सो वडा कमिटी अध्यक्ष दीपक लामिछनेको अध्यक्षतामा सम्पन्न चुनावी सभामा सयौंको संख्यामा जनसहभागिता थियो ।
सिद्धार्थनगर, बुटवलमा सुन पसल चोरी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। वैशाख १३ गते राति बुटवल उपमहानगरपालिका ६ बीपी चोकमा रहेको गुल्मेली मजुवा सुनचाँदी पसलमा गरगहना चोरी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेर सार्वजनिक गरिएको हो। बुटवल ६ बीपी चोकस्थित दिलबहादुर सुनारले सञ्चालन गरेको गुल्मेली मजुवा सुनचाँदी पसलबाट चार करोड भन्दा बढीको सुन र गहना चोरी भएको थियो। चोरी गरेर फरार अभियुक्त भारत जौहरी मोहल्ला चौँक लखनउ चौक उत्तर प्रदेश बस्ने ३६ वर्षीय मोहसिन अब्दुल्ला खान, भारत साई एन्क्लेव गोमती बिहार कोलोनी लखनउ उत्तर प्रदेश बस्ने २५ वर्षीय मोहद जीशान खान र भारत तकिया पेपर मिल कालोनी सी ब्लक –२ निशातगँज महानगर लखनउ उत्तर प्रदेश बस्ने २२ वर्षीय मोहम्मद सारीक रहेको प्रहरीले जनाएको छ। उनीहरूलाई प्रहरीले पक्राउ गरेपछि मंगलबार सार्वजनिक गरेको हो। इलाका प्रहरी कार्यालय बुटवल र लुम्बिनीबाट खटिएको टोलीले खोजतलासको क्रममा वैशाख २६ गते साँझ पक्राउ परेका हुन्। प्रहरीले उनीहरुको साथबाट सुन, सुनका गहना र सुनका सिक्का बरामद गरेको छ।
हेमजा: नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं २५ को चुनावी घरदैलो अभियान सम्पन्न भएको छ । स्थानिय तह निर्वाचनका लागि यही वैशाख १८ गतेदेखि सुरु भएको वडा नं २५ को चुनावी घरदैलो अभियान मंगलवार सम्पन्न भएको नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं २५ का सचिव तथा घरदैलो अभियानका संयोजक झङ्कनाथ तिम्सिनाले हामीलाई जानकारी दिए । उम्मेदवारहरु मतदाताहरुको घरघरमा पुगेर यसपटक गठबन्धन सहितका उम्मेदवारलाई मत दिएर विजयी गराउन आग्रह गरेका थिए । घरदैलो अभियान वडा २५ का मतादाताहरुले वडामा भएका समस्याको गुनासो गरेकोमा वडा अध्यक्ष पदका उम्मेदवार मोती तिमिल्सिनाले आफुले जिते महानगर सगंको पहलमा समस्या सामाधान गर्ने प्रतिबद्धता गरे । त्यस्तै आर्थिक, सामाजिक, शिक्षा, स्वस्थ्य, पुर्वाधार विकासलगायत क्षेत्रमा उत्कृष्ट काम गर्दै वडालाई नमुना वडा बनाउने प्रतिबद्धता जाहेर गरेका थिए । गठबन्धलाई गलत ढंगले नबुझि बुद्धिमता र ईमान्दारिताका साथ आफ्नो मत दिएर पुरै टिमलाई नै जिताउन पनि अध्यक्ष पदका उम्मेदवार तिमिल्सिनाले अनुरोध गरेका थिए । यसपालीको आसन्न स्थानिय तहको निर्वाचनमा पोखरा महानगरपालिका २५ मा वडा अध्यक्षमा तिमिल्सिनासहित गठबन्धनको टिम चुनावी मैदानमा रहेको छ । जस अन्तर्गत खुल्लामा सुरेश बहादुर साप्कोटा (नेकपा माओवादी केन्द्र), ई . दिपेन्द्र बाँस्तोला (नेकपा एस ) त्यस्तै महिला सदस्य आरति अधिकारी (नेकपा माओवादी केन्द्र)र दलित महिला सदस्य सीता नेपाली ( नेकपा माओवादी केन्द्र) रहेका छन् ।
चितवन: आइतबार साँझ हत्या भएका अनिल परियारलाई शहीद घोषणा गर्न नेपाली कांग्रेस चितवनले सरकारसँग माग गरेको छ। मंगलबार जिल्ला सभापति राजेश्वर खनालले विज्ञप्ति जारी गर्दै निर्वाचनको समयमा चुनावीप्रचारप्रसारमा खटिआएका आफ्ना कार्यकर्तामाथि सांघातिक आक्रमण गरी हत्या गरेकोले तत्काल सत्ययतथ्य छानविन गरी दोषीमाथि कानुनी उपचार गराउनसमेत माग गरिएको छ। पाँच दलीय गठबन्धनबीचको संयुक्त छलफलबाट समेत उक्त घटनाबारे गम्भीरतापूर्वक लिई न्यायिक छानविन गरी दोषीमाथि हदैसम्मको कारवाही गर्नुपर्ने माग विज्ञप्तिमा गरिएको छ। भरतपुर १२ निवासी अनिल परियारको गत आइतबार साँझ करिब ७ः३० बजेको समयमा भरतपुर–७ कृष्णपुरस्थित खेलमैदान नजिकै विभत्स हत्या भएको थियो।
नेकपा एमालेकोतर्फबाट पोखरा महानगरपालिकाको मेयर पदका उम्मेदवार कृष्ण थापाले विजय र विकासको सुरुआत पनि लेखनाथबाटै हुने बताएका छन् । नेकपा एमाले पोखरा २९ ले मंगलबार चुनावी अभियान अन्तरगत मेयर र उपमेयर सहितको घरदैलो पछिको कोणसभामा बोल्दै मेयर पदका प्रत्यासी थापाले पोखरा प्रवेश गर्ने कोत्रेबाट पोखरासम्म ६ लेनको बाटो र कोत्रेबाट पोखरा पस्दा नै युरोप पसे जस्तो अनुभुति हुने खालका विकासका संरचना निर्माण गरिने बताएका हुन् । ‘तपाईंहरु भोट दिनुहोस्, विकास गर्ने जिम्मा हाम्रो हो ।’ मेयरका प्रत्यासी थापाले भने, ‘लेखनाथ क्षेत्रलाई मैले प्राथमिकताका साथ हेरेको छु ।’ थापाले कम्तीमा हप्ताको २ दिन लेखनाथ मा आएर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले भने, ‘सबै ठाउँलाई समान रुपमा विकास गर्ने प्रतिवद्धता बोकेर आएको छु । तपाईहरुबीच प्रतिवद्धता व्यक्त गर्न चाहन्छु, अबका दिनमा जनाताले वास्तविक रुपमा परिवर्तनको आभास हुने काम गरेर देखाउने छु ।’ यसैगरी उपमेयर पदका उमेद्वार मन्जुदेवी गुरुङले विभिन्न अप्ठेराका बीच पनि गएको ५ वर्षमा एमाले नेतृत्वको महानगरको टिमले सम्झन लायक धेरै काम गरेको दावी गरिन् । ‘सुरुका १ वर्ष स्थानीय तहको कानुन नै नभएकाले कानुन बनाउनमा नै समय खर्च भयो, योबीचमा धेरै कानुन बनाइएका छन् । फेरि २ वर्ष पुग्दा नपुग्दै विश्वव्यापी महामारीको रुपमा कोभिड आयो’ उनले भनिन् । गुरुङले यसबीचमा पनि पूर्वाधार निर्माणको क्षेत्रमा धेरै काम भएका दावी गरेकी छिन् । निवर्तमान उपमेयर समेत रहेकी गुरुङले युवालाई स्वदेशमा नै केही गरौं भन्ने भावना सृजना गर्न युवा स्वरोजगारका लागि प्राविधिक शिक्षा र महिलाका लागि बिना धितो महिला उद्यमी ऋणको व्यवस्था लगायतका कार्यक्रम भएको जानकारी गराएकी थिइन् । सोही अवसरमा पोखरा महानगरपालिका वडा नं २९ का वडाअध्यक्ष पदका उमेद्वार श्रीप्रसाद गुरुङले २०७४ सालमा एमालेले यो वडामा विजय गरेको र अहिले पनि विजयी हुने दाबी गरेका छन् । अहिलेको स्थानीय निर्वाचनमा समेत विजयी भएर बाँकी रहेका अधुरा कामलाई पूर्णता दिंदै वडालाई विकासको नयाँ मोडलबाट नमुना योग्य वडा बनाएरै छाड्ने आफ्नो योजना सुनाएका थिए । एमालेका जिल्ला कमिटीका सदस्य विष्णु पुनले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य वडा पाटी कमिटीका अध्यक्ष प्रमोद भण्डारीले गरेका थिए । पूर्व सैनिकबस्तीबाट सुरु भएको मोटरसाइकल ¥याली खुदी, पावरहाउस, पट्नेरी हुँदै भण्डारढिकमा आएर समापन गरिएको थियो ।
काठमाडौं- यस महिना विभिन्न हिमाल आरोहणका क्रममा चार जना आरोहीको मृत्यु भएको छ । आरोहण कम्पनीहरुका अनुसार धौलागिरि, कञ्चनजंगा, सगरमाथा र ल्होत्सेमा गरी चार जना आरोहीको मृत्यु भएको हो । ल्होत्से हिमाल आरोहणका क्रममा कोरियाका आरोही टोलीका गाइड खुदम बीर तामाङ पहिलो क्याम्पबाट वेपत्ता भएको आरोहण आयोजक कम्पनी सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङमा शेर्पाले जानकारी दिनुभयो । सोमबार देखि वेपत्ता भएका गाइड तामाङको जिवित भेटिने सम्भावना नभएकाले खोजी कार्य समेत स्थगित गरिएको शेर्पाले जानकारी दिनुभयो । साउथ कोरियाका आरोहीहरुले ल्होत्से हिमालको नयाँ बाटो [साउथ फेस]बाट आरोहण गर्न हिमाल तर्फ उक्लेका छन् । नयाँ बाटो भएकाले गाइड तामाङ क्रेभासमा फसेको हुनसक्ने अनुमान आरोहणदलका सदस्यहरुले जनाएका छन् । तामाङको टोलीमा रहेका कोरियाका आरोही सुङ तेइक होङ सहित छ जनाले भने आरोहणलाई निरन्तरता दिदै आएको कम्पनीले जनाएको छ । यस अघि बैशाख २२ गते कञ्चनजंगा हिमालको आरोहणका क्रममा एक भारतीय आरोहीको मृत्यु भएको छ । चुचुरो नजिक पुगेका भारत महाराष्ट्रका आरोही ५२ वर्षीय नारायण इयरको आठ हजार दुई सय मिटर नजिक मृत्यु भएको थियो । त्यस्तै गरी धौलागिरि (८१६७ मिटर) हिमालको आरोहण गरी फर्कने क्रममा ग्रिकका आरोही ५५ वर्षीय एन्टोनिअस स्क्यारिसको चैत २९ गते मृत्यु भएको छ । चुचुरो पुगेर फर्किने क्रममा तेस्रो क्याम्पस्थित सात हजार ४०० मिटरमा उहाँको मृत्यु भएको आरोहण आयोजक कम्पनी सेभेन समिट ट्रेकले जनाएको छ । बैशाख १ गते सगरमाथाको आरोहण गर्ने क्रममा एक गाइडको मृत्यु भएको छ । खुम्बु आइफल काट्ने क्रममा क्याम्प नजिक बिरामी परेका माप्य दुधकोशी गाउँपालिका ७ सोलुखुम्बुका ३७ वर्षीय गाइड निमातेन्जी शेर्पाको मृत्यु भएको थियो । छेटु शेर्पा/गोरखापत्र
यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मतदानका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । निर्वाचन आयोगका अनुसार मौनअवधि भनेको मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्मको अवधि हो । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका दिन बिहान ७ देखि साँझ ५ बजेसम्म मतदानको व्यवस्था गरिएको जनाएको छ । मौनअवधि सुरु हुनुभन्दा अगाडि मतदानस्थलको ३०० मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउनुपर्ने आयोगले निर्वाचनका लागि जारी गरेको निर्वाचन आचारसंहितामा उल्लेख छ । आचारसंहितामा मौनअवधिमा राजनीतिक दलका पदाधिकारी वा उम्मेदवार तथा दलको भ्रात सङ्गठन वा सम्बन्धित व्यक्तिले आचरणपालना गर्नुपर्ने विषयबारे उल्लेख छ । यसैगरी मौन अवधिभर निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभासम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न नहुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । साथै यस अवधिमा कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न वा निर्वाचन प्रचारप्रसार गर्न पाइने छैन । सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा गराउन नहुने आचारसंहितामा उल्लेख छ । मौन अवधिमा प्रचारप्रसारका सबै गतिविधि बन्द हुने र यसको निगरानीका लागि आयोग आफैँ, सुरक्षा निकाय र मुलुकका विभिन्न मुख्य स्थानमा १८ सहसचिवको नेतृत्वमा टोली खटिएको उहाँले बताउनुभयो । यसबाहेक निगरानीका लागि जिल्लामा मुख्य अधिकृतको नेतृत्वमा संयन्त्र र पालिकामा निर्वाचन अधिकृतको नेतृत्वमा संयन्त्र छ । मौन अवधि उल्लङ्घन गर्नेलाई आयोगले रु एक लाखसम्म जरिवाना तथा उम्मेदवारी रद्द गर्न सक्नेसम्मको सजायको निर्णय गर्न सक्ने अधिकार रहेको प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।
रोल्पाको गङ्गादेव गाउँपालिका-५ मा नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसका कार्यकर्ताबीच गएराति झडप भएको छ । झडपमा परी कांग्रेसका दुई कार्यकर्ता घाइते भएका छन् । घाइते हुनेमा कांग्रेस तरुणदलका मानबहादुर बुढामगर र सोही वडाका २० वर्षीय कमल बुढामगर छन् । माओवादी केन्द्रका कार्यकर्ताले कांग्रेसका कार्यकर्तामाथि खुकुरी प्रहार गरी शक्त घाइते बनाएको कांग्रेस गङ्गादेव गाउँपालिकाका कार्यकर्ता सुनिल वलीले जानकारी दिनुभयो । तरुणदलका कार्यकर्ता बुढामगरको अवस्था गम्भीर छ । उहाँलाई थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेज लगिएको छ । घटनापछि प्रहरी नायब उपरीक्षक विनोद घिमिरे नेतृत्वको टोली घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी थमन जिसीले जानकारी दिनुभयो । घटनाको थप विवरण आउन बाँकी रहेको उहाँले बताउनुभयो ।

