पोखरा:   शिव बस्ती सिप्लेनीतरा युवा क्लबको आयोजनामा तथा पोखरा महानगरपालिका–३३ को संरक्षकत्वमा सम्पन्न प्रथम बागमारा आमन्त्रित महिला फुटबल प्रतियोगिताको उपाधि म्याग्दी जिल्ला महिला फुटबल संघले जित...

बागलुङ : चैत्राष्टमी मेला २०७९ मा आयोजना गरिएको कालिका कप खुला पुलिस भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ।    कालिका भगवती गुठी व्यवस्थापन समिति बागलुङले आयोजना गरेको प्रतियोगिताको शुक्रबार सम्पन्न फाइनल खेलमा पुलिसले घुम्टे युवा परिवार गलकोटलाई ३–२ को सेटमा पराजित गर्दै उपाधि चुमेको हो।   घुम्टेले पहिलो र तेस्रो सेट आफ्नो जितेको थियोभने पुलिसले दोस्रो, चौथो र पाँचौ सेट आफ्नो पक्ष पार्दै उपाधि जितेको हो। पुलिसले पहिलो १८–२५ ले गुमाएको थियो भने दोस्रो सेटमा २५–१९ को सहज जित निकालेको थियो।    तेस्रो सेटमा २२–२५ ले गुमाएको पुलिसले चौथो सेटमा २५–२३ र पाँचौं सेटमा १२५–९ को जित निकाल्दै च्याम्पियन बन्न सफल भयो। उपाधिसँगै च्याम्पियन पुलिसले ३ लाख रुपैयाँ, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। दोस्रो भएको घुम्टेले १ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।    यस्तै प्रतियोगितामा तेस्रो र चौथो हिल साइड निर्माण सेवा निलो र सेतो भएका छन्। दुवै टिम एउटै क्लबका भएकाले क्लबको चाहना अनुसार निलोलाई तेस्रो र सेतोलाई चौथो घोषणा गरिएको हो। तेस्रो भएको हिल साइड निर्माण सेवा निलोले ७० हजार रुपैयाँ, ट्रफि र मेडल प्राप्त गरेको छ।   यस्तै नेपाल पुलिस क्लबका विशाल बहादुर विक सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै १० हजार रुपैयाँ प्राप्त गरेका छन्।   परम्परागत रुपमा हरेक वर्ष हुँदै आएको चैत्राष्टमी मेला यस वर्ष चैत्र १३ गतेदेखि १७ गतेसम्म आयोजना गरिएको थियो। प्रतियोगितामा १३ टिमको सहभागिता रहेको थियो।

काठमाडौं:  नेपाली राष्ट्रिय क्रिकेट टिमकी कप्तान रूबिना क्षेत्री र अलराउन्डर सीता रानामगर हङकङमा हुने टी-२० फ्रेन्चाइज लिग खेल्न प्रस्थान गरेका छन्।    ललितपुर मेयर टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिता सकिएको भोलिपल्ट शुक्रबार दुई महिला क्रिकेटर हङकङतर्फ प्रस्थान गरेका हुन्।    बिहीबार भएको फाइनलमा सीताको कप्तानीमा रहेको एपिएफले उपाधि जितेको थियो। उपाधि जित्ने क्रममा सीताको टिमले रुबिनाको कप्तानीमा रहेको कोशी प्रदेशलाई पराजित गरेको थियो।   हङकङमा हुने फेयरब्रेक आमन्त्रण २०२३ क्रिकेट प्रतियोगितामा कप्तान रूबिना द बार्बी आर्मी  र सीता द टोनेडसमा आवद्ध छिन्।  १५ दिन चल्ने प्रतियोगितामा नेपालका दुई खेलाडीको पारिश्रमिक कम्तिमा ५ हजार अमेरिकी डलर हुनेछ। खेलाडीले खेलको थप भत्ता पनि पाउनेछन्। दुवैले अघिल्लो सिजनको प्रतियोगितामा सहभागिता जनाएका थिए।    प्रतियोगितामा बार्बी आर्मी र टोनेडससहित वारियर्स, स्पिरिट, साफायर्स र फाल्कन्स सहभागी हुँदैछन्। प्रतियोगिता हङकङको कोलुन क्रिकेट क्लबको मैदानमा हुँदैछ।    प्रतियोगिताको पहिलो खेल चैत २१ मा हुनेछ। फाइनल आगामी वैशाख ३ मा हुनेछ।   दिनमा दुई वटा खेल हुनेछ। एक टोलीले समूह चरणमा एक अर्कासँग एकपटक खेल्छन्। समूहको शीर्ष चार टोली सेमिफाइनलमा पुग्नेछन्।   आइसिसीले स्वीकृत गरेको प्रतियोगितालाई लैङ्गिक समानता प्रवर्द्धन गर्ने लक्ष्य राखेको कम्पनी फेयरब्रेक ग्लोबलले निजी रूपमा सञ्चालन गर्दै आएको छ। २८ देशका कुल ८३ खेलाडी ६ टिममा आबद्ध छन्।    अमेरिका क्रिकेटसँगको सहकार्यमा आयोजना गरिएको २०२३ को लागि एक अतिरिक्त प्रतियोगिताका खेलहरू १५ देखि ३० सेप्टेम्बर २०२३ मा अमेरिकामै खेलिनेछ।  

पोखरा: पोखरामा अवस्थित सहारा क्लब पोखराले संञ्चालन गर्दै आईरहेको सुर्य बहादुर केसी मेमोरियल सहारा छात्रबास फुटबल एकेडेमीका लागि चौंथो ब्याचको प्रशिक्षार्थी बालकहरुको नयाँ भर्ना गर्ने भएको छ ।   सहारा क्लब पोखराले बिहीबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै २०८० साल बैशाखबाट नयाँ भर्ना गर्ने निर्णय गरिएको जनाएको छ ।   यस अघि तीन ब्याज ०५८ र ०६१ र ०७० सालको एकेडेमीको सफल अनुभबलाई सँगाल्दै यस पटक चौंथो ब्कोयाच बालक प्रशिक्षार्थीहरु भर्ना गर्न लागिएको क्लबले जनाएको छ ।   तेश्रो ब्याचको पहिलो चरणमा १२ कक्षा उत्तिर्ण भएका १० प्रशिक्षार्थी बालकहरुलाई पास आउट गरेको र  ०७० सालको तेश्रो ब्याचका अब बाँकी १३ जना प्रशिक्षार्थीहरु उनीहरुको कक्षा १२ को परीक्षा समाप्त भएपछि जेठ महिनाको अन्तिम हप्ता पास आउट गरी आगामी नयाँ शैक्षिक सत्र देखि चौंथो ब्याच भर्ना गर्ने कार्य योजना बनाएको क्लबले जनाएको छ ।   एकेडेमीबाट उत्पादित प्रशिक्षार्थीहरुमध्ये पूर्व राष्ट्रिय फुटबल कप्तान अनिल गुरुङ एक हुन् । त्यस्तै नेपाल पुलिस क्लबमा अजित भण्डारी, नेपाली सेनामा कार्यरत नविन श्रेष्ठ,नेपालको ए डिभिजन सातदोबाटो क्लब अनुबन्धित सुशिल लामा,मनाङ मर्स्याङ्दी  क्लबका  अनिल पोमु लिम्बु सहारा एकेडेमीकै उत्पादन हुन् ।   हाल एकेडेमी प्रशिक्षक प्रल्हाद हिराचन, हालका उदयवान प्रशिक्षक बिष्णु गुरुङ र पूर्व राष्ट्रिय फुटबल खेलाडी लक्ष्मण जिसी पनि एकेडेमीका उत्पादन हुन् ।   नेपालको फुटबल ईतिहासका नक्षत्र स्व डम्बरसिह गुरुङ,  पूर्व राष्ट्रिय फुटबल खेलाडी स्व.बिल तामाङ,पूर्व राष्ट्रिय फुटबल प्रशिक्षक किरण श्रेष्ठ एकेडेमीका प्रशिक्षक थिएँ ।   वार्षिक कुल ३० लाखको हाराहारीमा खर्च हुने उक्त एकेडेमीको मुलश्रोत सुर्य बहादुर केसीको परिवारजनबाट १५ लाख वर्षेनी प्राप्त भईरहेको र क्लबले आयोजना गर्ने आहा रारा पोखरा गोल्डकप, देउसी भैलो कार्यक्रम,विभिन्न शुभेच्छुक शुभचिन्तक दाता र बिशेषतः सहारा युके, सहारा हङकङ र सहरा अष्ट्रलिया समेतको बिशेष सहयोग र एकेडेमी कै निरन्तरताको निम्ति गठन गरिएको अक्षय कोषमा संकलित रकम नै यो एकेडेमीको मुलश्रोत रहेको क्लबले जनाएको छ ।

काठमाडौं:  नेपाल एपिएफ क्लबले ललितपुर मेयर्स वुमन्स च्याम्पियनसिप २०२३ को फाइनलमा कोशी प्रदेशलाई ५४ रनले हराउँदै उपाधिमा ह्याट्रिक गरेको छ । एपिएफले लगातार तीन संस्करणको उपाधि जितेको हो ।   जितको लागि १ सय ५५ रनको विशाल विजयी लक्ष्य पछ्याएको कोशीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय रन बनायो । कोशीकी कप्तान रुविना क्षेत्री बेलबासेले ४१ बलमा ४ चौकासहित सर्वाधिक ३५ रन बनाइन् । स्पिनर बिनु बुढामगरको १४ औं ओभरको दोस्रो बलमा रुविना बोल्ड भएपछि कोशीको जितको सम्भावना सकिएको थियो ।   रेखा रावलले तेस्रो ओभरमै काजोल श्रेष्ठलाई ६ रनमा बोल्ड गरेकी थिइन् । अप्सरी बेगम २४ बलमा १ चौकासहित १० र स्मृति कटवाल ८ रनमा आउट भइन् । लखिता राजवंशी २१ बलमा २ चौकासहित २१ रनमा अविजित रहिन् । नमिता श्रेष्ठ ११ बलमा १ चौकासहित ७ रनमा रन आउट भइन् ।   एपिएफकी बिनु बुढाले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिइन् । नेरी थापाले ४ ओभरमा २४ रन खर्चेर १ विकेट लिइन् । रेखा रावलले एक विकेट लिइन् । सोनु खड्काले एक विकेट लिइन् ।   त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको एपिएफले निर्धारित २० ओभरमा १ विकेट गुमाउँदै १ सय ५४ रन बनाएको थियो । ललितपुर मेयर्स प्रतियोगिता इतिहासमा एकै इनिङमा बनेको यो हालसम्मकै उच्च योगफल हो । यसअघि पहिलो संस्करणको ललितपुर मेयर्समा ललितपुर ११ ले लुम्बिनीविरुद्ध ५ विकेट गुमाउँदै १ सय ४४ रन बनाएको थियो । त्यो नै उच्च योगफल रहँदै आएको थियो ।   एपिएफको जितमा कप्तान सीता ६८ बलमा ९ चौका र २ छक्कासहित ७८ रनमा अविजित रहिन् । उनको यो टि२० घरेलु क्रिकेट करिअरको उत्कृष्ट प्रदर्शन हो । उपकप्तान इन्दु बर्मा ४१ बलमा ५ चौका र १ छक्कासहित ५१ रनमा अविजित रहिन् ।   ललितपुर मेयर्स कपमा एक ब्याटरले बनाएको सबैभन्दा उच्च योगफल हो । सीताले सुमन खतिवडाको कीर्तिमान तोडेकी हुन् । पहिलो संस्करणमा ललितपुरकी सुमन खतिवडाले ५२ बलमा ९ चौका र २ छक्कासहित ७७ रन जोडेकी थिइन् ।   दोस्रो विकेटका लागि सीता र इन्दुले १ सय ३६ रनको सानदार अविजित कीर्तिमानी शतकीय साझेदारी गर्दै विशाल योगफल बनाएका थिए । जुन ललितपुर मेयर्स कपको कुनैपनि विकेटको लागि भएको उच्च साझेदारी हो । पहिलो संस्करणमै सुमन खतिवडा र अश्मिना कर्माचार्यले छैटौं विकेटका लागि लुम्बिनीविरुद्ध १ सय ८ रनको अविजित साझेदारी गरेका थिए । उक्त कीर्तिमान सीता र इन्दुले तोडेका हुन् ।   कोशीकी एलिसा खडियाले एक विकेट लिइन् । यसअघिका दुबै संस्करणको उपाधि एपिएफले फाइनलमा सुदूरपश्चिमलाई समान ८ विकेटले हराउँदै जितेको थियो ।

पोखरा:    गण्डकी प्रदेश सरकारले नेपाललाई १९ वर्षमुनिको विश्वकप क्रिकेट र आइसिसी लिग टुको छनोट चरणमा पु¥याउन सफल प्रदेशका चार जना खेलाडीलाई सम्मान गरेको छ । सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले आज कार्यक्रम आयोजना गरी प्रदेशबाट प्रतिनिधित्व गर्ने  क्रिकेट खेलाडीलाई नगद रु ५० हजारसहित सम्मान गरेको हो । प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी र सामाजिक तथा स्वास्थ्यमन्त्री पञ्चराम गुरुङलगायतले खेलाडीलाई सम्मान गर्नुभयो । यही चैत २ गते सम्पन्न लिग टु क्रिकेटमा नेपाललाई छनोट चरणमा पु¥याउन भूमिका खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण केसी (बागलुङ) सरकारबाट सम्मानित हुनुभयो । यसैगरी नेपाललाई १९ वर्षमुनिको विश्वकप क्रिकेटको विश्वकपमा पु¥याउन टोलीमा रहेर खेल्ने गण्डकी प्रदेशका सुभाष भण्डारी (बागलुङ), अर्जुन कुमाल (कास्की) र दीपकराज डुम्रे (नवलपुर)लाई जनही रु ५० हजार र सम्मानपत्रले सम्मान गरिएको हो ।  कार्यक्रममा मुख्यमन्त्री अधिकारीले प्रदेशबाट सहभागी खेलाडीलाई हौसला दिँदै प्रोत्साहन गर्नका लागि नगदसहित सम्मान गरिएको बताउनुभयो । उहाँले खेलाडीले मेहनतपूर्वक अनुशासित भएर खेल खेलेको बताउनुभयो । उहाँले भन्नुभयो, “यो कम रकम हो तर हौसला र प्रोत्साहनका लागि थोरै रकमले मात्रै भए पनि सम्मान गरेका हौँ । खेलाडी राष्ट्रका गहना होइनन् । गहना त टल्किन्छ र सुरक्षा गर्न लुकाएर राख्नुपर्ने हुन्छ । बरु खेलाडी त सम्पत्ति हुन् ।” सामाजिक विकास तथा स्वास्थ्यमन्त्री गुरुङले प्रदेश सरकारले अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला बनाउने तयारीस्वरूप जमिनको खोजी भइरहेको बताउनुभयो । मन्त्रालयका सचिव हेमराज सुवेदीले गण्डकीबाट सहभागी भएर देशका लागि खेल्दै अन्तर्राष्ट्रियस्तरमा नेपाललाई चिनाउन खेलाडीलाई हौसला दिन सम्मान गरिएको बताउनुभयो । सम्मानित राष्ट्रिय क्रिकेट खेलाडी करण केसीले सरकारले गरेको सम्मानले आगामी खेलमा थप राम्रो खेल्ने हौसला मिलेको बताउनुभयो । घरेलु क्रिकेटका लागि सरकारले पूर्वाधार निर्माणका लागि लगानी गर्न उहाँले आग्रह गर्नुभयो । नेपाल क्रिकेट सङ्घ गण्डकीका अध्यक्ष देवेन्द्रबहादुर प्रजुले क्रिकेटको विकासका लागि पोखरा रङ्गशालाभित्रको क्रिकेट मैदानको स्तरोन्नति र वैकल्पिक क्रिकेट मैदान आवश्यक भएको बताउनुभयो । 

काठमाडौं:  घरेलु टोली नेपाल र भुटान प्रधानमन्त्री थ्री नेसन्स कप अन्तर्गत लिग चरणको अन्तिम खेलमा भिड्दैछन् । खेल साँझ ६ बजे दशरथ रंगशालामा हुनेछ ।   दुवै नेपाल र भुटानले समूह चरणमा लाअ‍ोसको सामना गरिसकेका छन् । नेपालले पहिलो खेलमा लाअ‍ोसलाई २-० ले पराजित गर्दा भुटान २-१ ले पराजित भएको थियो । नेपालले फितलो प्रदर्शन गरेपनि जित हासिल गरेको थियो । भुटान र लाअ‍ोसको खेल निकै प्रतिस्पर्धात्मक चलेको थियो ।     आजको खेलमा नेपालले जित वा बराबरी हासिल गरे फाइनलमा स्थान बनाउनेछ । यसबाहेक १ गोलको अन्तरले हार बेहोरेपनि नेपालले फाइनल यात्रा तय गर्नेछ ‌। भुटानले भने फाइनल पुग्न कम्तीमा जित हासिल गर्नुपर्ने समिकरण रहेको छ ।   लाअ‍ोसको फाइनल पुग्ने भविष्य पनि यसै खेलले निर्धारण गर्नेछ । नेपालको बराबरी वा जितले लाअ‍ोस र नेपाल फाइनल पुग्नेछन् । भुटानले ३ गोलको अन्तर वा सोभन्दा बढी गोलले जिते मात्र नेपाल बाहिरिने समिकरण रहनेछ ।   नेपालका लागि स्टार फरवार्ड अन्जन विष्ट प्रशिक्षणमा सुरक्षा मास्क लगाएर उपस्थित रहेका थिए । उनले आजको खेलमा पनि उक्त मास्कको प्रयोग गर्दै खेल्ने सम्भावना छ । अन्जन खेल्ने राइट विंगमा पहिलो खेल भरत खवास र मनिष डाँगी दुवैको प्रदर्शन राम्रो रहेको थिएन ।     यता भुटानले हार बेहोरेपनि कप्तान चेन्चो ग्याल्सेनले उत्कृष्ट प्रदर्शन गर्दै गोल गरेका थिए । उनी नेपालकै लिग च्याम्पियन मच्छिन्द्रमा अनुबन्धित हुने चर्चा पनि छ ‌‌। नेपाल बसाइँ लम्ब्याउन उनीमाथि भुटान निर्भर हुनेछ ।

काठमाडौं :  राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेललाई सम्मान गरिएको छ।   उनलाई नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम) मा आज सम्मान गरिएको हो।   खेलमार्फत नेपाललाई विश्वमाझ चिनाउन सफल भएको भन्दै उनलाई प्रतिनिधि सभा सांसद विनोद चौधरीले सम्मान गरेका हुन्।   क्रिकेटमा नेपालले प्राप्त गरेको उपलब्धिले देशभित्र र बाहिर रहेका सबै नेपालीहरूलाई जोड्ने काम भएको चौधरीले बताए।   आफूले पनि खेलकुद क्षेत्रको विकासका लागि सहयोग गर्ने चौधरीले बताए।   कप्तान पौडेलले सम्पूर्ण नेपालीहरूको मायाले नेपाली क्रिकेट क्षेत्र र खेलाडी उत्साहित भएको बताए।   ‘अब हाम्रो एउटा मात्रै लक्ष्य जिम्बाबेमा हुने विश्वकप छनोट हो। त्यसमा पनि उत्कृष्ट प्रदर्शन गरेर विश्वकप खेल्ने नै हो,’ उनले भने।   उक्त अवसरमा स्थानीय युवा क्लबले पनि कप्तान पौडेललाई सम्मान गरेका थिए।   नवलपरासी बर्दघाट–१४ का पौडेललाई यसअघि बर्दघाट नगरपालिकाले पनि सम्मान गरेको थियो।

काठमाडौं : नेपाल कराते महासङ्घको अध्यक्ष पदमा पुनः युवराज लामा चयन भएका छन्। चितवनको पटिहानीमा सम्पन्न महाधिवेशनले उनको नेतृत्व २२ सदस्यीय कार्यसमिति सर्वसम्मतरूपमा चयन गरेको हो ।    महासङ्घको वरिष्ठ उपाध्यक्षमा हरिशरण केसी सहित अन्य छ उपाध्यक्षमा प्रकाश मोहन धौभडेल, देवकुमार लामा, मकेन्द्रबहादुर सिंह, ओमकृष्ण प्रसाईँ, मजिन्द्र सिंह र श्याम शेर्पा चयन भएका छन्। महासचिवमा दावा गुरुङ र कोषाध्यक्षमा किशोर भट्टराई निर्विरोध निर्वाचित भए। सचिवमा ध्वजमान मोक्तान र बलराम मित्र चयन भएका छन्।   यस्तै सदस्यमा रामबहादुर सिंह ठकुरी, सञ्जयसुन्दर सैँजु, रवि महर्जन, हिक्मत थपलिया, ताराप्रसाद ओली, यादव काफ्ले, राजेन्द्र बराल, शाहीकुमारी तिनुङ चयन भएका छन्। यस्तै अध्यक्ष लामाले पुनः  सञ्जय राई र कमला रानालाई सदस्यमा मनोनित गरेको कोषाध्यक्ष भट्टराईले जानकारी दिए।   महाधिवेशनबाट नै पाँच सदस्यीय सल्लाहकार समितिसमेत चयन गरिएको छ । सल्लाहकार समितिमा दिपेश शाक्य, निवासगोपाल वैद्य, हरि विष्ट, गणेश कार्की र विष्णु कार्की रहेका छन्।   छयात्तर जना मताधिकारप्राप्त प्रतिनिधिसहित ८० जना महाधिवेशनमा सहभागी भएका थिए । सितोरियो, गोजुरियो, वादुरियो र सोतोकान विश्व फेडेरेसन (डब्लुकेएफ)ले मान्यता दिएका करातेका चार विधा हुन् । विसं २०३८ मा सितोरियो करातेमार्फत नेपालमा यो खेलको सुरुआत भएको हो । 

पोखरा:    अन्नपूर्ण प्रथम हिमाल आरोहण दिवसका सन्दर्भमा सेन्चुरी पर्यटन समितिले अन्नपूर्ण आधार शिविरबाट घान्द्रुकसम्म (१४२.१९५ किमी)को अन्नपूर्ण म्याराथन आउँदो जेठ महिनामा आयोजना गर्ने भएको छ । कोभिड–१९ का कारण दुई संस्करण स्थगित भए पनि समितिले यसपटक अन्नपूर्ण म्याराथनलाई निरन्तरता दिन लागेको समितिका अध्यक्ष ललित गुरुङले जानकारी दिनुभयो । अन्नपूर्ण आधार शिविरको पर्यटन पूर्वाधार निर्माण गरी पर्यटन प्रवद्र्धन गर्न विगतमा निरन्तर पर्यटन महोत्सव र अन्नपूर्ण म्याराथन गरिँदै आइएको थियो । प्रतिकूल परिस्थितिका कारण गत वर्षका कार्यक्रम स्थगित भए पनि यसपटक पूर्वनिर्धारित समयअनुसार नै कार्यक्रमलाई निरन्तरता दिइने समितिका सचिव मिकास गुरूङले बताउनुभयो ।  विसं २०७५ फागुन १५ को हिमपातबाट अन्नपूर्ण आधार शिविरमा आएको हिमआँधीले अन्नपूर्ण आधार शिविरका होटलमा गम्भीर क्षति भएको थियो । नेपाल भ्रमण वर्ष २०२० घोषणा भएलगत्तै अन्नपूर्ण पदयात्रा मार्गको हिन्कु केभमा हिमपहिराका कारण भएको दुःखद् घटना र विश्वव्यापी कोभिड–१९ को सङ्क्रमण र त्यसको नियन्त्रण लागि अपनाइएको निषेधाज्ञाका कारण त्यस क्षेत्रको पर्यटन व्यवसायसँगै देशको सम्पूर्ण अर्थतन्त्रमा समेत गम्भीर असर परेको व्यवसायी बताउँछन् । पर्यटन क्षेत्रलाई धरासायी हुन नदिनका विषेश राहत प्याकेज कार्यक्रम सञ्चालन गरी अर्थतन्त्रको सवलीकरण गर्न स्थानीय, प्रदेश र सङ्घीय सरकारसँग विशेष अनुरोध गर्ने समितिले जनाएको छ ।