गण्डकी: लेखनाथ रङ्गशालामा निर्माणाधीन बहुउद्देश्यीय कभर्ड हल अलपत्र परेको छ । पोखरा-२९ भण्डारढिकमा छ वर्षअघि निर्माण थालिएको कभर्ड हलले अझै पूर्णता पाउन सकेको छैन । बजेट अभावमा डेढ वर्षदेखि निर्माण ठप्प छ । पोखरा रङ्गशालाको विकल्पका रुपमा लिइएको लेखनाथ रङ्गशालाको कभर्ड हल निर्माणले गति नलिएपछि खेलकुदप्रेमी निराश छन् । निर्माण समितिका अध्यक्ष सुवास खड्काले बजेट नहुँदा कभर्ड हलको काम रोकिएको बताउनुभयो । चालु आवमा कभर्ड हललाई कतैबाट पनि बजेट परेको छैन । पोखरा महानगरसहित सङ्घ र प्रदेश सरकारबाट बजेट ल्याउन पहल भइरहेको अध्यक्ष खड्काले बताउनुभयो । अहिलेसम्म कभर्ड हलमा रु. एक करोड दस लाख खर्च भइसकेको उहाँको भनाइ छ । आव २०७४/०७५ मा गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयबाट छुट्टिएको रु. ११ लाख बजेटबाट कभर्ड हलको निर्माण सुरु गरिएको थियो । त्यसयता राष्ट्रिय खेलकुद परिष्दको रु. ५० लाख, प्रदेशको युवा तथा खेलकुद मन्त्रालयको रु. २५ र तत्कालीन प्रदेशसभा सदस्य दीपक कोइरालाको निर्वाचन क्षेत्र विकास कार्यक्रमको रु. २५ लाख बजेट खर्च भइसकेको छ । उक्त बजेटबाट कभर्ड हलमा भुइँतलाको पिलर र गारो लगाउने काम भएको छ । “सबै संरचना तयार गर्न अझै तीन करोड जति बजेट लाग्छ”, अध्यक्ष खड्काले भन्नुभयो, “भलिबलदेखि मार्सल आर्टलसम्मका प्रायः सबै इन्डोर खेललाई हुने गरी कभर्ड बनाउन लागिएको हो ।” कभर्ड हल ४५ मिटर लामो र २६ मिटर चौडा हुने उहाँको भनाइ छ । सुरुमा रु. तीन करोडको बजेट अनुमान गरिएपनि महँगीका कारण अब लागत पनि बढ्ने भएको छ । नवौँ राष्ट्रिय खेलुकद प्रतियोगिता पोखरामा हुँदा राखेप सदस्य सचिव टङ्कलाल घिसिङले उक्त कभर्ड हलको अवलोकन गरी बजेटका लागि पहल लिने आश्वासन दिनुभएको थियो । प्रदेश सरकारका प्रतिनिधिले पनि पटकपटक बजेटको कमी हुन नदिइने बताउँदै आएका छन् । तर बजेटकै कारण महत्वपूर्ण खेल पूर्वाधार वर्षौँदेखि अलपत्र छ । “जुन उद्देश्यले कभर्ड हलको योजना सुरु गरेका थियौँ, त्यो अनुसार काम नहुँदा हामी पनि दुःखी छौँ”, अध्यक्ष खडकाल भन्नुभयो, “अहिलेसम्मको लगानीलाई यसै खेर जान दिँदैनौ, सरकारसँग हारगुहार गरेर भएपनि कभर्ड हल बनाउँछौँ ।” पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले बजेट नभएर कभर्ड हल अलपत्र परेपछि तीनै तहका सरकारको ध्यानाकर्षण गराइएको बताउनुभयो । “कोभिड–१९ महामारी जस्ता कारणले पनि खेल पूर्वाधारमा बजेट कटौती भयो, अब बजेट र स्रोतसाधन जुटाएर कभर्ड हललाई पूर्णता दिनुपर्छ”, उहाँले भन्नुभयो, “खेलकुदलाई राज्यले पनि प्राथमिकतामा राख्नुपर्छ, पूर्वाधार नै नभए खेलकुद क्षेत्र अगाडि बढ्न सक्दैन ।” लेखनाथ रङ्गशालालाई पूर्वाधार सम्पन्न बनाउन पोखरा महानगरले अगुवाई गर्नुपर्ने कार्यालय प्रमुख योगीले बताउनुभयो । “खेलाडी उत्पादनदेखि र खेल गतिविधि सञ्चालनका लागि लेखनाथ रङ्गशाला उपुयक्त ठाउँमा छ, संरचना बनाउन सके पोखराको वैकल्पिक रङ्गशाला बन्छ”, उहाँले भन्नुभयो । रङ्गशालामा भएका संरचनाको पनि उचित रेखदेख र संरक्षण हुन नसकेको पोखरा-२९ आदर्शचोकका पूर्ण खत्रीले बताउनुभयो । “स्थानीयवासीले पैसा उठाएर बनाएको ब्याडमिन्टन कोर्टमा तोडफोड हुन थालेपछि हामी जानै छोड्यौँ”, उहाँले भन्नुभयो, “पूर्वाधार नै नभएपछि रङ्गशाला नाम मात्रको भएको छ ।” रासस
काठमाडौं: व्हीलचेयर क्रिकेट प्रतियोगितामा सहभागी हुन १२ खेलाडीसहित १४ सदस्यीय नेपाली टोली बिहीबार भारतको गुजरात प्रस्थान गर्ने भएको छ । हिमाल अर्यालको कप्तानीमा रहेको टोलीको अन्य सदस्यमा रामबहादुर तामाङ, राजु गुरुङ, दानबहादुर थिङ, सागर पाण्डे, डिगमसिंह चेम्जोङ, दीपक तिमल्सेना, सोमनाथ राई, फणिनारायण पौडेल, रमेश खत्री, बरुण बुढा मगर र राजु कट्वाल रहनु भएको छ । प्रशिक्षकमा भरतकुमार कार्की हुनुहुन्छ । टोली प्रमुखमा नेपाल पारालिम्पिक कमिटीका अध्यक्ष दीपक कोइराला तथा अफिसियलमा महासचिव प्रकाश चिलवाल हुनुहुन्छ । मार्च २३ देखि २९ तारिखसम्म हुने प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश र श्रीलंका गरी ४ राष्ट्रको सहभागिता रहने छ । चार टिमबीच राउन्ड रोविन लिगका आधारमा खेल हुनेछ । लिगमा शीर्ष २ स्थान हात पार्ने टिमले पुनः उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । नेपालले मार्च २४ मा श्रीलंका, मार्च २५ मा भारत र मार्च २७ मा बंगलादेश विरुद्ध राउन्ड रोविन लिगमा प्रतिस्पर्धा गर्नेछ । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले बुधबार एक कार्यक्रमबीच बिदाइ गर्नुभयो ।
काठमाडौं: विश्व लिजेन्ट क्रिकेट लिगको उपाधि नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का सम्मिलित एसियन लायन्सले जितेको छ । कतारको दोहामा सोमबार राति भएको फाइनल खेलमा लायन्स वर्ल्ड जायन्ट्सलाई सात विकेटले हराउँदै च्याम्पियन बनेको हो । वर्ल्ड जायन्ट्सले दिएको एक सय ४८ रनको विजयी लक्ष्य एसियन लायन्सले १६.१ ओभरमा तीन विकेटको क्षतिमा पूरा गरेको थियो । एसियन लायन्सको जितमा तिलकरत्ने दिल्सानले ५८ रन बनाउनुभयो । उपुल थारंगाले ५७ तथा मिस्बा उल हक तथा मोहम्मद हाफिजले अविजित नौ नौ रन बनाउनुभयो । बलिङमा जायन्ट्सका मोन्टी पेनिसर, समित पटेल र ब्रेट लीले एक एक विकेट लिनुभयो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जायन्ट्सले २० ओभरमा चार विकेटको क्षतिमा एक सय ४७ रन बनाएको थियो । जायन्ट्सका लागि ज्याकक्विस कालिसले अविजित ७८ रन बनाउनुभयो । रोस टेलरले ३२ र लिन्डल सिमोन्सले १७ रन जोड्नुभयो । बलिङमा लायन्सका अब्दुर रज्जाकले दुई तथा थिसारा परेराले एक विकेट लिनुभयो । फाइनल खेलमा पारस टोलीमा परेपनि उहाँले ब्याटिङ र बलिङको अवसर पाउनुभएन । पारसले अघिल्ला दुई खेलमा भने मौका पाउनुभएको थियो ।
काठमाडौँ: बुधवारदेखि घरेलु मैदानमा हुने प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताका लागि नेपाली टोलीको छनोट भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले बुधवार लाओससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपाली टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टाे एनासीले छनोट गरिएका नेपाली टोलीलाई प्रशिक्षणमा बोलाइसकेको एन्फा स्रोतले बताएको छ । श्रम स्वीकृतको समस्याका कारण मुख्य प्रशिक्षकले नेपाली टोली भने आधिकारीक रूपमा घोषणा गरेका छैनन् । उनले एन्फालाई नेपाली टोलीको लिष्ट दिसकेका छन् एन्फा स्रोतले बतायो । नेपाली टोलीमा गोलरक्षकका रूपमा किरण चेम्जोङ, दीप कार्की र अभिषेक बराल रहेका छन् । यस्तै डिफेन्डरमा रोहित चन्द, रन्दीप पौडेल, आदित्य चौधरी, अनन्त तामाङ, निशान खड्का, विकास तामाङ र पदम भट्टराई रहेका छन् । यसैगरी मिडफिल्डरमा पुजन उपरकोटी, आयूस घलान, एरिक विष्ट, सुमित श्रेष्ठ, मणिकुमार लामा, नविन लामा, सनिस श्रेष्ठ र कमल थापा तथा स्ट्राइकरमा भरत खवास, मनिष डाँगी, दिपकराज सिंह ठकुरी, आशिष चौधरी, नवयुग श्रेष्ठ, अन्जन विष्ट रहेका छन् ।
पोखरा: नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा संचालन हुने सातौं संस्करणको पोखरा स्पोर्टस् अवार्ड-२०७९ लाई सफल पार्न पोखरा-१० रामबजार निवासी स्व. सेनानी हेमबहादुर पुनको स्मृतिमा उनको परिवारले सघाउने भएको छ । शुक्रबार अवार्ड अन्र्तगत ‘उत्कृष्ट खेल पत्रकारिता पुरस्कार’ शिर्षकमा प्रायोजना गर्ने गरि स्व.सेनानी पुन परिवार र मञ्चविच समझदारी पत्रमा हस्ताक्षर भएको हो । सो अवसरमा स्व. पुन परिवारको तर्फबाट नाति नविन पुन र मञ्चका अध्यक्ष दीननाथ बरालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । उत्कृष्ट खेल पत्रकारिताको पुरस्कार राशी नगद ३५ हजार रुपैयाँ रहेको छ । सो कार्यक्रममा पुन परिवारका लोक पुन, उमेश पुन , मञ्चका सचिव शशी कुमार पौडेलको उपस्थिती रहेको थियो । मञ्चले आयोजना गर्ने उक्त अवार्डमा आफ्नो परिवारजनबाट निरन्तर रुपमा सहयोग गर्न पाएकोमा नेपाल सेभेन ए साइड फुटवल महासंघका केन्द्रिय अध्यक्ष समेत रहेका नविन पुनले खुःशी व्यक्त गरे । मञ्चका कार्यसमिति सदस्य समेत रहेका उमेश पुन स्व.सेनानी हेमबहादुरका नाति हुन् । पुन परिवारले स्पोर्टस् अवार्डमा हरेक वर्ष लगातार उक्त विधामा सहयोग गर्दै आएको छ । गण्डकी प्रदेशकै गौरव पोखरा स्पोर्टस् अवार्डमा विभिन्न ७ विधामा अवार्ड प्रदान गरिनेछ । आगामी वैशाख २३ मा पोखरा सभागृहमा गण्डकी प्रदेशस्तरको प्रतिनिधित्व हुने गरी मञ्चले ती विधामा अवार्ड प्रदान गर्नेछ । जसमा लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदियमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ, उत्कृष्ट खेल पत्रकारिता अवार्डमा नगदसहित अवार्ड वितरण गर्नेछ । मञ्चले अवार्ड कार्यक्रमको तयारीलाई तिव्रता दिएको छ । अवार्डलाई सफल बनाउन गण्डकी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद गण्डकी, सहारा क्लब पोखरा लगायतले सघाउने छन् । यसका साथै अवार्डलाई सफल बनाउन विभिन्न संघसंस्थाका साथै व्यापारिक प्रतिष्ठानहरुबाट पनि सघाउने प्रतिवद्धता आइरहेको मञ्चका सचिव पौडेलको जानकारी दिए ।
पोखरा: नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण केसीलाई सम्मान गर्ने भएको छ । आइतबार बसेको मञ्चको सचिवालय बैठकले करनलाई नगदसहित सम्मान गर्ने भएको हो । सो बारे जानकारी दिंदै मञ्चका महासचिव कृष्ण तिमिल्सिनाले नेपालमा हालै सम्पन्न लिग टु क्रिकेट प्रतियोगितामा बिजयी बनाउन महत्वपूर्ण भूमिका खेल्ने नेपाली राष्ट्रिय टिमका सदस्य करणलाई नगद २० हजारसहित दोसल्ला र प्रमाणपत्रले सम्मान गर्ने बताए । महासचिव तिमिल्सिनाले भने-“लामो समय देखि गण्डकी प्रदेशका खेलाडी समेत रहेका करणले राष्ट्रिय टिमको सदस्यको रुपमा नेपालको झण्डालाई उचाईमा पु¥याउन र राष्ट्रिय गौरव बढाउन जुन भूमिका खेलेका छन् त्यो महत्वपूर्ण छ भने खेलाडीको रुपमा करनको भूमिका समेत उत्तिकै स¥हानिय छ ।” मञ्चले उनको खेलायात्रालाई अझै मनोबल बढाउन सम्मान गर्न लागेको उनको भनाई थियो । मञ्चले आफ्नै सचिवालय गैह्रापाटनमा विहान ८ बजे सम्मानको कार्यक्रम तय गरेको उनले जानकारी दिए । मञ्चका प्रथम उपाध्यक्ष दिल बहादुर गुरुङको अध्यक्षतामा भएको बैठकले अप्रिल ६ पिस एण्ड स्पोर्टस डेको अवसरमा खेलकुद पत्रकारहरु संग मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ भने मञ्चले २०८० सालको क्यालेण्डर समेत प्रकाशित गर्ने निर्णय गरेको मञ्चले जनाएको छ ।
पोखरा: नविन श्रेष्ठले तेस्रो संस्करणको रेवान पोखरा कप भेट्रान्स टेनिस प्रतियोगिताको उपाधि जितेका छन् । आइतबार भएको फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन राजन पौडेललाई पराजित गर्दै नविनले पहिलोपटक यो उपाधि आफ्नो नाम गराएका हुन् । कास्की जिल्ला टेनिस संघको आयोजना तथा रेवान पोखराको मुख्य प्रायोजनमा पोखरा रंगशालामा सम्पन्न प्रतियोगितामा पहिलो सेटमा ४-२ ले पछि परेका पौडेलले उत्कृष्ट कमब्याक गर्दै ४-६ ले खेल आफ्नो पक्षमा पारे । तर दोस्रो र तेस्रो सेट गुमाउँदा पौडेलले उपविजेतामै चित्त बुझाए । नविनले दोस्रो सेट ६-२ ले तथा तेस्रो सेट सुपर टाइमा ९-२ ले आफ्नो पोल्टामा पारेका थिए । त्यसैगरी मेन्स डबल्सतर्पmको उपाधि अनुज कुमार बाँस्तोला र नविन श्रेष्ठको जोडीले जितेको छ । गोपीबहादुर भट्टराई र सूर्यबहादुर भुजेल विरुद्धको फाइनल खेलमा ६-१, ६-१ को सहज नतिजा निकाल्दै अनुज र नविनको जोडिले उपाधि आफ्नो पक्षमा पारेका हुन् । जितसँगै विजयी खेलाडीले नगद रु १० हजार तथा उपविजेता खेलाडीले नगद रु ५ हजार सहित ट्रफि पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा नवप्रवेशी तर्फ दुर्गा सुनार विजेता तथा सिरोज कोइराला उपविजेता बने । उनीहरुले ट्रफि पुरस्कार प्राप्त गरे । प्रतियोगिता समापन समारोहका प्रमुख अतिथि रेवान पोखराका वरिष्ठ उपाध्यक्ष विश्वराज पौडेलले विजयी खेलाडीहरुलाई एक समारोहका विच नगद तथा ट्रफि पुरस्कार वितरण गरे । सो अवसरमा बोल्दै पौडेलले स्वास्थ्य, भाइचारा र खेल पर्यटन विकास प्रतियोगिता महत्वपूर्ण रहेको औंल्याए । विशेष अतिथि नेपाल प्रहरीका पूर्व डीआइजी केशव अधिकारीले खेलक्षेत्रमा पोखरा नेपालमै अग्रणी रहेको बताए । अर्का अतिथि पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका पूर्वउपाध्यक्ष सुनिल गुरुङ्गले टेनिसमा पोखराले अभूतपूर्व सफलता प्राप्त गर्दै गएको जनाए । कास्की जिल्ला टेनिस संघका अध्यक्ष लोक गुरुङको अध्यक्षतामा भएको समापन समारोह संघका केन्द्रिय उपाध्यक्ष विनोद कायस्थ, जिल्ला उपाध्यक्ष नविन चालिसेले लगायतले आ–आफ्नों भनाई राखेका थिए ।
पोखरा: राजन पौडेल र नविन श्रेष्ठ पोखरा रंगशालामा जारी तेश्रो रेवान कप टेनिस प्रतियोगिताको मेन्स सिंगल्स उपाधिका लागि भिड्ने भएका छन् । कास्की जिल्ला टेनिस संघको आयोजना तथा रेवान पोखराको मुख्य प्रायोजनमा जारी प्रतियोगिता अन्तर्गत शनिबार भएको सेमिफाइनलमा राजनले लक्ष्मण तामाङलाई ६-३, ६-२ ले पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् । अर्को सेमिफाइनलमा नविनले अनुज कुमार बाँस्तोलालाई ६-४, ६-४ ले पराजित गर्दै उपाधीका लागि राजनसंगको भेट पक्का गरे । डबल्सतर्फ उपाधीका लागि गोपीबहादुर भट्टराई र सूर्य भुजेलले अनुज कुमार बाँस्तोला र नविन श्रेष्ठको जोडीसंग प्रतिस्पर्धा गर्नेछन् । भट्टराई जोडीले पदम गुरुङ्ग र हुम आलेको जोडीलाई ६-३, ६-२ ले पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् । अर्को सेमिफाइनलमा अनुज र नविन जोडीले लोक गुरुङ्ग र राजन पौडेलको जोडीलाई ६-२, ६-४ को सेटमा पराजित गर्दै फाइनल पुगे । प्रतियोगितामा विजयी हुने खेलाडीले नगद १० हजार सहित ट्रफि तथा द्वितिय हुने खेलाडीले नगद ५ हजार सहित ट्रफि पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिको फाइनल खेल आइतबार पोखरा रंगशालामा हुनेछ ।
पोखरा: अनुज कुमार बाँस्तोला, नविन श्रेष्ठ, राजन पौडेल र लक्ष्मण तामाङ पोखरा रंगशालामा जारी तेस्रो रेवान कप टेनिस प्रतियोगिताको एकलतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत शुक्रबार भएको क्वाटर फाइनल खेलमा कुमार बास्तोलाले पोखराको दोश्रो वरियतामा रहेका भट्टराईलाई ६–३ र ७–६ को सेटमा पराजित गरे । त्यसैगरी नविन श्रेष्ठले चौंथो वरियतामा रहेका विकास गुरुङलाई ६–१ र ६–२ को सेटमा पराजित गरे । पोखराको शिर्ष वरियता प्राप्त राजन पौडेलले शरण गुरुङलाई ६–३ र ६–४ को सेटमा तथा लक्ष्मण तामाङले कर्ण तामाङलाई ६–१ र ६–४ को सेटमा पराजित गर्दै अन्तिम चारमा आफ्नो नाम लेखाउन सफल भएका हुन् । अब फाइनल प्रवेशका लागि अनुजले नविनसँग तथा राजनले लक्ष्मणसँग प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता अन्तर्गत डबल्सतर्फको क्वाटरफाइनलमा गोपीबहादुर भट्टराई र सूर्यबहादुर भुजेलको जोडीले इन्द्र गुरुङ र इन्द्र गुरुङको जोडीलाई ४–६, र ६–१ र सुपरटाईमा १०–४ ले पराजित गरे । त्यस्तै, पदम गुरुङ र हुम आलेको जोडीले अनिल तुलाचन र लक्ष्मण तामाङको जोडीलाई ६–३ र ६–४ ले तथा राजन पौडेल र लोक गुरुङको जोडीले विकास गुरुङ र शरण गुरुङको जोडीलाई ७–६ र ६–२ ले पराजित गरे । अर्को क्वाटरफाइनलमा अनुज कुमार बाँस्तोला र नविन श्रेष्ठको जोडीले भिष्मराज पौडेल र माधव भण्डारीको जोडीलाई ६–०, ६–१ को सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन् । प्रतियोगिताको सेमिफाइनल खेल शनिबार बिहान हुने टुर्नामेण्ट डाइरेक्टर शक्ति सर्माले जानकारी दिए ।

