पोखरा:   पोखराको नदिपुरमा सम्पन्न भएको क्लबस्तरीय पुरुष तथा भेट्रान्स भलिबल प्रतियोगिताको क्लबतस्तरीयतर्फ आधिखोला न्यु दिल्ली र भेट्रान्सतर्फको उपाधि पोखरा भेट्रान्सले जितेको छ ।  लामा अमृत फाउण्डेशन ...

पोखराः   युवा विकास तथा खेलकदु समन्वय समिति माछापुच्छ्रे ८ ठाँटी ल्वाङघलेलमा गण्डकी प्रदेश अन्तर वडास्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।  कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ८ स्थित ल्वाङ घलेलमा गण्डकी प्रदेश अन्तर वडास्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको पोखरामा आज (आइतबार) पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो ।  गण्डकी प्रदेशका ८५ वटा पालिकाकामा इमेलमार्फत सूचना गरिएको युवा विकास तथा खेलकुद समन्वय समितिका ल्वाङ घलेलका अध्यक्ष गणेश विकले बताए ।  ‘३ पटकसम्म माछापुच्छ्रे गाउँपालिका ८ स्तरीय वडाध्यक्ष रनिङ शिल्ड प्रतियोगिता सम्पन्न गरिसकेका छौं, विकले भने, ‘प्रतियोगिताको लागि गण्डकी प्रदेशका ८५ पालिकाकामा खबर गरेका छौं, प्रदेशको ७५९ वडामा खबर पु¥याउन इमेलमार्फत पालिकामा सूचना पठाएका छौं ।’ प्रतियोगिता आगामी माघ १८ देखि २१ सम्म सञ्चालन हुने अध्यक्ष विकले बताए । उनका अनुसार गण्डकी प्रदेश पालिका वडास्तरीय पुरुष भलिबल प्रतियोगिता र महिला भलिबल प्रतियोगिता आयोजना भएको हो ।  पुरुष तर्फ प्रथम हुने समूहले १ लाख ११ हजार १ सय ११, दोस्रो हुने समूहले २२ हजार ५ सय ५५ र सेमिफाइनलमा पराजित हुने दुई समूहलाई क्रमशः २२ हजार २ सय २२ रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगितामा सहभागिता जनाउन ५ हजार रुपैया टिम दर्ता शुल्क कायम गरिएको छ ।  यस्तै महिलातर्फ माछापुच्छ्रे गाउँपालिका ८ अन्तर गाउँ स्तरीय प्रतियोगिता सञ्चालन आयोजना गरिएको छ ।  प्रतियोगितामा प्रथम हुने समूहले २५ हजार, दोस्रो हुने समूहले १५ हजार र सेमिफाइनलमा पराजित हुने दुई समूहले क्रमशः ८ पुरस्कार पाउनेछन्, भने प्रतियोगितामा निशुल्क सहभागिता जनाउने पाउनेछन् । महिला पुरुष दुवै समूहका विजेताले नगदसहित शिल्ड,मेडल, प्रमाणपत्र र विधागत तर्फ पुरस्कार पाउनेछन् ।  खेलकुद प्रतियोगितामा ७ लाख ५० हजार आम्दानी र ७ लाख ४० हजार ६ सय १० रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।  पत्रकार सम्मेलनमा बोल्दै माछापुच्छ्रे गाउँपालिका ८ का वडाध्यक्ष राम गुरुङले प्रदेश अन्तर वडास्तरीय प्रतियोगिताले दक्ष खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान पु¥याउने बताए ।  ‘प्रतियोगिताको मुख्य उद्देश्य दक्ष खेलाडी उत्पादन गर्नु हो, गुरुङले भने, ‘उत्कृष्ट खेलाडीहरुलाई जिल्ला, प्रदेशस्तरीय कार्यक्रममा अगाडी बढाउन वडामा प्रतियोगिता आयोजना गरिएको हो ।’  उनका अनुसार प्रतियोगितामा सहभागिता जनाउन आउने समूहलाई घरबाँस (होमस्टे) र स्थानीय होटलमा सुपथ मूल्यमा व्यवस्थापन गरिने आयोजकले जनाएको छ । घरबाँस (होमस्टे) मा प्याकेजमा १ हजार १ सय ५० भएपनि खेलाडीहरुलाई १ हजारमा प्याकेजमा व्यवस्थापन गरिने उल्लेख गरेको छ ।    विभिन्न जातजातिको बसोबास रहेको ठाँटी ल्वाङ घलेलमा सामुदायिक घरबाँस (होमस्टे) मर्दी हिमाल पैदल मार्ग, चिया बगान, क्यानोनिङ, अर्गानिक कृषि उपजलगायत आकर्षण रहेका छन् ।   

पोखराः    पोखरा महानगरपालिका वडा नं १५ ले आयोजना गरेको वृहत वडा स्तरीय खेलकुद महोत्सव सम्पन्न भएको छ । पोखरा वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा पौष २७ गतेदेखि सञ्चालन भएको खेलकुद महोत्सव शनिबार सम्पन्न भएको हो ।   करिव एक हजार प्रतियोगी सहभागी भएको खेलकुद महोत्सवमा विभिन्न ८ चरणका खेलहरू खेलाइएको थियो । पुरुष फुटबलमा प्रतिभा टोल विकास संस्था विजयी बन्दै नगद २५ हजार हात पारेको छ ।  प्रतिभाले फाइनलमा तल्लो नयाँ गाउँ लाई ४–० ले पराजित गर्दै प्रथम स्थान हासिल गरेको हो ।  उप विजेता बनेको नयाँ गाउँले २० हजार हात पारेको छ ।  यस्तै, पुरुष भलिबलमा गलेश्वर युवा क्लबलाई पराजित गर्दै तल्लो नयाँ गाउँ विजयी बनेको छ । गलेश्वर विरुद्ध लगातार तिनै सेट जित्दै नयाँ गाउँ पुरुष भलिबलमा पहिलो बन्न सफल भएको हो ।  महिला भलिबलमा जन जागृति आमा समूह विजयी भएको छ।  जन जागृतिले एकता आमा समूहलाई पराजित गर्दै प्रथम बन्न सफल भएको हो । यता विद्यालय स्तरीय फुटबलमा वेलननलाई पराजित गर्दै शुभ तारा थ्री एन्जल प्रथम बन्न सफल भयो ।  ४० वर्ष माथिका महिला दौडमा जन जागृति युवा क्लब र ५० वर्ष माथिका पुरुष दौडमा तल्लो नयाँ गाउँ विजयी बन्यो ।  यस्तै, आमा समूह रस्साकस्सी अन्तर्गत लक्ष्मी टोल आमा समूह विजयी बनेको छ । भने, फरक शारीरिक क्षमता भएका व्यक्तिहरू बिच भएको बास्केटबल प्रतिस्पर्धामा  पोखरा १५ हरियोले ४७ –२७ अन्तरले निलो लाई पराजित गरेको छ । कार्यक्रमका प्रमुख अतिथि कास्की क्षेत्र नं २ क गण्डकी प्रदेश सभासद् भीम बहादुर कार्कीले खेलकुदले राष्ट्रलाई विश्वभर चिनाउन मद्दत गर्ने र खेलकुदमा लाग्ने व्यक्तिहरू निरोगी र तन्दुरुस्त बन्ने हुँदा उनीहरूले राष्ट्रका लागि योगदान दिन सक्ने बताए ।    उनले वडा नं १५ ले खेलकुदलाई महत्व दिँदै व्यापक सहभागिताका बिच खेलकुद प्रतियोगिता सम्पन्न गरेकोमा वडाका जनप्रतिनिधिलाई धन्यवाद दिए । कार्कीले अस्पतालको सङ्ख्या बढाउनु भन्दा रंगशालाको सङ्ख्या बढाउनु पर्छ भन्ने मान्यता विश्वभर बढिरहेको भन्दै ठाउँ–ठाउँ रङ्गशालाको सङ्ख्या बढाउन सकेमा नागरिकहरू स्वस्थ हुन सक्ने र यो अभियानमा वडा नं १५ एक फड्को अगाडी बढेको प्रतिक्रिया दिए ।    यस्तै, वडा अध्यक्ष तोरण बहादुर बानियाँले खेलकुद महोत्सवले वडावासी नागरिकमा आपसी मेलमिलाप, भाइचारा, तथा सहयोगको भावना जगाउनुका साथै नागरिकको स्वास्थ्यको लागि महत्त्व राख्ने हुँदा यस प्रतियोगिताको आयोजना गरिएको बताए । खेलकुदले शारीरिक र मानसिक स्वास्थ्यसँगै व्यक्तिलाई अनुशासनमा पनि हिँड्न सिकाउने भन्दै खेलाडीहरू समाजका आदर्श व्यक्ति बन्नुपर्नेमा जोड दिए । स्वस्थ नागरिकले नै समाज र देशका लागि योगदान दिन सक्ने भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने अध्यक्ष बानियाँको भनाई थियो ।    वडा सदस्य तथा खेलकुद महोत्सवका संयोजक आशिष भण्डारीले खेलकुद कार्यक्रममा करिब ९०० खेलाडीहरूले सहभागिता जनाएको बताए । स्वस्थ्य समाज निर्माण र आपसमा भाइचारा सम्बन्ध प्रगाढ पार्न प्रतियोगिताको आयोजना गरिएको बताउँदै भण्डारीले कार्यक्रमलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न अहोरात्र खटिने सबैलाई धन्यवाद दिए  ।    खेलकुद समापन कार्यक्रममा वन विज्ञान अध्ययन संस्थान क्याम्पसका सहायक क्याम्पस प्रमुख विष्णु प्रसाद देवकोटा, आईएनएफ नेपालका मेडिकल सर्भिसेस तथा निर्देशक डा. अरुण कुमार बुढा, प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष ध्वज गुरुङ लगायत पूर्व जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो भने उनीहरूले विजयी खेलाडी तथा समूहहरूलाई मेडल, प्रमाणपत्र तथा पुरस्कार प्रदान गरेका थिए । 

काठमाडौं:   विभागीय टोली नेपाल एपीएफ क्लबले इटहरीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय टी–२० महिला क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । इटहरी क्रिकेट मैदानमा शनिबार भएको खेलमा एपीएफले गण्डकी प्रदेशलाई सात विकेटले हरायो । गण्डकीले दिएको ५२ रनको विजयी लक्ष्य एपीएफले ८।४ ओभरका तीन विकेटको क्षतिमा पूरा गरेको थियो । एपीएफको जितमा कप्तान सिता रानामगरले अविजित १९ रन बनाउनुभयो । रोमा थापाले अविजित १४ र ज्योति पाण्डेले ८ रन जोड्नुभयो । बलिङमा गण्डकीकी श्रृष्टि जैसीले तीन विकेट लिनुभयो । यसअघि पहिले ब्याटिङ गरेको गण्डकीले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा ५१ रन बनाएको थियो । गण्डकीका श्रृष्टि जैसीले १४ रन बनाउनुभयो । अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । बलिङमा एपीएफकी सुमन विष्टले तीन विकेट लिनुभयो । जितसँगै समूह ‘ए’ मा रहेको एपीएफले दुई अङ्क बनाएको छ । 

काठमाडौं:   अष्ट्रेलियामा नेपाली समुदाय सानो छ तर पनि यँहाका विभिन्न महत्वपुर्ण क्षेत्रहरुमा महत्व पाउँदै गएको छ ।  क्रिकेटको विश्वकै नम्बर ‘वान’ राष्ट्र अष्ट्रेलियाको प्रतिष्ठित क्रिकेट प्रतियोगिता बिबिएल अर्थात विग व्यास लिग क्रिकेट अहिले जारी रहेको छ । यहि क्रममा एडिलेडमा सोमबार भएको एडिलेड स्ट्याकर र मेलबर्न रेनेगेट्स बिचको खेलमा व्याट फ्लिप गर्ने मौका एडिलेड नेप्लिज क्रिकेट एशोशियसनको तर्फबाट त्यसका अध्यक्ष बिजय जोशीले प्राप्त गरेका छन् । बहुसांस्कृतिक मुलुक राष्ट्र अष्ट्रेलियाले विभिन्न क्षेत्र सहित क्रिकेटमा समेत समाजको विविधताको प्रतिनिधित्व गराउने प्रयास गर्दै आएको छ । साउथ अष्ट्रेलियन क्रिकेट एशोशियसन(शाका) को पहलमा विग व्यासको इतिहासमा नै पहिलो पल्ट बहुसांस्कृतिक समुदायलाई खेल प्रारम्भ हुनु अगाडिको व्याट फ्लिप गर्ने अवसर दिइएको हो । अष्ट्रेलियामा नेपाली भन्दा सार्क राष्ट्रकै अन्य देशको समुदाय ठुलो हुदा हुदै पनि नेपालीलाई अवसर दिनु गौरबको बिषय भएको एन्का अध्यक्ष विजय जोशीले बताए । जोशी पाल्पाली ढाकाको टोपीमा सयौ दर्शकहरुले भरिएको स्टीडियमको मैदानमा पुगेका थिए । यस अगाडी एनका अन्तरगत क्रिकेट प्रशिक्षण लिइरहेका बालबालिकाहरुलाई समेत अन्तराष्ट्रिय खेल मैदानमा अभ्यास गर्न दिईएको थियो । जोशीले भने, ‘नेपाली बालबालिकाहरुले अन्तराष्ट्रिय खेल मैदानमा अभ्यासको लागि केहि समय प्राप्त गर्नाले खेलाडीहरुमा उत्साह थपेको छ ।’

पोखरा:    पोखरा महानगरपालिका वडा नं –१५ ले वडा स्तरीय वृहत खेलकुद महोत्सवको आयोजना गरेको छ । पोखरा १५ स्थित वन विज्ञान अध्ययन संस्थानको खुल्ला चौरमा आजदेखि खेलकुद महोत्सवको आयोजना गरिएको हो । खेलकुद महोत्सवमा महिला तथा पुरुष भलिबल, पुरुष फुटबल, अन्तर विद्यालय स्तरीय फुटबल, महिला, पुरुष दौड, आमा समूह बिच रस्साकस्सी खेल लगायत फरक शारीरिक क्षमता भएका व्यक्तिहरू बिच बास्केटबल र ह्विलचियर दौड प्रतियोगिता सञ्चालन हुनेछ । खेलकुद महोत्सवबारे जानकारी दिँदै वडा अध्यक्ष तोरण बहादुर बानियाँले वडावासी नागरिकमा आपसी मेलमिलाप, भाइचारा, तथा सहयोगको भावना जगाउनुका साथै नागरिकको स्वास्थ्यको लागि खेलकुदले महत्त्व राख्ने हुँदा खेलकुद महोत्सवको आयोजना गरिएको बताए। उनले वडाले लिएको नीति अनुरूप अब भौतिक पूर्वाधारको विकासले मात्र मानवीय विकास नहुने भन्दै त्यसका लागि नागरिकहरू पनि शारीरिक र मानसिक रूपमा स्वस्थ हुन आवश्यक रहेको भन्दै खेलकुदलाई पनि प्राथमिकता दिइएको प्रतिक्रिया दिए। बानियाँले खेलकुद महोत्सवमा सहभागिता जनाउने टिम धेरै भएकाले समयमै सम्पन्न गर्नका लागि आज (बुधवार) देखि प्रतियोगिता सञ्चालन गरिएको जानकारी दिए । यस्तै, कार्यक्रम संयोजक आशिष भण्डारीले खेलकुद महोत्सवमा वडावासी नागरिकको उत्साहपूर्ण सहभागिताले आफूहरूलाई पनि खुसी र थप जिम्मेवार बनाएको प्रतिक्रिया दिए। उनले खेलकुद महोत्सवमा झन्डै एक हजार जनाले विभिन्न खेल मार्फत सहभागिता जनाउन लागेको दाबी गर्दै प्रतियोगितालाई सफल र विवादरहित बनाउनका लागि आयोजकको तर्फबाट सम्पूर्ण तयारी चुस्त दुरुस्त पारिएको बताए। भण्डारीका अनुसार अन्तर क्लब फुटबलमा १७ टोली, अन्तर विद्यालय स्तरिय ८,  महिला भलिबलमा ११, पुरुष भलिबलमा ९, रस्साकसीमा १७ टिमले भाग लिएका छन् । त्यस्तै ४० वर्ष माथिका महिला दौडमा ७१ जना, ५० वर्ष माथिको पुरुष दौडमा २६ जना तथा फरक क्षमता भएकाहरूको बास्केट बल प्रतियोगितामा २० जना खेलाडीले सहभागिता जनाउनेछन् । यस्तै, खेलकुद महोत्सव अन्तर्गत आज पुरुष फुटबलमा ६ खेल र भलिबलमा ५ खेल  खेलाइएको छ। आज भएको प्रतिस्पर्धामा पुरुष फुटबल तर्फ ठुली मजुवाले मिलन शान्ति टोललाई १–० गोल, सानी मजुवाले तल्लो सिमल बोट मार्गलाई ३–० गोल, फलेपाटनले निर्मल टोललाई ३–२ गोल, प्रतिभा मार्गले बेलबटोलाई ४–१ गोल, तल्लो नयाँ गाउँले गण्डकी रिभर साइडलाई २–० गोल र जना जागृतिले अलकापुरलाई ३–० गोल अन्तरले पराजित गरेको छ । यस्तै भलिबलतर्फ गलेश्वरले दुई आजै खेल खेल्दै नयाँ गाउँ र जनशक्ति टोललाई पराजित गरेको छ भने, अलकापुरले बेलबोट, तल्लो नयाँ गाउँले प्रतिभा मार्ग र लक्ष्मी टोल विकासले ठुली मजुवालाई पराजित गरेको छ । भोलिको खेलमा पनि पुरुष फुटबल तथा पुरुष महिला भलिबल, आमा समूह दौड, रस्साकस्सी लगायतका प्रतियोगिता सञ्चालन हुनेछन् । खेल पौष ३० गतेसम्म सञ्चालन हुनेछ ।

पोखराः     रेडियो सराङकोटले आयोजना गरेको मिडिया कप फुटसल प्रतियोगिता विवादित बनेको छ । फेवा टेलिभिजनले प्लेईङ लिस्टमा भएका भन्दा बाहिरको खेलाडी खेलाएपछि प्रतियोगिता विवादमा परेको थियो । फेवा टिभीले प्लेईङ लिस्टमा भएका खेलाडीको घरयासी समस्या देखाउँदै आयोजकलाई थाहा नदिई मयुर टाईम्सविरुद्ध खेलाएको थियो । खेलपछि मयुरले प्रोटेस्ट हालेपछि आयोजकले फेवालाई अयोग्य ठहर्‍यायो । भने, मयुर सेमिफाइनल पुग्यो । पछि मयुरका खेलाडीको दुई टिममा नाम रहेको भन्दै विरोध गरेपछि रेफ्रीले मयुरलाई पनि अयोग्य घोषणा गर्‍यो । तर, यसमा आयोजक सराङकोटको गल्ती भएको मयुर टाइम्सले जनाएको छ । मयुरका कप्तान प्रविन मगरले आयोजकलाई जानकारी गराउँदा गराउँदै पनि दुवै तर्फ नाम भएको खेलाडीको विषयमा समस्या समाधान गरिसकेपछि दुवै टिममा नाम राखेर गल्ती गरेका बताए । ‘हाम्रो एउटा खेलाडीको दुई टिममा नाम भएपछि खेल हुनु अघिल्लो दिनमा नै हामीले रेडियो कार्यालयमा गएर सहमती गरेका हौं,’ उनले भने, ‘तर खेल्ने समयसम्म पनि उक्त खेलाडीले मयुर टाईम्सबाट खेल्ने भनेर सहमती गरेपछि अर्को टिमको लिस्टबाट नहटाएर ठूलो गल्ती गर्‍यो ।’ यता, रेडियो सराङकोटले प्रेस विज्ञप्ती जारी गरी क्षमा याचना गरेको छ । ‘दुवै टिम अयोग्य ठहर गर्दै दुवै खेल अवैध गरिएको जानकारी सहित यस कार्यमा सम्बन्धीत मिडियाको केही कमजोरी र आयोजकबाट केही व्यवस्थापनमा कमी कमजोरी भए सो मा क्षमा चाहान्छौं,’ विज्ञप्तीमा भनिएको छ ।  

काठमाडौं । विराटनगर सुपर किंग्सलाई २४ रनले पराजित गरी लुम्बिनी अल स्टार्सले नेपाल टी–२० लिगको उपाधि जितेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बुधबार भएको लो स्कोरिङ खेलमा १३४ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित ओभरमा ८ विकेट गुमाएर १०९ रनमात्र बनाउन सक्यो । विराटनगरका लागि ओपनर अर्जुन साउदले ४० बलमा सर्वाधिक ३४ रन बनाए ।अर्का ओपनर गौरान्सु शर्मा ४ रनमा आउट भए । कप्तान रोहितकुमार पौडेल पहिलो बलमै आउट भए । हुसेन तलात ८ बलमा १३ रनमा रन आउट भए । पृथु बास्कोटाले २९ बल खेल्दै ३१ रन बनाए । बलिङमा लुम्बिनीका सागर ढकाल र हर्मित सिंहले समान २–२ विकेट लिए । विपुल शर्मा र किशोर महतोले १ –१ विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको लुम्बिनी १९।२ ओभरमा अलआउट भएको थियो । सुरुवात राम्रो गरे पनि मध्यक्रममा ब्याटरहरुको प्रदर्शन अपेक्षाअनुसारको नहुँदा लुम्बिनी १३३ रनको कमजोर योगफलमा सिमित भयो । ओपनरहरु हरमित सिंह र लाहिरु मिलन्थाले ६४ रनको साझेदारी गर्दै सानदार सुरुवात गरेका थिए । हरमित ३० र लाहिरु ४१ रनमा आउट भए । कप्तान दिपेन्द्र सिंह ऐरी २० र इशान पाण्डले १८ रन बनाउँदा बाँकी कसैले पनि दोहोरो अंकको स्कोर गर्न सकेनन् । ६ जना बलर प्रयोग गरेको विराटनगरका सबैले विकेट लिए । नन्दन यादव र राज ननन्ले २–२ विकेट लिए । हुसेन तलात, केन जोसेफ, सूर्य तामाङ र कप्तान रोहितकुमार पौडेलले समान १ विकेट लिए । सूर्यले ४ ओभर बलिङ गर्दा मात्र ८ रन दिए । प्रतियोगितामा १२ खेलमा २ हार ब्यहोरेको लुम्बिनी च्याम्पियन  बन्यो । लिगमा १० मध्ये ८ जितसहित शीर्ष स्थानमा रहेर प्लेअफमा पुगेको लुम्बिनीले पहिलो क्वालिफायरमा जनकपुर रोयल्सलाई पराजित गरी फाइनलमा पुगेको हो । उपविजेता बनेको विराटनगरले भने इलिमिनेटरमा काठमाडौं नाइट्सलाई हराएर दोस्रो क्वालिफायरमा जनकपुरलाई पराजित गरी फाइनलमा पुगेको हो । उपाधिसँगै लुम्बिनीले ५५ लाख रूपैयाँ पुरस्कार पाएको छ । उपविजेता विराटनगरले ३० लाख रूपैयाँ पुरस्कार पाएको छ । तेस्रो भएको जनकपुर रोयल्सले १० लाख र चौथो भएको काठमाडौं नाइट्सले ५ लाख रुपैयाँ पाउनेछ । लिगको सर्वोत्कृष्ट खेलाडीले ५ लाख र उत्कृष्ट ब्याटर र बलरले जनही २ लाख ५० हजार पाउनेछन् ।

काठमाडौं: फ्रान्स राष्ट्रिय टिमका गोलरक्षक ह्युगो लोरिसले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । ३६ वर्षीय टोटनह्यामका कप्तानले १८ डिसेम्बर २०२२ मा विश्वकप फाइनलमा अर्जेन्टिनासँग पेनाल्टी शुटआउटमा हारेको तीन सातापछि फ्रान्सका लागि सन्यासको घोषणा गरेका हुन् । लोरिसले चार वर्षअघि फ्रान्सले विश्वकप जित्दा पनि टिमको कप्तानी गरेका थिए । म आफ्नो अन्तर्राष्ट्रिय करिअर अन्त्य गर्दैछु । मेरो बिचारमा मैले देशका लागि सक्नेजति सबै दिएको छु,’ फ्रान्सेली अखबार एल इक्युपसँग कुरा गर्दै लोरिसले भनेका छन्, ‘युरो छनोट प्रतियोगिता सुरु हुनुभन्दा साढे दुई महिनाअघि मैले उपयुक्त समय रोजेको छु ।’ सन् २०२४ को युरो छनोट प्रतियोगितामा फ्रान्स जिब्राल्टर, ग्रिस, नेदरल्याण्ड्स र रिपब्लिक अफ आयरल्याण्डको समूहमा परेको छ । लोरिसले २१ वर्षको उमेरमा सन् २००८ मा उरुग्वेसँगको मैत्रीपूर्ण खेलमा अन्तर्राष्ट्रिय डेब्यू गरेका थिए । लोरिसले फ्रान्सका लागि कीर्तिमानी १४५ क्याप जितेका छन् । विश्वकप फाइनलमा अर्जेन्टिनासँगको खेल उनको करिअरको कीर्तिमानी खेल थियो । फ्रान्सका लागि उनीजति संख्यामा अरु कसैले खेलेका छैनन् । लोरिसले फ्रान्सका लागि १२१ खेलमा कप्तानी गरेका छन्, यो पनि कीर्तिमान हो । ‘वास्तवमा मैले विश्वकप सकिएदेखि नै यसबारे सोचिरहेको थिएँ । तर, ६ महिनादेखि नै मैले सोच बनाइसकेको थिएँ,’ लोरिसले भनेका छन् । उनको सन्यास राष्ट्रिय टिमका प्रशिक्षक डिडिएर डेसच्याम्पले चार वर्ष सम्झौता नवीकरण गरेलगत्तै आएको छ । कुनै न कुनै दिन यो समय आउनु नै थियो । किनभने तपाई सधैं फ्रान्स टिमबाट खेल्न सक्नुहुन्न,’ लोरिसले भने, ‘मेरो स्थानमा गोलकिपरहरु तयार भइसकेका छन् । र, मैले आफ्नो लागि, परिवार र बच्चाहरुका लागि पनि समय दिनुपर्नेछ ।’ साढे १४ वर्षसम्म फ्रान्सको गोलरक्षकको भूमिकामा रहनुलाई उनले गर्वको क्षण मानेका छन् ।

काठमाडौंः   नेपाली टाली पब्जी विश्वकपमा दोस्रो भएको छ । इन्डोनेसियामा आइतबार राति सम्पन्न फाइनल खेलमा नेपाल टर्कीसँग पराजित भएको थियो ।  नेपालको द रियल सोल्जर्स (डीआरएस) एक सय ५८ अङ्कसहित दोस्रो भएको हो । टर्कीको एसटुजी ई स्पोर्ट्सले एक सय ९० अङ्कका साथ च्याम्पियन बन्यो । नेपालकै अर्को टोली ट्रेन्ड टु किल (टि२के) एक सय १२ अङ्कसाथ १३औं स्थानमा रहन सफल भयो । उपविजेता नेपालले दुई लाख ९२ हजार अमेरिकी डलर ९तीन करोड ८६ लाख नेपाली रुपियाँ० पुरस्कार पाएको छ । विजेता टर्कीले पाँच लाख १० हजार अमेरिकी डलर पुरस्कार पायो । १३औं स्थानमा रहेको नेपालको टि २ केले पनि एक लाख ३२ हजार पाँच सय अमरिकी डलर प्राप्त गरेको छ । पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप २०२२ को रुपमा सञ्चालित यस विश्वकपमा चीन र ब्राजिलको तीन तीन, नेपाल, टर्की, मङ्गोलिया र थाइल्यान्डको दुई दुई तथा मलेसिया र इन्डोनेसियाको एक एक टोलीले भाग लिएका थिए ।